अब धितोपत्र बजारमा पनि सम्पत्ति सुद्धिकरण लाग्ने, शंकास्पद व्यक्तिको कारोबार रोक्नुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरिएको जनाएको छ । उक्त मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएको सूचीकृत व्यक्ति, समूह वा सङ्गठन कारोबारमा भए/नभएको एकिन गर्नुपर्नेछ । यस्तै, सोसँग सम्बद्ध व्यक्ति, समूह वा सङ्गठन धितोपत्र बजार सहभागीले कारोबारको तथ्याङ्कमा भए वा नभएको नियमित रूपमा एकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्नेछ । सो तथ्याङकका आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । धितोपत्र बजार सहभागीले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्नेछ । आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शङ्कास्पद व्यक्ति का सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।
बालेन भन्छन्ः अमेरिका अल्छीहरूको देश हो, डीभी बन्द गर्नू
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिका अल्छीहरूको देश भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गरेर स्टाटस लेख्दै मेयर बालेनले अमेरिकीहरू आफै देश बनाउन नसक्ने र उसलाई बाँकी देशका जनशक्ति आवश्यक हुने बताएका हुन्। उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका हुन् । उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।’ साथै, उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गरेका छन् । उनले अमेरिका लगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिएका छन् ।
साढे ३५ करोडमा घोप्टेखोला खानेपानी आयोजना बन्दै, २ हजार ३६९ घरपरिवार लाभान्वित
काठमाडौं । म्याग्दी जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका २ हजार ३६९ घरपरिवार लाभान्वित हुनेछन् । ३५ करोड ६३ लाख ३९ हजार ७२७ रुपैयाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत असारमा ८ करोड ५० लाख १२ हजार ७५५ रुपैयाँमा जिएटिआरसी-प्यागोडा-सासा जेभीले ठेक्का सम्झौता गरेको थियो । आयोजना प्रमुख इन्जिनियर सुमन थापाले ठेकेदार कम्पनीले रघुगङ्गा गाउँपालिका-६ करेन्टखोलामा मुहान, मुख्य पाइप लाइन र पानी प्रशोधन केन्द्रको संरचना निर्माण सुरू गरेको जानकारी दिए । ठाडाखानीमा यसै आर्थिक वर्षभित्रमा योजनामार्फत खानेपानी वितरण गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए । ‘यस वर्ष विनियोजन भएको ३ करोड रुपैयाँभन्दा बढीको काम भइसकेको छ,’ आयोजना प्रमुख थापाले भने, ‘विसं २०८१ असार २४ गते सम्झौता भएको योजना २०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य छ ।’ सङ्घीय सरकारको खानेपानी मन्त्रालयको केन्द्रीय खानेपानी कार्यक्रममा विसं २०७३ देखि समावेश भएको यो योजनालाई तत्कालीन जिविसको जिल्ला परिषद् र सङ्घीयता कार्यान्वयनपछि जिल्ला सभाले म्याग्दीको गौरवको आयोजनाको सूचीमा समावेश गरेको छ । बेनी नगरपालिका-५, ६, ९, १० नम्बर वडा, रघुगङ्गा गाउँपालिका-६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी विसं २०७३ मा परिकल्पना गरिएको बृहत् घोप्टेखोला खानेपानी योजना निर्माण गर्न पछिल्लोपटक सन् २०२२ मा सर्वेक्षण भएको थियो । योजनामार्फत १६ हजार १८६ जनसङ्ख्या लाभान्वित हुने आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए । रघुगङ्गा-६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइप लाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ । मुहान, ७६.२९ किलोमिटर मुख्य र ८६.२४ किलोमिटर वितरण पाइप लाइन, पानी प्रशोधन प्लान्टलगायत संरचना ठेक्कामार्फत निर्माण गर्न लागिएको हो । ४८ करोड १६ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको १० प्रतिशत सहभागिता उपभोक्ताको रहने छ । उपभोक्ताले गर्नुपर्ने वितरण लाइन खन्ने र पुर्ने कामका लागि बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाले स्रोत सुनिश्चतता गरेका छन् । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले करिब एक दशकको प्रयासमा घोप्टेखोला खानेपानी योजना कार्यान्वयनमा आएको बताए । ‘४८ करोड रुपैयाँ लागत अनुमान गरिएको योजनालाई खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि डिपिआर स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नुहँदा कार्यान्वयन हुनसकेको थिएन,’ उनले भने, ‘२०८० फागुनमा अर्थ मन्त्रालयले रू ३७ करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गरेर कार्यान्वयन सुरू भएको हो ।’
सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीमा वर्षा हुने, यस्तो छ देशभरिको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
वित्तीय पहुँच र विद्युतीय भुक्तानीमा नेपालले फड्को मारेको छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा दक्षिण एशिया क्षेत्र वित्तीय समावेशी पहल (एसएआरएफआईआई)को बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक स्येद समर हुस्नैन, बङ्गलादेशको अर्थ मन्त्रालयका सहसचिव कमरुल हक मारूफको उपस्थिति थियो । बैठकको लिडर्स राउण्डटेबल सत्रमा स्वागत मन्तव्य राख्दै गभर्नर अधिकारीले दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको लक्षित उद्देश्य प्राप्तिका निम्ति एसएआरएफआईआईको गतिविधिलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए । त्यसको लागि क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उनको धारणा छ । एसएआरएफआईआईमार्पmत क्षेत्रीय सहकार्य र समन्वयलाई सुदृढ गर्दै आगामी पाँच वर्षका निम्ति दिगो, समावेशी र नवप्रवर्तनात्मक वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेन्डालाई बैठकमा प्राथमिकता दिइएको थियो । त्यस क्रममा एसएआरएफआईआईका सदस्य संस्थाका तर्पmबाट ‘एसएआरएफआईआई चार्टर’ संशोधन, एसएआरएफआईआई अन्तर्गतको एक्सपर्ट ग्रुप अन फाइनान्सियल इन्कुलुजन पोलिसीको कार्यका सर्त लगायतका विषयमा अवधारणा प्रस्तुत गरिएको थियो । उक्त अवधारणाउपर एसएआरएफआईआईको सदस्य संस्थाका प्रमुख÷प्रतिनिधिको तर्पmबाट विभिन्न धारणा राखिएको थियो । बैठकले एसएआरएफआईआई मार्पmत सन् २०२५ मा सञ्चालन हुने वार्षिक कार्ययोजनालाई पनि स्वीकृत गरेको छ । बैठकको पहिलो सत्रमा सदस्य संस्थाका सबै सहभागीको तर्पmबाट आआफ्नो मुलुकमा वित्तीय समावेशीकरणको विद्यमान स्थिति र दक्षिण एसियामा वित्तीय समावेशीकरणको प्रवद्र्धनका लागि एसएआरएफआईआई मार्पmत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोण प्रस्तुत गरिएको थियो । सो अवसरमा गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकले गरेका प्रयासबारे उल्लेख गर्दै नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य फड्को मारेको चर्चा गरे । दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउनका निम्ति वित्तीय सेवाको डिजिटलाइजेसन, ग्राहक संरक्षण, डिजिटल वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड दिन उनले आह्वान गरे । यसैगरी, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर डा. पी. नन्दलाल वीरासिंघेले श्रीलङ्काको वित्तीय समावेशीकरणको स्थितिबारे प्रकाश पार्दै दक्षिण एसियामा वित्तीय पहुँच र वित्तीय सेवा विस्तारका निम्ति एसएआरएफआईआईमार्पmत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोणबारे सुझाव प्रस्तुत गरे । उक्त सत्रमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राख्दै दक्षिण एसियामा वित्तीय सेवाको पहुँच विस्तारमा देखिएका चुनौतीलाई सम्बोधन गर्नका निम्ति एसएआरएफआईआई महत्वपूर्ण सञ्जाल रहेको धारणा राखिन् । सो अवसरमा अलाएन्स फर फाइनान्सियल इन्कुलुजनका उप–प्रमुख कार्यकारी अधिकृत सी सु युइनले उद्घाटन मन्तव्य राखे । बैठकमा गभर्नर अधिकारी र एसएआरएफआईआईको उपाध्यक्ष संस्था स्टेट बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक हुस्नैनले समापन मन्तव्य राखे । अलाएन्स फर फाइनान्सियल इन्कुलुजनको प्रयासमा २०२२ सेप्टेम्बरमा जोर्डनमा सम्पन्न एएफआई ग्लोबल पोलिसी फोरमको बाह्रौँ बैठकबाट एसएआरएफआईआई स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंक एवम् बङ्गलादेशस्थित माइक्रोक्रेडिट रेगुलेटरी अथोरिटी उक्त सञ्जालमा आबद्ध छन् । २०२४ सेप्टेम्बरदेखि एसएआरएफआईआईको अध्यक्षता नेपाल राष्ट्र बैंकले गर्दै आएको छ । क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, असल अभ्यासको अनुसरण गर्दै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित एसएआरएफआईआई स्थापना गरिएको थियो । एसएआरएफआईआई लिडरर्स राउण्डटेबल बैठक आयोजना हुनुपूर्व फागुन ५ गते एक्सपर्ट ग्रुप अन फाइनान्सियल इन्कुलजन पोलिसीको बैठक सञ्चालन गरी सम्बन्धित एजेन्डामा छलफल गरिएको थियो । यसैगरी, फागुन ५ देखि ७ गतेसम्म एएफआई र राष्ट्र बैंकको संयुक्त आयोजनामा साइबर वृद्धि गर्न क्षेत्रीय प्रशिक्षण डिजिटल भुक्तानीमा लचिलोपन र पूर्वाधार विषयक तालिम सञ्चालन गरिएको थियो । सो अवसरमा साइबर सुरक्षा जोखिमको न्यूनीकरणका लागि क्षमता विकास, त्यस्ता जोखिमबाट वित्तीय ग्राहकको संरक्षण र सोसम्बन्धी क्षेत्रीय अभ्यासको अनुभव आदानप्रदानका विषयमा उक्त तालिमलाई केन्द्रित गरिएको थियो । तालिममा नेपाल, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र माल्दीभ्सका ३१ जना प्रतिनिधिको सहभागिता थियो ।
विराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा
काठमाडौं । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै विराटनगरमा पहिलो पटक आधुनिक सुविधासम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। व्यस्त अभिभावकहरूका लागि ठूलो सहजता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो डे केयर केन्द्रले बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक तथा ज्ञानवद्र्धक वातावरण उपलब्ध गराउने जनाइएको छ । ‘किडोपिया स्टुडियो’ ले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै विभिन्न अत्याधुनिक सुविधा समेटेको छ । यसमा इनडोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य-श्रव्य शिक्षण (एभी) कोठा, आईटी तथा आर्ट एन्ड क्राफ्ट स्टुडियो जस्ता सिर्जनात्मक गतिविधिहरू समावेश छन् । साथै तार्किक सोंच तथा समस्या समाधान क्षमताको अभिवृद्धि गर्न ब्रेन गेम तथा पजल्सको विशेष व्यवस्था गरिएको छ । बच्चाहरूको पोषण तथा स्वास्थ्यलाई ध्यानमा राख्दै प्रोटिनयुक्त स्वस्थ भोजनको आपूर्ति गरिएको छ भने आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउन प्राथमिक उपचार (फर्स्ट एड) सेवाको व्यवस्था गरिएको छ । बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ‘किडोपिया स्टुडियो’ मा गेटेड सेक्युरिटी अर्थात् निगरानीयुक्त सुरक्षित वातावरण निर्माण गरिएको छ । प्रशिक्षित शिक्षक तथा अनुभवी स्टाफको साथमा बच्चाहरूले खेल्दै–खेल्दै सिक्ने अवसर पाउनेछन् जसले उनीहरूको मानसिक, शारीरिक तथा सामाजिक विकासलाई सघाउनेछ। विराटनगर १० मा अवस्थित ‘किडोपिया स्टुडियो’ हप्ताको सातै दिन बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ ।
सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा
काठमाडौं । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ । टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल फुँयालका अनुसार ‘टिम भरिया’ एप राइड सेयरिङ एपहरू पठाओ र इन्ड्राइभ जस्तै विशेषतासहित ल्याइएको हो । उनले ढुवानी साधनहरूले भोग्दै आएको समस्यालाई समाधान गर्ने उद्देश्यले एप विकसित गरिएको जानकारी दिए । फुँयालले भने, ‘हाल ट्रक वा अन्य गाडीहरूले सामान ढुवानीका लागि ट्रान्सपोर्ट कम्पनीहरूमा गएर कुरिरहनुपर्ने अवस्था छ । त्यस्तै, कम्पनी वा सप्लायर्सले ट्रान्सपोर्टरलाई सामान लोडिङ गर्न अनुरोध गर्दा पनि सहज रूपमा उपलब्ध हुन सक्दैनन् । यी समस्याहरू हटाउन एप ल्याइएको हो ।’ अब ‘टिम भरिया’ एपमार्फत कम्पनी वा सप्लायर्सले पठाउनुपर्ने सामानको विवरण प्रविष्ट गर्न सक्नेछन्। राइडरहरूले उक्त विवरण हेरेर भाडा स्वीकार गर्न वा आवश्यक परेमा समायोजन गर्न सक्नेछन् । एपमा तीन प्रकारका साइनअप विकल्पहरू छन्- ‘आई एम ड्राइभर’, ‘आई एम कार्गो’ र ‘आई एम ट्रान्सपोटर’। साथै एपमा डोमेस्टिक र लङ रुट गरी दुई फरक क्याटेगोरीमा गाडीहरू उपलब्ध छन् ।