विकासन्युज

कर्पोरेट क्षेत्रमा उत्कृष्ट काम गर्ने २२ जना व्यक्ति तथा संस्थालाई एचआरएम अवार्ड

काठमाडौं । मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेका व्यक्ति र संस्थालाई कर्पोरेट क्लबले ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ सम्मान गरेको छ । काठमाडौंमा मङ्गलबार आयोजित कार्यक्रममा क्लबले २० विधामा २२ जनालाई ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’  प्रदान गरेको हाे । जसमा लाईफ म्यानेजमेन्ट तर्फको अवार्ड कर्ण शाक्यले पाएका छन् । लिडरसिप पुरुष तर्फकोअवार्ड जीवा लामिछानेलाई दिइएको छ भने महिला तर्फको अवार्ड  हिमालय रिइन्स्याेरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई  दिइएको छ ।   यस्तै, सामाजिक तर्फको अवार्ड इन्दिरा  सापकोटाले पाएकी छिन् । कर्पोरेट क्लबले संस्थागत तर्फ भने नेपथ्य नेपाली ब्याण्ड, कालिका मानव विज्ञान सेकेन्डरी स्कुल बुटवल र गेटा आँखा अस्पताललाई प्रदान गरेको छ ।   मल्टिनेसनल कम्पनी तर्फ एनसेल, नेपाल एसबीआई बैंक, सोल्टी होटलले अवार्ड प्राप्त गरेका छन् । यस्तै, जीवन बीमातर्फ सिटिजन लाइफ इन्स्याेरेन्स, निर्जीवन बीमातर्फ  सगरमाथा लुम्बिनी इन्स्याेरेन्स, म्यानुफ्याक्चरिङ कम्पनीतर्फ  शिवम् सिमेन्ट, विकास बैंकतर्फ गरिमा विकास बैंक, डिस्ट्रिब्युसनतर्फ  फूल प्रसाद र एसियन फर्मास्युटिकल्सले अवार्ड प्राप्त गरेका छन् । यस्तै, निर्माणतर्फ शर्मा एण्ड कम्पनी कन्स्ट्रक्सन,  सूचना प्रविधितर्फ किम्बु टेक, एग्रिटेक बिजनेसतर्फ श्रीनगर एग्रिटेक कम्पनी, ग्रीन इन्टेटिभ कम्पनी तर्फ भेन्चरविन्स इनर्जी कम्पनी, एसएमइ कम्पनी तर्फ नित्या ट्रेडसनल कम्पनी र स्टार्टअफ कम्पनी तर्फ डेलिस टेक्स कम्पनीले अवार्ड पाएका छन् । काम गर्ने हौसला मिल्यो यो अवार्डबाट सम्मानित हुने व्यक्ति तथा संघ संस्थाले भने काम गर्ने हौसला मिलेको बताएका छन् । अवार्ड प्राप्त गर्ने क्रममा आफ्नो धारणा राख्दै उनीहरूले यस्ता अवार्डले काम गर्न थप ऊर्जा दिने गरेको भन्दै धन्यवाद व्यक्त गरे । लाइफ म्यानेजमेन्टको उपाधि पाएका कर्ण शाक्यले यस्ता अवार्ड कामबाट विश्राम लिने सोच समेत नआउने गरेको बताए । ८३ वर्षसम्म काममा सक्रिय रहेको बताउँदै उनले सास रहुन्जेलसम्म काम गरिराख्ने बताए । उनले भने, ‘मैले आफ्नो व्ययसावबाट ७ वर्ष अगाडि नै विश्राम लिएँ, अहिले सकारात्मक सोच अभियान बढाइरहेको छु ।’ उनी जीवनमा सकारात्मक सोचका साथी काम अगाडि बढाए कुनैपनि कुरा असम्भव नहुने बताए । यस्तै, जीवा लामिछानेले नेपालमा व्यवसाय गर्न सके विदेशिनुपर्ने अवस्था नरहने बताए । उनले आफूले केही वर्ष विदेश बसेर नेपालमै गर्नुपर्छ भन्ने भावनाले नेपालमा व्यवसाय सुरु गरेको बताए । यस्तै, हिमालय रि इन्स्याेरेन्स प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल भारतमै पढ्दा भारतमै केही गर्नुपर्छ भन्ने मनस्थिति बनाइराख्दा नेपाल आउँदा नेपालले बाहिर जाने सोच नै हटाइदिएको बताइन् । नेपालमा युवा पुस्ता विदेसिइरहेको बेला उनले नेपालमै गर्न सक्ने वातावरण रहेको दाबी गरिन् । कार्यक्रममा सम्मानित भएका अन्य व्यक्ति र संस्थाले पनि अवार्ड प्रदान गरेकोमा कर्पोरेट क्लबलाई धन्यवाद दिए ।  यस्तै, कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले यस्ता अवार्डले नेपालमा व्यवसाय गरिरहेका उद्योगीहरूको मनोबल बढ्ने बताए । सम्मानित व्यक्तिलाई अवार्ड प्रदान गर्दै मन्त्री लेखले मूलकको विकासमा निजी क्षेत्रको भूमिका सह्रानीय रहेको भन्दै सरकारले सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।  ‘यसका लागि सकारले कस्तो वातावरण बनाउनुपर्छ त्यो बनाउँछ,’ उनले भने,  ‘निजी क्षेत्रको सहजताका लागि नै अध्यादेश ल्याइएकाे हाे, यो हिउँदे अधिवेशनमा अध्यादेश स्वीकृत हुन्छ, हामीले निजीक्षत्रेसँग काम गर्न भएको नीतिगत समस्या बारे यो भन्दा अगाडि अछलफल गरेका थियौं, त्यही छलफलबाटै हामीले ध्यायदेश ल्याएका हौं । तर, त्यो अध्यादेशमा छलफल हुने सकेको छैन यो दुःखद हो ।’ उनले अध्यादेश अहिलेको आवश्यक्ता भएको भन्दै जस्तोसुकै अवस्थामा पनि पारित हुने बताए । 

गाँजा अर्थतन्त्र : विश्वभर ३ खर्ब ४० अर्ब डलरको बजार, यस्तो छ नेपालमा गाँजा प्रयोगको इतिहास

काठमाडाैं । आज महाशिवरात्री । शैव र हिन्दुहरुले महाशिवरात्री पर्व विशेष उल्लासका साथ मनाउने गर्छन् । नेपालमा शिवरात्रीमा ‘शिवबुटी’ भन्दै गाँजाको सेवन गर्ने प्रचलन छ । यद्यपि, नेपालको कानुनले गाँजाको प्रयोग, ओसार प्रसार र विक्री वितरण रोक लगाएको छ । विश्वका ५० भन्दा बढी देशले गाँजालाई प्रतिबन्धित लागू पदार्थको सुचीबाट हटाउँदै यसको व्यावसायिक खेती खुल्ला गरिसकेका छन् । पछिल्लो समय गाँजालाई प्रतिबन्धित औषधीको सुचीबाट हटाउनु पर्छ भनेर विश्वव्यापी रुपमा आवाज उठ्न लागेको छ । विश्वमा गाँजाको अर्थतन्त्र निकै ठूलो रहेको तथ्यांकहरुले देखाएका छन् । स्वीट्जरल्याण्डको न्युज पोर्टल ‘जेनेभा विजनेस न्युज’का अनुसार गाँजाको बजार वार्षिक ३ खर्ब ४० अर्ब अमेरिकी डलरभन्दा बढीको छ । सो न्युज पोर्टलका अनुसार गाँजाको सबैभन्दा ठूलो बजार एसिया महादेश हो । यो क्षेत्रमा वार्षिक १ खर्ब ३२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको बजार छ । यस्तै, उत्तर अमेरिककामा वार्षिक ८५ अर्ब ६० करोड अमेरिकी डलर, युरोपमा ६८ अर्ब ५० करोड अमेरिकी डलर, अफ्रिका ३७ अर्ब ३० करोड अमेरिकी डलर ल्याटिन अमेरिकामा ९ अर्ब ८० करोड अमेरिकी डलर बराबरको बजार छ । नेपालमा गाँजा प्रयोगको इतिहास नेपालमा गाँजा उत्पादन र बिक्री वितरणको इतिहास लामो छ । तराईका बारा, पसाए, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजाखेती गर्ने गरिन्थ्यो । दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको विश्वास गरिएको छ । ‘हिप्पी’ युगको सुरुआत भएसँगै गाँजाको सेवनकर्ताको घुइचो काठमाडौंमा लाग्न थालेको थियो । सो समयमा काठमाडौंमा ३० भन्दा बढी गाँजा र चरेस केन्द्र खुलेका बताइएको छ । गाँजाको प्रयोग परम्परागत रुपमा बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावरको उपचार गर्न जस्ता प्रयोजनमा गाँजाको प्रयोग हुने गरेको थियो । नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ । नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ । भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको हिन्दु धर्मशास्त्रमा उल्लेख छ । समुन्द्र मन्थनकै बेलामा उत्पन्न भएको अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको अर्काेथरी व्याख्या पनि शास्त्रहरुमा छ । नेपालमा गाँजा प्रयोगको लामो इतिहास छ । नेपालले समेत विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखलाको औषधि निर्यात गरेको र अहिले पनि सिंहदरबार वैद्यखानाले त्यस्ता औषधीहरू बनाउने गरेको वैद्यखानाले जानकारी दिएको छ । अहिले विश्वमा धेरै खोजिने मध्येको एक निद्रा सम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुने गरेको विज्ञले बताएका छन् । सन् १९७० अघिसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो । नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुने गरेको तथ्यहरु फेला परेका छन् । सन् १९६० र सन् १९७० को दशकमा नेपालमा फैलिएको हिप्पी संस्कृतिको मुल कारण नै गाँजाको सहज उपलब्धता हो भनेर व्याख्या गरिएको थियो । नेपालमा कानुनी व्यवस्था संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ‘द सिङ्गल कन्भेन्शन अन नार्काेटिक ड्रग्स १९६१’ पारित गर्यो । त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान राखियो । नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो । त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । पाँचचोटि संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना भनिएको छ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ । उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र ३ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । खुल्ला गर्ने वहसको सुरुवात गाँजा सेवनलाई विश्वमै सबैभन्दा पहिला अनुमति दिने देश उरुग्वे हो । त्यसपछि नेदरल्यान्ड्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले पनि गाँजा सेवनलाई अनुमति दिएका छन् । अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायल जस्ता देशहरुमा गाँजालाई औषधीमो रुपमा प्रयोग गर्न छुट छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्राड्यूले गाँजालाई कानुनी मान्यता दिने विधेयक संसदमा पेस गरे पारित गरिसकेकी छन् । गाँजाको फाइदा आधुनिक विज्ञानले पनि गाँजा प्रयोगले फाइदा हुने पुष्टी गरेको छ । गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान पनि भएका छन् । अनुसन्धानहरुले पुष्टी गरे अनुसार ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुन्छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने पनि पुष्टी भएको छ । अर्काे एउटा अनुसन्धानले गाँजा सेवन गर्नेको यौन क्षमता बढी हुने देखाएको छ । ‘जर्नल अफ सेक्सुअल मेडिसिन’को सो रिपोर्टमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुने उल्लेख गरिएको छ । अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले सन् २००२ देखि २०१५ सम्म सो अनुसन्धान गरेको थियो । अनुसन्धानमा गाँजा सेवन गर्ने २५ देखि ४५ वर्ष उमेर समूहका ५० हजार मानिस सहभागी भएका थिए । सहभागीलाई एक वर्षमा कतिपटक गाँजा सेवन गरेको र त्यसको चार सातासम्म कति पटक यौनसम्पर्क राखेको भन्ने प्रश्न सोधिएको थियो । उनीहरूले सामान्य अवस्थाभन्दा गाँजा सेवनपछि धेरैपटक यौनसम्पर्क गरेको बताएका रिपोर्टमा उल्लेख छ । गाँजालाई आयुर्वेदमा ‘विजया’ भनेर उल्लेख गरिएको छ । निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्या जस्ता रोग निको पार्न गाँजा (विजया) को औषधि प्रयोग हुँदै आएको छ । विकासन्युकाे अर्काइभबाट ।

जति शरीरको वजन बढ्यो उति मानिसको मृत्यु बढ्ने

केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा हेरिन्थ्यो भने दुब्लो, पातलोलाई रोगीको रुपमा हेर्ने गरिन्थ्यो । तर विस्तारै यस्तो सामाजिक सोचमा परिवर्तन आएको छ । अहिले अधिकांश मानिस आफूलाई स्वस्थ राख्न मोटो हुनबाट निकै सचेत रहेको पाइन्छ । मोटोपनबाट हुनसक्ने स्वास्थ्य जोखिमका बारेमा जानकारी राख्नेहरूको सङ्ख्या बढ्दैछ । मोटोपनलाई रोगको घरको रुपमा लिन थालिएको छ । यद्यपि, कतिपय मानिसहरू चाहेर वा नचाहेर पनि मोटोपनको सिकार बनेका छन् । मोटोपन भएकालाई जुन कारण र जति धेरै स्वास्थ्य जोखिम छ दुब्लो पातलोलाई त्यस्तो हुन्न । दुब्लो भएर पनि धुमपान गर्ने, चिनीयुक्त खानेकुरा खाने, सन्तुलित भोजन नगर्ने, तनावग्रस्त रहने व्यक्तिलाई मुटुरोगको उच्च जोखिम हुने गर्दछ । मोटोपन यस्तो अवस्था हो, जसले गर्दा शरीरमा धेरै किसिमका रोग उत्पन्न भई मानिसको मृत्युसम्म हुने गर्दछ । त्यसमध्ये मटुरोग पनि एउटा हो । मुटुरोगमा हृदयघात, हार्ट फेलियर, अपर्झट मृत्यु हुने, एन्जाइना, मुटुको चालको गडबडी आदि समस्या हुने पर्दछ । शरीरको तौल अर्थात् बीएमआई २५ भन्दा बढी भएकाहरूमा मोटोपनको समस्या ज्यादा हुने गर्दछ । शरीरको वजन ठिक्क भएका भन्दा वजन बढी भएका मानिसमा उच्च रक्तचाप दोब्बर हुने गर्दछ । मोटोपनले नराम्रो करोस्टरोल बढाउने मात्र होइन, राम्रो कलेस्टेरोललाई पनि घटाउँछ । शरीरमा कोलेस्ट्रोल मात्रा बढ्न गएमा रगतको नसामा जम्मा हुन्छ र नसा साँघुरो बनाइदिन्छ । यसले मुटुलाई पम्प गर्न गाह्रो हुन्छ । त्यसैले मोटोपन र मुटुरोगबीच सिधा सम्बन्ध रहेको छ । मोटोपनलाई विश्वमा दीर्घरोगको रूपमा हेर्न थालिएको छ । हाल युरोप, अमेरिकामा स्वास्थ्यका समस्याहरूमध्ये मुख्य समस्याको रुपमा मोटोपनलाई मानिएको छ । मानिसमा चेतना बढ्दै गए पनि जीवनशैली बिग्रदै गएका कारण ती देशहरूमा पनि यो समस्या धेरै मानिसलाई देखिएको छ । असन्तुलित खानपान, अत्यधिक खानपान, अनियन्त्रित खानपान नै मोटोपनको एउटा मूल कारण हो । त्यसमध्ये पनि कतिपयमा वंशाणुगत कारण वा कुनै रोगको कारण पनि मोटोपन हुने गर्दछ । विश्वमा सामान्यतया १५ प्रतिशत महिलामा मोटोपन देखिएको छभने ११ प्रतिशत पुरुषमा मोटोपन छ । तीन जनामा एक जना पुरूषमा मोटोपनको समस्या छभने महिलामा चार जनामा एक जनामा वजन ज्यादा देखिएको छ । नेपालमा पनि मोटोपन एक स्वास्थ्य समस्याको रुपमा देखिएको छ । सन् २०१३ मा नेपालको कुल जनसङ्ख्याको २१ प्रतिशतमा मोटोपन पाइएको थियो भने सन् २०१९ मा २९ प्रतिशतमा यो समस्या पाइएको थियो । तैपनि नेपाल मोटोपन कम नै भएको देशको सूचीमा पर्दछ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले गरेको अध्ययनअनुसार नेपालमा ३५ प्रतिशत महिला, छ प्रतिशत किशोरकिशोरी र तीन प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा मोटोपन पाइन्छ । अरु प्रदेशमा भन्दा बागमती प्रदेशमा मोटोपनको समस्या धेरै भएको सो अध्ययनले देखाएको छ । मोटो व्यक्तिमा जोखिम कस्तो छ त ? वार्षिक रूपमा विश्वमा समयअगावै अर्थात् औसत उमेरभन्दा कम उमेरमा हुने मृत्युको सङ्ख्या करिब तीन लाख रहेको छ । विश्वमा मोटोपनको समस्याले वार्षिक तीन लाख मानिसको मृत्यु भइरहेको छ । मृत्युको कारणमध्ये मोटोपनलाई प्रमुख जोखिम तत्व मानिन्छ । डब्लुएचओले गरेको अध्ययनमा उच्च रक्तचाप, सुर्तीजन्य वस्तुको सेवन र खानपिनका कारण हुने मृत्युपछि चौथो नम्बरको कारणमा मोटोपनलाई देखाएको छ । जति शरीरको वजन बढ्यो उति मानिसको मृत्यु बढ्ने गर्छ । बीएमआई ३० भन्दामाथि भएका मोटा मानिसहरूमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म अकाल मृत्यु हुने खतरा हुन्छ । सामान्य बीएमआई हुनेको भन्दा बीएमआई ३० भन्दा बढी हुनेको मृत्यु अकालमा हुने खतरा धेरै नै हुन्छ । त्यसकारण मोटोपन आफैँ पनि मानिसको मृत्युको कारक तत्व हो । मोटोपन अलिअलि हुँदा पनि मानिसको मृत्युको सङ्ख्या बढी देखिन्छ । एक अध्ययनअनुसार मानिसको तौल हुनुपर्ने आवश्यक तौलभन्दा पाँच केजीमात्र बढी हुँदा पनि ३० देखि ६४ वर्षका मानिसको मृत्यु बढी भएको पाइएको छ । उनीहरूलाई हृदयघात बढी भएको पाइएको छ । शरीरको तौल बढी अर्थात् बीएमआई २५ भन्दा बढी भएमा हुने मुटुका रोगहरूमा हृदयघात, हार्ट फेलियर, एन्जाइना, मुटुको चाल गडबडी हुने, मुटुमा भएका अन्य समस्याका कारण हुने आकस्मिक मृत्यु आदि हुने गरेको पाइएको छ । शरीरको तौल करिब पाँच केजी जति बढी हुँदा पनि शरीरको तौल ठिक्क भएकाहरूलाई भन्दा तौल बढी भएकालाई उच्च रक्तचाप र मधुमेह करिब दोब्बर हुने गरेको पाइएको छ । मधुमेह भएकाहरूमध्ये करिब ८० प्रतिशतको शरीरको तौल बढी भएको पाइन्छ । साथै, शरीरको तौल बढी भएकाहरूमा राम्रो कलेस्टेरोल कम हुने र खराब कलेस्टेरोल बढी हुने गरेको पाइएको छ । डा. अवनिभूषण उपाध्याय यसैगरी मोटोपनले ल्याउने अर्को समस्यामा क्यान्सर पनि हो । मोटा मानिसमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, पित्तथैलीको क्यान्सर, मिर्गौलाको क्यान्सर, प्रोस्टेट क्यान्सर बढी हुने गरेको पाइन्छ । शरीरको तौल बढी भएका महिलामा ठिक्क वजन भएकाहरूमा भन्दा स्तन क्यान्सर दुई गुणा बढी भएको पाइएको छ । मोटो व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी समस्या बढी नै हुने गर्दछ । सुत्ने बेलामा हुने श्वासप्रश्वाससम्बन्धी समस्या वा घुर्ने समस्या पनि शरीरको तौल बढी हुनेहरूमा धेरै भएको पाइन्छ । यस्तो समस्या हुँदा सुतेको बेला छिनछिनमा श्वास रोकिने अवस्था आउँछ, जसले मुटुमा प्रत्यक्ष असर गर्छ । साथै, मोटा मानिसमा घुर्ने समस्या पनि धेरै आउँछ । शरीरको तौल करिब एक किलोग्राम बढ्दा नौदेखि १३ प्रतिशतसम्मलाई जोर्नी दुख्ने समस्या बढ्ने गरेको पाइएको छ । साथै तौल घट्नासाथ जोनीको दुखाइ घट्ने गरेको पाइन्छ । मोटा महिलालाई गर्भाधान भएको बेला धेरै समस्या हुन्छ । गर्भावस्थामा मोटोपन भएको कारण आमा र बच्चाको मृत्युदर बढ्छ । मोटोपनको कारणले गर्भावस्थामा हुने डायबिटिज पनि बढी हुन्छ । वजन धेरै भएका आमाहरूबाट जन्मजातात रुपमा रोग भएका बच्चाहरू धेरै जन्मिन्छन् । अन्य समस्याहरूमा पित्तथैलीको रोग, पिसाब चुहिने रोग, शल्यक्रिया गर्दा जोखिम हुने, डिप्रेशन धेरै हुने हुन्छ । बालबच्चाहरूमा मोटोपन भएमा पछि गएर मुटुरोग धेरै हुने, मधुमेह हुने, पछिसम्म पनि मोटो भइराख्ने समस्या हुन्छ । कसरी बच्ने त ? मोटोपन मुटु रोगको एउटा मुख्य कारण हो । त्यसैले मोटोपनलाई नियन्त्रण गर्न सकियो भने मुटु रोगको जोखिमबाट बच्न सकिन्छ । साथै मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल पनि मुटु रोग निम्त्याउने भएकाले त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । मुटुरोगको जोखिमबाट बच्न मोटोपन नियन्त्रणसँगै जीवनशैली परिवर्तन र खानपान परिवर्तन गर्नुपर्छ । दैनिक व्यायाम गर्ने, तनाव कम गर्ने गर्नुपर्छ । अल्छी जीवन, बसिरहनुपर्ने, ज्यादा खाना खानुपर्ने, गुलिया चिल्लो, नुन धेरै खाने, फलफूल, सागपात नखाने वा थोरै मात्र खाने, व्यायाम नगर्ने, रक्सी चुरोट पिउने, टेलिभिजन, कम्प्युटर मोबाइलमा धेरै समय बिताउने आदि खराब जीवनशैली हुन् । ठीक समयमा सुत्ने र ठीक समयमा उठ्ने अर्थात् सधैं एउटै समयमा सुत्ने, उठ्ने गर्नुपर्छ । तनावबाट आफूलाई बचाउनुपर्छ । मोटोपनबाट आफूलाई बचाउन सन्तुलित खाना (प्रोटिन, कार्बोहाइड्रेट र चिल्लोको सन्तुलन भएको) खाने गर्नुपर्छ । कार्बोहाइड्रेट घटाउने र प्रोटिन बढाउने गर्नुपर्छ । गुलियो मिठाई, केक, आइसक्रिम आदि खानु हुँदैन । दैनिक व्यायाम एवं योग गर्ने, फलफूल र सागपात प्रशस्त खाने, सकेसम्म हिँड्ने र यातायातको साधन कम प्रयोग गर्ने, सकेसम्म लिफ्टको प्रयोग नगरी भर्याङमा हिँड्ने गर्नुपर्छ । साँझको खाना सकेसम्म घाम अस्ताउनेबित्तिकै खानुपर्छ । दिनभरिमा ३–४ पल्टभन्दा बढी केही पनि खानु हुँदैन । नियमित रूपले एउटै समयमा खाना खाने, एकैपटकमा धेरै खाना नखाने, भोक धेरै लागेको बेला कम क्यालोरी दिने खानेकुराहरू जस्तै गाँजर, काँक्रो, कागतीको सर्बतलगायत फलफूल र जुस सेवन गर्दा फाइदा हुन्छ । तसर्थ, मुटुरोग निम्त्याउन सक्ने यस्ता कुराहरूमा ध्यान दिन सकियो भने मुटुरोगको जोखिमबाट बच्न सकिन्छ । (प्रस्तुत विचार हालै प्रकाशित ‘मान्छेको मुटु’ नामक पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा उपाध्यायसँग गरिएको कुराकानीमा आधारित)

बुधबारदेखि सिनेमा घरमा ‘फेरि रेशम फिलिलि’

काठमाडौं । नेपाली चलचित्र ‘फेरि रेशम फिलिलि’ बुधबारदेखि प्रदर्शनमा आएको छ । सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रीको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ । चलचित्रको मंगलबार साँझ ‘ग्राण्ड प्रिमियर’ समेत गरिएको छ । ललितपुरमा सम्पन्न प्रिमियर चलचित्रका कलाकारदेखि तथा अन्य थुप्रै कलाककर्मीहरुको सहभागिता रहेको थियो । चलचित्रले प्रिमियर शोमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ । शोपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता तथा निर्देशक अशोक शर्माले चलचित्र एकदमै रमाईलो रहेकोले दर्शक एकछिन पनि बोर नहुने प्रतिक्रिया दिए । उनले नेपाली युवाहरुमा विदेश जाने हुटहुटी रहेको बेलामा चलचित्र ‘फेरि रेशम फिलिलि’ले राम्रो सन्देश दिएको बताए । उनले चलचित्र हेरिदिनका लागि समेत सबै दर्शकहरुलाई आग्रह गरे । अभिनेत्री ऋचा शर्माले शर्माले चलचित्रका कलाकारहरुको अभिनयको प्रशंसा गरिन् । उनले चलचित्र समग्रमा राम्रो बनेकोले कोही दर्शन पनि बोर नहुने प्रतिक्रिया दिइन् । चलचित्रलाई निरज महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

करोड बढी तलब बुझ्ने बैंकर : १२ सीईओको तलब बढ्यो, ८ को घट्यो

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको तलबको विषयमा बेलाबखत बहस हुन्छ । अन्य क्षेत्रको तुलनामा बैंकिङ पारदर्शी हुने भएकोले पनि बैंकरको तलब जस्ताको त्यस्तै वित्तीय प्रतिवेदनमा उल्लेख गरिन्छ । उसो त अन्य क्षेत्रका कार्यकारी प्रमुख तथा सीईओहरुले पनि करोडको हाराहारीमै तलब बुझ्ने गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा १२ वटा बैंकका सीईओ तलब भत्ता बढ्दा ८ वटा सीईओको भने घटेको देखिन्छ । १, गोरख राणा हाल गोरख राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीईओ हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्ष २०८०/८१ मा सीईओको लागि तलब, भत्ता तथा बोनस बापत ८ करोड ५१ लाख ९८ हजार ९९१ रुपैयाँ भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३१.४३ प्रतिशत अर्थात् ४ करोड ८३ लाख ८५ हजार रुपैयाँ बढी हो । विदेशी लगानीमा सञ्चालित यस बैंकका सीईओको तलब बैंकिङ क्षेत्रकै सबैभन्दा उच्च र गत वर्ष सर्वाधिक वृद्धि भएको हो । बैंकले अघिल्लो आर्थिक बर्ष २०७९/८० मा सीईओलाई तलब, भत्ता तथा बोनस बापत ३ करोड ६८ लाख १३ हजार ७०९ रुपैयाँ (कर बाहेक) भुक्तानी गरेको थियो । हाल बैंकको सीईओमा गोरख गोरख शमशेर राणा कार्यरत भएपनि उक्त तलब भत्ता पूर्वसीईओ अनिर्वाण घोष दास्तिदारले बुझेका हुन् । २, सुदेश खालिङ नेपाली बैंकिङ क्षेत्रमा सीईओ खालिङको पृथक पहिचान छ । विदेशी लगानी समेत रहेको एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेर उनले बैंकलाई एउटा उचाइमा पुर्याएका छन् । अहिले बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्दा उनले मात्रै न्यूनतम बिन्दुमा बैंकको खराब कर्जा राखेका छन् । उनी एक अब्बल व्यवस्थापकका रुपमा बैंकिङ क्षेत्रमा चिनिएका छन् । एभरेष्ट बैंकले सीईओ खालिङलाई गत वर्ष ७ करोड ३६ लाख ६५ हजार १२३ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष २९.०८ प्रतिशत अर्थात् ३२ लाख रुपैयाँ बढेको देखिन्छ । अघिल्लो वर्ष बैंकले सीईओ खालिङलाई ५ करोड ७० लाख ६५ हजार ६१ रुपैयाँ तलब भुक्तानी गरेको थियो । ३, ज्योति प्रकाश पाण्डे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सीईओ ज्योति प्रकाश पाण्डेलाई ४ करोड १२ लाख ४९ हजार १५७ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ, भत्ता बापत १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ, दशैँ भत्ता बापत २२ लाख ३३ हजार ७८४ रुपैयाँ, सञ्चय कोष बापत १६ लाख ७ हजार ६०५ रुपैयाँ र बोनस बापत १ करोड ६ लाख १५ हजार ३६० रुपैयाँ प्रदान गरेको छ । अघिल्लो वर्ष २०७९/८० मा सीईओलाई ५ करोड ३७ लाख ९ हजार ५४० रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलब बापत १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ, भत्ता बापत १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ, दशैँ भत्ता बापत २२ लाख ३३ हजार ७८४ रुपैयाँ, सञ्चय कोष बापत १६ लाख ७ हजार ६०५ रुपैयाँ, बोनस बापत १ करोड ६४ लाख ६९ हजार १४६ रुपैयाँ र बिदाबापत ६६ लाख ६ हजार ५९७ रुपैयाँ प्रदान गरेको थियो । ४, अशोक शेरचन प्रभु बैंकले सीईओ अशोक शेरचनलाई गत वर्ष ३ करोड ९४ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब भत्ता बापत ३ करोड १२ लाख ३१ हजार रुपैयाँ, कर्मचारी बोनस बापत ३५ लाख ३४ हजार रुपैयाँ र दशै तथा बिदा वापत भत्ता बापत ४६ लाख ६७ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । तलव र भत्ता बाहेक सीईओलाई ईन्धन र मर्मत सम्भार सहित सवारी साधन, दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ । साथै मोवाइल फोनको भुक्तानी गर्ने व्यवस्था समेत बैंकले गर्ने गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई ४ करोड ७ लाख रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलबबापत २ करोड ९६ लाख ८५ हजार रुपैयाँ, कर्मचारी बोनस बापत ६४ लाख ५४ हजार रुपैयाँ र दशैँ तथा बिदा बापत भत्ता ४५ लाख ६७ रुपैयाँ भुक्तानी गरेको थियो । ५, रोशन कुमार न्यौपाने बैंकिङ क्षेत्रमा कान्छो सीईओकाे परिचय बनाएका रोशन न्यौपाने एनआईसी एशिया बैंकका सीईओ हुन् । एनआईसी एशिया बैंकले सीईओ न्यौपानलाई गत वर्ष ३ करोड ५५ लाख ८७ हजार १९१ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब भत्ता बापत २ करोड ८८ लाख ९४ हजार ६३५ रुपैयाँ, कर्मचारी बोनस बापत ६४ लाख ५६ हजार ५८३ रुपैयाँ, अन्य रकम बापत ९१ हजार ५ सय रुपैयाँ र अन्य सुविधा बापत १ लानख ४४ हजार ४७३ रुपैयाँ प्रदान गरिएको छ । अन्य सुविधा अन्तर्गत एक सवारी साधन तथा सवारी चालक सहित, बीमा, कर, मर्मत संभार लगायतका खर्च बैंकले प्रदान गरेको हो । अघिल्लो वर्ष २०७९/८० मा बैंकले सीईओलाई २ करोड ९८ लाख ६३ हजार ६१२ रुपैयाँ भुक्तानी गरेको थियो । जसमा कूल वार्षिक तलब, भत्ताबापत २ करोड ४० लाख ८८ हजार ९६६ रुपैयाँ, कर्मचारी बोनस बापत ५५ लाख ३७ हजार ६९ रुपैयाँ, अन्य रकम १ लाख १७ हजार १३२ रुपैयाँ, अन्य सुविधा बापत १ लाख २० हजार ४४५ रुपैयाँ प्रदान गरिएको थियो । ६, रामचन्द्र खनाल कुमारी बैंकले गत वर्ष सीईओ रामचन्द्र खनाललाई २ करोड ६५ लाख ५९ हजार ८२९ रुपैयाँ भुक्तानी गरेको छ । उक्त तलब भत्ता बैंकका पूर्वसीईओ रमेशराज अर्याल र हाल कार्यरत सीईओ रामचन्द्र खनाललाई प्रदान गरिएको हो । बैंकले पूर्वसीईओ अर्याललाई १ करोड ३७ लाख ५१ हजार ४६५ रुपैयाँ र सीईओ खनाललाई १ करोड ३७ लाख ५१ हजार ४६५ रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड ४२ लाख ९ हजार १५३ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको थियो । जसमा पूर्वसीईओ अर्याललाई १ करोड ४९ लाख १० हजार ९२९ रुपैयाँ र सीईओ खनाललाई ९२ लाख ९८ हजार २२४ रुपैयाँ प्रदान गरिएको थियो । ७, सुनिल केसी एनएमबि बैंकले सीईओ सुनिल केसीलाई गत वर्ष तलब तथा पारिश्रमिक बापत २ करोड ४१ लाख ५८ हजार ७२५ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत ९० लाख रुपैयाँ, सञ्चय कोषबापत ९ लाख रुपैयाँ, भत्ता बापत ८५ लाख रुपैयाँ, बोनस तथा वेल्फेयरबापत ५७ लाख १३ हजार ७२५ रुपैयाँ र अन्यबापत ४५ हजार रुपैयाँ भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० मा तलब तथा पारिश्रमिकबापत २ करोड ४८ लाख १८ हजार ५८९ रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलबबापत ९० लाख रुपैयाँ, सञ्चय कोषबापत ९ लाख रुपैयाँ, भत्ता बापत ८५ लाख रुपैयाँ, बोनस तथा वेल्फेयरबापत ६३ लाख ३६ हजार ३९० रुपैयाँ र अन्यबापत ८२ हजार १९९ रुपैयाँ भुक्तानी गरेको थियो । ८, ज्ञानेन्द्रप्रसाद ढुंगाना ज्ञानेन्द्रप्रसाद ढुंगाना नबिल बैंकका सीईओ हुन् । नबिल बैंकले सीईओ ढुंगानालाई गत वर्ष २ करोड ३६ लाख ५ हजार ७८३ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । उनले खुद तलबबापत् १ करोड ३२ लाख ५३ हजार २२६ रुपैयाँ, अन्य लाभ तथा सुविधाबापत ९५ लाख ५७ हजार ३६३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९५ हजार १९४ रुपैयाँ बैंकबाट बुझेका हुन् । अघिल्लो वर्ष भने बैंकले सीईओलाई १ करोड ५९ लाख २० हजार ६३३ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको थियो । जसमा खुद तलबापत् ७९ लाख २० हजार रुपैयाँ, अन्य लाभबापत ७२ लाख ८ हजार ६३३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष सीईओ ढुंगानाको तलब भत्ता ४८.२७ प्रतिशत अर्थात् ७६ लाख ८५ हजार रुपैयाँ बढेको हो । ९, अशोक राणा  हिमालयन बैंकले सीईओ अशोक राणालाई गत वर्ष २ करोड १५ लाख २ हजार ३२९ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ । जसमा तलबबापत १ करोड ८६ लाख रुपैयाँ, भत्ताबापत १५ लाख ५० हजार रुपैयाँ, टेलिफोन तथा मोबाइल खर्चबापत १३ लाख ४० हजार ३१ रुपैयाँ र विविधबापत १२ हजार २९८ रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड १४ लाख ६८ हजार २५९ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । जसमा तलबबापत १ करोड ८६ लाख रुपैयाँ, भत्ताबापत १५ लाख ५० हजार रुपैयाँ, टेलिफोन तथा मोबाइल खर्चबापत १३ लाख ५ हजार ९६१ रुपैयाँ र विविधबापत १२ हजार २९८ रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । १०, अजय बिक्रम शाह लक्ष्मी सनराइज बैंकले सीईओ अजय विक्रम शाहलाई गत वर्ष १ करोड ९४ लाख ८४ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब तथा भत्ताबापत १ करोड ५५ लाख ८५ हजार रुपैयाँ र अन्य सुविधाबापत ३८ लाख ९९ हजार रुपैयाँ प्रदान गरिएको हो । अघिल्लो वर्ष बैंकले सीईओलाई १ करोड ७२ लाख ६३ हजार रुपैयाँ तलब भुक्तानी गरेको थियो । जसमा तलब तथा भत्ता बापत १ करोड ४५ लाख ११ हजार रुपैयाँ र अन्य सुविधाबापत २७ लाख ५२ हजार रुपैयाँ प्रदान गरिएको थियो । बैंकका अनुसार अन्य सुविधा अन्तर्गत गत वर्षको कर्मचारी बोनस समावेश गरिएको छ । ११, सन्तोष कोइराला कोइराला माछापुच्छ्रे बैंकका सीईओ हुन् । उनी अहिले नेपाल बैंकर्स संघकाे अध्यक्ष पनि बनेका छन् । माछापुच्छ्रे बैंकले सीईओ कोइरालालाई गत वर्ष १ करोड ८६ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत ७४ लाख १९ हजार रुपैयाँ, भत्ताबापत ६७ लाख २० हजार रुपैयाँ, सुविधाबापत १६ लाख ३४ हजार रुपैयाँ र बोनसबापत २९ लाख ७ हजार रुपैयाँ प्रदान गरिएको छ । बैंकको स्वीकृत नियमानुसार कर्मचारीहरुलाई उपलब्ध गराईएको दुर्घटना तथा औषधोपचार खर्चको बिमा प्रिमियम बैंकले ब्यहोर्दै आएको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई १ करोड ५४ लाख ८१ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा भुक्तानी गरेको थियो । १२, सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकले गत वर्ष सीईओ सञ्जीव मानन्धरलाई १ करोड ७१ लाख ९६ हजार २२९ रुपैयाँ भुक्तानी गरेको छ । जसमा उनलाई तलब बापत ८१ लाख ९१ हजार ४१९ रुपैयाँ, भत्ता बापत ६१ लाख ८५ हजार ६६८ रुपैयाँ, दशैँ भत्ताबापत १२ लाख रुपैयाँ र सञ्चय कोषबापत ८ लाख १९ हजार ४२ रुपैयाँ प्रदान गरिएको हो । साथै बैंकका सीईओलाई कार्यालय प्रयोजनका लागि चालक, इन्धन र मर्मतसम्भारसहित गाडी सुविधाको समेत व्यवस्था गरेको छ । बैंकले अघिल्लो वर्ष २०७९/८० मा सीईओलाई २ करोड १० लाख ७ हजार ८ सय रुपैयाँ भुक्तानी गरेको थियो । तलब बापत १ करोड ८० हजार रुपैयाँ, भत्ता बापत ८५ लाख २७ हजार रुपैयाँ, दशैँ भत्ताबापत १४ लाख रुपैयाँ र सञ्चय कोषबापत १० लाख ८ हजार रुपैयाँ प्रदान गरिएको थियो । उक्त तलब तथा भत्ता पूर्व सीईओ नारायणदाश मानन्धरलाई भुक्तानी गरिएको थियो । १३, सुन्दरप्रसाद कँडेल सिद्धार्थ बैंकले सीईओ सुन्दरप्रसाद कँडेललाई गत वर्ष १ करोड ७० लाख ३२ हजार ७८७ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ९६ लाख ३९ हजार १८७ रुपैयाँ, भत्ता बापत ४० लाख ८० हजार रुपैयाँ, दशैँ भत्ता बापत ११ लाख ६ हजार ८ सय रुपैयाँ, वार्षिक बिदा भत्ता बापत ४ लाख ५० हजार रुपैयाँ र सवारी साधन भत्ता बापत १७ लाख ५६ हजार ८ सय रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । सीईओलाई पत्रपत्रिका र इन्टरनेट महसुलको भुक्तानीबापत वार्षिक २५ हजार रुपैयाँसम्म र टेलिफोन महसुल बापत मासिक ३ हजार रुपैयाँसम्म भुक्तानी गरिएको बैंकले जनाएको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड १० लाख ३२ हजार २३६ रुपैयाँ भत्ता भुक्तानी गरेको थियो । १४, गणेशराज पोखरेल सिटिजन्स बैंकका सीईओ गणेश पोखरेलले गत वर्ष कुल १ करोड ६५ लाख ३२ हजार रुपैयाँ पारिश्रमीक बुझेका छन् । बैंकले सीईओ पोखरेललाई तलबबापत ८४ लाख रुपैयाँ, भत्ताबापत ५४ लाख रुपैयाँ, दशैंभत्ताबापत ११ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत ८ लाख ४० हजार रुपैयाँ, विदाबापत भुक्तानी ७ लाख रुपैयाँ र अन्य ४२ हजार रुपैयाँ प्रदान गरेको हो । बैंकका अनुसार खुद पारिश्रमीक तथा भत्ता ९४ लाख ३८ हजार ९२० रुपैयाँ छ । आयकरबापत सीईओ पोखरेलले ७१ लाख ९३ हजार ३१७ रुपैयाँ भुक्तानी गरेका छन् । बैंकले अघिल्लो वर्ष सीईओ पोखरेललाई तलब भत्ता बापत कुल १ करोड ९७ लाख ५८ हजार ८५३ रुपैयाँ भुक्तानी गरेको थियो । साथै उक्त वर्ष सीईओ पोखरेलको खुद पारिश्रमीक तथा भत्ता १ करोड १४ लाख ९२ हजार ३०३ रुपैयाँ रहेको बुझेका थिए । सो वर्ष आयकरबापत सीईओ पोखरेलले ८२ लाख ६६ हजार ५५० रुपैयाँ सरकारलाई भुक्तानी गरेका थिए । १५, राम कुमार तिवारी नेपाल एसबिआई बैंकले गत वर्ष सीईओलाई १ करोड ६२ लाख २७ हजार १९८ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई १ करोड ६४ लाख ९४ हजार ८५७ रुपैयाँ तलबभत्ता भुक्तानी गरेको थियो । उक्त तलब भत्ता बैंकका पूर्वसीईओ दिपक कुमार देले बुझेका हुन् । हाल बैंकको सीईओमा राम कुमार तिवारी कार्यरत छन् । १६, सुरेन्द्र राज रेग्मी   ग्लोबल आइएमई बैंकले गत वर्ष सीईओलाई १ करोड ५६ लाख ५७ हजार ३८६ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ, भत्ता बापत ५० लाख ४० हजार रुपैयाँ, सञ्चय कोषबापत ७ लाख ५९ हजार ६ सय रुपैयाँ, बिदा बापत १२ लाख ८ हजार ७८६ रुपैयाँ र दशैँ भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ रहेको छ । यस्तै, कर्मचारी बोनस बापत ६५ लाख ८ हवार ४६१ रुपैयाँ, टेलीफोन र मोबाइल खर्च बापत ५८ हजार ९९८ रुपैयाँ, सवारी साधन मर्मतबापत १ लाख ८३ हजार ८२८ रुपैयाँ र इन्धनबापत ३ लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० मा सीईओलाई १ करोड ५५ लाख १ हजार ६ सय रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको थियो । जसमा तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ, भत्ता बापत ५० लाख ४० हजार रुपैयाँ, सञ्चय कोषबापत ७ लाख ५९ हजार ६ सय रुपैयाँ, बिदा बापत १० लाख ५३ हजार रुपैयाँ र दशैँ भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ थियो । साथै, कर्मचारी बोनस बापत ६० लाख ५० हजार ५५ रुपैयाँ, टेलीफोन र मोबाइल खर्च बापत ३७ हजार ९३६ रुपैयाँ, सवारी साधन मर्मतबापत ३ लाख ६३ हजार १२० रुपैयाँ र इन्धनबापत १ लाख ३ हजार ७१५ रुपैयाँ भुक्तानी गरेको थियो । उक्त तलब सुविधा बैंकका पूर्वसीईओ रत्नराज बज्राचार्यले बुझेका हुन् । उनी गत २०८१ साउनमा कार्यकाल पुरा गरी बैंकको सेवाबाट अलग भइसकेका छन् । २०८१ भदौं १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएर कार्यरत छन् । १७, निश्चलजंग पाण्डे सानिमा बैंकले सीईओ निश्चलराज पाण्डेलाई गत वर्ष १ करोड १९ लाख ३६ हजार रुपैयाँ पारिश्रमिक बापत भुक्तानी गरेको छ । जसमा बैंकले सीईओलाई अल्पकालीन कर्मचारी लाभ ९६ लाख रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक बिदा बापत भुक्तानीबापत १२ लाख ८० हजार रुपैयाँ र रोजगारी पछिको लाभबापत १० लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको हो । अघिल्लो वर्ष २०७९/८० मा बैंकले सीईओ पाण्डेलाई १ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको थियो । । जसमा बैंकले सीईओलाई अल्पकालीन कर्मचारी लाभ ९६ लाख रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक बिदा बापत भुक्तानीबापत ८ लाख रुपैयाँ र रोजगारी पछिको लाभबापत १० लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको थियो । १८, गोविन्द गुरुङ गुरुङ कृषि विकास बैंकका सीईओ हुन् । उनले यस बैंककाे बागडाेर समहालेपछि केही सकरात्मक सूचक देखिएका छन् । कृषि विकास बैंकले सीईओलाई गत वर्ष ६६ लाख ९४ हजार २२० रुपैयाँ तलब भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई ४६ लाख ८४७ रुपैयाँ भुक्तानी गरेको थियो । उक्त तलब बैंकका पूर्वसीईओ अनिल कुमार उपाध्यायले २३ लाख ३० हजार ७८० रुपैयाँ र हाल कार्यरत सीईओ गुरुङले २२ लाख ७० हजार ६७ रुपैयाँ बुझेका हुन् । अघिल्लो वर्षको तुलनामा गुरुङको तलव ४५ दशमलग ५२ प्रतिशतले बढे पनि उनी कम तलव सुविधा पाउने सीईओको सूचिमा छन् । १९, तिलकराज पाण्डेय  लामो समय बैंकिङ क्षेत्रमा काम गरेर पुनः बैंकको नेतृत्वमा फर्किका बैंकर हुन् तिलकराज पाण्डेय । उनी नेपाल बैंकको सीईओ हुन् । नेपाल बैंकले सीईओलाई गत वर्ष ६५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकका सीईओको मासिक तलब ४ लाख रुपैयाँ हो । यस आधारमा सीईओले तलबबापत ४८ लाख रुपैयाँ बुझेका छन् भने बाँकी रकम भत्ता तथा अन्य सुविधाबापत बुझेका हुन् । अघिल्लो वर्ष २०७९/८० मा बैंकले सीईओलाई ५४ लाख ८० हजार ६०६ रुपैयाँ भुक्तानी गरेको थियो । उक्त तलब रकम पूर्वसीईओ कृष्ण बहादुर अधिकारीले बुझेका थिए । २०, देवेन्द्र रमण खनाल राष्ट्रिय वाणिज्य बैंकले सीईओलाई गत वर्ष ५७ लाख ४५ हजार ७८९ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत २८ लाख २८ हजार ९१७ रुपैयाँ, भत्ताबापत १५ लाख ५५ हजार ५६४ रुपैयाँ, दशैँ भत्ताबापत २ लाख ६० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत २ लाख ८२ हजार ८९२ रुपैयाँ र बोनस बाफत ८ लाख १८ हजार ४१७ रुपैयाँ प्रदान गरेको छ । उक्त तलब भत्ता बैंकका पूर्वसीईओ किरण कुमार श्रेष्ठ र सीईओ देवेन्द्र रमण खनालले बुझेका हुन् । बैंकका अनुसार पूर्वसीईओ श्रेष्ठले ४९ लाख ९ हजार ६५२ रुपैयाँ र सीईओ खनालले ८ लाख ३६ हजार १३७ रुपैयाँ बुझेका हुन् । श्रेष्ठले गत २०८० चैत २८ गते अवकाश पाएका हुन् । अघिल्लो वर्ष बैंकले सीईओलाई ६५ लाख ८७ हजार ५२१ रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलबबापत ३१ लाख २० हजार रुपैयाँ, भत्ताबापत १७ लाख १६ हजार रुपैयाँ, दशैँ भत्ताबापत २ लाख ६० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत ३ लाख १२ हजार रुपैयाँ, बोनस बाफत ११ लाख ६३ हजार ९२१ रुपैयाँ र अन्य सुविधाबापत १५ हजार ६ सय रुपैयाँ प्रदान गरेको थियो । उक्त तलब भत्ता पूर्वसीईओ श्रेष्ठले बुझेका थिए ।

मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर

लुम्बिनी । स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडौँका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने ढक्कन तथा मदिराका सिसीमा प्रयोग हुने अन्य सामग्री भारतबाट भन्सार छली नेपाल भित्र्याउने समूहमा संलग्न दुई जना व्यक्तिविरुद्ध पाँच करोड २१ लाख रुपैयाँ बिगो र जरिवानासहित मङ्गलबार मुद्दा दायर गरिएको हो । उक्त कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार नेपालमा उत्पादन नहुने मदिराका ढक्कन र अन्य सामग्रीसहित पक्राउ परेका सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका शशाङ्क खनाल र काभ्रपलाञ्चोक, चौरीदेउराली गाउँपाकिा– ४ का रमेश गौतमविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको हो । प्रतिवादीमध्ये खनालले चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावटमा अनुसन्धान गर्दा पुष्टि हुन आएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ, १) बमोजिम दुवै जनालाई प्रतिव्यक्ति बिगो रु एक करोड ३० लाख २७ हजार २९० तथा र बिगोको शतप्रतिशत रकम जरिवानासहित रु पाँच करोड २१ लाख नौ हजार १६० र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदाबी गरिएको छ ।

तोलामा ८ सयले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन । जनशक्ति र उपकरण अभावमा अस्पताल सञ्चालनको योजना अन्योलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताए । ‘तीन जना मेडिकल अधिकृतसहित २० जनाको दरबन्दी तोकिएपनि हामीसँग जनशक्ति छैन, अस्पताललाई चाहिने उपकरण र अन्य स्रोतसाधनको पनि अभाव छ’, उनले भने, ‘सङ्घ र प्रदेश सरकारसँग यसबारे ध्यानाकर्षण गराइएको छ, स्थानीय तहले मात्र आधारभूत अस्पताल सञ्चालन गर्न सक्ने अवस्था छैन ।’ भवन निर्माणमा अपुग भएको रकम र केही फर्निचर व्यवस्थापनमा गाउँपालिका आफैले लगानी गरेको संयोजक पौडेलले बताए । उनले अन्नपूर्णमा मात्र नभएर देशैभरका आधारभूत अस्पतालको समस्या उस्तै रहेकाले अस्पताल सञ्चालनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताए । सुविधासम्पन्न भवन बन्ने तर अस्पताल सञ्चालन नहुने स्थितिले जनगुनासो पनि बढ्दै गएको उनको भनाइ छ । बागलुङको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरको पौँदीटारीमा पनि १८ करोड रुपैयाँको आधारभूत अस्पताल भवन सेवा सञ्चालनको पखाईमा छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी उक्त अस्पताल सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारसम्म धाएको धाएै छन् । ‘जनशक्ति र उपकरण सहयोगका लागि पहल भइरहेको छ, आश्वासन त आउँछ, तर कार्यान्वयन समयमा हुँदैन’, उनले भने, ‘स्रोतसाधन नभई स्थानीय तहलाई मात्र अस्पताल सञ्चालन गर भनेर हामीले कसरी चलाउने ?’ अध्यक्ष अधिकारीले १५ शय्याको उक्त अस्पतालाई पूर्ण क्षमतामा सञ्चालन गर्दा वार्षिक करिब पाँच करोड रुपैयाँ सञ्चालन खर्च आउने बताए । उक्त अस्पतालबाट डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पाँच वटा उपकरण माग गरिएको उनले बताए । ‘प्रदेश सरकारसँग एक जना चिकित्सिक माग गरिएको छ, केही जनशक्ति गाउँपालिका आफैले व्यवस्थापन गर्छ’, अध्यक्ष अधिकारीले भने, ‘बागलुङको पश्चिम भेगका र्मिगौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन गर्ने योजना रहेको छ ।’ ग्रामिण क्षेत्रका नागरिकलाई डायलासिस सेवाका लागि अहिले पनि सदरमुकामस्थित धवलागिरि अस्पतालको भर पर्नुपर्ने बाध्यता छ । बडिगाडसहित पश्चिम बागलुङका छ स्थानीय तहका ६४ जनाले अहिले बाहिरका अस्पतालबाट डायलासिस सेवा लिइरहेको अध्यक्ष अधिकारीले बताए । सरकारले करोडौँ खर्च गरेर बनाएका आधारभूत अस्पताल भवनलाई अलपत्र पर्न दिन नहुने उनको भनाइ छ । स्थानीय तहको आम्दानीको स्रोत कम हुने भएकाले अस्पताल सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उनले बताए । ‘यी अस्पतालको स्तरोन्नतिसँगै दिगो व्यवस्थापन तथा सञ्चालनका लागि तीनै तहका सरकारबिच आपसी सहयोग र सहकार्यको खाँचो छ’, अध्यक्ष अधिकारीले भने, ‘हामीले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग पनि मागपत्र बुझाएका छौँ, अस्पताल चलाउन जनशक्ति र उपकरणमा खाँचो छ, स्थानीय तहले मात्र यसलाई धान्न सक्ने अवस्था छैन ।’ अध्यक्ष अधिकारीले सङ्घ सरकारबाट स्थानीय तहलाई आउने समानीकरणतर्फको बजेट कटौती हुँदै जाँदा स्थानीय तहलाई थप आर्थिक भार पर्न गएको बताए । स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक सेवाका क्षेत्रमा समानीकरणतर्फको बजेट थप्नुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको योजना अगाडि बढेको बताए । ‘नयाँनयाँ जनस्वास्थ्य समस्या बढ्दै गएका बेला गाउँघरमै आधारभूत तहको अस्पताल चाहिन्छ भनेर यो अवधारणा ल्याइएको भएपनि अस्पताल सञ्चालनको दिगो र प्रभावकारी योजना बन्न सकेको छैन’, उनले भने, ‘कतिपय स्थानीय तहमा अस्पताल भवन बनिसकेका छन्, कतिपय अलपत्र परेका छन्, केही निर्माणको चरणमा छन् ।’ मन्त्री पाठकले स्रोतसाधनले भ्याएसम्म आधारभूत अस्पतालहरुलाई जनशक्ति, उपकरण र व्यवस्थापकीय सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । तीनै तहका सरकार मिलेर यी अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘यस विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीज्यूसँगको भेटमा पनि कुराकानी भएको छ, सरकारको सोच र लगानीलाई खेर जान दिनुहुँदैन’, मन्त्री पाठकले भने । सङ्घ सरकारले विसं २०७७ मा भूगोल र जनसङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा पाँच, दस र १५ शय्याका आधारभूत अस्पताल बनाउने मन्त्रीस्तरीय निर्णय गरेको थियो । दुई वर्षमा अस्पताल भवन निर्माण पूरा गरी सेवा सुरु गर्ने उद्देश्य रहेपनि अधिकांश अस्पताल अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आएका अस्पतालले पनि गुणस्तीय सेवा दिन नसकेको जनगुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन् । नौ अस्पतालका भवन बनेपनि सेवा सुरु हुन सकेको छैन । १७ अस्पताल भवन निर्माणाधीन छन् भने पाँच अस्पताल निर्माण सुरु भई अलपत्र अवस्थामा छन् । रासस