दिक्तेल-रेग्मीटार सडक निर्माण अन्तिम चरणमा
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले जनाए । ‘दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । निर्माण हुन पाँच सय मिटरमात्र बाँकी छ । पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा छौँ’, उनले भने, ‘दिक्तेल–रेग्मीटार सडक निर्माणमा नगरपालिकाको रु ८५ लाख खर्च भइसकेको छ । यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि रु ४० लाख बजेट उपलब्ध गराएको छ ।’ यो सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७९/८० मा विनियोजित रु ४० लाख र २०८०/८१ मा विनियोजित रु २० लाख खर्च भएको जनाइएको छ । नगरपालिका तथा प्रदेश सरकारको साझेदारीमा विनियोजित बजेटमार्फत दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । नगरपालिकाले गौरवको आयोजनामा राखेर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणको कामलाई तीव्रता दिएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्माणाधीन सडकलाई विकल्पका रूपमा गत वर्ष हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको थियो । दिक्तेल–रेग्मीटार सडकको मार्ग खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने नगर उपप्रमुख विशन राईले बताए। ‘दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक सञ्चालन हुँदा करिब एक घण्टा छोटो हुन्छ । यो सडक सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने, ‘दिक्तेल–महुरे–रेग्मीटार सडक घुमाउँरो छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माण सम्पन्न भएपछि पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा उपयुक्त सडक बन्नेछ ।’ तत्कालीन जिल्ला विकास समिति खोटाङले आहालेबाट राजापानीको घर्तीभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभिरसम्म सिधा मार्ग (ट्रयाक) खोल्ने प्रयास गरिएको थियो । घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न नसकिएको हो । कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ । दिखुवाखोला पारिबाट थ्रीस्टार हाइड्रोपावर कम्पनीले राजापानीको पुरानो गाउँसम्म सडक निर्माण गरिदिएको छ । उक्त निर्माणाधीन दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानी मूल्यमा प्रतिकेजी रु दुईदेखि पाँचसम्म घट्ने अनुमान गरिएको स्थानीय व्यवसायीले बताएका छन् । यता, दिक्तेल–खानीडाँडा–आहाले सडक भर्खरै कालोपत्र सम्पन्न गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा १०.९७४ किलोमिटर लामो सो सडक कालोपत्र गरिएको हो । रासस
कृषि विकास बैंकले २ हजार ६०२ जना कर्मचारीको ७ लाखको दुर्घटना बीमा गर्ने
काठमाडौं । कृषि विकास बैंकले कर्मचारीहरूको बीमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६०२ जना कर्मचारीको बीमा गरिदिने भएको हो । बैंकका अनुसार बैंकमा कार्यरत स्थायी, करार तथा मासिक पारिश्रमिक गरी करिव २ हजार ६०२ कर्मचारीको २४ सै घण्टाको जाखिम व्यहोर्ने शर्तमा प्रतिकर्मचारी ७ लाख रुपैयाँका दरले १ बर्षको लागि सामुहिक दुर्घटना बीमा गरिनेछ । ईच्छुक बीमा कम्पनीहरूबाट के कस्ता दर रेटमा कुन कुन सुविधाहरू उपलव्ध गराउन सकिने हो सो सम्वन्धी विस्तृत विवरण उल्लेख गरी ७ दिनभित्र सिलवन्दी प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । सिलवन्दी प्रस्तावका लागि १ हजार रुपैयाँको भौचर, बीमा अन्तर्गत दिन सकिने सुबिधाहरू बैंकको जनशक्ति व्यवस्थापन विभागमा पेश गर्नुपर्नेछ ।
राष्ट्रिय वाणिज्य बैंकले निशुल्क एससीटी यूपीआई डेबिट कार्ड दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निशुल्क स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) यूपीआई डेबिट कार्ड दिने भएको छ । बैंकले बिना कुनै शुल्क उक्त एससीटी यूपीआई डेबिट कार्ड दिने जनाएको छ । बैंकको ६०औँ वार्षिक उत्सवको अवसरमा उक्त योजना ल्याएको हो । साथै सो योजना चैत मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्नेछन् । एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई–कमर्सजस्ता सेवा लिन सक्नेछन् ।
नेपाल बैंकले ३४ वटा सटर भाडामा दिने, प्रतिवर्गफुट १६२ रुपैयाँ, २ वर्षमा १० प्रतिशत भाडा वृद्धि
काठमाडौं । नेपाल बैंकले सटरहरू भाडामा दिने भएको छ । बैंकको प्रादेशिक कार्यालय गण्डकी प्रदेशको पोखरा पृथ्वीचोक स्थित व्यावसायिक भवनमा रहेका सटरहरू भाडामा दिने भएको हो । बैंकको स्वामित्वमा रहेको पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित अफिस कम कर्मसियल कम्प्लेक्स (पोखरा मल) मा रहेका बैंक प्रयोजन बाहेक ३४ वटा सटर भाडामा दिने भएको हो । भाडामा लिन इच्छुकले १५ दिनभित्र बोलपत्र फाराम पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरू सरकारी प्रतिनिधि तथा बोलपत्रदाता र निजका प्रतिनिधिको रोहबरमा १६औँ दिनमा खोलिनेछ । बोलपत्रदाता तथा निजका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न वाधा पर्ने छैन । बोलपत्र पेश गर्ने व्यक्ति तथा कम्पनीले एउटा सटरदेखि सम्पूर्ण सटरका लागि आवेदन दिन सक्नेछ । बैंकका अनुसार भुइँ तल्लाको हकमा प्रतिवर्गफुट न्यूनतम १६२ रुपैयाँ र पहिलो तथा दोस्रो तल्लाको हकमा प्रति वर्गफुट न्यूनतम ६२.८८ रुपैयाँ तोकिएको छ । आवेदन दिँदा सो मूल्यभन्दा कम नहुने गरी अलग अलग भाडा रकम खुलाई बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ । हाल भाडामा बसिरहेका व्यक्ति तथा कम्पनीले आवेदन दिन चाहेमा बोलपत्र पेश हुने समयसम्मको बाँकी घरभाडा वक्यौता रकम बुझाई सो को निस्सा बोलपत्र साथ पेश गर्नु पर्नेछ । बैंकको बोलपत्र फारामको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्ने व्यक्ति तथा कम्पनीको हकमा विगत ३ वर्षदेखि व्यवसाय सञ्चालन गरेको र वार्षिक कारोबार कम्तिमा १ करोड रुपैयाँ भएको हुनु पर्नेछ । प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले घरभाडा वृद्धि हुने गरी ५ वर्षको लागि सम्झौता गरिनेछ ।
कुलमानको पछि लाग्दा सरकारका ५० राम्रा काम पनि नराम्रो भए : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार सानो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ सिन्धुलीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सङ्घीय सरकारको मन्त्रालय सङ्ख्यालाई घटाएर १०/१२ वटा मात्र बनाउनुपर्ने सुझाव दिए । ‘मन्त्रालयको सङ्ख्या धेरै हुनु समस्या हो, सरकार सानो बनाउनुपर्छ,’ उनले भने । महामन्त्री थापाले सङ्घमा संसदीय व्यवस्था उपयुक्त रहेको तर प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली लागू गर्नुपर्ने बताए । ‘प्रदेशमा मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने र अधिकतम पाँच मन्त्री राख्न दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने । प्रदेश सरकारलाई आर्थिक र प्रशासनिक रूपमा अधिकारसम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए । महामन्त्री थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सरकारको चासोलाई अनावश्यक भन्दै त्यसको आलोचना गरे । ‘३/४ महिनापछि सेवानिवृत्त हुन लागेका व्यक्तिको पछि लागेर सरकार किचकिच गरिरहेको छ, यो बेठिक हो,’ उनले भने, ‘५० राम्रो काम गर्दा एउटा नराम्रो भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । राम्रो गर्न सकिँदैन भने कम्तीमा नराम्रो काम नगर्नोस् ।’ मन्त्रीहरूलाई सही मार्गमा लैजान महामन्त्री थापाले प्रधानमन्त्रीसँग आग्रहसमेत गरे । ‘प्रधानमन्त्री भनेको मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो । राम्रो कामको श्रेय पनि प्रधानमन्त्रीले पाउँछन्, नराम्रो कामको अपजस पनि लिनुपर्छ,’ उनले भने । सङ्घीयताको मर्मअनुसार प्रदेशलाई थप अधिकार दिनुपर्ने र सरकारको कार्यसम्पादन सुधार गर्नुपर्ने उनको धारणा छ ।
आजको मौसम: कोशी, बागमती र गण्डकीमा आंशिक बदली हुने, एक/दुई स्थानमा हल्का हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू/भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अनाउन विभागले अनुरोध गरेको छ ।
दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले चैत १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमुजुङ र नक्साल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड, व्यापार बढाउँदै
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिए । चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहेको निर्देशक कँडेलले आगामी दिनमा चलचित्रले अझै राम्रो व्यापार गर्ने बताए । ‘दर्शकको प्रतिक्रिया निकै राम्रो छ, उहाँहरूले अन्य साथीभाइ, घरपरिवारलाई चलचित्र हेर्न सिफारिस गर्छु भन्नुभएको छ । यसले आइतबारदेखि चलचित्रको व्यापार राम्रो हुने देखिन्छ । मेरा लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो,’ निर्देशक कँडेलले भने । निर्देशक कँडेलसँगै दर्शक भेट्न पारसबम ठकुरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुलीलगायत कलाकार चलचित्र भवन पुगेका थिए । युवाको होस्टेल जीवनमात्र नभई ‘टिनएज’मा आउने उतारचढाव, तन्नेरी पुस्ताको कथा र व्यथा ‘होस्टेल ३’ मा देख्न पाइने ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रूपमा परिचय बनाउनुभएका अभिनेता ठकुरीले बताए । ‘यो चलचित्रमा प्रस्तुत गरिएको विषय र त्यसलाई निर्वाह गर्ने हामी कलाकार उस्तै उमेर समूहका छौँ । यसकारण पनि यो सबै युवाले महसुस गर्न सक्ने चलचित्र बनेको छ भन्नेमा विश्वस्त छौँ । टिकटकरका रूपमा चिनिएर अहिले चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित छु । मैले पाएको अवसरलाई पूर्ण रूपमा सदुपयोग गरेको छु,’ अभिनेता ठकुरीले भने । विशेषतः यसलाई ‘नयाँ पुस्ता’को चलचित्र भन्न सकिन्छ । नेपाली चलचित्रमा देखिएको नयाँ पुस्ताको कमीलाई ‘होस्टेल ३’ पूरा गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक कँडेलले बताए । ‘म आफैँ निर्देशकका रूपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहेनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा अभिनयका लागि मौका दिएको छु,’ उनले भने । यस अगाडिका ‘होस्टेल’का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनुका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो ।