विकासन्युज

लोकतन्त्र एउटा हाइवे हो, हाइ वेमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताएका छन् । आईतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले योजनाहिन धैयर्ता र सक्रियता नभइ योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताए । आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे । सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको बताए । नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको बताए । लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हामी सक्रिय धैर्यता, सक्रियता योजना हिन होइन,योजनावद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन, आशावादीताकासाथ अघि बढेर आशावादीता, योजनावद्धता, सक्रियता र धैयर्ताका साथ अघि बढ्छौँ । जबसम्म परिस्थिति ठिक बनाउन सकिँदैन, धैयर्तापूर्वक हामी सक्रिय ढंगले, योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ ।’ प्रधानमन्त्री ओलीले सरकार योजनावद्ध गतिका साथ अघि बढिरहेको जानकारी दिए ।

राजनीतिमा मात्र नभइ शिक्षा, उद्यम र रोजगारीलगायत सबै क्षेत्रमा महिलालाई अघि बढाउनुपर्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले महिलाहरुको समान सहभागिता आवश्यक भएकामा जोड दिए। ’रथको एउटा पाङ्ग्रोमात्रै चलेर गाडी गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई पाइसकेका छौं । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो, तर हामी यसमा मात्रै सन्तुष्ट मानेर बस्नु हुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारी आदि क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।’ सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको बताउँदै उनले अर्थतन्त्रको विकासका सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले भने, ‘हामी अघि बढ्नुपर्छ । पछाडि फर्कनु हुँदैन । ब्याक गेयर त कहिलेकाँही घुम्तीमा मात्रै लगाउने हो । लोकमार्गमा ब्याक गेयर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो ।’ उनले कानुनहरू काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझावलाई हेरेर सरकारका नीति, व्यवहार र कानुनहरुलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रको सहकार्यमा औद्योगिकरणको प्रवद्र्धनलाई प्राथमिकता दिएको बताए । उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारी लगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको अवगत गराए। कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल खेलाडी प्रिती राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरेका थिए ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ । गत शुक्रबार प्रतितोला सुन एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस रु दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फ्लोरा एक्स्पोको दोस्रो दिनसम्म ३१ हजारले गरे अवलोकन, ५८ लाखको कारोबार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोमा दोस्रो दिन सम्म ३१ हजार भन्दा बढीले अवलोकन गरेका छन् भने ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सोमबारसम्म चल्ने पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको जनाएको छ । मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुई र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ (सुनिल) ले बताए । अपेक्षा अनुसार नै अवलोकनकर्ताको भीड रहेका कारण कारोबार पनि एक करोड भन्दा बढी हुने विश्वास लिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए  । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको र ज्येष्ठ नागरिकहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित ३ जना सञ्चालकले गरे पदबहाली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित सञ्चालक बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका छन् । सञ्चालक बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चयन भएका हुन् । सभाले उनीहरूलाई इन्स्योरेन्सको सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा चयन गरेको हो । साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी सञ्चालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना सञ्चालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको कम्पनीले जानकारी दिएको छ ।

गभर्नर नियुक्तिमा चोलेन्द्र संस्करण : तराजुमा जेठा नोट, जता बढी त्यतै भोट

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पालामा एउटा गज्जबको संस्कार सुरु भयो- ‘तराजुमा जेठा नोट, जता बढी त्यतै भोट ।’ न्यायालयमा यस्तो बेथिति भयो भनेर संसदमा प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भयो । उनी निलम्बनमा परे । अन्तिम छिनोफानो नभई उनले अवकाश पाए । पृष्ठभूमिमा प्रधानन्यायाधीश राणा घुस पनि कुन्टलमा डिल गर्छन् (१०० किलोग्राम बराबर एक कुण्टल) भन्ने प्रचार भएको थियो । त्यसकारण ठूला राजनीतिक दलहरूले संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तर निर्णयार्थ पेस नै नगर्ने जस्तो अकर्मण्यता प्रदर्शन गर्दा पनि समाजका सबै वर्ग तै चुप मै चुपमा बस्यो । ‘बाघले बाख्रो खायो’भन्दा पनि ‘काल पल्कियो’ भनेर किसानहरू चिन्तित हुन्थे रे बाबु-बाजेको पालामा । वर्तमान सत्तामा यस्तै काल पल्किएर आएको छ । नियामक निकायको प्रमुख नियुक्ति प्रक्रियामा सरकारी संस्कार यस्तै देखिएको छ । समाचारहरुमा मात्र होइन, संसदभित्र र संसद बाहिर राजनीतिक नेतृत्वले व्यक्त गरेको विचार, आरोप-प्रत्यारोप सुन्दा सत्य यही नै हो जस्तो लाग्छ । सर्वसाधारणमा यस्तै तरङ्ग पैदा भएको छ- तराजुमा जेठा नोट, जता बढी त्यतै भोट । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत अन्तिम साता सकिँदैछ । २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका अधिकारीले बढो कष्टपूर्वक ५ वर्षे कार्यकाल पूरा गर्दैछन् । नियुक्ति लगत्तै उनको योग्यतामा प्रश्न गर्दै अदालत मुद्दा पर्‍यो । त्यसको अन्तिम छिनोफानो भएको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गभर्नर अधिकारीलाई हटाउने निर्णय गरेको थियो । तर, गभर्नर अधिकारीको मागअनुसार सर्वोच्च अदालतले अधिकारीलाई पुनर्वहाली गरिदियो, सरकारी निर्णयको विपक्षमा अन्तरिम फैसला भयो । सरकार र निजी क्षेत्रसँग निकै दरारपूर्ण सम्बन्ध र अनेक प्रतिकूलताबीच गभर्नरमा अधिकारीको पाँच वर्षे कार्यकाल सकिँदैछ । यसैबीच, सरकारले गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनका लागि सिफारिस समिति गठन गरेको छ । विधिका आधारमा सरकारले राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नका लागि मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नरमध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट एक जनालाई सदस्य बनाउनुपर्ने व्यवस्था छ । सोही आधारमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन भएको छ । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं नेपाली कांग्रेस नेता डा. विश्व पौडेल सदस्य छन् । सो समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नामावली मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने व्यवस्था छ । तीन जनामध्येबाट एक जनालाई गभर्नरमा नियुक्त गनुपर्ने व्यवस्था छ । तर , पछिल्लो समय गभर्नरका आकांक्षी मध्ये जतिको नाम सञ्चार माध्यममा आएका छन्, उनीहरु विषय विज्ञ, राष्ट्र बैंकको नेतृत्व गर्न सक्ने काविल र बजारले विश्वास गरेको व्यक्ति नभई स्वार्थसमूहले बोकेका र जेठा नोटले तराजुमा ढल्काउन सक्ने हैसियत भएको वा नीतिगत भष्ट्राचारलाई भर्याङ बनाई व्यापारको सिडी चड्दै सफल भएका व्यावसायिक घरानाका विश्वासपत्रको नाम बढी प्रचारमा आएको छ । गभर्नर सिफिारिस समिति आफैंमा राजनीतिक भागभण्डामा आधारित बनेको छ । अर्थमन्त्री पौडेल नेकपा (एमाले)का उपाध्यक्षसमेत हुन् । पूर्वगभर्नर भट्टराई पनि एमाले निकट देखिन्छन् । किनकी महाप्रसाद अधिकारीलाई गभर्नर बनाउने तत्कालीन अर्थमन्त्री डा. युवराज खडिवडाको पालामा पनि सिफारिस समितिमा थिए । विश्व पौडेल कांग्रेस नेता हुन्, चितवनबाट संसदमा पराजित उम्मेदवार । समितिमा एमालेको बहुमत रहेको छ । तसर्थ, सर्वसाधारण जो-कोहीले पनि बुझेको विषय यही हो कि राजनीतिक सक्रियताका आधारमा एमालेका एम अधिकारी जस्तै पात्र गभर्नरमा नियुक्त हुनेछ । राजनीतिक आस्था र संलग्नता मात्र बलियो आधार अब हुनेछैन । गभर्नरका आकांक्षीको शैक्षिक योग्यता, अनुभव, क्षमता, आचारण मात्र पनि हेरिने छैन । पर्दापछाडि ‘तराजुमा जेठा नोट, जता बढी त्यतै भोट’ लागू हुने देखिन्छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष होस् वा बीमा प्राधिकरणको अध्यक्ष र सञ्चालक नियुक्तिसँग जोडेर सरकार जति आलोचित भएको छ, त्योभन्दा धेरै शंकाको घेरामा छ सरकार यतिखेर । गभर्नरका लागि करिब दुई दर्जन व्यक्ति दौडधूपमा छन् तर दक्षभन्दा पनि पुज्य मान्छेको बढी दौडधूप छ । नाम किटानी गरेर गभर्नरका आंकाक्षीमध्ये कसलाई कुन स्वार्थ समूहले बोकेको छ भनेर छरपष्ट समाचार बाहिरिएका छन् तर जिम्मेवार व्यक्ति वा निकाय मौन बसेको छ । विकसित पृष्ठभूमिमा इमान्दार, क्षमतावान र बेदागी मान्छेलाई गभर्नरको आकांक्षी बन्न पनि सकस भएको छ । यस्तो वातावरण अन्त्य गरी विश्वासको वातावरण बनाउनेतर्फ सबैले मिहेनत गर्नुपर्ने देखिन्छ ।

वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो, सर्वसाधारण जनता आजित

वीरगञ्ज । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् । होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि महानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन । त्यहीे कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो । वीरगञ्ज महानगर वडा नं ६ मिनाबजारमा व्यापार गर्दै आइरहेका परशुराम तेली पनि अत्यधिक मात्रामा वीरगञ्जमा लामखुट्टे देखिए पनि वीरगञ्ज महानगरले लामखुट्टेको स्प्रे छर्किनलाई बेवास्ता गरेको बताए । ‘साँझ र बिहानको समयमा बाहिर बसिसक्नुछैन’, उनले भने, ‘यतिविघ्न लामखुट्टे आउँदा पनि महानगर के हेरेर बसेको छ ।’ तेली मात्रै होइन, वीरगञ्ज महानगर वडा नं ४ बिर्ताका राकेश झा पनि लामखुट्टेको आतङ्कबाट आजित भएको गुनासो गरे । ‘एक त वीरगञ्जको नाला खुल्लै छ । जसको कारणले लामखुट्टेको आतङ्क बढेको बढ्यै छ’, उनले भने, ‘मेयरसाबले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउँछु भन्नुहुन्छ । यहाँ त मच्छडगञ्ज भइसक्यो ।’ डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरूवा रोग हो । डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको छ ।वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले आइतबारदेखि वीरगञ्जका वडामा लामखुट्टे मार्नका लागि ३२ वटै वडामा कार्यतालिका बनाएर लामखुट्टे मार्ने अभियान सुरू गर्न लागेको जानकारी दिए । ‘’गर्मीको सुरूवातसँगै बढ्दो लामखुट्टेको प्रकोप र त्यसबाट फैलन सक्ने डेङ्गी, मलेरिया र इन्सेफलाईटिस जस्ता प्राणघातक रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न वडा नं १ देखि ३२ वटै वडामा कार्यतालिका बनाएका छौँ,’ उनले भने, ‘महानगरले लामखुट्टको लार्भा मार्नका लागि बिहानदेखि साँझमा नालामा पम्प स्प्रेबाट लार्भा साईटिङ स्प्रे तीन पटक तथा वयस्क लामखुट्टे मार्न बेलुकीदेखि रातिसम्म ऐयर स्प्रे दुई पटक कार्यक्रम राखिएको छ ।’ यद्यपि वीरगञ्ज महानगरले गत फागुन २५ गते लामखुट्टे नियन्त्रणको लागि चैत ३ गतेदेखि पम्प तथा ऐयर स्पे कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको थियो । यो अभियान आइतबारदेखि चैत २४ गतेसम्म जारी रहने बताइएको छ । रासस

एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं ।  प्रतीक्षित एनसेल नेपाल सुपर लिग २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ ।  चैत्र , १६ २०८१ मा सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३ २०८२ मा महा भिडन्तका साथ समापन हुनेछ। एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ । यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ। अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । ।