विकासन्युज

लगानी सम्भाव्यता खोज्दै कोरियाली लगानीकर्ता झापामा, नाका, बसपार्क, एसियन हाइवेको अवलोकन गरे

काठमाडौं । कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते हुने लगानी सम्मेलनलाई लक्षित गरी दक्षिण कोरियाली लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका क्रममा झापा पुगेको छ । कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसनको पहलमा आएको टोलीले कोशी प्रदेशका झापासहित विभिन्न जिल्लामा लगानीको सम्भाव्यता अध्ययन गर्ने एसोसिएसनकी अध्यक्ष सिर्जना नेपालीले बताइन् । बुधबार मेचीनगर नगरपालिकाले उक्त टोलीसँग अन्तरक्रियासमेत गरेको थियो । कार्यक्रममा मेचीनगरमा लगानीका सम्भाव्य क्षेत्रबारे नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी गराए । कोरियन टोलीले बुधबार नै काँकरभिट्टा नाका, बसपार्क, एसियन हाइवेको मेची पुल, एनएमसी डेरी उद्योगलगायतको अवलोकन गरेको छ । टोलीले कृषि, पर्यटन, कागज, रेलमार्गलगायत क्षेत्रमा लगानीका लागि कोरियाली लगानीकर्ताहरू इच्छुक रहेको अवगत गराएको थियो । काँकरभिट्टामा बहुतले बहुउद्देश्यीय बसपार्क निर्माण, जैविक जीवाणु प्राङ्गारिक मल कारखाना स्थापना, पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण, कृषि उत्पादनका लागि प्रविधिको विकास, प्रविधिमैत्री कृषि प्रणाली र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादनलगायत विषयमा कोरियाली टोलीसँग छलफल भएको मेचिनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । छलफलमा कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसन नेपालका राष्ट्रिय प्रतिनिधि प्रदीप घिमिरे, उद्योगी मेदनी अधिकारी, युवराज अधिकारीलगायतले नेपालमा लगानीको प्रशस्त अवसर रहेका भन्दै सरकारले उपयुक्त नीति र कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।

नगरकोट भ्रमण वर्ष-८२ मा होटल व्यवसायीले १० प्रतिशत छुट दिने, थप छुटको ‘प्याकेज’ बनाउन आग्रह

काठमाडौं । आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष-२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा आयोजित भक्तपुरका ४ नगरपालिका प्रमुख एवं जनप्रतिनिधिसहितको छलफलमा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् । चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले होटल व्यवसायीले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिनभरि नै यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको बताए । उनले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने, १ पटक आएर गएका पर्यटक फेरि आउने र खुसी भएर जाने गरी व्यवस्था र व्यवहार गर्न होटल एवं पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताए । ‘करोडौं लगानी गरेर होटल सञ्चालन गरिरहेका व्यवसायीहरुले भ्रमण वर्ष सफल पार्न सामाजिक दायित्वअन्तर्गत आवश्यक लगानीसहित आगन्तुक पर्यटकको स्वागतमा लाग्नुपर्छ । सबै वर्गका आन्तरिक पर्यटकलाई सहज रूपमा खानेबस्ने गरी छुटका प्याकेज बनाउन पनि आवश्यक छ,’ नगरप्रमुख खत्रीले भने । चाँगुनारायण नगरपालिकासँगै मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्षको आयोजना गर्न लागेका छन् । होटल व्यवसायीदेखि स्थानीयवासीले भ्रमण वर्ष सफल पार्न आ-आफ्नो घर, टोल, छिमेकमा सफाइदेखि पर्यटकको स्वागतका लागि लाग्न आग्रह गरिएको छ । स्थानीय तहले पनि आवश्यक तयारीसहित पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । भ्रमण वर्षलाई लक्षित गरी नगरकोट आउने नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्न नगरपालिकाले ‘टेन्डर’ आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ । मण्डन देउपुर नगरपालिका प्रमुख टोपबहादुर वाइबाले नगरकोट चारवटै पालिकाको सङ्मगस्थल भएको बताउँदै भ्रमण वर्षलाई सफल पार्न चारवटै नगरपालिकाले पहल गर्ने बताए । यहाँको भौतिक संरचनादेखि पर्यटकीय क्षेत्रको विकास र भौतिक संरचना निर्माणका लागि चारवटै नगरपालिकाले लगानी गर्ने उनको भनाइ छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरकोटका होटल महँगो भएकाले भ्रमण वर्षका लागि छुटको ‘प्याकेज’ बनाउन आग्रह गरे । उनले नगरकोटको वाटर मर्मतका लागि नगरपालिका लागेको बताउँदै नगरकोट आउने पर्यटकले चारवटै पालिकको पर्यटकीय क्षेत्रको भ्रमण गर्नसक्ने गरी व्यवस्था गर्नुपर्ने बताए । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले वैशाख १ गते भ्रमण वर्षको शुभारम्भका लागि उद्घाटन स्थलको स्थायी संरचना निर्माण अन्तिम चरणमा पुगेको बताए । उनले पर्यटन व्यवसायीले गर्ने योगदानबारे समितिले पुनः छलफल गरेर थप निर्णय लिने बताए । चाँगुनारायण नगरपालिका-६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले भ्रमण वर्ष अवधिभर व्यवसायीले १० प्रतिशत छुट दिने, सबै होटलहरूले आफ्नो होटल र आसपासका क्षेत्र सजाउने, बत्तीले झिलीमिली बनाउने, प्रचारप्रसार र प्रवर्द्धनात्मक कार्यक्रम गर्ने घोषणा गरेको बताए । कार्यक्रममा पर्यटन व्यवसायी सुगरत्न कंसाकार, नगरकोट भ्रमण वर्ष-२०८२ का सम्पर्क व्यक्ति तथा विज्ञ डा घनश्याम खतिवडालगायतले पर्यटकलाई नगरकोट तान्न सक्ने गरी कार्यक्रमहरू ल्याइने बताए ।

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै, साढे २ अर्ब बजेट छुट्याइयो

काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । २ सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त भएको ५ महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे ८ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न ४ प्याकेजमा काम गरिने जनाइएको छ । क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । जसका लागि ७२ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको हो । यसमा सहभागी हुने कम्पनीले १ करोड ८२ लाख ५० हजार रुपैयाँ सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ । काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको हो । यसतर्फको ८ किमी सडक (डालाबेंसीदेखि-चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले ६ करोड ५० लाख रुपैयाँ ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ । गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुुसार काभ्रेपलाञ्चोकतर्फको बाँकी २ टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार २ वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेको छ । ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ । प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि करिब २ महिनामा ठेक्का सम्झौता हुनेछ । पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित २ लेनको सडक हुने सिनियर डिभिजनल इन्जिनियर योगेशले यागेशले बताए । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । उक्त राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ । ३ साताअघि सुरु गरिएको यस कार्यलाई तीव्रता दिइएको छ । डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ । बाढीले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिई मर्मतकार्य भइरहेको जनाइएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी २ देखि ३ मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो । क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भेरेर रोशी खोलालाई गहिर्‍याएर खोलाको सतहभन्दा करिब ३ मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा ८ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ । बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो । राजमार्गको धुलिखेल-नेपालथोक र नेपालथोक-खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायी रूपमा पुनर्निर्माण गर्न ठेक्का प्रक्रियामा जाने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो । हाल काठमाडौंबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् ।

डलरको भाउ बढ्दा सार्वजनिक ऋण ६६ अर्ब २९ करोड रुपैयाँ बढ्यो, २ खर्ब १ अर्ब ऋण भुक्तानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे २ खर्ब रुपैयाँ सरकारी ऋण थपिएको छ । ‘चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा फागुन मसान्तसम्म २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६.९१ प्रतिशत हुन आउँछ,’ कार्यालयको प्रतिवेदनमा भनिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै नेपाललाई ६६ अर्ब २९ करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व बढेको कार्यालयले जनाएको छ । हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८३ प्रतिशत अर्थात् १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४९.१६ प्रतिशत अर्थात् १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३.०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३ .८५ प्रतिशत हुन आउँछ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो चौमासिकसम्मको सार्वजनिक ऋण प्राप्ति ६१.१७ प्रतिशत बराबर हो । यस वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८१.५६ प्रतिशत अर्थात् २ खर्ब ६९ अर्ब १५ करोड ४२ लाख रुपैयाँ बराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ । फागुन मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३०.१७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण लिने सरकारी लक्ष्य रहेकामा हालसम्म ६५ अर्ब ४७ करोड रुपैयाँ बराबर मात्रै प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले ४ खर्ब २ अर्ब ८५ करोडरुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म ५०.०८ प्रतिशत अर्थात् २ खर्ब १ अर्ब ७२ करोड रुपैयाँ बराबर ऋण भुक्तानी भइसकेको जनाइएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च ३.५४ प्रतिशत बराबर हो ।

आजदेखि एसइई परीक्षा सुरु, चैत १९ गतेसम्म सञ्चालन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । मधेस प्रदेशमा आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

देशमा लोडसेडिङ हुन्छ, कुलमानले लोड सेडिङमुक्तको भ्रम फैलाए : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले साँझको समयमा लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् । मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गर्दै लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् । उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको उनको आरोप छ । मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताएका छन् । ‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, लोडसेडिङ हटेको छैन,’ उनले भने ।

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

काठमाडौं । एनएमबि बैंकले तीन दिने तालिम सम्पन्न गरेको छ । बैंकले युरोपियन युनियन (ईयू) को सहयोगमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै तालिम सम्पन्न गरेको हो । बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू- ऊर्जा, कृषि व्यवसाय र सानो तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ बारे तालिम दिइएको हो । नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिएको छ । यसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने विश्वास बैंकको छ । आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी अभ्यासहरूबारे तालिममा बताइएको थियो । तालिममा एनएमबि बैंकका व्यवसायिक टोली, जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए । तालिममा सहभागीहरूले वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा जान्ने मौका पाएका थिए । एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।