फेरि शिक्षकहरुको आन्दोलन : ४ लाख सडकमा उतार्ने रणनीति, एसईईको कपी नजाँच्ने
काठमाडौं । शिक्षकहरूले २० गते (भोलि) बुधबारदेखि फेरि ‘सडक आन्दोलन’ गर्ने भएका छन् । विगत दिनदेखि आन्दोलित शिक्षकले सिंहदरबार नजिक केन्द्रित हुनेगरी माइतीघर नयाँ बानेश्वरमा आन्दोलन थाल्ने भएको हो । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने सन्देश सहित विभिन्न संघ संगठनमा आवद्ध नेपाल शिक्षक महासंघले मंगलबार पत्रकार सम्मेलन गरी भोलि सडक आन्दोलन गर्ने बताएको हो । यसका लागि ७७ वटै जिल्लाका शिक्षक कोही काठमाडौं पुगिसकेका छन् भने कोही बाटोमा आउनेक्रममा रहेका छन् । देशभर ४ लाख शिक्षकहरू महासंघमा आवद्ध रहेको बताउँदै शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ४ लाख शिक्षक सडकमा उतार्ने बताए । उनले अब सरकारले माग सम्बोधन गरी परिणाम देखिँदासम्म आन्दोलन जारी रहने बताए । ‘हामीले विगतमा पनि सम्झौता गर्यौं, सरकारले माग पुरा गरिदिने आश्वासन देखायो आन्दोलन रोक्यौं,’ अध्यक्ष सुवेदी भन्छन्, ‘अब सम्झौता गरेरमात्र आन्दोलन रोकिँदैन, पहिले सरकारले माग पुरा गर्नुपर्छ त्यसपछि हामी आन्दोलन रोक्छौं ।’ शिक्षकहरूले बुधबारदेखि सुरु हुने आन्दोलन अनिश्चत रहने दाबी गरेका छन् । ‘हामीलाई विगतमा सरकारले पटकपटक अल्झायो, हामी अब कुनै बहानामा अल्मलिनेवाला छैनौं । जबसम्म सरकारले पहिले माग पुरा गरी कार्यान्वयन गर्दैन तबसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने छौं,’ महासंघका उपाध्यक्ष नानुमाया पराजुलीले बताइन् । प्रश्नपत्र जाँच्न नदिइने शिक्षकहरूले एसईईको परीक्षा समेत जाँच गर्न नदिने बताएका छन् । परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न आन्दोलनलाई लचिलो बनाएको बताउँदै उनीहरू अब माग पुरा नभएसम्म प्रश्नपत्र जाँचसमेत गर्न नदिने बताएका छन् । ‘हामीले यो हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा विद्येयक पारित गर्न माग गरेका थियौं, पारित नहुँदै अधिवेशन अन्त्य भयो,’ अध्यक्ष सुवेदी भन्छन्, ‘हाम्रा मागलाई सरकारले वेवास्ता गर्ने हामी लचिलो हुने कुरा हुँदैन अब एसइइका प्रश्नपत्र जाँच गर्न दिदैनौं ।’ शिक्षकहरूले कक्षा १२ को परीक्षासमेत हुन सक्ने सम्भावना नभएको बताएका छन् । उनीहरूले माग पुरा नहुने हो भने कक्षा १२ को परीक्षा समेत सञ्चालन हुन नदिने चेतावनी दिए । सरकारले भने कक्षा १२ को परीक्षा मिति सार्वजनिक गरिसकेको छ । भर्ना अभियानसमेत प्रभावित जिल्लामा भएका सबै शिक्षकहरू काठमाडौं आएपछि बैशाखबाट सुरु हुने विद्यालय भर्ना अभियानसमेत प्रभावित हुने भएको छ । विद्यालय नै बन्द गरी सबै शिक्षक काठमाडों आउनुपर्ने बाध्यात्मक अवस्था सरकारले सिर्जना गरेकाले शिक्षकहरू विद्यालय बन्द गरी यहाँ आउनु परेको बताएका छन् । राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले बाजुराबाट सरकारलाई दबाब दिन काठमाडौं आएको बताउँछन् । उनले आफू पुगिसके पनि अरू साथीहरू आउनेक्रम जारी रहेको जानकारी दिए । उनले यो पटक आफ्ना माग पुरा भएपछि मात्र जिल्ला फर्कने बताए । उनले पनि विद्यालय बन्दले विद्यार्थीको पढाइ प्रभावित भएको जिम्मा सबै सरकारले लिनुपर्ने बताए । शिक्षकहरूले चैत्र २० गतेदेखि माग पुरा नहुँदा सम्म विद्यालयको पठनपाठनदेखि विद्यार्थी भर्ना, र परीक्षाको नतिजा पनि सावर्जनिक गर्न नदिने बताएका छन् । आन्दोलन शान्तिपूर्ण हुने चार लाख शिक्षक सहभागी हुने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुने शिक्षकहरुले बताएका छन् । ‘हामीले विगतमा पनि शान्तिपूर्ण आन्दोलन गरेका थियौं, यो पटक पनि शान्तिपूर्ण नै हुन्छ तर, यसको मतलब सरकारले माग पुरा गर्छु भन्नेबित्तिकै घर फर्किने खालको होइन, ’अध्यक्ष सुवेदीले भने । विद्यार्थीलाई अनुशासनको पाठ सिकाउने शिक्षकले हिंसात्मक गतिविधिमा आन्दोलन गर्ने तर मागप्रति सरकारलाई घुँडा टिकाउन बाध्य पार्ने उनीहरूको भनाइ छ । माघ २० गतेदेखि आन्दोलनमा शिक्षक नेपाल शिक्षक महासंघले गएको माघ २० गतेदेखि आन्दोलन सुरु गरेको हो । यसक्रममा शिक्षकहरूले जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रम सम्पन्न गरेका शिक्षकहरूले पहिलो चरणअन्तर्गतको अन्तिम कार्यक्रम फागुन २४ गते गरेको थियो । दोस्रो चरणअन्र्तगत फागुन २७ गतेदेखि चैत्र ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रिय कार्यालयमा धर्ना गरेको थियो भने चैत्र ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनसन गरेको थियो । शिक्षकहरूले दोस्रो चरणको अन्तिम र निर्णयक कार्यक्रमको रूपमा २० गतेदेखि काठमाडौं जाऔं अभियान अघि बढाउने भएको हो । आन्दोलनमा स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी, करार, प्राविधिक धार लगायत सबै शिक्षकहरू आन्दोलनमा सहभागी हुने भएका छन् । शिक्षक कर्मचारीका सबै समस्या समाधान गर्न सक्ने विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर चलिरहने शिक्षकहरूले बताएका छन् । यस्ता छन् शिक्षकका माग शिक्षकहरू सबैभन्दा पहिलो माग विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्नु हो । विधेयकमा राखिएका धेरैजसो विषय संशोधन हुनुपर्ने जस्तै शतप्रतिशत शिक्षक पदपूर्ती आन्तरिक प्रतिस्पर्धाबाट हुनुपर्ने, शिक्षक नियुक्तिको अधिकारलाई स्थानीय तहलाई नभइ संघमा हुनुपर्ने, शिक्षक स्थायी हुँदा अस्थायीको सेवा अवधिपनि शतप्रतिशत जोडिनुपर्ने लगायत रहेका छन् । उनीहरू यो विषयमा विगतमा सम्झौता भइसकेको बताउँदै अव लागु गर्नुपर्ने माग गरेका छन् ।
संसद बैठक बंक गरेर विदेश भ्रमणमा सांसद, फरार सहकारी ठगले पनि बिरामी भन्दै लिन्छन् सुविधा
काठमाडौं । निर्वाचन जिते पनि जनताको मतको सम्मान नगरेर व्यक्तिगत रजगजमा रमाउनु नेपाली सांसदहरूको पुरानै रोग हो । सकेसम्म आफ्नो जिम्लामै रमाउने, पार्टीको कार्यक्रममै व्यस्त हुने, विदेश भ्रमण गर्ने केही काम नभए पनि बिरामी भएँ भनेर संसदलाई जानकारी गराएर घरमै बस्नु अधिकांश सांसदहरूको संस्कार बनिसक्यो । पछिल्लो समय संसद बैंठक बंक गरेर विदेश घुम्न जाने सांसदहरूको संख्या पनि बढ्दै गएको छ । मंगलबारमात्रै प्रतिनिधिसभा संसदका सभामुख देवराज घिमिरेले ७ जना सांसद बैठममा लामो समयदेखि अनुपस्थित रहेको सूचना सुनाए । उनले उनीहरू बैठकमा नआउनुको जानकारी संसद बैठकलाई गराउँदै अनुपस्थित भएको सूचना पारित गराए । उसो त बैठमा नबसे पनि भत्ताकै लागि एक छिन उपस्थित हुने र हाजिर गरेर टाप कस्ने प्रवृत्ति पनि संसदका लागि हानिकारक बनिरहेको छ । एउटा बैठकमा उपस्थित भएवापत गाडी भाडासहित सांसदले दुई हजार रुपैयाँ पाउने व्यवस्था भएअनुसार सो दुई हजार रुपैयाँ असुल्न पनि कतिपय सांसद बैठकमा एकछिन उपस्थित भएर टाप कस्ने गरेको संसद सचिवालयको धारणा छ । मंगलबार पनि सभामुख घिमिरेले संसद बैठक बंग गरेर विदेश भ्रमण गरिरहेका, देशमै भएर पनि बैठक छलिरहेका र स्वास्थ्य उपचार गरिरहेका सांसदहरूको सूची सार्वजनिक गरे । उनीहरू संसद बैठकमा उपस्थित नभए पनि तलब भने पाउने गर्छन् । संसद सचिवालयका सहप्रवक्ता अनन्तप्रसाद कोइराला सांसदहरू जति बैठकमा अनुपस्थित भए पनि तलब भने पाउने व्यवस्था रहेको बताउँछन् । उनका अनुसार बैठकमा अनुपस्थित भएपछि बैठक भत्तावापतको दुई हजार रुपैयाँ भने उनीहरूले पाउँदैनन् । ‘मासिक तलब आए पनि नआए पनि नियमित हुन्छ । तर, लेखाले बैठकमा उपस्थित भएको हाजिरी प्रमाणित गरेपछि मात्रै बैठक भत्ता दिने अभ्यास छ, त्यसैले पनि बैठकमा हाजिरी नगरेका सांसदहरूले बैठक तगा ट्याक्सी भत्ता पाउनु हुन्न,’ उनले भने । १. लीलादेवी बोखिम २०८१ फागुन २२ देखि चैत १९ गतेसम्मका लागि बिदा माग गरेको जानकारी गराइएको छ । उनी १४ पटक बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनी पारिवारिक कारणले बेलायतमा गएको जानकारी सभामुख घिमिरेले गरेका छन् । लीलादेवी बोखिम । ताप्लेजङ घर भएकी उनी नेपाली कांग्रेसकी सांसद हुन् । उनी २०७९ मा आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन् । २. सरस्वती बजिमय सांसद सरस्वती बजिमय पनि संसद बैठक छलेर अहिले विदेश भ्रमणमा छिन् । उनी फागुन २८ गतेदेखि चैत १९ गतेसम्म १ज्ञ वटा बैठकमा अनुपस्थित रहेको जानकारी गराइएको छ । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् । बजिमय दोस्रो पटक समानुपातिक सांसद बनेकी हुन् । उनी २०७० सालमा पनि सांसद बनेकी थिइन् । उनले आफ्नो व्यक्तिगत कारणले विदेश भ्रमणमा रहेको जानकारी संसदलाई गराएकी छन् ।सरस्वती बजिमय । ३. रमेश रिजाल नेपाली कांग्रेसका नेता सांसद रमेश रिजालले पनि संसद बैठकलाई बंक गरेर विदेश भ्रमणमा छन् । उनी १२ पटक बैठकमा अनुपस्थित भएको जानकारी गरिएको छ । उनी यसअघि मन्त्री पनि भइसकेका छन् । पर्सा क्षेत्र नं ४ बाट निर्वाचित सांसद हुन् । उनी फागुन २५ गतेदेखि चैत १९ गतेसम्म बैठकमा अनुपस्थित रहेको बताइएको छ । उनी यसअघि उद्याेगमन्त्री थिए । रमेश रिजाल । जो नेपालमै छन्, बैठकमा आउँदैनन् ४. शेरबहादुर देउवा शेरबहादुर देउवा । नेपाली काँग्रेसका सभापति समेत रहेका सांसद शेरबहादुर देउवा पनि ११ वटा बैठकमा अनुपस्थित भएको बताइएको छ । पटक–पटक प्रधानमन्त्री भइसकेका उनी संसद बैठकमै बस्न नरुचाउने नेताका रुपमा चिनिन्छन् । डडेल्धुराबाट निर्वाचित उनले पार्टीको कामको व्यस्तताले बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका छन् । ५. मनोरमा शेरचन मनोरमा शेरचन । सांसद मनोरमा शेरचन पनि बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनी २७ वटा बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनको शारिरीक समस्या रहेकोले हाल थेरापी चलिरहेकोले बैठकमा उपस्थित हुन नसकेको सभामुले घिमिरेले जानकारी दिएका छन् । उनी नेपाली कांग्रेसलाई प्रतिनिधितव गर्दै आदिवासी जनजातिबाट समानुपाति सांसद बनेकी हुन् । ६. गीता बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत पनि २७ वटा संसद बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । हाल सहकारी ठगीमा फरार रहे पनि संसद्मा भने उनले स्वास्थ्य उपचारमा रहेको सूचना पठाएकी छन् । गीता बस्नेत । सांसद बस्नेत २०८१ माघ १८ गतेदेखि चैत १९ सम्म बैठकमा अनुपस्थित रहेको जानकारी दिए । नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा मुछिएकी सांसद बस्नेत यसअघि नै फरार भइसकेकी थिइन् । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको थियो । तर, उनी भन्दै फरार भएर संसदमा बिरामी भएको जानकारी गराएकी हुन् ।
महिला सशक्तीकरणमा नबिल बैंकको प्रतिबद्धता, मार्च महिनामा देशव्यापी ७ कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल बैंकले महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, लैङ्गिक समानता र समावेशिताको प्रवर्द्धन गर्ने उद्देश्यले मार्च महिनाभर देशव्यापी रूपमा ७ वटा विशेष कार्यक्रम सम्पन्न गरेको छ । सोही अन्तर्गत सोमबार काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न भएको छ । बैंकका स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर सिर्जनाका लागि बैंक प्रतिबद्ध रहेको बताए । उनले बैंकिङ क्षेत्रमा महिलाहरूका लागि अझै पनि केही चुनौतीहरू रहेको उल्लेख गर्दै महिला नेतृत्व प्रवर्द्धन गर्न नबिल बैंकले विभिन्न पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ। जब कार्यस्थल समावेशी बन्छ, तब सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।’ उनले विश्वव्यापी रूपमा समेत महिलाहरूलाई कम पारिश्रमिक दिने प्रवृत्ति परिवर्तन हुँदै गएको उल्लेख गर्दै भने, ‘कार्यस्थलमा महिलामाथि हिंसाका घटना भइरहेका छन्, यी समस्याहरू समाधान गर्न नेपालले पहिचान गरिसकेको छ । नबिल बैंकले पनि महिलाहरूलाई उच्च नेतृत्वमा ल्याउन र अवसर प्रदान गर्न प्रतिबद्धता जनाएको छ ।’ बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरूको नेतृत्वमा सहभागिता बढाउनु अपरिहार्य रहेको बताए । उनले भने, ‘बैंकिङ क्षेत्रमा महिलाहरूको संख्यात्मक प्रतिनिधित्व बढाउन जरुरी छ । महिलाहरू तथ्यपरक सोच्ने, काममा बढी केन्द्रित हुने र सुशासनमा पनि बढी सक्षम रहेको देखिन्छ । बैंकिङ क्षेत्रमा उनीहरूको सहभागिता बढाउन यस प्रकारका कार्यक्रमहरू महत्त्वपूर्ण छन् ।’ ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरूको संख्यात्मक वृद्धिलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने आवश्यकता रहेको बताउँदै भने, ‘महिलाहरूलाई कार्यस्थलमा टिकाइराख्न चुनौतीहरू छन् । घर र कार्यालयका जिम्मेवारीका कारण बीचबाटोमै अल्झिनुपर्ने अवस्था आउँछ। त्यसैले कार्यस्थललाई अझ समावेशी बनाउन जरुरी छ ।’ कार्यक्रममा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले महिलाहरूको सहभागिता समाजको आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै, संस्कृति परिवर्तनमार्फत महिला सशक्तीकरण आवश्यक रहेकोमा जोड दिइन् । उनले भनिन्, ‘महिलाहरूका लागि खेलकुद, बैंकिङ वा कुनै पनि क्षेत्रमा दिगो भविष्य निर्माण गर्न केवल अवसर मात्र पर्याप्त हुँदैन । यसका लागि संस्कृतिमा परिवर्तन आवश्यक छ । हामीले सानै उमेरदेखि किशोरीहरूमा लगानी गर्नुपर्छ र उनीहरूलाई आफ्नो इच्छाहरू पछ्याउन प्रोत्साहित गर्नुपर्छ ।’ उनले थपिन्, ‘महिलाहरूको सहभागिताले सीप, विज्ञता, नयाँ दृष्टिकोण, सोच र सहकार्यलाई बल पुर्याउनेछ । महिलाहरूको सशक्तीकरणमा पुरुषहरूको भूमिका पनि महत्त्वपूर्ण छ । कार्यस्थलमा महिलाहरूको स्थान सुरक्षित बनाउन सबै पक्षले ध्यान दिनुपर्छ ।’
प्रतिनिधिसभामा धेरै गयल हुने सांसदमा कांग्रेस सभापति देउवा पनि
काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन् । यसरी धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् । देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदरू १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन रहेकी छन् । थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए । सभामुख घिमिरेकाअनुसार प्रतिनिधिसभा सदस्यहरू लीलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् । संसदमा गयल हुने सांसदहरूमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे । प्रतिनिभि सभाको मंगलवारको बैठकले सांसदहरुको बिदा स्वीकृत गरेको छ ।
नेप्सेको सीईओ बने चुडामणि चापागाईं, को हुन् उनी ?
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यक्तित्व हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् । यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस गर्दा आलोचना हुन सक्ने सम्भावना देखिएपछि मन्त्रिपरिषद्ले पुन: चापागाईंलाई नयाँ सीईओ नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो । नयाँ नियुक्तिसँगै नेप्सेले अब व्यवस्थापकीय नेतृत्व पाउने भएको छ।
गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । सो प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले आगामी २०८२ वैशाख ५ गते वार्षिक साधारण सभा आह्वान गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि चैत २८ गते कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार, चैत २७ गतेसम्म सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
टेस्लामाथि हमला जारी, रोमको डिलरशिपमा आगलागी हुँदा १७ कार नष्ट
काठमाडौं । अर्बपति एलन मस्कले इटालीको रोमस्थित टेस्ला डिलरशिपमा भएको आगलागीलाई ‘आतंकवादी हमला’को संज्ञा दिएका छन् । उक्त आगलागीमा १७ वटा कार नष्ट भएका थिए । इटालीको विशेष प्रहरी इकाई डिजोसले यस घटनाको अनुसन्धान गरिरहेको छ । सुरक्षा स्रोतका अनुसार अनुसन्धानकर्ताहरूले इटालीको राजधानी रोमको पूर्वी क्षेत्रस्थित उक्त कारहरूमा अराजकतावादीहरूले आगो लगाएको हुनसक्ने आशंका गरेका छन्। मस्कको दक्षिणपन्थी गतिविधिहरूले गर्दा विभिन्न देशहरूमा टेस्ला कारहरूमा तोडफोड तथा आगजनी हुँदै आएको जनाइएको छ । प्रविधि व्यवसायी तथा सोशल मिडिया प्लेटफर्म एक्स (पूरानो ट्वीटर) का मालिक मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग आबद्ध भएका छन् र उनले युरोपका दक्षिणपन्थी दलहरूको समर्थन गरेका छन् । मस्कले एक्समा रोम आगलागीसम्बन्धी एक पोस्टमा टिप्पणी गर्दै ‘आतंकवाद’ शब्द प्रयोग गरे । ड्रोनबाट खिचिएको तस्बिरहरूमा आगलागीपछि जलेका कारहरू पार्किङ क्षेत्रमा लाइनमा देखिन्छन्, जसमा दुई पङ्क्तिमा कारहरू एकअर्कासँग जोडिएर राखिएको र तेस्रो पङ्क्ति केही टाढा देखिन्छ । इटालीको अग्नि नियन्त्रक विभागका अनुसार आगलागी सोमबार बिहान करिब ४ः३० बजे भएको थियो । डिलरशिपको केही भाग क्षतिग्रस्त भए पनि कसैलाई कुनै चोटपटक लागेको थिएन । इटालीका उपप्रधानमन्त्री तथा दक्षिणपन्थी लिग पार्टीका नेता मातेओ साल्भिनीले पनि एक्समा मस्कलाई समर्थन जनाउँदै लेखेका छन्, ‘टेस्ला कार कम्पनी विरुद्ध धेरै अनावश्यक घृणा फैलिएको छ । घृणा र द्वन्द्वको यो समय छिट्टै अन्त्य हुनुपर्छ । मेरो ऐक्यबद्धता एलन मस्क र सबै श्रमिकहरूसँग छ, जो धम्की र आक्रमणको सिकार भएका छन् ।’ स्वीडेनका दुई टेस्ला स्टोरहरूमा हमला स्वीडेनको राजधानी स्टकहोम र तटीय सहर माल्मोमा दुई टेस्ला स्टोरहरू र केही कारहरू तोडफोड गरिएको विभिन्न स्वीडिश सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । स्वीडेनको सार्वजनिक प्रसारक एसभीटीका अनुसार माल्मोमा रहेको एक टेस्ला स्टोरमा सुन्तला रङको पेन्ट छ्यापिएको थियो । प्रहरीले चार व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरूको गतिविधिको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ ।
कालीमाटीमा बिक्रीका लागि ल्याइएको तने बोडीमा ९२ प्रतिशत विषादी भेटियो
काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा ल्याइएको तने बोडीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । चितवनबाट मंगलबार बिक्रीका लागि ल्याइएको तने बोडीमा ९२.४५३ प्रतिशत ‘अर्गानोफस्फेट’ विषादी पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १० वटा पसलमा बिक्री भइरहेका १० प्रकारका तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षणका क्रममा चितवनबाट ल्याइएको तने बोडीमा अत्यधिक मात्रामा विषादी भेटिएकाले उपभोग अयोग्य रहेको समितिले जनाएको छ । विशेषज्ञहरूका अनुसार ‘अर्गानोफस्फेट’ विषादी स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । यसले मष्तिष्क, स्नायु प्रणाली र पेटसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ । सरकारले विषादी नियन्त्रणका लागि कडा नीति ल्याउनुपर्ने र उपभोक्ताहरूले पनि सचेत भएर तरकारी खरिद गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।