विकासन्युज

थाइल्याण्डका उद्योगी व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल, नेपालमा लगानीका लागि आह्वान

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गरेका छन् । बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीचको सौहार्दपूर्ण सम्बन्ध, आर्थिक सहकार्य र लगानीका अवसरहरूबारे जानकारी गराएका थिए । उनले नेपालले लगानी सुरक्षाका लागि कानुनी सुधारहरू गरेको बताउँदै थाइल्याण्डका व्यवसायीहरूलाई शिक्षा, स्वास्थ्य, प्रविधि र कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेश नबनेको र समान रूपमा गरिबी निवारणको प्रयास गरेको उल्लेख गर्दै थाइल्याण्डको प्रविधि र विकास मोडेल नेपालका लागि उपयोगी हुन सक्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार थाइल्याण्डका व्यवसायीहरूले विशेष गरी शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा लगानी गर्न चाहेको जनाएका छन् । पर्यटनका लागि पनि थाइल्याण्डसँग बलियो सम्बन्ध रहेको र बौद्धमार्गी थाइल्याण्डवासीहरू बुद्ध जन्मभूमि लुम्बिनी भ्रमण गर्न चाहने भएकाले पर्यटनमा थप लगानीको सम्भावना रहेको प्रधानमन्त्री ओलीले बताए । सरकारले लगानी मैत्री कानून र अनुकूल वातावरण तयार पारेकोले थाइल्याण्डका व्यवसायी नेपालमा आकर्षित हुन सक्ने विश्वास गरिएको छ ।   

रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन

डुम्रे । भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनादीको खट्टे बजारमा ल्याएको हो ।       जिल्ला तथा नगरपालिका क्षेत्रमा उत्पादित अनादीको धानखेतीमा प्रोत्साहन पुर्याउने लक्ष्यका साथ ब्राण्डिङ गरी अनादीको खट्टे बजारमा ल्याइएको फार्मका सञ्चालक रामकृष्ण अधिकारीले बताए । भानु नगरपालिकाको समन्वयमा अनादी धानलाई खट्टे बनाएर बजार पठाइएको हो ।       अनादीको धानखेती लोपोन्मुख भएकाले यसको प्रवद्र्धनका लागि अनादीको खट्टे बनाइएको उनले बताए । 'अनादीको धानखेती कम हुने गरेको छ, बढी उत्पादन लिने लक्ष्यका साथ स्थानीयले अन्य प्रजातिका धान लगाउने गर्दछन्', सञ्चालक अधिकारीले भने, 'रैथाने धान संरक्षण, प्रवद्र्धन तथा ब्राण्डिङ गरी आयसँग जोड्न अनादीको खट्टे बजारमा ल्याएका हौँ ।'      भानु नगरपालिका कृषि विकास शाखाका प्रमुख विनोद थापा मगरले नगरपालिकाले रैथाने बाली कार्यक्रमअन्तर्गत ब्राण्डिङ र प्याकेजिङमा नगरपालिकाको सहयोग रहेको बताए । उनले भने, 'खाना, प्रविधि र गुणस्तर नियन्त्रणको विभागीय परीक्षण नगरपालिकाले गरेका छ, उत्कृष्ट ठहरिएपछि अनादीको खट्टे बजार पठाउन स्वीकृति दिइएको हो ।'      नगरपालिकाका १३ वटै वडा तथा जिल्लाका किसानले उत्पादन गरेका अनादीलाई खट्टे बनाएर बजार पु¥याउने गरिएको कृषि शाखाले जनाएको छ ।  रासस  

नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना निलम्बित

  काठमाडौं  । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना पदाधिकारीलाई निलम्बन गरेको छ । आइएफआरसीले अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र पठाएर निलम्बनको जानकारी गराएको हो । अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ र नारायण तिमिल्सिना पनि निलम्बनमा परेका छन् । रेडक्रस संस्थाको आधारभूत मान्यताहरू उल्लंघन गरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको लगायतका कारण देखाउँदै उनीहरूलाई निलम्बन गरिएको बताइएको छ ।

कुरिलो किलो ६०० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।  यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २९०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १३०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

नेविसङ्घ, पर्यटन बोर्डसहित ५१ व्यक्ति तथा संस्थाले तिरेनन् भृकुटीमण्डपको करोडौं भाडा (सूचीसहित)

काठमाडौं । विभिन्न ५१ व्यक्ति तथा कम्पनीले भृकुटीमण्डपमा जमिन तथा भवन भाडामा लिएर भाडा रकम नबुझाएको पाइएको छ । समाज कल्याण परिषद् भृकुटीमण्डप व्यवस्थापन विभागले बक्यौता भाडा रकम नबुझाउने ५१ व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको हो । समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप परिसरमा रहेका पसल, कवल, स्टल, भवन लगायतको जग्गा जमीन भाडामा लिई विगतमा व्यवसाय, कार्यालय संचालन गरेका साथै हाल स्टल, बुथ, भवन प्रयोग गरिरहेका व्यक्ति एवं संघ संस्थाहरूले तत्काल बक्यौता रकम बुझाउन परिषदले ताकेता गरेको हो ।  बक्यौता रकम बुझाई हिसाब मिलान गर्न पटकपटक पत्राचार, निर्देशन एवं सूचना जारी गरेपनि अटेर गरी नबुझाएको परिषदले जनाएको छ । परिषदको गत माघ २ गतेको निर्णयअनुसार ३५ दिनभित्र बक्यौता रकम बुझाई हिसाब मिलान गर्न ताकेता गरेको हो । उक्त समयभित्र पनि बक्यौता नबुझाएमा कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । परिषदका अनुसार २०८१ पुस मसान्तसम्म नेपाल मोबाइल व्यवसायी संघले २ लाख रुपैयाँ, ह्यापी डिलले ५ लाख ८५ हजार रुपैयाँ, राईज ग्लोबलले १४ हजार ८८ रुपैयाँ, नेविसङ्घले ८ लाख ७८ हजार ४७६ रुपैयाँ, उपभोक्ता मञ्च नेपालले ४० लाख ७५ हजार ४०२ रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।  नेपाल पर्यटन बोर्डले १० लाख ६७ हजार ९०३ रुपैयाँ, राजेन्द्र खड्काले ३१ हजार ९५६ रुपैयाँ, लेदर विङ्गस प्रालिले २ हजार ४९६ रुपैयाँ, कराँते संघले ३ लाख ४८ हजार ९३६ रुपैयाँ, रिपोर्टस क्लबले ४६ लाख ५८ हजार ६४९ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको परिषदले जनाएको छ ।  परिषदका अनुसार सिर्जना आर्ट ग्यालरीले  २ लाख ३३ हजार ७७८ रुपैयाँ, काठमाण्डौं उपत्यका सार्वजनिक पुस्तकालयले ९४ लाख ३५ हजार ३६५ रुपैयाँ, नेपाल साना पसल श्रमिक संघले ३ लाख ६० हजार ९०४ रुपैयाँ, ग्रामीण महिला तथा बालबालिकाले ५२ हजार ५१ रुपैयाँ, नेपाल प्यारा ओलम्पिक कमिटीले ५ लाख ७६ हजार ६९१ रुपैयाँ, केन्द्रीय उपभोक्ताले  ७३ हजार ५६७ रुपैयाँ, डिलु रानाले २ लाख १५ हजार ७६८ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।  लब्जी बहादुर कार्कीले ४ लाख ६४ हजार १७८ रुपैयाँ, लक्ष्मण श्रेष्ठले ३ लाख ५८ हजार ४८३ रुपैयाँ, रुपरत्न तुलाधरले २ लाख ३८ हजार ६६२ रुपैयाँ, रेश्मा तुलाधरले ६५ हजार २८९ रुपैयाँ, नेपाल फोटो पत्रकार महासंघले १५ लाख ५२ हजार ५९० रुपैयाँ भुक्तानी गर्न रहेको छ ।  यस्तै, नेपाल नेत्रहिन संघले ३९ लाख ८२ हजार २०६ रुपैयाँ, नेपाल अपाङ्ग समाज ब–उ संस्थाले ३१ लाख ६१ हजार ४६ रुपैयाँ, नेपाल अपाङ्ग समाज ब.उ संस्था लि.ले ४ लाख ९५ हजार ४६४ रुपैयाँ, सनद कुमार श्रेष्ठले ३१ हजार १६२ रुपैयाँ, रोहित बस्नेतले ३ हजार ३४९ रुपैयाँ, गणेशमान सिंह अध्ययन प्रतिष्ठानले २९ लाख २९ हजार ५४१ रुपैयाँ बक्यौता रहेको छ ।  यस्तै, विश्व बहादुर जोशीले ८ लाख ३१ हजार १८२ रुपैयाँ, राष्ट्रिय अपाङ्ग महासंघले ९७ लाख ९५ हजार ७३१ रुपैयाँ, पिसी सिटी नेटवर्कले १ लाख २२ हजार ८०१ रुपैयाँ, डाइरेक्सन नेपालले १२ लाख ३७ हजार ३६४ रुपैयाँ, कृष्ण बहादुर गुरुङले १ लाख ३५ हजार ३९४ रुपैयाँ, दल बहादुर शाहीले ५ लाख १४ हजार ७३७ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।  मुकुन्द मान प्रधानले २ लाख ८७ हजार ३६२ रुपैयाँ, रोशनी श्रेष्ठले १६ लाख ६ हजार २३० रुपैयाँ, बालकृष्ण कृचिकारले ३६ हजार ४३ रुपैयाँ, विनोद तण्डुकारले २ लाख १० हजार ३३३ रुपैयाँ, माइकल लामाले १६ हजार ८६८ रुपैयाँ, नेपाल राष्ट्रिय कर्मचारी संगठनले १९ लाख ५१ हजार ९४५ रुपैयाँ, नेपाल पत्रकार महासंघले ६१ हजार ३३७ रुपैयाँ, काठमाण्डौं उपत्यका सार्वजनिक पुस्तकालयले १ करोड ४६ लाख ५९९ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।  यस्तै, बालबालिकाको निम्ति गैरसरकारी संघले ७५ लाख २ हजार ५६७ रुपैयाँ, राजनीतिक पीडित सहायताले १ लाख ७६ हजार ९१७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजले ११ लाख ५५ हजार २८० रुपैयाँ, नेपाल पत्रकार महासंघले २७ लाख ७१ हजार ३९८ रुपैयाँ, नेपाल ह्वील चियर क्लबले २७ लाख ४६ हजार २२१ रुपैयाँ, नेपाल राष्ट्रिय अपाङ्ग मानव अधिकार संरक्षण मञ्चले १६ लाख ६९ हजार ८९२ रुपैयाँ, स्थानीय विकास मन्त्रालयले २ लाख ३७ हजार ११९ रुपैयाँ र यशोदा कुमारी सेट्टीले ५ लाख ८१ हजार १८७ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।  

‘समर सेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान

राधेश्याम विश्वकर्मा काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात् यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर सेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तराष्ट्रिय उडान हुने छैन ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संयोग मात्र हुन नसक्ने भन्दै यहाँका व्यवसायीले आक्रोश पोखेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान अवधि घट्दा भैरहवा विमानस्थललाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग गरिएको भन्दै भैरहवाका व्यवसायीले आक्रोश व्यक्त गरेका हुन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहले भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाइ दुबई, थाई एयर एसियाले ‘समर सेड्युल’ नलिएको बताए । उनले जजिरा एयरवेजले अलिकता आशा भने देखाएको बताए ।  ‘मे’ महिनादेखि जजिराले भैरहवाबाट उडान भर्ने आश्वासन दिएको साहले जानकारी दिए ।  साहले भैरहवा विमानस्थलबाट उडान र अवतरण तथा सेवा प्रवाहमा भने कुनै समस्या नरहेको जिकिर गरे ।  ‘सुरुमा जनवरीमा महिनामा ‘लो भिजिविलिटी’ को कारण थोरै समस्या भयो । तर यो नगण्य मात्रामा थियो । वायुसेवा कम्पनीलाई, यात्रुलाई दिनुपर्ने सेवा प्रवाह तथा प्राविधिकसम्बन्धी अन्य खासै समस्या आएन,’ उनले भने ।  साहले विमानस्थल सञ्चालनमा सरकारको मात्र नभई निजी क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको तर निजी क्षेत्र नै यहाँ आउन इच्छुक नरहेको जिकिर गरे ।  ‘विमानस्थल सञ्चालन हुनु भनेको अन्य व्यवसायको जननी हो, व्यवसाय मुख्य ‘हब’ भएको यस्तो स्थानमा निजी क्षेत्रको पहल अलि कम भएको मेरो विश्लेषण रहेको छ,’ उनले भने, ‘काठमाडौंबाट उड्ने सबै यात्रु काठमाडौंकै होइनन्, समग्र नेपालका हुन् । यस्तो अवस्थामा सबै यात्रु काठमाडौंबाट नै उड्न खोज्नु भन्नु भैरहवामा केही जटिलता त छ भन्ने देखाउँछ ।’ प्रवक्ता साहका अनुसार वैदेशिक उडानको लागि आवश्यक पर्ने भिसा सेन्टर, श्रम स्वीकृति, मेनपावर, ट्राभल एजेन्सीलगायत तालमाल मिलेको देखिँदैन । काठमाडौंमा केन्द्रित ठूला ट्राभल एजेन्सी र मेनपावर एजेन्सीलाई यता आकर्षित गर्न सकिए मात्र विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन हुन सक्ने यहाँको बुझाइ छ । यसको लागि सरकारले पहल गरे निजी क्षेत्रले भने पहल गर्न नसकेको उनको भनाइ छ । तर निजी क्षेत्र भने प्रवक्ता साहको यो भनाइ सत्य नरहेको बताउँछन् । एयरपोर्ट सञ्चालनको लागि आन्दोलन गर्दै आएको सिद्धार्थ सञ्जाल रूपन्देही र यसलाई नेतृत्व गर्नुहुने अध्यक्ष अनिल ज्ञवाली यो भनाइ कर्मचारीको बहाना मात्र भएको बताउँछन् ।  नेपाल सरकारले विमानस्थलबाट विमान कम्पनीहरूलाई दिने छुट सुविधा समयमै प्रदान नगर्नु प्रमुख कारण रहेको उनी बताउँछन् । उनका अनुसार वायुसेवा कम्पनीलाई यहाँबाट उडान नगर्नुको एउटा निहुँ मात्र भएको छ । यसबाहेक काठमाडौं केन्द्रित व्यवसायीले काठमाडौंभन्दा बाहिर उडान गराउन नचाहेको आरोप उनको छ । ज्ञवालीले सरकारले नै विमानस्थल सञ्चालन गर्न नचाहेको आरोप लगाउँदै यहाँका स्थानीय फेरि आन्दोलित हुने वातावरण बनाएको बताए ।  त्यसो त भैरहवा विमानस्थलमा वायुसेवा कम्पनीले यात्रु नपाएको भन्ने खबर गलत रहेको तथ्याङ्कले देखाउँछ । विमानस्थलका प्रवक्ता साहले उपलब्ध गराएको जानकारीअनुसार ‘विन्टर सेड्युल’ अर्थात् जनवरी, फरवरी र मार्च महिनामा गरी विमानस्थलबाट १५ हजार १४८ जना यात्रुले सेवा लिएका छन् । यसमा ८ हजार ३९ जनाको आगमन भएको छ भने यहाँबाट ७ हजार १०९ जना उडेका छन् । मार्च महिनामा मात्रै ७ हजार ३४ जना यात्रुहरूले विमानस्थलबाट सेवा लिएका छन् । यसमा सबैभन्दा बढी जजिरा एयरलाइन्स र फ्लाइ दुबईले यात्रु बोकेको तथ्याङ्कबाट देखिन्छ । जजिराले मार्च महिनामा ३ हजार ६०७ यात्रु र फ्लाइ दुबईले २ हजार ३२३ यात्रु बोकेको छ । विमानस्थलबाट उडान नहुनु सरकारी उदासीनता रहेको र भैरहवा विमानस्थललाई ‘डाईभर्सन पुल’ को रूपमा मात्र प्रयोग गरिएको यहाँका व्यवसायीको आरोप छ । गत कात्तिक २३ देखि विमानस्थलभित्र भौतिक संरचना निर्माणको काम थालिएपछि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको थियो । मङ्गलबारदेखि उडान समय लम्बिएसँगै भैरहवाबाट हुने उडान स्थगित हुनुलाई संयोग मात्र मान्न नसकिने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यको भनाइ छ । काठमाडौंको विमानस्थललाई समय घटाएर सञ्चालन गरिँदा भैरहवा विमानस्थललाई प्रयोगमा ल्याउनुको लागि डाइभर्सन पुलको रूपमा प्रयोग गरिएको भन्ने निजी क्षेत्रको आशंका अहिले आएर सत्य भएको उनको भनाइ छ । अध्यक्ष आचार्यले विमानस्थल सञ्चालनमा निजी क्षेत्रले सक्ने जति प्रयास गरे पनि सरकारले नै चासो नदेखाएको गुनासो गरे । उनका अनुसार साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । भैरहवा र पोखराका अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीति अनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तराष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ । निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निर्णय नभएसम्मका लागि कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । अन्तराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत सरकारले दिइरहेको छ । सरकारले पर्यटन बोर्डले प्रति टिकट लिने शुल्क पनि उक्त समयभर २ विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म छुट दिएको छ ।  काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा इन्धनको मूल्य सस्तो रहेको छ । तर सरकारले प्रदान गर्ने यस्ता सुविधालाई समयमै दिनुपर्ने भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा, अध्यक्षमा सिके, सह अध्यक्षमा रञ्जिता

काठमाडौं । तराई-मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जन सवाललाई सशक्त रूपमा उठाउने गरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् ।  दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्व तहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।  जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्ने गरी संवादमा भइरहेको बताए ।  ‘आगामी वैशाख १५ भित्र एकता प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने गरी छलफल भइरहेको छ,’ जनमतका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहेका उनले भने, ‘नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव ‘फाइनल’ भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ, पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी छ ।’ संयोजक खानका अनुसार वैशाखको पहिलो सातामा आ-आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिना यता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तीब्रता पाएको छ ।  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिइन् । उनले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताइन्।  ‘पार्टी एकीकरणलाई टुङ्गो लगाउन कार्यदल तहमा छलफल भइरहेको छ, त्यहाँको निर्णयअनुरुप दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणलाई अन्तिम रूप दिनेछौँ,’ अध्यक्ष श्रेष्ठले भनिन् ।  जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले पनि पार्टी एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताए ।  ‘पार्टी एकीकरणका लागि दुवै पार्टीबाट गठित कार्यदलको बैठक र छलफल चलिरहेको छ । केही कुरा मोटामोटी सहमति पनि भइसकेको छ, उदाहरणका रूपमा पार्टीको नाम, नेतृत्व र पदाधिकारीको विषयमा करिब सहमति बनिसकेको छ । बाँकी विषयलाई कार्यदलको तहबाट चाँडै टुङ्ग्याएर पार्टी एकीकरणलाई पूर्णता दिइनेछ,’ उनले भने ।  प्रारम्भिक समझदारीअनुसार पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको जनाइएको छ । एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत र सह अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने नेताहरूले दाबी गर्छन् ।  ‘हामी पार्टी एकीकरणमा प्रवेश गरिसक्यौँ, पार्टीको नाम, झण्डा, चुनाब चिह्न, अध्यक्षसहितका पदाधिकारीमा मोटामोटी सहमति भइसकेको छ । सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना विस्तारै मिलाउँदै जान सकिन्छ,’ कार्यदल सदस्यसमेत रहेका जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले भने ।  जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणका लागि गत फागुनको तेस्रो साता कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले हालै कार्यदल बनाएको छ । जनमत पार्टीका तर्फबाट गठित कार्यदलमा उपाध्यक्ष खानको संयोजकत्वमा पार्टी प्रवक्ता डा यादव र बाल गोविन्द चौधरी सदस्य छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट नेता गङ्गा राम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा सुनिता चौधरी र रामलाल डगौरा थारू सदस्य छन् ।  पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको जनमत पार्टीका प्रवक्ता डा यादवले बताए ।  विसं २०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । सो पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए । हाल संसद्मा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् ।

काठमाडौंको आकाशबाट वायु प्रदूषणको बादल फाट्न केही दिन लाग्ने

काठमाडौं । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसम विद् बिनु महर्जनले बताए ।  हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताए । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलि देखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिए ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ ।