विकासन्युज

पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो ईभी लैजान सकिने, टाटा कार्निभल सुरु हुँदै

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा कार्निभल’को चौथो संस्करण सुरु गर्ने भएको छ । कम्पनीका अनुसार भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर टाटाका नयाँ पन्च ईभी र टियागो ईभीसँग साट्न सक्नेछन् । पुरानो गाडीलाई डाउन पेमेन्टका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ विद्युतीय सवारीसाधन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।  बुकिङ गर्ने ग्राहकलाई विशेष अफर कार्निभल अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकलाई बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जर जडान सुविधा उपलब्ध गराइनेछ । सिप्रदी ट्रेडिङले हालै सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी नेपाली बजारमा सार्वजनिक गरेको थियो । नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ । ​​​​​​​ पन्च ईभीमा ३२५ किलोमिटरसम्मको रेन्ज अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । कम्पनीका अनुसार नेपालमा गरिएको परीक्षणमा यसले एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । पन्च ईभीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, बीएनक्याप ५-स्टार सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ककपिट, भेन्टिलेटेड सिट तथा ३६६ लिटरको बुट स्पेस उपलब्ध छ ।  नयाँ टियागो ईभीमा पनि आकर्षक फिचर दैनिक प्रयोगलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम तथा ६ वटा एयरब्यागसहितका सुरक्षा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङका अनुसार कार्निभलमार्फत ग्राहकलाई सहज रूपमा विद्युतीय सवारीसाधनमा अपग्रेड हुन अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ ।

रुपाकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई आईपीओ निष्कासनसम्म आवश्यक पर्ने परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ । एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापनादेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ । कास्कीको रुपा गाउँपालिका–६, मैदानमा कार्यालय रहेको रुपाकोट रिसोर्टले प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्ने तयारी अघि बढाएको हो ।  पर्यटनको आकर्षक गन्तव्य बन्दै रुपाकोट पोखरामा अवस्थित रुपाकोट रिसोर्ट पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै आएको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण, हिमाली शृंखलाको दृश्य तथा रुपा र बेगनास तालको मनोरम दृश्यावलोकन गर्न सकिने भौगोलिक अवस्थिति रिसोर्टको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ । रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । रिसोर्टमा आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध छन् । यसका कारण पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रुपाकोट रिसोर्ट उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको कम्पनीले जनाएको छ । एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत निजी कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ ।

एनएमबि बैंकको नेतृत्वमा तिला जलविद्युत आयोजनामा साढे ४४ अर्ब बढी ऋण लगानी हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कालीकोटको तिला खोलामा एस.सी. पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुने भएको छ । वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ । ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् । अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले समेत आयोजनामा सहभागी लगानीकर्ताका रूपमा ऋण लगानी गर्नेछन् । एस.सी. पावर कम्पनीको मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरेको छ । आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार यसको जडित क्षमता ४४० मेगावाट रहेको छ । आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार २०८७ पुस १५ अर्थात् ३१ डिसेम्बर २०३० देखि व्यावसायिक उत्पादन सुरु गर्नुपर्नेछ । वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एस.सी. पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन् । निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अघि बढाइएको यो आयोजना जडित क्षमताका आधारमा हालसम्मकै ठूलो जलविद्युत आयोजना भएको कम्पनीले जनाएको छ । आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । एनएमबि बैंकले वातावरणीय तथा सामाजिक पक्षलाई प्राथमिकतामा राख्दै आयोजनामा लगानी गरेको जनाएको छ । बैंकले नेपाल राष्ट्र बैंकको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको छ । आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्षको अध्ययन तथा मूल्यांकनसमेत गरिएको बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) द्वारा विकसित हाइड्रोपावर सस्टेनेबिलिटी टुल प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षणका लागि प्रयोग गरिएको बैंकले जनाएको छ । एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ । बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

चीनको नयाँ सफलता : ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा अवतरण

काठमाडौं । चीनले बुधबार बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट ‘जुके–३’ को सफल प्रक्षेपण गरेको छ । यस अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमिनमा सफलतापूर्वक अवतरण गराउन सफलता प्राप्त गरेको हो । उत्तर–पश्चिमी चीनस्थित दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट जोनबाट बेइजिङ समयअनुसार बुधवार बिहान ७ः३५ बजे ‘जुके–३ वाई–२’ रकेट प्रक्षेपण गरिएको थियो । निर्धारित योजनाअनुसार नै रकेटको पहिलो खण्ड जमिनमा अवतरण भएको र उक्त उडान अभियान पूर्णरूपमा सफल भएको अधिकारीहरूले जनाएका छन् ।  यसअघि गत जुलाई १० मा चीनले ‘लङ मार्च–१० बी’ रकेटको पहिलो खण्डलाई समुन्द्रमा सफलतापूर्वक अवतरण गराएको थियो । तर अवतरणका लागि खुट्टाहरूको प्रयोग गरी जमिनमा नियन्त्रित रूपमा रकेट फिर्ता ल्याइएको यो चीनको पहिलो सफल परीक्षण हो । यस उपलब्धिलाई चीनको पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको क्षेत्रमा एक ठूलो फड्को मानिएको छ । यो सफलतासँगै चीनले अन्तरिक्ष अभियानको लागत घटाउने र रकेट प्रविधिलाई थप दिगो बनाउने दिशामा महत्वपूर्ण माइलढुङ्गा पार गरेको छ ।  

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे, आजदेखि सेवा सुरु

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरिएको छ । २०८२  कात्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गरेको बैंकले जनाएको छ ।  बैंकका अनुसार नयाँ स्थानबाट आज (भदौ ३ गते) बुधबारदेखि केन्द्रीय कार्यालयको सेवा सञ्चालनमा आएको छ । बैंकले कार्यालय स्थानान्तरणसम्बन्धी जानकारी आफ्ना ग्राहक तथा सम्बन्धित सबैलाई गराउँदै थप जानकारीका लागि बैंकको वेबसाइट वा कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकको नयाँ केन्द्रीय कार्यालय बालुवाटारमा राष्ट्रपति भवनबाट नजिकै वडा नम्बर ३ को कार्यालय तथा नेपाल आर्मी कल्याणकारी बोर्डको कार्यालय आसपासमा रहेको छ । 

देशभर मनसुन सक्रिय, ५ प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, पहाडी भू-भागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने पूर्वानुमान गरिएको छ । आज राति देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ । रातिको समयमा पनि हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

४४ वटा म्याक्सस ई-टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म छुटको अफर

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई-टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ । बुकिङ भएका सवारीमध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन् । कम्पनीले तीन साताअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको ई-टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो । नाइमा मोबिलिटी एक्सपोमा कम्पनीले उक्त मोडलमा २ लाख रुपैयाँ छुट उपलब्ध गराएको थियो । त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो । उक्त छुट सुविधा एक्सपो अवधिका लागि मात्र तय गरिएको भए पनि एक्सपोपछि पनि केही दिन अफर कायम राख्न ग्राहकबाट अनुरोध आएपछि कम्पनीले भदौ १५ गतेसम्म छुट सुविधा निरन्तरता दिने निर्णय गरेको कम्पनीले जनाएको छ । अफरअन्तर्गत म्याक्सस ई-टेरेन पिकअप बुकिङ गर्न इच्छुक ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । ‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बिक्री सुरु गरिएको म्याक्सस ई-टेरेन पिकअप छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । विशेषगरी युवा पुस्ता, कच्ची सडकमा नियमित यात्रा गर्ने तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यो पिकअपलाई रुचाएको कम्पनीले जनाएको छ । आकर्षक तथा आक्रामक डिजाइन, सुविधासम्पन्न कारमा उपलब्ध हुने फिचर र व्यावसायिक तथा निजी दुवै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले ई-टेरेनप्रति ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ । उच्च ग्राउन्ड क्लियरेन्सका कारण निर्माण तथा जलविद्युत् आयोजनाका क्षेत्रमा काम गर्ने व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीले जनाएको छ । म्याक्सस ई-टेरेन चीनको प्रसिद्ध सवारीसाधन निर्माता कम्पनी एसएआईसीअन्तर्गतको म्याक्सस ब्रान्डले उत्पादन गरेको हो । उत्पादन कम्पनीको अन्तर्राष्ट्रिय विश्वसनीयतासँगै नेपालमा हिमालय मोटरक्सले बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स तथा सर्भिस सुविधा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले ग्राहकको विश्वास बढेको कम्पनीको दाबी छ ।

ब्यारेक छाडेर बेपत्ता ९ सशस्त्र प्रहरीलाई ७ दिनको अल्टिमेटम

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले लामो समयदेखि बिदा तथा आफुखुसी लाइन–ब्यारेक छाडेर गैरहाजिर रहेका ९ जना सशस्त्र प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालयले सम्बन्धित कर्मचारीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।  गैरहाजिर रहेकाहरुमा सशस्त्र प्रहरी जवान रामा गिरी, भानुभक्त बुढाथोकी, प्रेमबहादुर खत्री, अनिल लुहार, उमेश रुपचा, होमेचन्द्र राई, रमेश लिम्बु रहेका छन् । यस्तै, सशस्त्र प्रहरी परिचर (सप्रप) महेन्दर पासी र विकास राई रहेका छन् । उनीहरू सशस्त्र प्रहरी बलका विभिन्न बाहिनी, गण, गुल्म तथा अन्य कार्यालयमा कार्यरत रहेको जनाइएको छ ।  कार्यालयका अनुसार बिदा तथा आफुखुसी लाइन–ब्यारेक छाडेर गएपछि उनीहरू कुनै किसिमको सम्पर्कमा समेत नरहेको पाइएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।