विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २.५० अर्बको ऋणपत्र बिक्री खुला गर्ने, ब्याजदर ७ प्रतिशत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २०८२ वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गर्ने भएको हो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकका ऋणपत्रमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग्स नेपालले बैंकलाई केयर एनपी ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता तुलनात्मक रुपमा पर्याप्त तथा न्यूनतम् कर्जा जोखिम भएको संस्था रहेको संकेत गर्दछ । 

शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याउने

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै चितवन स्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।  कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् । केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ ।  प्रमुख केसीले भने, ‘शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।’ गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए । गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ । 

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दावासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारत स्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रुपमा १० वर्षदेखि साधुको भेष धारणा गरी लुकीछिपी रहेका थिए ।  हत्यापश्चात फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।  तीनकुने घटनामा संलग्न थप दुई पक्राउ यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौंले यही चैत १५ गते तीनकुने क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् । पक्राउ परेकालाई आपराधिक उपद्रव कसूरअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिल बोहोराले जानकारी दिए । 

पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग, पर्यटक बढ्दै

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका-७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १० लाख रुपैयाँ बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए ।  उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका-२ सेरादेखि करिब २५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए। बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटको आकर्षण बढ्दो छ । नरसिंहकोटमा पूर्वाधार बन्दै गएपछि आन्तरिक पर्यटक बढ्दै गएको निसीखोला गाउँपालिका–७ अध्यक्ष दीपक कुँवरले बताए । बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमा पुग्न अब सहज भएको उनको भनाइ छ ।  पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा २० लाख रुपैयाँमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थल लगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।  उनका अनुसार उक्त स्थानमा खेलमैदान निर्माणाधीन अवस्थामा छ । नरसिंहकोटमा पुग्नुका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टा र पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारीसाधनमा जाँदा लामो बाटो पर्ने उनी बताउँछन् ।  अध्यक्ष कुँवरले भने, ‘धेरै सम्भावना हुँदा हुँदै विगतमा नरसिंहकोट ओझेलमा थियो तर अहिले चर्चामा आएको छ, अहिले प्रत्येक दिन पर्यटकको आगमन हुन्छ, बिदाको दिन त अझ बढी पर्यटक घुमघामका लागि यहाँ आउने गर्छन्, अहिले हामीहरुले पनि यस क्षेत्रको प्रवर्द्धन गर्नका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएका छौँ ।’ नरसिंहकोटबाट बुर्तिबाङ बजारसहित बागलुङको विभिन्न स्थान, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँचीलगायतका जिल्ला देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौं हिमश्रृंखलाहरु र उच्च पहाडी क्षेत्रको सहज रुपमा अवलोकन गर्न सकिन्छ ।

सेनिटरी प्याड खरिदमा ६० लाख रुपैयाँ भ्रष्टाचार, मिलेमतो गरी गैरकानुनी लाभ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उप-महानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक बर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट ७९.१ रुपैयाँ कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ विरुद्ध ५१ लाख ९९ हजार १२० रुपैयाँ बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ । यस्तै, आयोगले सागर देवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साह विरुद्ध पनि समान बिगो दावी गरिएको छ । सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साह विरुद्ध पनि लगाइएको छ । आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

विश्व र भीष्मले १.२५ अर्ब लगानीमा सञ्चालनमा ल्याए टेम्पल बेल बुटिक

काठमाडौं । पर्यटन राजधानी पोखराको लेक साइडमा १ अर्ब २५ करोड रुपैयाँ लगानीमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो ।  नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे ।  होटलमा नेपाली काष्ठ कला, ढुङ्गा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ ।  करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा २ वटा इन्टरकनेक्टेड ब्लकहरू, ५५ वटा रुमका साथै स्विमिङ पुल, स्पा, सम्मेलन हल, बार, रेष्टुरेण्टलगायतका सुविधा छन् । ग्रुपले अहिले १५० जनालाई रोजगारी दिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नरेश गेलाल समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वको लागि नरेश गेलालको समूहले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार गेलाल समूहले एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो ।  गेलाल समूहबाट प्रथम उपाध्यक्ष पदमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष पदमा मधुकर रिजाल र तृतीय उपाध्यक्ष पदमा बैकुण्ठ प्रसाद पौडेल (वैभव)ले उम्मेदवारी दिएका छन् ।  यस्तै, महासचिवमा कर्णराज कटुवाल, सचिवमा अनिल बोगटी, कोषाध्यक्षमा धनमाया सिंजालीले उम्मेदवारी दिएका छन् ।  गेलाल समूहबाट सदस्य पदमा देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, चन्द्र बहादुर लिम्बु, दिनेश बस्नेत, छत्र बहादुर बस्नेत, युवराज देवकोटा, रमा खड्का, हेमा गुरुङ, रामेश्वर साह र राजेश यादवले उम्मेदवारी घोषणा गरेका हुन् । संघको चैत २९ गते निर्वाचन हुँदैछ । 

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ ।  यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ ।  तर मुख्य आकर्षण भने अझै बाँकी नै रहेको छ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शाेरुममा नै खेल्न पाउनेछन् । यो इन-स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको 'खुसीको मिटर' रोकेर १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरुमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।