४ करोडमा बनेको इच्छाकामना गाउँपालिकाको भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै
चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा चार तले नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । कुल लागत ४ करोड २ लाख ३९ हजार ७२५ रुपैयाँ रहेको उक्त भवन आज उद्घाटन हुन लागेको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार भवनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत इच्छाकामना गाउँपालिका आउने छन् । प्रधानमन्त्री ओलीले भरतपुरमा निर्मित ६ लेनको सडकको निरीक्षण गर्नुका साथै एमाले भरतपुर महानगरको दोस्रो अधिवेशन तथा नारायणगढ–बुटवल सडकखण्ड र कालीगण्डकी करिडोरको समेत अनुगमन गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरूङले जानकारी दिए । गाउँपालिका अध्यक्ष गुरूङले बहालवाला प्रधानमन्त्री पहिलोपटक इच्छाकामना गाउँपालिकामा आउन लागेकोमा खुशी व्यक्त गर्दै, उद्घाटन समारोहका अवसरमा पूर्व जनप्रतिनिधिहरू र उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको बताए । नवनिर्मित भवनको भुइँ तलामा प्रशासन, लेखा तथा सामाजिक विकास शाखाका कार्यालयहरू राखिएको अध्यक्ष गुरूङले बताए । पहिलो तलामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, दोस्रो तलामा शिक्षा, स्वास्थ्य, पञ्जीकरण र प्रधानमन्त्री रोजगार शाखा तथा तेस्रो तलामा सभा हल रहेको छ । गुरूङका अनुसार भवनको निर्माण कार्य किस्ताबन्दीमा सम्पन्न गरिएको हो । 'हामी आउँदा भवनको केवल एक तला मात्र निर्माण भएको थियो,' अध्यक्ष गुरूङले भने, 'पछि हामीले भवनलाई पूर्णता दिन ब्यूटिफिकेसनको काम गर्यौं । अहिले हेर्दा भवन आकर्षक बनेको छ ।'
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । 'स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ ।' जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ । गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।
कालीमाटीमा आजको मूल्यसूची : कुन तरकारी कति रुपैयाँ ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले दैनिक रूपमा कृषक, व्यापारी र उपभोक्तालाई सन्तुलित मूल्य जानकारी गराउने उद्देश्यले तरकारी, फलफूल, सागसब्जी, माछा र अन्य कृषि वस्तुहरूको थोक मूल्य निर्धारण गर्दै आएको छ । तरकारीतर्फ नेपाली ठूला गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ, भारतीय ठूला गोलभेँडा ५०, साना लोकल तथा तराई गोलभेँडा २५ रुपैयाँमा तोकिएको छ । आलु रातो नेपाली ३५ र भारतीय ४० रुपैयाँमा रहेको छ । भारतीय प्याज प्रतिकिलो ४०, स्थानीय गाजर ४०, तराई गाजर १५, बन्दा १५ देखि २० रुपैयाँ, काउली ३० रुपैयाँ, र मूला २० देखि ४५ रुपैयाँसम्ममा विक्रि भइरहेको छ । भन्टा लाम्चो तथा डल्लो दुवैको मूल्य ४० रुपैयाँ प्रतिकिलो रहेको छ । तने बोडी, मटरकोसा, घिउ सिमी, टाटे सिमी र टाटे करेला जस्ता तरकारीहरू प्रतिकिलो ८० देखि ९० रुपैयाँमा पुगेका छन् । लौका, चिचिण्डो, झिगुनी, फर्सी, सलगम लगायतका अन्य तरकारीहरू ३० देखि ७० रुपैयाँसम्ममा उपलब्ध छन् । सागसब्जीमा रायो, पालुङ्गो, मेथी, चमसुर, बकुला, तोरी आदिका साग प्रतिकिलो ४० देखि १०० रुपैयाँसम्म रहेका छन् । तरुल १००, च्याउ कन्य १७०, डल्ले ३५०, र राजा च्याउ ३०० रुपैयाँमा तोकिएको छ । कुरिलोको मूल्य सबैभन्दा महँगो देखिएको छ, जसको मूल्य प्रतिकिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ । विशेष मौसमी र बन्यजन्य तरकारीहरूमा ब्रकाउली ४०, चुकुन्दर ६०, कोइरालो ३५०, सजीवन १८०, पुदिना ३५०, गान्टे मूला ६०, इमली १७०, तोफु १२० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो मूल्यमा रहेका छन् । फलफूलतर्फ स्याउ (झोले) २५०, स्याउ (फूजी) ३५०, केरा दर्जनको १६०, कागती २८०, अनार ३५०, अङ्गुर (हरियो) २०० र (कालो) २५०, भारतीय सुन्तला १५०, तरबुजा ७०, मौसम २००, जुनार २००, रुख कटहर १००, नासपाती (चाइनिज) २६०, नेपाली मेवा ५० र भारतीय मेवा १२० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ । उखु प्रतिगोटा १००, स्ट्रबेरी २५०, किबी ४५०, आभोकाडो ६५० र अमला १२० रुपैयाँमा उपलब्ध छन् । यस्तै, काँक्रो (लोकल) १०० र (हाइब्रिड) ३५ रुपैयाँमा रहेको छ। मसला तथा अन्य सामग्रीहरूमा अदुवा १३०, हरियो खुर्सानी ७०, बुलेट खुर्सानी ६०, माछे खुर्सानी ८०, अकबरे खुर्सानी ३००, भेडे खुर्सानी १२०, हरियो लसुन ८०, धनिया १८०, सुकेको लसुन (चाइनिज) ३२०, (नेपाली) ३०० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ । ताजा माछामा रहु माछा ३२०, बचुवा २६०, छडी २४० रुपैयाँमा उपलब्ध छन् । यस्तै, रुख टमाटर १४०, राजा च्याउ ३०० र सिताके च्याउको थोक मूल्य ८०० रुपैयाँ तोकिएको छ, जुन आजको सबैभन्दा उच्च मूल्य हो ।
हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा
बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए । नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे ।
एपेक्स हस्पिटालिटीको २० करोडको सेयर बिक्रीमा, मूल्य १३५ रुपैयाँ
काठमाडौं । एपेक्स हस्पिटालिटी लिमिटेडले प्रिमियम मूल्यमा झण्डै २० करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले जगेडामा रहेको १४ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर अंकित मूल्य १ सय रुपैयाँमा ३५ रुपैयाँ थप गरी प्रतिकित्ता १३५ रपैयाँमा बिक्री गर्नेछ । प्रिमियम मूल्यका आधारमा कम्पनीले १९ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको हो । विषेश साधारण सभाबाट प्रस्ताव पारितभएपछि गत चैत ३१ गते बसेको सञ्चाल समितिको बैठकले प्रिमियम मूल्यमा सेयर बिक्री खुला गर्ने निर्णय गरेको हो । कम्पनीको सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।
सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३७ लाख ९० हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये १० अर्थात् ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका-१० (साविकको गोदक गाविसका १ देखि ९ नम्बर वडा,), माइजोगमाई गाउँपालिका-१ (साविकको नयाँबजार गाविसका १-४, ६-४ नम्बर वडा), माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ (साविकको नाम्सालिङ्ग गाविसका १ देखि ९ नम्बर वडाहरु तथा नयाँबजार गाविसको वडा नम्बर ५), सूर्योदय नगरपालिका-१० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बर वडा) तथा सूर्योदय नगरपालिका-११ (साविकको पञ्चकन्या गाविसका २, ६, ८ वडा) का स्थायी बासिन्दाहरूलाई छुट्याइएको छ । यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १० अर्थात् २ लाख ८१ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा २० हजार कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैशाख १९ गतेभित्र आवेदन दिनु पर्नेछ । तर, आयोजना प्रभावित क्षेत्रलाई छुट्याएको सेयरमा पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थलका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
मुग्लिन-पोखरा; दमौली बजारमा धमाधम कालोपत्र हुँदै, अब ४ किलोमिटर बाँकी
काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्रे भइरहेको छ । व्यास नगरपालिका-२ बागबजार, मुख्य चोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्रे भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । बिहीबार मुख्य चोकमा एकतर्फी कालोपत्रे गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्रे गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ । पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब ४ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा ४ लेन र ०.२९ किलोमिटर खण्डमा २ लेन सडक कालोपत्र भएको छ ।
काठमाडौंबाट हेटौंडा गइरहेको सवारी दुर्घटनाः २ जनाको ज्यान गयो, १४ घाइते
काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । आज राति १ बजे मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको यात्रु बाहक गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार बा प्र ०१-००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना ग्रस्त भएको हो । दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुषी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो । दुर्घटनामा घाइते भएका १० जनाको हेटौंडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।