एनसेल एपको नयाँ अफर, १०० रुपैयाँ रिचार्जमै बोनस डेटा पाइने
काठमाडौं। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । डिजिटल माध्यममार्फत सेवाको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले एनसेलले यो नयाँ योजना ल्याएको हो । कम्पनीका अनुसार यो अफर अन्तर्गत, १०० रुपैयाँदेखि २०० रुपैयाँसम्म अनलाइन रिचार्ज गर्दा १ दिनको लागि २०० एमबी डेटा बोनस स्वरूप प्राप्त हुनेछ । त्यसैगरी, २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३ दिनसम्म मान्य ५०० एमबी बोनस डेटा पाइनेछ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा भने यो बोनस लागू हुनेछैन । एनसेलले ग्राहकमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका साथ एनसेल एपलाई एक आधुनिक सेल्फ–केयर टुल को रूपमा विकास गरेको हो । यस एपमार्फत ग्राहकहरूले सजिलै डेटा, भ्वाइस प्याक, सधैं अन प्याकहरू, प्याक उपहार दिने सुविधा, सेवा प्रयोग विवरण हेर्ने, र रोमिङ सेवाहरू प्रयोग गर्न सक्छन् । एनसेल एपले ग्राहकलाई डेटा र भ्वाइस बीचमा परिवर्तन गर्ने सुविधा पनि दिन्छ, जसले सेवा उपयोगलाई अझ लचिलो बनाउँछ । एनसेल एपमा अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचार, मासिक बिल विवरण, सेवा सक्रिय वा निष्क्रिय गर्ने विकल्प, र विदेशमा रहेका ग्राहकका लागि सजिलो रिचार्ज तथा सम्पर्क सुविधा उपलब्ध छ । यसले छोटो वा लामो अवधिको लागि विदेश जाने प्रयोगकर्तालाई पनि प्रभावकारी समाधान प्रदान गर्छ । एनसेल एप गुगल प्ले स्टोर र एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिन्छ । यो एप प्रयोग गरेर ग्राहकहरूले बोनस डेटासहित अन्य विविध डिजिटल सेवाको सहज लाभ लिन सक्नेछन् ।
नेपालमा पहिलो पटक स्काईवेल पाईलट समिट हुँदै, हवाई सुरक्षा र पाइलट एकता प्रवर्द्धन गर्ने
काठमाडौं । नेपालको हवाई क्षेत्रको इतिहासमै पहिलो पटक ‘स्काईवेल पाइलट समिट २०२५’ आयोजना हुने भएको छ । विभिन्न वायुसेवा कम्पनीहरूमा कार्यरत नेपाली पाइलटहरूलाई एउटै छानामुनि संगठित गर्दै पाइलट एसोसिएसन अफ नेपालको स्थापनापछि, आगामी शनिबार काठमाडौंको मल्ल होटलमा यो समिट हुन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहने उक्त समिटमा नेपालका पाइलटहरूको सहभागिता रहनेछ । समिटको टाइटल स्पोन्सरको रूपमा स्काईवेल नेपालमा भर्खरै भित्रिएको, युरोपियन स्ट्यान्डर्डअनुसारको पहिलो इलेक्ट्रिक एसयूभीले साथ दिएको छ । टाइटल स्पोन्सर सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालको आधिकारिक आयातकर्ता जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलटजस्तो संवेदनशील पेशासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै भने, 'पाइलट र स्काईवेल दुवै यात्रुको सुरक्षामा उच्चतम मापदण्ड अपनाउने साझा उद्देश्यमा आधारित छन् ।' स्काईवेल चीनमा निर्मित, ६५ भन्दा बढी देशमा निर्यात हुने, इयु-प्रमाणित इलेक्ट्रिक भेइकल हो, जसले चाइना एनक्याप फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरिसकेको छ । सम्झौतामा हस्ताक्षर गर्दै पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोखरेलले स्काईवेलको विश्वास र तत्परताप्रति आभार व्यक्त गर्दै भने, 'सुरक्षा र व्यवसायिकतामा दुई प्रतिबद्ध संस्थाबीचको यो सहकार्य नेपालको हवाई क्षेत्रमा प्रेरणादायी बन्नेछ ।' समिटको अवसर पारेर पाइलट एसोसिएसन अफ नेपालको औपचारिक शुभारम्भ घोषणा गरिनेछ । साथै, सन् २०२५ भर आयोजना गरिने जनचेतनामूलक कार्यक्रमहरूको वार्षिक कार्यतालिका (क्यालेन्डर) समेत सार्वजनिक गरिने बताइएको छ ।
'न्यूनतम आधारभूत मागहरूलाई बेवास्ता गरी ऐन आए वा कुनै बहानामा रोकिए सह्य हुँदैन'
काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले कर्मचारीका न्युनतम आधारभूत मागहरूलाई बेवास्ता गरी सङ्घीय निजामती सेवा ऐन आएमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । शुक्रवार सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले कर्मचारीका न्यूनतम आधारभूत मागहरूलाई बेवास्ता गरेर ऐन आए वा विभिन्न बहानामा ऐन रोकिए सहन नसक्ने चेतावनी दिए । उनले आफूहरूको आन्दोलनमा ऐन जारी नगर्दासम्म निरन्तर रहने चेतावनी दिएका हुन् । उनले आफूहरू विगत १० वर्षदेखि आन्दोलनमा रहेको बताउँदै अब आन्दोलनको स्वरूप परिवर्तन गर्दै ऐन जारी गरेरै मात्रै आन्दोलनबाट विश्राम लिने बताए । अध्यक्ष भट्टले भने, 'कर्मचारीका न्युनतम आधारभुत मागहरूलाई बेवास्ता गरेर ऐन आयो भने र अनन्तकालसम्म विभिन्न बाहानमा ऐनलाई रोक्ने काम गरियो भने अब हामी सहन सक्दैनौँ भनेर आन्दोलनमा उत्रिएका छौं । अबको आन्दोलन हामी ऐन जारी नगर्दासम्म पछाडि फर्कने अवस्था छैन । कदापि पनि हामी धमिलो पानीमा माछा मारेका छैनौँ । विगत १० वर्षसम्म हामी आन्दोलनमै छौं । अब हामी आन्दोलनको स्वरूप परिवर्तन गर्दै ऐन जारी गरेर मात्रै आन्दोलनबाट विश्राम लिनेछौं।’ सङ्गठनका अध्यक्ष भट्टले वैशाख ११ गतेभित्र आफूहरूले उठाएका मागसहित विधेयकलाई राज्य व्यवस्था तथा सुशासन समितिमा पेस गर्नुपर्ने र आगामी संसद्को अधिवेशनबाट पास गर्नुपर्ने बताए । उनले सरकारले कर्मचारीका आधारभुत मुद्दा र भावनालाई कदर नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने चेतावनी दिए । उनले भने, 'सङ्घ, प्रदेश र स्थानीय तहमा रहनुभएका राष्ट्रसेवक साथीहरूलाई हामी यो ऐन जारी गरेर मात्रै विश्राम लिनेछौं । त्यसको लागि तपाईंहरू तम्तयार भएर बस्नको लागि आग्रह गर्दछु । ११ गतेभित्र राज्य व्यवस्था तथा सुशासन समितिले हामीले उठान गरेका ८४ बुँदे र पछिल्लो समय हामीले ब्रेक डाउन गरेका १० बुँदेलाई समावेश गरेर सङ्घीय निजामती विधेयक सदनमा पेस गरियोस् र संसद्बाट पास गरेर कर्मचारीका आधारभुत मुद्दाहरूलाई सम्बोधन गरियोस् ।अन्यथाः यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकार हुनेछ ।’ अध्यक्ष भट्टले आफूहरूका मागहरू राज्यलाई व्ययभार पार्ने खालका नभई दीर्घकालीन महत्वका रहेको जिकिर गरे । उनले आफूहरू लोकसेवा परीक्षा उत्तिर्ण गरी आएका सचेत नागरिक रहेको बताउँदै जनताको सेवा र राष्ट्रको अवस्था हरेर मागहरू राखिएको धारणा राखे । सङ्गठनले वैशाख ११ गते सम्म संसदीय समितिमा विधेयक पेश नभए आन्दोलनमा होमिन बाध्य हुने चेतावनी दिएको छ ।
सुनको मूल्य तोलामा ८ सयले गिरावट
काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी एक हजार नौ सय ६० रुपैयाँमा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
बीवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड
काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक मोडल सिगलले २०२५ वर्ल्ड अर्बन कार अफ द इयर को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कमा अप्रिल १६ मा सम्पन्न न्युयोर्क इन्टरनेसनल अटो शोमा आयोजित वर्ल्ड कार अवार्ड कार्यक्रममा यो सम्मान घोषणा गरिएको हो । कम्पनीका अनुसार विश्वभरका ११ उत्कृष्ट अर्बन सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडी सिगलले यो अवार्ड जित्दै इतिहास रच्यो । यो अवार्ड जित्ने बीवाईडी पहिलो चिनियाँ अटोमोबाइल कम्पनी बनेको छ, जसले विश्व बजारमा चिनियाँ इलेक्ट्रिक कारको उपस्थिति बलियो बनाएको छ । बीवाईडी सिगलको डिजाइन 'ओसन एस्थेटिक्स' दर्शनमा आधारित छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ । उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचरहरू र उत्कृष्ट अर्बन परफर्मेन्सका कारण यो मोडल विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा बेस्ट सेलर बन्न सफल भइरहेको छ । वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरू सिगलको अग्रगामी डिजाइन, अर्बन मोबिलिटी प्रदर्शन, र विश्वव्यापी बजार अपिलबाट प्रभावित भएका थिए । बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला ली भन्छिन्, 'सिगललाई ‘वर्ल्ड अर्बन कार’ को उपाधि प्राप्त हुनु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो । यसले विश्वभरका ग्राहकलाई दिगो प्रविधि र उत्कृष्ट सेवामा हाम्रो प्रतिबद्धता पुष्टि गर्छ ।' बीवाईडीले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य उचाइ लिँदै आएको छ । २०२४ मा बीवाईडी डल्फिन पनि अर्बन कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो भने बीवाईडी सिल 'वर्ल्ड कार अफ द इयर' कै शीर्ष ३ मा पुगेको थियो, जुन कीर्तिमान अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको थिएन । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले पहिले नै बीवाईडी सिगलको परीक्षण नेपाली सडकमा गरिसकेको छ । कम्पनीले छिट्टै यसलाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गर्ने संकेत दिएको छ । नेपालमा यो मोडल निकै प्रतिक्षित रहेको बताइएको छ । बीवाईडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायातको भविष्य निर्माण गर्दै पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने अभियानमा योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।
ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक
काठमाडौं । चीनले सवारीसाधन निर्माता कम्पनीहरूलाई ड्राइभिङ सहायतासम्बन्धी सुविधाहरूको विज्ञापन गर्दा 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोग गर्न निषेध गरेको छ । र त्यस्ता प्रविधि सुधारहरूमाथि नियमहरू कडा बनाउने जनाएको छ । सरकारका अनुसार उद्योग प्रतिनिधिहरूसँगको एक बैठकको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । यस विज्ञापनसम्बन्धी निर्देशन चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार झण्डै ६० वटा सवारी कम्पनीका प्रतिनिधिहरूसँगको बैठकमा दिएको हो । यो निर्णय शाओमी कम्पनीको सबैभन्दा धेरै बिक्री भएको एसयू सेभेन सेडानसँग सम्बन्धित घातक दुर्घटनापछि आएको हो । उक्त घटना मार्च महिनामा भएको थियो र जसले सवारीसाधनको सुरक्षाबारे व्यापक चिन्ता उत्पन्न गराएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार सो कार ९७ किमी प्रतिघण्टाको गतिमा सिमेन्टको पोलमा ठोक्किएपछि आगो लागेको थियो, केही सेकेन्डअघि मात्र चालकले उन्नत ड्राइभिङ सहायता प्रणाली (एडीएएस) बाट नियन्त्रण आफैले लिएको बताइएको छ । मन्त्रालयले बुधबारको बैठकबारे एक संक्षिप्त वक्तव्यमा पुष्टि गर्दै भन्यो कि फेब्रुअरीमा प्रकाशित नयाँ नियमबारे सवारीसाधन कम्पनीहरूलाई स्पष्ट जानकारी दिइएको हो, जसमा स्मार्ट सवारीसाधनको ओभर-द-एयर (ओटीए) प्रविधि सुधारसम्बन्धी प्रावधानहरू समावेश छन् । नयाँ नियमअनुसार कम्पनीहरूले ग्राहकलाई डेलिभरी भइसकेका सवारीसाधनहरूमा अनुमति बिना ओटीएमार्फत एडीएएस प्रणाली परीक्षण तथा सुधार गर्न नपाउने छन् । अब कम्पनीहरूले सो प्रणाली विश्वसनीय छ भन्ने कुरा पर्याप्त परीक्षणद्वारा प्रमाणित गर्नुपर्नेछ र त्यसपछि मात्र सम्बन्धित अधिकारीहरूबाट स्वीकृति लिएर सार्वजनिक रूपमा लागू गर्न पाउनेछन् । बैठकमा सहभागी कम्पनीहरूमा हुवावे पनि थियो, जसले अडीसहित सातभन्दा बढी ब्रान्डलाई एडीएएस प्रविधि आपूर्ति गर्छ । हुवावेले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको थिएन । यो नियामक कदम सवारीसाधन कम्पनीहरू स्मार्ट ड्राइभिङ विशेषताका साथ नयाँ मोडेलहरू सार्वजनिक गर्दै तीव्र प्रतिस्पर्धामा सामेल भइरहेका बेला आएको हो । यो प्रतिस्पर्धा चीनको अटोमोबाइल बजारमा लगातार तेस्रो वर्षसम्म कायम छ । बीवाईडी कम्पनीले फेब्रुअरी महिनामा १० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा २१ भन्दा बढी मोडेल सार्वजनिक गरेको थियो, जसमा 'स्मार्ट ड्राइभिङ' सुविधा निःशुल्क दिइएको थियो । लीपमोटर,टोयोटाजस्ता अन्य कम्पनीहरूले पनि यस्तै सुविधा भएको किफायती मोडेलहरू बजारमा ल्याएका थिए । चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको ट्राफिक सुरक्षा अनुसन्धान केन्द्रले सोमबार भनेको छ कि सहायक ड्राइभिङ सुविधा झुटो वा अतिरञ्जित रूपमा प्रस्तुत गरेर उपभोक्तालाई भ्रममा पार्ने कम्पनीहरूले चीनको विज्ञापन कानुनअनुसार विज्ञापन खर्चको ५ देखि १० गुणासम्म जरिवाना भोग्नुपर्नेछ वा उनीहरूको व्यावसायीक अनुमतिपत्रसमेत रद्द हुन सक्छ । यदि त्यस्तो झुटो विज्ञापनले दुर्घटना र मानवीय क्षति निम्त्यायो भने फौजदारी कानुनअन्तर्गत मुद्दा चल्न सक्ने र दोशीले दुई वर्षसम्मको जेल सजाय भोग्न सक्ने केन्द्रको भनाइ छ । चीनका नियामक निकायहरू इलेक्ट्रिक सवारी प्रविधिमाथि कडाइ गर्न थालेका छन्, किनभने यो उद्योग अपेक्षाभन्दा छिटो बढिरहेको छ । गत वर्षको अन्त्यतिर ईभी तथा हाइब्रिड गाडीहरूको बिक्री कुल सवारी बिक्रीको ५० प्रतिशत नाघेको थियो- जुन लक्ष्य सरकारले तय गरेको समयभन्दा अगावै प्राप्त भएको हो । नियामक निकायहरूले आगलागी तथा विस्फोटको जोखिम कम गर्नका लागि ईभी ब्याट्री सम्बन्धी मापदण्डहरू पनि कडा बनाउँदैछन् । विश्लेषक र उद्योग स्रोतहरूका अनुसार यस्ता कडा नियमले लागत बढाउने, प्रविधिको विकास ढिलो पार्ने खतरा त छ, तर यसले चीनको भीडभाड भएको अटो उद्योगमा बहुप्रतीक्षित समायोजनलाई पनि तीव्रता दिन सक्छ, जसले दीर्घकालीन रूपमा उद्योगलाई सन्तुलनमा ल्याउने सम्भावना छ । घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
७० वर्षदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट, सय जनाभन्दा बढीलाई रोजगारी
धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा मुलुकमा व्यवस्था परिवर्तन हुनेक्रमसँगै बेहुली अन्माएको घरजस्तै बिरसिलो बन्दै गएको स्थानीयको अनुभूति सुनिन्छ । धनकुटाको विगतको त्यो विरासत र गर्विलो इतिहास अहिले नदेखिए पनि धनकुटा बजारको एकछेउमा रहेको सात दशकअघि खुलेको बिस्कुट उद्योगले भने पुराना दिनहरुलाई सम्झाउन छाडेको छैन । धनकुटाको जीवित इतिहासका रुपमा रहेको मोहन बिस्कुट उद्योगले ७३ वर्ष पहिलेदेखि अनवरतरुपमा उपभोक्तालाई स्थानीय स्वाद चखाउँदै आएको छ । यहाँको धनकुटे नरिवल बिस्कुटले जिल्लाको पहिचान स्थापना गर्ने मात्र होइन, यसको मौलिक स्वादले धेरैको मुख रसिलो बनाउँदै आएको छ । प्रशासनिक काममा धनकुटा आउने धेरै सरकारी कर्मचारी र सेवाग्राहीले चिया पिउँदा होस् वा घर फर्किंदा लैजाने कोसेलीको रुपमा धनकुटे नरिवल बिस्कुट पहिलो रोजाइमा पर्छ । रैथाने खाद्यवस्तु भएकाले धनकुटा बजार पुग्ने जो कोही आगन्तुकले घर फर्कंदा कोसेली स्वरुप धनकुटे नरिवल बिस्कुट खरिद गर्न भुल्दैनन् । लोकसेवा आयोगको परीक्षा दिन धनकुटा पुगेकी एक युवती बसपार्कमा बिस्कुट किन्दै गरेको भेटिइन् । बिस्कुट झोलामा हाल्दै उनले भनिन्, 'जतिपटक धनकुटा आएको छु, उतिनै पटक धनकुटे नरिवल बिस्कुट कोसेली लिएर गएकी छु । अन्य बिस्कुटभन्दा यसको स्वाद बेग्लै छ । स्थानीय उत्पादन भएकाले परिवार र साथीहरुले पनि खुब मन पराउँछन् । सबैले रुचाउने भएकाले यता आउँदा किनेर लैजान्छु ।' भारतको जोगवनीबाट सुरु हुने कोशी राजमार्ग धनकुटा बजार छिचोल्दै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्छ । यो राजमार्गमा दैनिक हजारौँ गाडी गुड्छन् । ती गाडीको एउटा स्टेसन हो, धनकुटा बसपार्क । ती गाडीमा यात्रा गर्ने यात्रुहरुको रोजाइ पनि धनकुटे नरिवल बिस्कुट पर्ने गर्छ । धनकुटा बसपार्कका सबैजसो पसलमा विभिन्न किसिमका धनकुटे बिस्कुट राखिएको हुन्छ । बसपार्कमा एकछिन गाडी रोकिएको बेलामा पनि यात्रुहरुको आँखा धनकुटे बिस्कुटमै पर्छ । आफन्त भेटघाटमा पनि सबैभन्दा सजिलो कोसेली भएकाले यात्रुहरुले किन्ने गरेको धनकुटा बसपार्कमा रहेको पाथीभरा होटलका सञ्चालक दुर्गा राईले बताए । उनले पनि होटलको बाहिर सोकेसमा चियासँग बिस्कुट खाने ग्राहकलाई खुवाउन र बाहिरका ग्राहकलाई बिक्री गर्न धनकुटे बिस्कुट राखेका छन् । होटल, किराना र नाङ्ले पसलमा धनकुटे नरिवल बिस्कुट बिक्रीका लागि राखिएको हुन्छ । यसैबाट थाहा हुन्छ, धनकुटे नरिवल बिस्कुटको स्थानीय महत्व र बजारमा माग कति धेरै हुन्छ भन्ने। घरेलु प्रविधिबाट बन्ने धनकुटे नरिवल बिस्कुट कोसेली लैजान वा खाजाको रुपमा सबैको रोजाइमा पर्छ । धनकुटा सदरमुकामका ठूला बजारमा मात्र नभई गाउँका स–साना चिया पसलमा समेत यो बिस्कुटले स्थानीय ‘ब्रान्ड’को पहिचान बनाएको छ । सदरमुकामस्थित मदनचोकमा रहेको कञ्चनजङ्घा होटलका सञ्चालक गोरख कटुवालको भनाइमा होटलमा आउने आगन्तुकले चियासँगै धनकुटे नरिवल बिस्कुट अनिवार्य रूपमा खोज्छन् । होटलमा बसिञ्जेल नियमित खाजाको रुपमा खान्छन् । अनि घर फर्किंदा कोसेलीको रुपमा किनेर लैजान्छन् । त्यसैले होटलमा अन्य खाद्य र पेय वस्तुसँगै धनकुटे नरिवल बिस्कुट राख्ने गरेको होटल सञ्चालक कटुवाल बताउँछन् । 'प्याकेजिङ हेर्दा खासै राम्रो र लोभलाग्दो देखिँदैन । खै के सारो मन पराएका हुन् । स्वाद मानीमानी खान्छन्', कटुवाल सुनाउँछन् । विसं २००८ मा धनकुटा–४ निवासी स्व विश्वेश्वरमान श्रेष्ठले धनकुटे बिस्कुट बनाउन थालेकान हुन् । लामो अनुभवपछि स्व श्रेष्ठले नै २०३० सालमा घरेलु उद्योगमा मोहन बिस्कुट उद्योग दर्ता गराएका थिए । यो उद्योग अहिले पनि सञ्चालन भइरहेको छ । उनका छोरा मोहन श्रेष्ठले बुबाले थालनी गरेको धनकुटे नरिवल बिस्कुटको विरासतलाई निरन्तरता दिँदै आएका छन् । पहिले धनकुटामा एउटा मात्र मोहन बिस्कुट उद्योग भएकाले सुरुमा थोरै उत्पादन हुन्थ्यो । बजार पनि सानै थियो । तर बिस्कुट उद्योगमा काम सिकेका कामदारले आफैँ उद्योग खोल्न थालेपछि अहिले उद्योगहरु बढेका छन् । उत्पादन बढेको छ र धनकुटे नरिवल बिस्कुटको बजार पनि फैलिँदै गएको छ । धनकुटा नरिवल बिस्कुट धनकुटा बजारसँगै भेडेटार, मूलघाट, हिले, सिधुवा, पाख्रीबासलगायत धनकुटाका बजारमा सहजै खरीद गर्न सकिन्छ । धनकुटा नरिवल बिस्कुटसँगै यहाँका उद्योगहरुले अहिले कोको, कुकिज, खास्ता, बदाम, डुनोट, फुलकेक, केकजस्ता १७ प्रकारका बिस्कुट उत्पादन गरिरहेका छन् । अहिले धनकुटाका विभिन्न स्थानमा बिस्कुट उत्पादन गर्ने एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । बजारमा यसको माग बढेसँगै उद्योग खुल्नेक्रम पनि झाँगिएको हो। सुरुवाती दिनमा मोहन बिस्कुट मात्रै सञ्चालनमा थियो । अहिले धनकुटा सदरमुकामसहित आँखिसल्ला, पाख्रिवास, हिले, मौनावुधुक, जीतपुर, पात्लेखोलालगायत स्थानमा बिस्कुट उद्योग सञ्चालनमा छन् । यी उद्योगहरुले नरिवल बिस्कुट, केक, पाउरोटीलगायत अन्य उत्पादन गरी वार्षिक रु एक करोडभन्दा बढीको बिस्कुट उत्पादन गरिरहेको अनुमान छ । करिब एक सय जनाभन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी मिलेको छ । धनकुटे नरिवल बिस्कुटको इतिहास विसं २००८ मा धनकुटा–४ देब्रेवासमा मोहन श्रेष्ठका बाबु स्व विश्वेश्वरमान श्रेष्ठले चिया पसल सञ्चालन गर्थे । त्यो बेला पहाडबाट मधेस झर्ने र मधेसबाट पहाड उक्लने मान्छेहरुको मुलबाटो धनकुटा बजार थियो । ती मान्छेहरुको बास बस्ने थलोको रुपमा धनकुटा बजारको देब्रेबास नामी थियो । त्यही ठाउँमा खुलेको चियापसल पहाडी भेगको पहिलो र राम्रो मानिन्थ्यो। चिया पिउने ग्राहकको मागअनुसार स्व श्रेष्ठले भारतबाट ल्याइएका बिस्कुट बेर्थे रे । त्यतिबेला रु एकको २० वटा बिस्कुट ल्याएर एकआना गोटा बेच्दा चियाको व्यापार पनि बढ्यो रे । चिया खान आउने मान्छेले बिस्कुटका कुरा गर्थे। कतिपयले आफैँ बनाउनु पनि भन्थे रे, छोरा मोहनले बताए । चिया खान आउने मान्छेको कुरा सुनेर बुबाले पनि बिस्कुट बनाउन कोसिस गरे । एक पावा मैदाको बिस्कुट आफ्नै पाराले दिनहुँ बनाउँदै सिक्न थाले । बिस्कुट बनाइसकेपछि आफैँले चिया पिउन आउने मान्छेलाई चखाए रे । आफैँ चाख्दै र चखाउँदै गर्दा पहिले यो बिस्कुट धेरैले मन पराएनन् । तर, बुबाले हार नमानी हरेक दिनजसो भिन्नभिन्न तरिकाले बिस्कुट बनाउनेक्रममा एकदिन बिस्कुट बनाउँदा प्रयोग गरिने सबै वस्तु हालेर मुछेको पिठोबाट बनाएको बिस्कुट बनाउँदा फुल्यो । चिया खान आउने सबैलाई चखाउँदा मिठो मानेर तारिफ गरेपछि त्यही विधिलाई निरन्तरता दिएर बिस्कुट उत्पादन गर्न थालेको कथा बुबाले सुनाएको मोहनले बताए । स्थानीय स्रोतसाधनलाई सदुपयोग गर्दै बिस्कुट पोल्ने भट्टी निर्माण गरी बिस्कुट उत्पादन सुरु गर्ने पहिलो व्यक्ति स्व विश्वेश्वरमान श्रेष्ठ बनेका थिए । विसं २००८ देखि बिस्कुट उत्पादनको परीक्षण सुरु भए पनि २०३० सालमा घरेलु उद्योगका रूपमा दर्ता गरी औपचारिक रूपमा मोहन बिस्कुट उद्योग सुरु भएको हो । त्यो बेला बुबाले ३३ हजार लगानीमा थालेको उद्योगमा अहिले २० लाखभन्दा बढी लगानी रहेको मोहनले बताए । २०११ सालमा पाँच किलो मैदाबाट सुरू भएको मोहन बिस्कुट उद्योगले अहिले अर्डरअनुसारको बिस्कुट पुर्याउन मुस्किल पर्ने गरेको छ । मोहन आफैँ पनि कुनै बेला राम्रो गैरसरकारी संस्थामा जागिरे थिए । तर बुबाले थालनी गरेको उद्योगको विरासत जोगाउन र स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्नका लागि बुबाकै सल्लाहमा उद्योग सम्हाल्न २०५२ सालमा धनकुटा फर्किएको बताए । उनलाई आफ्ना बुबाले मेहनत गरेर सञ्चालनमा ल्याएको व्यवसायभन्दा जागिर ठूलो लागेन । 'एक्लै रोजगार हुनुभन्दा आफ्नो व्यवसायबाट अरुका लागि रोजगार सिर्जना गर्नु उचित ठानेर धनकुटा फर्किएँ । २०६५ सालमा बुबाको देहावसान भएपछि उद्योगको सिँगो जिम्मेवारी आफू र श्रीमती निमा श्रेष्ठले सम्हाल्दै आएका छौँ', उनले बताए । कसरी बन्छ नरिवल बिस्कुट ? धनकुटे नरिवल बिस्कुट घरेलु प्रविधिबाट बनाइन्छ । काँचो इँटा, माटो र चिमबाट निर्मित भट्टीमा पोलेर बिस्कुट तयार पारिन्छ । सञ्चालक श्रेष्ठको भनाइअनुसार माटोको भट्टीभित्र दाउरा बालिन्छ । सो दाउरा जलेर बनेको कोइलामा बिस्कुट तताइन्छ र बिस्कुट पाक्छ । नरिवल बिस्कुटमा स्थानीयस्तरमै पाइने दूध, घ्यू र मैदाको प्रयोग गरिन्छ । घरेलु प्रविधिबाट नै बिस्कुट उत्पादन हुने भएकाले जनशक्ति धेरै नै चाहिन्छ । 'बिस्कुट उत्पादनमा मेसिनको प्रयोग गरिँदैन । मैदा मुछ्नेदेखि भट्टीमा बिस्कुट पोल्ने र प्याकेजिङसम्मको सबै काम हातबाटै हुन्छ', मोहनले बताए । यो एक किसिमको परम्परागत प्रविधि पनि हो । बिस्कुट बनाउने पर्याप्त जनशक्ति नहुँदा बिस्कुट उद्योगले मागअनुसार उत्पादन र बजार विस्तार गर्न नसकेको मोहनको भनाइ छ । कामको खोजीमा युवा विदेश पलायन हुन थालेपछि दक्षजनशक्तिको अभाव भएको छ । धनकुटा–६ पात्लेमा रहेको ओम बिस्कुट उद्योगका सञ्चालक टीकाराम कटुवालको भनाइअनुसार पनि जनशक्तिबाहेक दाउराको समस्या पनि धेरै छ । घरेलु प्रविधिबाट बिस्कुट उत्पादन हुने भएकाले अनिवार्य दाउराको आवश्यकता पर्छ । दाउरा जहीँतहीँ नपाइने र टाढाबाट ल्याउँदा लागत बढ्ने भएको बिस्कुटको मूल्य बढेको उनले बताए । रासस
शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार, सकुशल जोगिए
कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार अध्यक्ष चौधरीलाई लक्षित गर्दै बिहीबार राति साढे ११ बजे कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित घरको परिसरमा गोली प्रहार भएको हो । शुद्धोधनका अध्यक्ष चौधरी मायादेवीस्थित आफ्नै घरमा बस्दै आएका छन् । शौचालय गएर फर्किने क्रममा उनलाई लक्षित गरी बाहिरबाट गोली चलाइएको डिएसपी अधिकारीले जानकारी दिए । घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको प्रहरीले जनाएको छ । ‘अध्यक्षज्यू शौचालय गएर फर्किंदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली प्रहार गरेको हो,’ डिएसपी अधिकारीले भने, ‘उहाँ सकुशल हुनुहुन्छ, घटनास्थलबाट गोलीको खोका पनि बरामद भएको छ।’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।