विकासन्युज

६ बैंकको वितरणयोग्य नाफा साढे १६ अर्ब ऋणात्मक, १० बैंकको लाभांश क्षमता दोहोरो अंकमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार चैत मसान्तसम्म ६ बैंकको वितरणयोग्य नाफा १६ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ । यस अवधिमा हिमालयन बैंकको सबैभन्दा धेरै हिमालयन बैंकको ७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । एनआईसी एशिया बैंकको ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकको ३ अर्ब ४० करोड २० लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ ।  यस्तै, कुमारी बैंकको १ अर्ब १३ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) १ अर्ब १० करोड ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २ करोड २ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।  राष्ट्रिय वाणिज्य र प्रभु बैंकको वितरणयोग्य नाफा गत वर्षको चैतमा धनात्मक थियो भने हिमालयन, एनआईसी एशिया, कुमारी र एनआईएमबिको गत वर्ष पनि ऋणात्मक थियो ।  यी बैंक धनात्मक बने  माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । गत वर्षको चैतमा यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो ।  ग्लोबल आइएमईको ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, एनएमबिको १ अर्ब ३१ करोड १९ लाख रुपैयाँ, लक्ष्मी सनराइजको ७७ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको ३० करोड ६२ लाख रुपैयाँ, सिद्धार्थको १८ करोड ८४ लाख रुपैयाँ र माछापुच्छ«ेको ७ करोड ७ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा सबैभन्दा वितरणयोग्य नाफा एभरेष्ट बैंकको रहेको छ । एभरेष्टको ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ वितरण गर्ने नाफा रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ अर्ब ५ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकको २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १६ करोड २६ लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।  यस्तै, कृषि विकास बैंकको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ, प्राइम बैंकको १ अर्ब ७३ करोड २३ लाख रुपैयाँ र नबिल बैंकको २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । कुन बैंकको कति लाभांश क्षमता ? समीक्षा अवधिमा वितरणयोग्य नाफाका आधारमा एभरेष्टको लाभांश क्षमता प्रतिसेयर ३४.०९ रुपैयाँ रहेको देखिन्छ । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै हो । यस्तै, स्ट्याण्डर्ड चार्टर्डको १९.३५ रुपैयाँ, सानिमाको १८.९२ रुपैयाँ, नबिलको १२.६८ रुपैयाँ, कृषि विकासको १२.२५ रुपैयाँ, ग्लोबल आइएमईको १२.०४ रुपैयाँ, नेपाल एसबीआईको ११.१० रुपैयाँ, प्राइम बैंकको १०.५७ रुपैयाँ लाभांश क्षमता छ ।  यस्तै, एनएमबिको ६.६५रुपैयाँ, लक्ष्मी सनराइजको ३.१७ रुपैयाँ, नेपाल बैंकको २.७८ रुपैयाँ, सिद्धार्थको १.७५ रुपैयाँ, सिटिजन्सको १.६९ रुपैयाँ र माछापुच्छ्रेको ०.३६ रुपैयाँ लाभांश क्षमता राखेका छन् । 

ताप्लेजुङमा बोलेरो गाडीमा आगलागी, ४ जनाको मृत्यु, २ घाइते

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागी हुँदा ४ जना यात्रुको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा फुङलिङ नगरपालिका-१० सेवारो चोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।  आज बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।  सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।  घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ । 

१४.८० प्रतिशत बढ्यो सानिमा बैंकको नाफा, लाभांश क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा खुद नाफा १४.८० प्रतिशत बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैतसम्म बैंकको खुद ब्याज आम्दानी ६.५२ प्रतिशत घटेर ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५८ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ९ प्रतिशत बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ छ । यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको यस्तो नाफा ७५ करोड ६८ लाख रुपैयाँ थियो ।  बैंकको रिटर्न अन इक्विटी (आरओई) १०.३५ प्रतिशत छ । चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोष ३.९८ प्रतिशत बढेर ६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ छ ।  समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.४१ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ र कर्जा लगानी ८.५८ प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ गरेको छ ।  बैंकको खराब कर्जा भने १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ ।   

दोर्दी खोला जलविद्युतको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ । गत चैत १९ गतेदेखि कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमुजुङ र नक्साल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

ट्रेड टावरको आईपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । ट्रेड टावरले आज वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८।६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो ।  जसमध्ये पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९ कित्ता सेयर बिक्री गरेको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन, भाडादर ७४० रुपैयाँ

काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्व कालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए ।  ‘भीरको सडकमा बस सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । यो हाम्रो उपलब्धि हो । हामीले सर्वसाधारणका साथै पर्यटकलाई बस सेवा प्रवाह गर्नु आज ऐतिहासिक दिन हो,’ उनले भने ।  गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा भएको बताए ।  ‘हाम्रा अग्रजले सडक निर्माणमा चासो दिएकाले बसमा यात्रा गर्ने सपना पुरा भएको छ । हालका लागि कच्ची सडकमा भए पनि बस सेवा प्रारम्भ गरेका छौँ । बिस्तारै कालोपत्र सडक बन्ने अपेक्षा छ,’ उनले भने ।  नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘चामेबाट बस सञ्चालन भएपछि माथिल्लो मनाङबाट यात्रु भरिएर सवारीसाधन पाइँदैन कि भन्ने त्रास हटेको छ ।’  चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने प्रयास गरेको बताए ।  गत चैत ७ गते पहिलो पटक यात्रु बाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।  ‘बेसीसहर–चामे सडकमा बस सञ्चालन गर्न सकिने वा नसकिने भनेर गरिएको परीक्षण सफल भएपछि बेंसीशहरदेखि सदरमुकाम चामेसम्म नियमित बस सञ्चालन भएको हो,’ उनले भने ।  प्रजीअ आचार्यका अनुसार ना ६ ख ९५७९ र ना ७ ख ७२६७ नम्बर बस नियमित आवतजावत गर्नेछन् । अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर परीक्षणका लागि सदरमुकाम चामे पुगेर बस फर्किएपछि सञ्चालन गर्न सकिने जानकारी गराइ आइतबारदेखि नियमित बस सञ्चालन गरिएको बस सञ्चालक सुरेश घिमिरेले जानकारी दिए ।  मनाङमा निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युतका सामान लिएर १० चक्के ट्रकसमेत पुग्ने गरेका छन् । गत फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक बैठकले बेंसीशहरबाट चामेसम्म बस सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुरूप स्थानीय प्रशासनले डुम्रे-बेसीसहर-चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपश्चात बस सञ्चालनमा ल्याइएको हो । १५ वर्षअघिदेखि मोटर चल्न थालेको यहाँ हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए । बेंसीशहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब बोलेरो जीपसँगै बस चढ्न सकिने भएको छ । सोे रुटको भाडादर ७४० रुपैयाँ कायम गरिएको छ ।  यस सडक अन्तर्गत बेंसीशहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ-ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।

एमएडब्लू वृद्धिले नेपालभर स्थापना गर्‍यो सय प्लस चार्जिङ स्टेशन

काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभर सयभन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । सयभन्दा धेरै चार्जिङ स्टेशन स्थापना गरेको अवसरमा एमएडब्लू वृद्धिले आइतबार एक कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ ।  कार्यक्रममा एमएडब्लू वृद्धिका एमडी विवेक सिकारिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त र एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्टलगायत अन्य व्यक्तिहरू सहभागी थिए । एमएडब्ल्यू वृद्धिले काठमाडौं, पोखरा, विराटनगर र चितवनजस्ता सहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता टाढाका क्षेत्रमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।  चार्जिङ नेटवर्कमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन्स) दुवै चार्जरहरू उपलब्ध छन् । एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ गुप्ताले निरन्तर बढ्दो नेटवर्कले नेपालीहरूलाई विश्वासका साथ विद्युतीय गतिशीलतामा जान सक्षम बनाउने बताए । एमएडब्ल्यू वृद्धिले आगामी दिनमा अन्य क्षेत्रमा पनि ईभी चार्जिङ नेटवर्क विस्तार गर्ने प्रतिज्ञा गरेको छ ।

होटल सारथीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । होटल सारथी प्रालिले प्राथमिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने भएकाे छ । होटेलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सारथीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धककाे रूपमा नियुक्त गरेकाे छ ।  धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन्  । आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।  २०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तव्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको होटलको सातौं तलामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो विशेष पहिचान बनाउन सफल भएको छ ।  सारथी समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउण्डेशन, स्कूल, तालिम केन्द्र, सारथी भेन्चर्स तथा होलिडेज सञ्चालनमा रहेका छन् ।  १९ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा आफ्नै अर्गानिक फार्म सञ्चालनमा रहेको छ भने रोप साइक्लिङ, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ । यस समूहले चितवनको सौराहामा आफ्नो दोस्राे प्रोपर्टी सञ्चालनमा ल्याइसकेको छ ।