ट्रेड टावरको आईपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । ट्रेड टावरले आज वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८।६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन, भाडादर ७४० रुपैयाँ
काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्व कालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए । ‘भीरको सडकमा बस सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । यो हाम्रो उपलब्धि हो । हामीले सर्वसाधारणका साथै पर्यटकलाई बस सेवा प्रवाह गर्नु आज ऐतिहासिक दिन हो,’ उनले भने । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा भएको बताए । ‘हाम्रा अग्रजले सडक निर्माणमा चासो दिएकाले बसमा यात्रा गर्ने सपना पुरा भएको छ । हालका लागि कच्ची सडकमा भए पनि बस सेवा प्रारम्भ गरेका छौँ । बिस्तारै कालोपत्र सडक बन्ने अपेक्षा छ,’ उनले भने । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘चामेबाट बस सञ्चालन भएपछि माथिल्लो मनाङबाट यात्रु भरिएर सवारीसाधन पाइँदैन कि भन्ने त्रास हटेको छ ।’ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने प्रयास गरेको बताए । गत चैत ७ गते पहिलो पटक यात्रु बाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । ‘बेसीसहर–चामे सडकमा बस सञ्चालन गर्न सकिने वा नसकिने भनेर गरिएको परीक्षण सफल भएपछि बेंसीशहरदेखि सदरमुकाम चामेसम्म नियमित बस सञ्चालन भएको हो,’ उनले भने । प्रजीअ आचार्यका अनुसार ना ६ ख ९५७९ र ना ७ ख ७२६७ नम्बर बस नियमित आवतजावत गर्नेछन् । अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर परीक्षणका लागि सदरमुकाम चामे पुगेर बस फर्किएपछि सञ्चालन गर्न सकिने जानकारी गराइ आइतबारदेखि नियमित बस सञ्चालन गरिएको बस सञ्चालक सुरेश घिमिरेले जानकारी दिए । मनाङमा निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युतका सामान लिएर १० चक्के ट्रकसमेत पुग्ने गरेका छन् । गत फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक बैठकले बेंसीशहरबाट चामेसम्म बस सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुरूप स्थानीय प्रशासनले डुम्रे-बेसीसहर-चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपश्चात बस सञ्चालनमा ल्याइएको हो । १५ वर्षअघिदेखि मोटर चल्न थालेको यहाँ हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए । बेंसीशहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब बोलेरो जीपसँगै बस चढ्न सकिने भएको छ । सोे रुटको भाडादर ७४० रुपैयाँ कायम गरिएको छ । यस सडक अन्तर्गत बेंसीशहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ-ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।
एमएडब्लू वृद्धिले नेपालभर स्थापना गर्यो सय प्लस चार्जिङ स्टेशन
काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभर सयभन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । सयभन्दा धेरै चार्जिङ स्टेशन स्थापना गरेको अवसरमा एमएडब्लू वृद्धिले आइतबार एक कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ । कार्यक्रममा एमएडब्लू वृद्धिका एमडी विवेक सिकारिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त र एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्टलगायत अन्य व्यक्तिहरू सहभागी थिए । एमएडब्ल्यू वृद्धिले काठमाडौं, पोखरा, विराटनगर र चितवनजस्ता सहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता टाढाका क्षेत्रमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । चार्जिङ नेटवर्कमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन्स) दुवै चार्जरहरू उपलब्ध छन् । एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ गुप्ताले निरन्तर बढ्दो नेटवर्कले नेपालीहरूलाई विश्वासका साथ विद्युतीय गतिशीलतामा जान सक्षम बनाउने बताए । एमएडब्ल्यू वृद्धिले आगामी दिनमा अन्य क्षेत्रमा पनि ईभी चार्जिङ नेटवर्क विस्तार गर्ने प्रतिज्ञा गरेको छ ।
होटल सारथीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । होटल सारथी प्रालिले प्राथमिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने भएकाे छ । होटेलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सारथीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धककाे रूपमा नियुक्त गरेकाे छ । धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् । आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । २०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तव्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको होटलको सातौं तलामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो विशेष पहिचान बनाउन सफल भएको छ । सारथी समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउण्डेशन, स्कूल, तालिम केन्द्र, सारथी भेन्चर्स तथा होलिडेज सञ्चालनमा रहेका छन् । १९ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा आफ्नै अर्गानिक फार्म सञ्चालनमा रहेको छ भने रोप साइक्लिङ, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ । यस समूहले चितवनको सौराहामा आफ्नो दोस्राे प्रोपर्टी सञ्चालनमा ल्याइसकेको छ ।
विकास बैंक र फाइनान्सको नाफामा उल्लेख्य सुधार, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा सञ्चालनमा रहेका राष्ट्रियस्तरका ८ विकास बैंकले साढे ३ अर्बभन्दा बढी नाफा कमाएको छ । विकास बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका हुन् । ८ विकास बैंकले चालु आवको चैत्र मसान्तसम्ममा आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ४.३५ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । उक्त विकास बैंकले तेस्रो त्रैमाससम्ममा ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गरिमाले चालु आवको चैत्रसम्ममा आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ६८ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । धेरै नाफा कमाउने दोस्रो राष्ट्रियस्तरको विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । धेरै नाफा कमाउनेमा मुक्तिनाथ दोस्रो नम्बरमा रहेको भएता पनि उक्त बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा १६.८६ प्रतिशतले कम हो । मुक्तिनाथले गत आवको चैत्र मसान्तसम्मममा ८७ करोड १८ लाख २५ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिममा ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाउने तेस्रो विकास बैंकमा शाइन रेसुँगा विकास बैंक रहेको छ । उक्त विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड ४० लाख नाफा कमाएको छ । जुन नाफा गत आवको तुलनामा ०.१३ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्मममा उक्त बैंकले ५१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। चालु आवको तेस्रो त्रैमासमा लुम्बिनी विकास बैंकको नाफामा पनि गिरावट आएको छ । चैत्रसम्ममा लुम्बिनी विकास बैंकले ४ करोड ९७ लाख ८३ हजार रुपैयाँको नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८५.४५ प्रतिशले कम हो । गत आवमा लुम्बिनी विकास बैंकले ३४ करोड २१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो । कामना विकास बैंकको चालु आवको चैत्रसम्ममा नाफा ४८.८३ प्रतिशतले बढेको छ । उक्त विकास बैंकले चैत्रसम्ममा ४९ करोड ३१ लाख नाफा आर्जन गरेको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकले ९ महिनामा ४३ करोड ६५ लाख, सांग्रिलाले ४३ करोड ४२ लाख र ज्योति विकास बैंकले ३० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अन्य विकास बैंकहरूमा सिन्धु विकासले ९ महिनामा ७ करोढ ८४ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सिन्धु विकास बैंकले गत आवको सोही अवधिमा ५ करोड ४० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले ९ करोड २४ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवमा उक्त कम्पनीको नाफा ६ करोड ८२ लाख ७८ हजार रुपैयाँ थियो । त्यस्तै, कर्पोरेट विकास बैंकको नाफा १ करोड ७७ लाख ८१ हजार, ग्रीन डेभलपमेन्टको २ करोड १२ लाख ८४ हजार र नारायणी डेभलपमेन्ट १ करोड २६ लाख नाफा आर्जन गरेको छ । आईसीएफसी फाइनान्सको नाफामा उछाल, अन्य वित्त कम्पनीको कस्तो ? चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार आईसीएफसी फाइनान्सको नाफामा आक्रामक रुपले वृद्धि भएको छ । उक्त फाइनान्सले चालु आवको चैत्रमसान्तसम्ममा १९ करोड ५० लाख ९३ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत आवको सोही अवधिको तुलनामा ४८९ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा ३ करोड ३२ लाख ७५ हजार रुपैयाँ कमाएको थियो । धेरै नाफा कमाउने दोस्रोमा फाइनान्समा रिलायन्स रहेको छ । रिलायन्सले गत आवको तेस्रो त्रैमाासको तुलनामा २६९.७५ प्रतिशत बढी नाफा आर्जन गरेको छ । रिलायन्सले चालु आवको तेस्रो त्रैमासमा १७ करोड ४७ लाख ११ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ७२ लाख ५१ हजार रुपैयाँ थियो । मन्जुश्री फाइनान्सले ९ महिनामा १७ करोड ११ लाख १९ हजार नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.३३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ९ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो । चालु आवको ९ महिनामा जानकी फाइनान्सको नाफामा १८.१३ प्रतिशतले सुधार आएको छ । गत वर्षको चैत्रसम्ममा १० करोड ८६ लाख ३० हजार नाफा कमाएको जानकी फाइनान्सले चालु आवको सोही अवधिमा १२ करोड ८३ लाख २५ हजार नाफा कमाएको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले ९ महिनामा ९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चैत्रसम्ममा ५ करोड ४९ लाख नाफा कमाएको प्रोग्रेसिभले चालु आवको सोही अवधिमा ६४.७३ प्रतिशतले नाफा वृद्धि गरेको हो । अन्य वित्त कम्पनीहरूमा बेष्ट फाइनान्सले ७ करोड ५२ लाख, गुर्खाजले ६ करोड २१ लाख, श्री इन्भेष्टमेन्टले ४ करोड ९१ लाख, मल्टीपर्पसले २ करोड १६ लाख र गुडवीलले १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दुई वित्त कम्पनीको नाफामा गिरावट वित्त कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ९ महिनामा गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाफामा गिरावट आएको छ । ९ महिनामा कम्पनीको नाफा गत आवको तुलनामा ४१.०२ प्रतिशतले घटेको छ । चालु आवको तेस्रो त्रैमासमा गुहेश्वरीले ३ करोड २४ लाख ९० हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त वित्त कम्पनीले ५ करोड ५० लाख ९३ हजार नाफा आर्जन गरेको थियो । पोखरा फाइनान्सको नाफामा पनि गिरावट देखिएको छ । पोखरा फाइनान्सले ९ महिनामा ३ करोड २४ लाख ९० हजार नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ५८.२४ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीहरूले १७ करोड २३ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेलको रिसोर्टमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै धुलिखेलस्थित दुशित थानी हिमालयन रिसोर्टसँग विशेष छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार, ग्राहकहरूले उक्त रिसोर्टमा खाना, पेय पदार्थ तथा अन्य सेवाहरूमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता बैंकका उप–प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा र दुशित थानी हिमालयन रिसोर्टकी एसोसिएट डाइरेक्टर (सेल्स एण्ड मार्केटिङ) सिटु श्रेष्ठबीच आदान–प्रदान भएको हो । यस किसिमको सहकार्यले ग्राहकहरूलाई उच्चस्तरीय सेवा अनुभव गराउने लक्ष्य राखिएको छ । बैंकले यसअघि पनि विभिन्न होटल तथा रिसोर्टहरूसँग यस्ता सम्झौताहरू गर्दै आएको छ, जसले ग्राहकहरूलाई विविध सेवाहरूमा विशेष छुट प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंकले सुरु गर्यो क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र फ्रील्यान्सर सेभिङ अकाउन्ट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र विशेष फ्रील्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको छ । बैंकले 'ब्रिक बैंकिङ टु क्लिक बैंकिङ' भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, मोबाइल बैंकिङ एपमार्फत 'ट्याप एन्ड पे' सेवा सुरु गरेको छ । यस सेवाबाट ग्राहकहरूले अफलाइनमै ५ हजार रूपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् । साथै, क्रस बैंक टेलर क्यूआर प्रणालीमार्फत अन्य बैंकका ग्राहकहरूले सिटिजन्स बैंकको शाखाबाट आफ्नो बैंकको मोबाइल एप प्रयोग गरी नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । यसले भुक्तानी प्रक्रियालाई थप द्रुत र सुरक्षित बनाउनेछ । सिटिजन्स बैंकले 'सेभ लोकल, अर्न ग्लोबल' नारासहित फ्रील्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको छ । यस खाताबाट ग्राहकहरूले नेपाली रुपैयाँ र अमेरिकी डलर दुवैमा खाता खोल्न सक्नेछन् । साथै, पहिलो वर्षमा स्वास्थ्य उपचार बीमा २५ हजार रुपैयाँसम्म, दुर्घटना मृत्यु बीमा ३ लाख रुपैयाँसम्म, र निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा ९२१ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । साथै, नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा ३३ शाखाबाट ९१३ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले डिजिटल बैंकिङमा नवीनतम प्रविधिहरूको प्रयोग गर्दै ग्राहकहरूलाई सहज, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
व्यवसायमैत्री कानुनी सुधारः वाणिज्य कानुनको अपराधमुक्तिकरणको आवश्यकता
नेपाल उद्योग परिसंघले मुलुकको औद्योगिक विकास तथा आर्थिक समृद्धिका लागि सरकारलाई तथ्यमा आधारित नीतिगत सुझाव दिँदै आएको छ । औद्योगिक विकासलाई तीव्रता दिन, लगानीकर्ताका लागि अनुकूल वातावरण सिर्जना गर्न तथा रोजगारीका अवसर विस्तार गर्न विभिन्न कार्यक्रम तथा नीतिगत संवाद, सुझाव तथा अनुसन्धानको माध्यमबाट परिसंघले आर्थिक विकासको वातावरण निर्माणमा सहजीकरण गर्दै आएको छ । मुलुकको समग्र आर्थिक विकासका लागि अनुकूल कानुनी व्यवस्था पहिलो सर्त हो । त्यसैले मुलुकको समग्र औद्योगिक र आर्थिक प्रणालीलाई प्रभावकारी बनाउन, उत्पादनशील क्षेत्रमा नवप्रवर्तनको प्रवर्द्धन र उद्यमशीलता अभिवृद्धिका लागि विभिन्न ऐन, नियम तथा कानुनी प्रक्रिया व्यवसायमैत्री बनाउनुपर्छ । वर्तमान कानुनी व्यवस्थाले औद्योगिक क्षेत्रका नयाँ चुनौतीहरूलाई समेट्न नसक्दा आर्थिक गतिविधिमा अवरोध सिर्जना भइरहेकाले अर्थतन्त्रसँग सम्बन्धित विद्यमान पुराना एवं असान्दर्भिक कानुनहरूमा सुधार आवश्यक छ । त्यसैले, विद्यमान कानुनी व्यवस्थालाई आधुनिक परिवेशअनुसार र समय सान्दर्भिकताअनुसार परिमार्जन गर्दै औद्योगिक वातावरण सहज बनाउन तथा उत्पादनशील क्षेत्र र दीगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न परिसंघ निरन्तर क्रियाशील छ । हाल नेपालमा वाणिज्य कानुनको अपराधमुक्तिकरणको आवश्यकता आजको व्यावसायिक परिवेशमा सान्दर्भिक बनेको छ । विशेषगरी वाणिज्य कानुनहरू व्यवसायी, लगानीकर्ता र उद्यमीहरूका लागि सहज, स्पष्ट र अनुकूल रहनुपर्छ भन्ने मुल मान्यतालाई नेपाल उद्योग परिसंघ सदैव अनुशरण गर्दछ । हाल नेपालमा व्यावसायिक क्रियाकलापलाई नियमन गर्ने व्यवस्था गरिएका केही कानुनी प्रावधानहरूलाई अनावश्यक रूपमा फौजदारी कसुरअन्तर्गत राखिएको छ । साथै हाल प्रस्तावित विधेयकहरूमा पनि वाणिज्य क्रियाकलापहरूमा समेत कैद सजायका व्यवस्थाहरू राखिएका छन् । फलस्वरुप, व्यवसायी एवं उद्यमीहरू अनावश्यक कानुनी जोखिम तथा अन्योलमा परिरहेको गुनासो उद्योगी व्यवसायीहरूले गर्दै आएका छन् । यसैगरी, विशुद्ध व्यावसायिक सिलसिलामा उत्पन्न हुने विवादहरूमा व्यक्तिगत प्रतिशोधयुक्त भावनाबाट अभिप्रेरित भइ कानुनको अनुचित प्रयोगको प्रचलनमार्फत उद्योगी व्यवसायीहरूको स्वतन्त्रता पूर्वक व्यापार व्यवसाय संचालन गर्न पाउने हकमा आघात पुर्याउने बदनियतयुक्त कार्य समेत बढ्दै गइरहेको उदाहरण नेपालमा प्रशस्त भेटिन्छन् । यसै परिप्रेक्षमा कानुन सुधारको आवश्यकता महसुस गर्ने तर सुधारका लागि पहलकदमी लिन ढिलाइ भइरहेको महसुस परिसंघले गरेकाले सरकारलाई कानुन सुधारका लागि सहयोग गर्ने अभिप्रायले यो प्रतिवेदन प्रस्तुत गरेका हौं। यस अध्ययन प्रतिवेदनले नेपालमा व्यावसायिक गतिविधिहरूलाई गैर-आपराधिक रूप दिनुपर्ने कारणहरूलाई गहन रूपमा विश्लेषण गरेको छ । वाणिज्य क्षेत्रलाई नियमन गर्ने कानुनहरूमा भएका कैद सजायका व्यवस्थाहरूमध्ये केही अनावश्यक कैद सजायहरूलाई पुनरावलोकन गरी व्यवसायमैत्री कानुनी संरचना विकास गर्ने कार्य आजको मुल आवश्यकता हो भन्नेमा परिसंघ स्पष्ट छ । यस अध्ययन प्रतिवेदनले वाणिज्य क्रियाकलापहरूको सञ्चालनको क्रममा हुने गरेको कार्यहरू मध्ये विशेषतः व्यक्ति, समाज र वातावरणलाई मनसायपूर्वक हानी-नोक्सानी नपुर्याउने कार्यहरूलाई कैद सजायको दायराबाट हटाउनुपर्ने आवश्यकता उजागर गरेको छ । नेपाल जस्तो उदाउँदो अर्थतन्त्र भएका देशका देशको लागि वाणिज्य कानुनको अपराधमुक्तिकरणले नयाँ लगानी भित्र्याउने, व्यवसायको वातावरण सुधार गर्ने, व्यवसायीहरूलाई कानुनी अनिश्चितताबाट मुक्त गर्ने लगायतका महत्वपूर्ण योगदान दिन सक्छ । यस प्रतिवेदनले कानुन तथा नीति निर्माणको तहमा रहने नेपाल सरकारको सरोकारवाला निकायहरूलाई आवश्यक सहयोग तथा मार्गनिर्देशन प्रदान गर्ने विश्वास नेपाल उद्योग परिसंघले लिएको छ । कानुनका विज्ञ, उद्योगी-व्यवसायी तथा सरोकारवाला निकाय एवं व्यक्तिहरूसँगको गहन छलफल, विषयविज्ञको राय-सुझाव, छिमेकी भारत तथा अन्य मुलुकका कानुनहरूको अनुसन्धानात्मक अध्ययनको निष्कर्षबाट मुलुकको विद्यमान वाणिज्यसम्बन्धी क्रियाकलाप नियमन गर्ने कानुनहरूमा भएका केही कैद सजायको व्यवस्थाहरूलाई जरिवानामा रूपान्तरण गर्ने तथा केही कार्यविधिगत त्रुटिहरूलाई अनावश्यक रुपमा कसुरको रुपमा परिभाषित गरी कैद सजायको व्यवस्था गरिएकोमा उक्त कार्यहरूलाई कसुरको दायराबाट हटाउन यस प्रतिवेदनले सिफारिस समेत गरेको छ । यस प्रतिवेदनमार्फत मुलुकको विद्यमान वाणिज्य कानुनी व्यवस्थाको अपराधमुक्तिकरणबाट समग्र व्यावसायिक वातावरणमा सुधारमार्फत आर्थिक विकासमा टेवा मिल्ने परिसंघको ठहर छ । समग्र आर्थिक विकासलाई टेवा प्रदान गर्न यो प्रतिवेदनलाई नेपाल सरकारले गम्भीर रूपमा लिइ विद्यमान वाणिज्य कानुनसँग सम्बन्धित कानुनी व्यवस्थाहरूको अपराधमुक्तिकरणद्वारा कानुनमा सुधार एवं नयाँ कानुन ल्याउन विशेष प्राथमिकता दिने विश्वास परिसंघले लिएको छ । (वाणिज्य कानुनअन्तर्गत फौजदारी दायित्व सिर्जना हुनेगरी व्यवस्था गरिएको कानुनी व्यवस्थाहरूको अपराधमुक्तिकरणसम्बन्धी अध्ययन प्रतिवेदनमा प्रस्तुत नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको विचार)