विकासन्युज

पहिचानवादी युवाहरूको अपिलः वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गरौं

काठमाडौं । पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले काठमाडौं पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको विषयलाई द्वन्द्वभन्दा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार रहनुपर्ने बताएको हो । संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न पहिचानवादी युवाहरू तयार रहेको बताएको हो । संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकासविरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताए ।  सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको बताए । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौंमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ छ । सबै पहिचानवादी समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरेपछि मात्र वार्ता र संवादबाट समाधान निस्किने समेत उनले विश्वास व्यक्त गरे । आन्दोलनमा अलगअलग समूह रहेकाले सार्थक वार्ता हुन नसक्दा समस्या बल्झिएकाले  जनस्तरमा रहेको वास्तविक समस्या बुझेर समस्याको समाधान निकाल्न सकिने अध्यक्ष चोङवाङको भनाइ छ । केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने भन्दै पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घसंस्थासँग वार्ता र संवाद हुनुपर्ने अध्यक्ष चोङवाङको भनाइ छ । आफूहरू खुला ढङ्गले संवाद गर्न र त्यसको पहल लिन तयार रहेको बताउँदै उनले निकासका लागि सबै पक्षको ध्यानाकर्षण गराउनुपरेको बताए ।  सरकारले सबै संस्था समूहलाई बोलाएर समस्या पहिचान गर्न खोज्नुपर्ने र त्यसले मात्र समाधान दिन सक्ने ठहर पहिचानवादी युवाहरूको छ । लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बूको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको सम्वर्द्धनका ग्यारेन्टी हुनुपर्ने उल्लेख गरे । उनले विश्वका अधिकांश राजनीतिक आन्दोलन वार्ता र संवादबाट समाधान भएको उदाहरण दिँदै भने, ‘केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्छ ।’ पहिचान र विकासलाई सँगसँगै लैजानुपर्छ भन्ने पक्षमा आफ्नो धारणा राख्दै अबको विकास मोडालिटी सम्बन्धमा थप छलफल र बहस गर्नुपर्ने जोडदार माग पनि गरे । पहिचानका लागि युवाका केन्द्रीय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनुपर्नेमा जोड दिए ।  पहिचानवादी युवाहरूका संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माणलाई अघि बढाउन सबै पक्षसँग अपिल गरिरहेको पनि बताए ।  राज्यले सबैलाई वार्तामा बोलाउने र केबलकार निर्माण कम्पनीले पनि आफ्नो धारणा जनस्तरमा लैजाँदा समस्या समाधान हुने विश्वास पनि संयोजक आङदम्बेले राखे । 

काठमाडौंमा शनिबारसम्म तापक्रम बढ्ने, आइतबारदेखि बदली हुने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।  आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशको हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख ३० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।  कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।  कम्पनीको हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । त्यसैले बैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयरमा आवेदन दिन पाउनेछन् । इन्स्योरेन्स कम्पनीको सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । सेयरधनीहरूले बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् ।  केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ ।

जब चलचित्र हेरिरहँदा दर्शकले आक्रोश व्यक्त गरे...

काठमाडौं । केही समययता चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढिरहेको छ । चलचित्र प्रदर्शन भइरहेको समयमा निर्माता र निर्देशक नै कलाकारसहित मिडियाकर्मी लिएर चलचित्र भवन पुग्ने गरेका छन् । दर्शकले दिएको प्रतिक्रियाले चलचित्रको व्यापार बढ्ने अपेक्षासहित पछिल्लो समय यसले निरन्तरता पाएको छ ।  तर, केही दिन अगाडि एक दर्शकले यस्तो शैलीप्रति आपत्ति जनाए । उनले चलचित्र भवनभित्र चलचित्र हेरिरहँदा क्यामेरा नल्याउन सुझाव दिँदै आक्रोश व्यक्त गरे । त्यसपछि चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन जाने कि नजाने भन्ने विषयमा बहस चल्न थालेको छ । यस्तो शैली प्रदर्शक अर्थात् चलचित्र भवन सञ्चालकलाई पनि मन परेको छैन । तर यसलाई निर्माताले ‘पब्लिसिटीको पार्ट’ भनेपछि प्रदर्शकले केही गर्न सकेका छैनन् । निर्देशक निश्चल बस्नेतले दर्शकलाई भेट्न कलाकार जानु गलत नरहेता पनि गोपनीयताका बारेमा सचेत हुनु जरुरी रहेको बताए । अहिलेको शैलीमा परिमार्जन गरेर दर्शक प्रतिक्रिया लिन सकिने उनको भनाइ छ ।  उनले भने, ‘हाम्रो चलचित्र हेर्न आएका दर्शकलाई भेटेर हाम्राबारेमा गरिएका समीक्षा धेरै ठाउँमा पुगोस् भनेर चलचित्र भवन पुग्ने गरेका छौँ । यदि हाम्रो त्यही कुराले दर्शकलाई असर गरेको छभने हामी सचेत हुनुपर्छ, किनकि दर्शक दुःखी बनाएर चलचित्रकर्मी खुसी हुन सक्दैनौँ ।’  उनले आफ्नो पहिलो चलचित्र ‘लूट’ को समयमा आफूसहित अभिनेताद्धय सौगात मल्ल र दयाहाङ राई काठमाडौँका विभिन्न चलचित्र भवन डुलेको स्मरण गरे । ‘हामी उक्त समयमा कलाकार र निर्देशकमात्र दर्शक प्रतिक्रिया लिन पुगेका थियौँ । अहिले हामीसँग मिडिया र क्यामेरा पनि हुन्छ, सायद यसकारण दर्शकले प्रश्न गर्नुभएको हुनसक्छ । हामी यसमा सच्चिनु पर्छ,’ निर्देशक बस्नेतले भने ।  अभिनेत्री स्वस्तिमा खड्काले आफूले यसबारेमा निर्माता तथा निर्देशकसँग छलफल गर्ने गरेको बताइन् ।  उनले भनिन्, ‘हामी चलचित्र हेरि रहनुभएका दर्शकमाझ त्यतिकै पुग्दा चलचित्रमा असर गर्छ । हामी पर्दाभित्र एउटा भूमिकामा हुन्छौँ भने बाहिर भिन्न । त्यसकारण चलचित्र हेरेर निस्किने इच्छुक दर्शकले भेट्न मिल्ने वा प्रतिक्रिया दिन मिल्ने गरी हामी एउटा छुट्टै स्थान बनाएर बस्नुपर्छ जस्तो लाग्छ ।’  उनले दर्शकले पनि कलाकार भेटेर खुसी व्यक्त गर्ने र कलाकारलाई आफ्नो कामको प्रतिक्रिया सिधै प्राप्त हुने भएकाले यो गलत नै नभएको बताइन् ।  प्रदर्शक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यस विषयमा प्रदर्शकबीच सल्लाह भइरहेको बताए ।  ‘दर्शकको गुनासो हामीले पनि सुनिरहेका छौँ । निर्माण पक्षले यसलाई प्रचारप्रसार भनेपछि हामीले पनि सहजता दिएका हौँ । दर्शक पनि कलाकार भेट्दा खुसी नै भएको पाएका छौँ । अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौँ,’ उनले भने ।

सम्झौताको ७ वर्षसम्म पुल नबनेपछि तोडियो ठेक्का, शान्ति-आरोग्य जेभीलाई कालोसूचीमा सिफारिस

काठमाडौं । पोखरा महानगरपालिका-४ र ५ जोड्ने गरी फिर्के खोलामा निर्माण गर्न गरिएको पुलको ठेक्का सम्झौता तोडिएको छ । सडक डिभिजन कार्यालय पोखराले सो पुल निर्माणका लागि विसं २०७५ असोजमा ठेक्का सम्झौता गरेकोमा निर्माण कम्पनीले काम सम्पन्न नगरेको र काम गर्ने अग्रसरतासमेत नदेखाएपछि कार्यालयले ठेक्का सम्झौता तोडेको हो । पुल निर्माणको ठेक्का पाएको शान्ति-आरोग्य जेभी सानेपा ललितपुरले पटकपटक म्याद थपे पनि काम नगरेका कारण ठेक्का सम्झौता अन्त्य गर्नुपरेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर नवराज बास्तोलाले बताए ।  ‘पुल निर्माण सम्पन्न गर्न पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएको कार्य सम्पन्न गर्न सक्ने प्रतिबद्धता र तदारुकता नदेखाइएकाले नियमानुसार ठेक्का सम्झौता अन्त्य गरिएको हो । अब अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि नयाँ ठेक्का प्रक्रिया सुरु हुन्छ,’ उनले भने ।  यसैगरी सडक डिभिजन कार्यालयले सो पुलको निर्माण कम्पनी शान्ति-आरोग्य जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।  ‘सार्वजनिक खरिद ऐन, २०६३ दफा ५९ (८) र ठेक्का सम्झौताको प्रावधानबमोजिम कार्यसम्पादन, पेस्की जमानत र धरौटी बापतको रकम जफत गरिने छ । साथै कार्यालय पोखरा, प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय र निर्माण व्यवसायी वा निजको आधिकारिक प्रतिनिधिको रोहबरमा ८ देखि १५ दिनभित्र हालसम्म अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच गरी मूल्याङ्कन गर्नेछौँ,’ कार्यालय प्रमुख बास्तोलाले भने ।  पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको छ लेनको सडकको बीचमा फिर्के खोलामाथि साँघुरो पुलका कारण दुर्घटना बढेपछि नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको हो । अहिले भइरहेको साँघुरो पुलको दायाँ-बायाँ ११ मिटर चौडाइ र ५०-५० मिटर लम्बाइका दुइवटा निर्माणका लागि १७ करोड १० लाख रुपैयाँमा सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको थियो । सो पुल सम्झौताको ३० महिना अर्थात् विसं २०७७ चैत ३० भित्रमा निर्माण सकिनुपर्ने सम्झौता रहे पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै आलटाल गर्दै आएको थियो । पुल निर्माण सम्पन्न गर्न तीनपटक सम्म म्याद थप गरिएको थियो । सडकअनुसार फिर्के खोला पुल साँघुरो हुँदा धेरै दुर्घटना भइरहेका छन् । स्थानीय वासीले पनि पुल निर्माण तोकिएको समयभित्रमा सम्पन्न गर्न जिल्ला प्रशासनलगायत कार्यालयमा दबाब दिँदै आएका थिए । 

चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि भिटामिनको परीक्षण सुरु

काठमाडौं । स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न चाँगुनारायण नगर अस्पताललाई भौतिक पूर्वाधारदेखि उच्च प्रविधिमैत्री बनाउँदै आएको चाँगुनारायण नगरपालिकाले थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको कमीको परीक्षण सुरु गरेको छ । सहरदेखि गाउँघरका बासिन्दामा पछिल्लो समय थाइराइडको रोग बढ्दै गएको, शरीर कमी भएको भिटामिनका बारेमा जानकारी नपाउँदा रोग पाल्दै बस्नुपर्ने र थाइराइडको परीक्षण एवं औषधि लिन भक्तपुरदेखि काठमाडौंका अस्पतालसम्म नै धाउनुपर्ने समस्या नगरपालिकाले अन्त्य गरेको छ ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ बराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन हस्तान्तरणपछि चाँगुनारायण नगर अस्पतालले यो सेवा विस्तार गरेको हो ।  कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीलाई एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन बुधबार हस्तान्तरण गरेसँगै चाँगुनारायण अस्पतालले आफ्नो नगर अस्पतालमा यो सेवा विस्तार गरेको हो । कागेश्वरीका नगरप्रमुख कार्कीले चाँगुनारायण नगरवासीलाई गुणस्तरीय सेवा विस्तार गर्न आफ्नो नगरपालिकाले पनि प्रविधि हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गर्दै यसले स्थानीय सरकारबीचको अन्तर नगर सम्बन्धलाई घनिष्ट र मजबुद् बनाउने बताए ।  कार्यक्रममा चाँगुनारायणका प्रमुख खत्रीले नगर अस्पताललाई थप प्रविधिमैत्री बनाउन कागेश्वरी मनोहराको मेसिन सहयोगले तत्कालै सेवा विस्तार गर्न सहज भएको बताउँदै अब नगरवासीले यस्ता सेवा लिन टाढा धाउनु नपर्ने बताए ।  दुई स्थानीय सरकारकाबीचको मजबुत सम्बन्धले एकापसमा सहयोगको भावना बढाएको बताउँदै चाँगुनारायणवासीलाई नगरपालिकाले निःशुल्क अक्सिजन वितरण गर्दै आएको, प्रसूतिदेखि अधिकांश सेवा आफ्नै अस्पतालमा विस्तार गरेको र अस्पताल आउन नसक्ने बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको बताए ।  उनले उपचार नपाएर चाँगुनारायणवासीले ज्यान गुमाउनुपर्ने अवस्था नरहेको बताउँदै चाँगुनारायण अस्पताललाई सुविधासम्पन्न र प्रविधिमैत्री बनाउँदै लगेको बताए । 

बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको अधिवेशन आज अपरान्ह १ बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदका दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिने छन् । बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ ।  प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन् । व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ । संसदको हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसदलाई सम्बोधन हुने छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुने छ । संघीय संसदको यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले राससलाई बताए । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ । त्यस पूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने छ । यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ । अधिवेशन सञ्चालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एक राम गिरीले बताए ।