विकासन्युज

आज आमाको मुख हेर्ने पर्व मनाइँदै, जीवन दिने आमाको महत्व हजार गुणा बढी

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्म दाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्ति साथ मनाइँदै छ ।  शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।  छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नै पर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्साइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।  सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उनले बताए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्ति साथ तर्पण, पिण्डदान र सिदा दान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदा दानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।  यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ ।  मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्य ग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।

महाकाली ४ लेन पुलसँगै बनेको ‘भाइरल रोड’

काठमाडौं । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको ८ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।  पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका-१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताए ।  ‘फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो/भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो,’ उनले भने, ‘साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ ।’ पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेको भीड लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन् । पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन् ।  ‘यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन् । पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन्,’ उनले भने । यहाँ विभिन्न म्युजिक भिडियोसमेत छायाङ्कनका हुने गरेको उनको भनाइ छ । पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन् । पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ । त्यसकै छेउछाउमा ५ हजार बिरुवा रोप्ने योजना छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए । ‘पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन्  । पोखरीसँगै हरियाली बनाउन ५ हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन्,’ उनले भने ।  पछिल्लो समय पुल अवलोकनका लागि दैनिक २/३ सय जना पुग्ने गरेको उनको भनाइ छ । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला २३ तथा दक्षिणतर्फ ०.३ वर्गकिलोमिटरका २ गरी ४ वटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ । 

नवजीवन सहकारीको चामल काठमाडौंमा बिक्री सुरु, सेवा केन्द्र पनि खुल्दै

काठमाडौं । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्रान्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ । सहकारीका अध्यक्ष देबहादुर बमका अनुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु गरिएको छ । सहकारीले चामल बजारीकरणका लागि शनिबार काठमाडौंमा सेयर सदस्य र सरोकारवालासँग छलफल गरेर आफ्नो उत्पादनबारे जानकारी दिएको हो । अध्यक्ष बमका अनुसार कैलालीको गोदावरी नगरपालिका-८ मजगाउमा रहेको खाद्य उद्योगबाट उत्पादित मोटो र मसिनो चामल बिक्री भइरहेको छ। यसअघि सहकारीका १० वटै सेवा केन्द्रबाट बिक्री भइरहेकोमा अब काठमाडौंमा पनि बिक्री थालिएको उनले बताए । ‘काठमाडौंमा बजारको अवस्था हेरेर डिलर र सब डिलरसँग जोड्नेछौँ,’ उनले भने, ‘आगामी असारभित्र काठमाडौंमा पनि सेवा केन्द्र सञ्चालन हुँदैछ । यसले बजारीकरणमा अझ सहयोग पुग्छ ।’  सहकारीले कैलाली, कञ्चनपुर र बर्दियाका १० ठाउँमा सेवा केन्द्रमार्फत सहकारी कारोबारसँगै चामल बिक्री गरिरहेको छ। सहकारीले पहिलो चरणमा १६ हजार २८ क्विन्टल धान खरिद गरेको थियो । हालसम्म कैलाली, कञ्चनपुर र बर्दियामा ६ सय  क्विन्टल चामल बिक्री भइसकेको जनाइएको छ । २५ किलोग्राम मोटो चामलको एक हजार ४ र मसिनो चामलको २ हजार २ सय मूल्य निर्धारण गरिएको छ । तर, काठमाडौंमा खुद्रा बजारमा भने मोटो चामलको भाउ १७ सय र मसिनो चामलको २५ सय पर्ने अध्यक्ष बमले बताए । सहकारीले पहिलो वर्ष मोटो र मसिनो मात्र बजारमा ल्याएकामा आगामी वर्षदेखि मसिनो र मोटोको पनि गुणस्तर छुट्याएर बजारमा ल्याउने योजना बनाएको छ । सहकारीले मजगाउमा एक करोड दुई लाखको लागतमा पाँच हजार क्विन्टल क्षमताको गोदाम घर निर्माण गरिसकेको छ भने राइस मिल प्लान्ट र ट्रान्सफर्मर स्थापना भएको छ । पहिलो चरणमा चामल उत्पादन थालेको सहकारीले तोरीको तेल, मसुरोको दाल, गहुँको आटा र पिउने पानीसमेत उत्पादन गर्ने योजना बनाएको छ।  ‘तोरीको तेल र मुसुरोको दाल चाँडै बजारमा आउँछ, त्यसपछि क्रमशः अरु उत्पादन ल्याउने योजना छ,’ अध्यक्ष बमले भने, ‘सहकारीका ३६ हजार सेयर सदस्य छन् । अर्गानिक र गुणस्तरीय खाद्यवस्तु पुर्याउने हाम्रो लक्ष्य हो । खाद्य उत्पादनले किसानसँग जोडिन पनि सहयोग पुग्नेछ ।’ नवजीवन सहकारीका संस्थापक सञ्चालकसमेत रहेका बागमतीका प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सहकारीले आमकिसानलाई जोडर उत्पादनमा लाग्नुपर्ने बताए । ‘नवजीवनले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका लाखौँ नागरिकको आर्थिक जीवनस्तर उकास्न भूमिका खेलेको छ, सहकारीले खाद्य उत्पादन थालेको देख्दा खुसी लाग्यो,’ उनले भने,  ‘सहकारीको मर्म अनुसार चलेका सहकारी विचलित भएका छैनन् । केही सहकारीका कारण समग्र सहकारीमाथि हिलो छ्याप्न हुँदैन ।’  २०५० सालमा स्थापना भएको नवजीवनका हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० सेवा केन्द्र छन् । सहकारीमा ३१ करोड ३४ लाख सेयर पुँजी छ भने ५ अर्ब ७३ लाख ६४ हजार निक्षेप छ ।

ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएकोे छ । गत अप्रिल २२ मा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चिनियाँ नेतासँगको कुराकानी कहिले भएको थियो वा के छलफल भएको थियो भन्नेबारे नबताइकन व्यापार वार्ता भएको दावी गरेका थिए ।  ट्रम्पले भने, ‘उहाँलाई बोलाइएको छ र मलाई लाग्दैन कि यो मेरोे तर्फबाट भएको कमजोरीको सङ्केत हो ।’ चीनको वाणिज्य मन्त्रालयले बेइजिङ र वासिङ्टनबीच आर्थिक वा व्यापारिक वार्ता भइरहेको भन्ने कुरा बिहीबार नै अस्वीकार गरिसकेको छ । चिनियाँ सामाजिक सञ्जाल विच्याटमा शनिबार पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘चीन र संयुक्त राज्य अमेरिकाबीच कर वृद्धिका विषयमा कुनै परामर्श वा वार्ता भएको छैन, कुनै सम्झौताको त कुरै छाडौँ ।’ वक्तव्यमा ट्रम्प वा सीको नाम उल्लेख गरिएको छैन वा ट्रम्पको फोन वार्ताको दाबीलाई प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन तर संयुक्त राज्य अमेरिकाको कर वृद्धिबारे वार्ता जारी छ भन्ने टिप्पणी ‘भ्रामक बाहेक अरू केही होइन’ भनिएको छ ।  ‘यो व्यापार युद्ध अमेरिकी पक्षले सुरु गरेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि अमेरिका वास्तवमै वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले पहिले आफ्नो गल्ती सच्याउनुपर्छ, अरूलाई धम्काउने र दबाब दिन बन्द गर्नुपर्छ र चीनविरुद्धको सबै एकपक्षीय कर वृद्धिलाई पूर्ण रूपमा हटाउनुपर्छ ।’ ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीचे व्यापार युद्ध सुरु भएको छ । अमेरिकी कर वृद्धिको घोषणासँगै अमेरिका आयात हुने धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको छ । चीनले पनि अमेरिकाविरूद्ध प्रतिशोधात्मक कर वृद्धिको घोषणा गरेको छ । ट्रम्पले आगामी केही हप्तामा अमेरिकी व्यापारिक साझेदारहरूसँग सम्झौताको घोषणा गर्ने बताउनुभएको छ ।  ट्रम्पले चीनतर्फ सङ्केत गर्दै टाइमसँग भने, ‘उनीहरूले सहज महसुस गर्ने धेरै अवस्था रहेका छन् तर अब हामीले तिनीहरूलाई हामीबाट एक ट्रिलियन डलर कमाउन दिनेछैनौं ।’

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते, रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्ने

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए ।  उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मङ्गलबार बोलाएको छ । बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ-आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन जनमतले नेताहरूलाई सूचित समेत गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसित उपस्थित हुन जनमतले आमन्त्रण गरेको हो । एकीकरणपछि बन्ने पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको नेताहरूले बताएका छन् । नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुङ्गो लागेको छ । एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षक रहने र सह अध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने छिन् ।  विस २०७७ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विस २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए । हाल संसदमा जनमतका छ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।

अहिले नेतृत्व गरेका सबै नेता असफल भए, यो देशमा राजा कोही छैन : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले मुलुकलाई हालको आर्थिक अवस्थाबाट माथि उठाउन अब समाजवाद निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । उनले पछिल्लो समयमा देशमा देखिएको राजनीतिक अस्थिरता र मुलुकको कमजोर आर्थिक अवस्थालाई लिएर जनतामा वितृष्णा बढ्दै गएकाले त्यसको अन्त्यका लगि समाजवादको निम्ति तुरून्तै आह्वान गरी काम सुरू गर्नपर्ने बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले भने, ‘राष्ट्रपति, प्रदेश प्रमुख र पालिका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ, अरू सबै पूर्ण समानुपातिकमा निर्वाचन प्रणालीमा जानुपर्छ, प्राप्त मतका आधारमा राजनीतिक पार्टीले व्यक्ति पठाउँछन्, प्रतिनिधिसभामा १५ जना सांसद भए पुग्छ भने राष्ट्रियसभामा १० जना पर्याप्त हुन्छ ।’ सांसद गौतमसँग मुलुकको वर्तमान राजनीति, राष्ट्रियसभाको कार्य जिम्मेवारी र भूमिका, सुशासन र युवाको विदेश पलायनलगायत समसामयिक विषयमा राससले कुराकानी गरेको छ ।  पछिल्लो समय तपाईको दिनचर्या कसरी बितिरिहेको छ, आजभोलि के मा व्यस्त हुनुहुन्छ ? नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान सञ्चालन गरी नेपालका कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानको काम गर्दैआएको थिएँ । त्यो सम्भव भएन । अहिले पनि पार्टी एकताको निम्ति विभिन्न पार्टीसँग छलफल भइरहेको छ । पार्टी मात्रै खोलेर राम्रो हुँदैन, कम्युनिष्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले नेकपा (एकीकृत समाजवादी) सँग एकताको निम्ति छलफल भइरहेको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरू भएको छ । केही समय पहिला नेकपा (एमाले) सँग पार्टी एकताको निम्ति पहल गरिएकामा उहाँहरूले एकता हुँदैन, प्रवेश गर्न आए स्वागत छ भन्नुभयो । त्यहीअनुसार तयार भइयो उहाँहरूले नै ढोका बन्द गर्नुभयो । मेरा निम्ति नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) पनि एमाले नै हो । किनभने मैले निर्माण गरेका कार्यकर्ता र सँगै काम गरेका नेताहरू दुवै दलमा हुनुहुन्छ ।  तपाईसँग लामो राजनीतिक अनुभव छ, अहिले मुलुकमा भइरहेको संसदीय र राजनीतिक अभ्यासलाई कसरी हेर्नुभएको छ ? संसारभरिको संसदीय अभ्यास करिब हाम्रोजस्तै हो । तर अन्य मुलुकमा संसद्ले काम गरेको हुन्छ । युरोपेली देश र अमेरिकामा पनि संसद् छ । तर, अमेरिकालगायत कतिपय देशमा शासन प्रणाली फरक छ । नेपालमा भने संविधानमा समाजवादन्मुख अर्थतन्त्र भनियो त्यसमा काम गर्न ढिला भएको छ । त्यसको अभ्यासमा अति कति ढिला भयो भने सबै बिग्रन्छ । हामीले जुन दिन संविधान जारी गरेको हो, त्यही दिनदेखि समाजवाद निर्माण थाल्न पथ्र्याे । अलमलमा प¥यौँ । संविधान जारी गर्ने बेलाको शक्ति तितरबितर हुँदै सत्ताको खेलमा केन्द्रित भएको देखिन्छ । जुन पार्टी मिलेर संविधान बनाएको हो, उनीहरू मिलेर समाजवाद अगाडि बढाउनुपर्ने थियो । त्यो हुन सकेन । समाजवाद कहीँकतैबाट टिपेर लिएर राख्ने होइन, आफैँले निर्माण गर्ने हो । अब समाजवादसँगै विकासको कामलाई अगाडि बढाउनुपर्ने छ । समाजवादमा सबै जनता मिलेर उत्पादन गर्ने भएकाले उत्पादित वस्तुमा सबैको अधिकार हुन्छ । संविधानले प्रजातान्त्रिक समाजवादको परिकल्पना गरेकाले त्यसैमा जानुपर्छ । समाजवादमा पनि बहुदलीय राजनीतिक प्रणाली हुन्छ । अहिले अभ्यासमा रहेको संसद्ले कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था हाम्रा लागि गलत छ । त्यही भएर अहिलेसम्म पनि पाँच वर्षसम्म एउटै व्यक्ति प्रधानमन्त्री हुन पाएको छैन । जसले अराजकता र जथाभावी हुन पुगेको छ । यस्तो चरित्र भएको अभ्यासले जनताको जीवनस्तरमा सुधार ल्याउने र विकासका काम हुँदैन । विकास भनेको उत्पादन अनि निर्माण गर्ने हो । त्यो समयमा हुन नसक्दा परिस्थिति आजसम्म बिग्रिँदै गएको छ । अवस्था बिग्रिँदै जाँदा एकथरि मानिस पहिल्यै समाप्त भएका राजालाई ल्याउनुपर्छ भनेर लागेका छन् । यो मुलुकमा राजा कोही छैन ।  निरङ्कुशताले घुँडा टेकेको, जनताले जितेको दिन लोकतन्त्र दिवसमा सङ्घर्ष गर्ने नेताहरूप्रति प्रशंसा हुनुपर्ने हो, तर यो हुन सकेको छैन, यसमा तपाईको भनाइ के छ ?     देशको परिवर्तनका निम्ति लामो सङ्घर्ष गर्नुभएका अहिले नेतृत्व गर्नुभएका सबै नेताहरू असफल हुनुभएको छ । अहिलेसम्म राज्य सञ्चालनमा पुग्नुभएका प्रधानमन्त्रीहरूले देशको निम्ति जे गर्नुपर्ने थियो, त्यो गर्न सक्नु भएन । उहाँहरूसँग देशको विकासका निम्ति स्पष्ट दृष्टिकोण देखिएन । प्रधानमन्त्री वा मन्त्रीहरूले अवसर पाउनुभएको छ, तर अवसर पाएअनुसार काम गर्न सक्नुभएको छैन ।  तपाईसँग प्रतिनिधिसभाको लामो अनुभव छ, अहिले राष्ट्रिय सभामा हुनुहुन्छ । अहिले भइरहेको राष्ट्रियसभाको संसदीय अभ्यासलाई कसरी हेर्नुभएको छ ? राष्ट्रियसभाको मेरो अनुभव कमजोर छ । पार्टीको प्रतिनिधिको रूपमा संसद्मा गएको भए अलि राम्रो भूमिका खेल्न सक्थें । तर म राष्ट्रपतिले मनोनीत गरेर विज्ञको रूपमा गएको हुँ । अरू सांसदले पार्टीको हिसाबले ४०–४५ मिनेट समय पाउँदा मैले पाउने समय दुई तीन दिनमा पाँच मिनेट मात्रै हो । त्यो पाँच मिनेट रोष्टममा जाँदा र आउँदामै सकिन्छ । यद्यपि मैले पाउने समयमा आफ्नो विचार दिने काम गर्दैआएको छु । त्यो सभामा राजनीतिक रूपमा कुनै आरोप–प्रत्यारोप हुँदैन । राष्ट्रिय सभाको निम्ति म उपयुक्त व्यक्ति होइन । लामो अनुभव र अभ्यास प्रतिनिधिसभाकै छ । प्रतिनिधिसभामा वर्षौं अभ्यास गरेको छु । त्यहाँ म क्रियाशील सांसदको रूपमा थिए । उल्लेखनीय भूमिका हुन्थ्यो । राष्ट्रियसभामा आफैँलाई पनि सन्तुष्टि लागेको छैन । एउटा बाध्यताले राष्ट्रिय सभामा गएँ । तपाई गृहमन्त्री हुँदा र अहिले देशको शान्ति सुरक्षाको पाटोलाई कसरी हेर्नुभएको छ ? अहिले देशको शान्ति सुरक्षामा यो अवस्थामा आउनुको मुख्य कमजोरी राजनीतिक पार्टीहरू नै हुन् । गृहमन्त्री भएर काम गर्दा मलाई सञ्चालन गर्ने कोही भएन । त्यसबेलाका प्रधानमन्त्रीले काम गर्ने सवालमा कुनै अवरोध गर्नुभएन । मैले मेरो निम्ति होइन, जनता र राष्ट्रको निम्ति तथा इज्जत र प्रतिष्ठाका निम्ति काम गरेँ । मैले विकृति जहाँ छ, त्यहाँ सिधै आक्रमण गर्ने गर्थें । गुण्डागर्दी जहाँ हुन्छ, त्यहाँ मेरो आक्रमण हुन्थ्यो । शान्ति सुरक्षा भङ्ग जहाँ भएको छ, त्यसलाई केन्द्रमा राखेर काम गरेको थिए । मैले गलत भएका हरेक ठाउँमा कारवाही गर्ने गर्थें । त्यतिबेला गुण्डाहरू लुकेर हिँड्ने गरेका थिए । तर अहिलेका नेताले तिनै गुण्डालाई पार्टिभित्र ल्याएका छन् । तिनै गुण्डालाई मन्त्री बनाइएको छ ।  अहिले चर्चामा रहेको संविधान संशोधनको विषयमा यहाँको धारणा के छ ?  सबैले संविधान संशोधन गर्ने मात्रै भनेका छन् । तर कुन विषयमा संशोधन भन्ने कुरा बाहिर ल्याएका छैनन् । सरकारले संविधान संशोधन भन्ने तर विषय नदिँदा झन कमजोर हुन्छ भन्ने मेरो भनाइ हो । सरकारले संशोधनका विषयलाई संसद्मा राख्नुपर्छ । तर संविधान संशोधन गर्ने भनेर जनतालाई भुलभुलैयामा राख्नु भनेको संविधानलाई कमजोर बनाउनु हो । संविधान संशोधनको विषयलाई बजारमा बिक्री गर्ने वस्तुको रूपमा प्रचार गरिनुहुँदैन ।  मैले सुनेअनुसार समानुपातिक निर्वाचन प्रणाली हटाउने भन्ने छ । यो प्रतिगामी हुन्छ । समानुपातिक प्रतिनिधित्व भनेको प्रतिनिधित्व नभएको समुदायको पनि प्रतिनिधित्व कसरी गर्ने भन्ने हो । नेपालमा एउटै मात्रै जाति छैन, एउटै मात्रै समुदाय छैनन् । अनेक जाति र समुदाय छन् । नेपालीहरू विभिन्न भाषा, भाषी, धर्म र संस्कृतिको हिसाबले मिलेर बसेको समाज हो । त्यसका लागि समानुपातिक व्यवस्था गरिएको हो । प्रत्यक्ष निर्वाचनमा आउन नसक्नेलाई समानुपातिकमा ल्याउनुपर्छ । समानुपातिक हटाउनु भनेको पश्चगामी विचार हो । अर्को, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको निम्ति संविधान संशोधन गर्नुपर्छ । राष्ट्रपतिलाई नियन्त्रण गर्ने काम संसद्ले गर्छ  । अहिलेको शासकीय प्रणाली असफल भइसक्यो । प्रधामन्त्री नौ महिनामा फेरिने व्यवस्था ठीक छैन । अहिलेसम्म एउटै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री भएकै छैन । सङ्घीयता र संसद् कार्यसञ्चालनमा परिमार्जन गर्नुपर्नेछ ।  अहिलेको निर्वाचन प्रणाली अलि बढी खर्चिलो भयो भन्ने छ नि ?  यो सत्य हो । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ । राष्ट्रपति, प्रदेश प्रमुख र पालिका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ । अरू सबै पूर्ण समानुपातिकमा जानुपर्छ । पूर्ण समानुपातिकमा जाँदा राजनीतिक पार्टीले व्यक्ति पठाउँछन् । जितेर आएपछि ती व्यक्तिले निर्वाचन क्षेत्र पाउँछन् । निरन्तर बसेर काम गर्ने प्रतिनिधिसभामा १५ जना भए हुन्छ । हरेक वर्ष दुई वटा अधिवेशन हुन्छन् । एक पटक विधेयक पारित गरेर कानुन बनाउने अर्को पटक कार्यक्रम र बजेट पारित गर्न हुन्छ । राष्ट्रियसभामा १० जना सांसद भए पुग्छ काम गर्नका लागि । त्यो भए कम खर्च हुन्छ । सांसदबाट सरकार बनाउने काम गर्न हुँदैन । निर्वाचनमा व्यक्ति होइन, पार्टी निर्वाचित हुनुपर्छ । यसो गर्न सकेमा देश छिट्टै समृद्धिको बाटोमा अगाडि बढ्छ ।  मुलुक अहिले तीन तहको सरकारको अभ्यासमा छ । उनीहरूबीचको समन्वय र सहकार्यलाइ कसरी मूल्याङ्कन गर्नुभएको छ ?  सरकार तीन तहकै हुनुपर्छ । स्थानीय तहलाई भने सरकार भन्न हुँदैन । प्रदेश र सङ्घीय सरकारलाई मात्रै सरकार मान्नुपर्छ । सात वटा प्रदेश सरकार र एउटा केन्द्रीय सरकार गरी जम्मा आठ वटा सरकार मात्रै हुन्छन् । तर अहिले ७६१ वटा सरकार छन् । यति धेरै सरकारलाई पाल्दापाल्दै राज्यको ढुकुटी सकिन्छ । अनि जनता गरिबको गरिब हुन्छन् ।  तपाईले सुरू गरेको कम्युनिष्ट पार्टीबीचको एकता अभियान कसरी अघि बढिरहेको छ ? मैले देशमा एउटै कम्युनिष्ट पार्टी हुनुपर्छ भन्दै आएको हो । हामीले सिङ्गो राष्ट्रलाई केन्द्रमा राखेर हेर्नुपर्छ । राष्ट्रको निम्ति सोच्दा एउटै कम्युनिष्ट पार्टी हुनुपर्छ भन्ने हो । कम्युनिष्टसँग अरू पार्टी मिल्नु हुँदैन । कम्युनिष्ट एउटा विचार लिएर जाने हो, त्यसैले एउटा मात्रै कम्युनिष्ट पार्टी हुनुपर्छ । यद्यपि हामीले बहुदलीय प्रजातन्त्र अवलम्बन गरेको हुनाले जो कसैले पनि पार्टी खोल्न पाउने व्यवस्था छ । तर पार्टी खोल्न पाउने व्यवस्था अलि कडा पनि गर्नुपर्छ ।  तपाईको विचारमा कानून निर्माणको सवालमा राष्ट्रिय सभा के कतिको सक्रिय छ ? राष्ट्रियसभालाई कमजोर बनाइएको छ । धेरै कानुन प्रातिनिधिसभामा उत्पत्ति हुन्छन् । कुनै कुनै कहिलेकाहीँ राष्ट्रियसभामा उत्पत्ति हुन्छ । दुई वटा विधेयक राष्ट्रियसभामा प्रस्तुत भयो भने दश वटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुन्छ । राष्ट्रियसभामा मैले कानून निर्माण गर्ने सवालमा र अरू हिसाबले पनि कमजोर देख्छु । त्यसका बाबजुत राष्ट्रियसभाले जति काम गरेको छ, परिपक्व काम गरेको छ । त्यसकारण परिपक्वताको हिसाबले राष्ट्रियसभा उपयुक्त छ । यद्यपि संसारका धेरै देशमा राष्ट्रियसभा छैनन् । हामीले प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा निर्माण गर्छौं । राष्ट्रियसभाका सांसदको मतदाता भनेको प्रदेश सांसद र पालिकाका प्रमुख र उपप्रमुख हुन् । प्रतिनिधिसभाभन्दा यो गम्भीर छ, यो स्थायी सभा हो । राष्ट्रियसभामा केही हैसियत प्राप्त गरेका व्यक्तिहरू हुनुपर्छ ।  अध्ययन र रोजगारीलगायतका कारण युवाको विदेश पलायनको घटनालाई कसरी हेर्नुभएको छ ?  अध्ययन र रोजगारीका लागि नेपालबाट मात्र होइन, चीन, जापान, कोरिया, भारत र युरोपका देशहरूबाट समेत हाम्रोभन्दा ३० औँ गुणा बढी व्यक्ति विदेश गएका छन् । अहिले विश्वव्यापीकरणको युग पनि हो । संसारबाट जति मानिस त्यहाँ गए पनि काम गर्न पाउँछन् । अमेरिका मात्रै होइन, अष्ट्रेलिया, चीनमा पनि संसारका देशबाट लुकेर काम गर्ने मानिस त्यतिकै छन् । त्यसकारण यसलाई त्यति ठूलो रूपमा लिनु हुँदैन । बर्बाद भयो भनेर चिन्ता गर्नु पर्दैन । नेपालमा समाजवाद आएसँगै सबै मानिस रोजगार भएपछि फर्कन्छन् । विदेशी मुद्रा आर्जन र विभिन्न विदेशी अनुभवको निम्ति पनि नेपालीलाई विदेश पठाउनुपर्छ ।     

उपप्रमुख डंगोलको निर्देशन : कर्मचारी सरुवा नगर्नू, स्मार्ट योजना प्रस्ताव गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले एउटै योजनाबाट धेरै नागरिकलाई लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिएकी छन् । विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा सम्पन्न कार्यक्रमबाट प्राप्त नतिजाका बारेमा समीक्षा गर्दै   उपप्रमुख डङ्गोलले एउटै योजनाबाट धेरै नागरिक लाभान्वित हुने कार्यक्रमको लागि निर्देशन दिएकी हुन् ।     उनले आगामी आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रमको आन्तरिक तयारी थाल्ने बेला भइसकेको पनि बताइन् । ‘आउँदो वर्षमा स्रोत अनुमान समितिले प्रदान गरेको सिमाभित्र रहेर स्मार्ट, कार्यान्वयन योग्य, धेरैलाई लाभ हुने र नीतिले निर्दिष्ट गरेका कार्यक्रम प्रस्ताव हुनुपर्छ । क्रमागत योजना घटाउँदै लैजानुपर्छ ।’ उनले अपेक्षित हासिल गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भनिन्, ‘कार्यक्रम तर्जुमा गर्ने समय भएकाले कर्मचारी सरूवा नगर्नु एउटाले अघि बढाएको कामबीचमा आएर अर्कोलाई टुङ्गोमा पुर्‍याउन कठिन हुन्छ ।’  बिहीबारको बैठकमा उनले नतिजामुखी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न योजनाबद्ध काम गर्नुपर्ने बताइन् । सङ्घ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने, बैठक गर्नुपर्ने, कानुनले समय तोकेर गर्नु भनेका काम जिम्मेवारीमा पर्ने अधिकारीले समयमा सम्पन्न गर्नुपर्ने, नगरसभामा प्रस्तुत हुने आर्थिक विधेयक र विनियोजन विधेयकलाई व्यवहारिक समयसापेक्ष र व्यवहारिक बनाउन योजना गर्नुपर्ने, आउँदो वर्षको कार्यक्रममा भौतिक पूर्वाधारतर्फ डिजाइन र लागत अनुमान भएका कार्यक्रमलाई समेट्नुपर्ने पनि उनको भनाइ छ ।  बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले, प्रक्रियामा आएका फाइल कतै नरोकिने गरी निर्णय प्रक्रियामा लगिएको जानकारी दिए । त्यस्तै कामपाले  आव २०८२/०८३ का लागि प्रदेश सरकारले तर्जुमा गर्ने आर्थिक ऐनमा समेट्नुपर्ने करसम्बन्धी विषयमा छलफल सुरू गरेको छ ।   प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट माग भएको करसम्बन्धी सुझाव र राजस्व समितिबाट पेस भएको सुझावसम्बन्धी प्रस्तावका विषयमा छलफल भएको हो । समितिले प्रदेश र स्थानीय सरकारका साझा अधिकारमा रहेका कर शीर्षकहरू मनोरञ्जन कर, विज्ञापन कर, जरिवाना छुटलगायत विषयमा छलफल भएकोे राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए । 

सरकार र शिक्षकबीच सहमति हुन सकेन, फेरि सडकमै जाने, छलफल जारी राख्ने

काठमाडौं । शनिबार बिहान नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफल उपलब्धिमूलक नरहेको बुझिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ता निश्कर्षविहीन भएको हो ।  मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा शिक्षामन्त्रीसँग छलफलमा बसेका थिए ।  शिक्षकहरुले आफ्ना सबै मागहरुमा अडिक बन्दा सहमति हुन नसकेको बुझिएको छ । शुक्रबार शिक्षामन्त्रीले बोलाएको बैठकमा प्राविधिक कारण देखाउँदै महासंघ बैठकमा सहभागी भएको थिएन ।  महासंघले चैत २० गतेदेखि जारी शिक्षकहरुको आन्दोलनलाई आज पनि निरन्तरता दिने बताएको छ । दुवै पक्षबीच छलफल पनि अगाडि बढाउने र आन्दोलन पनि जारी राख्ने सहमति भएको छ ।