सुरु भयो यस वर्षको सगरमाथा आरोहण यात्रा, ४२१ आरोही चुचुरो चुम्ने तयारीमा
काठमाडौं । 'सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्याङ टाँग्न पनि कठिन भयो' रोप फिक्सिङ गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो। सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ। विभागका निर्देशक लीलाधर अवस्थीले भने, 'सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन् ।' मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उनले बताए। सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए। आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले उल्लेख गरे। एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए । उनले भने, 'मौसम अनुकूल छ। आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ। अहिले धेरै संख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।' सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवत जावत गरिरहेका हुन् । मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुनसक्ने जनाइएको छ । सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङको जिम्मेवारी पाएको एटके कम्पनीका प्रवन्ध निर्देशक शेर्पाले भने, 'यो पटक सगरमाथामा बाक्लो हिउँले डोरी टाग्न गाह्रो भएको छ । पहिलो वीन्डोमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ ।' अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो । उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । यो पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ । सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ । जलवायु परिवर्तनको प्रभावले आरोहक्षण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउनेकार्य कठिन भएको शेर्पाले जनाएका छन् । खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए । 'बाटो राम्रो छ, मौसम सफा छ । सयौ आरोही आरोहणका लागि प्रतिक्षरत छन्', आरोही शेर्पाले भने, 'मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ । अर्को वेवदर वीन्डो मे १९ देखि २४ सम्म रहेको छ ।' यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन् । टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुगेका छन् । त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा गएका छन् । आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गरेका उनले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान भङ्ग गर्ने योजनामा छन् । भारतकी सबैभन्दा जेष्ठ नागरिकले आरोहण गर्ने तयारीमा छन् । यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन् । समुद्री सतहदेखि पाँच हजार ३६४ मिटरको उचाइको आधार शिविरमा अध्याधिक चिसो रहेको शेर्पाले जानकारी दिए । माइनस २० डिग्रिको चिसोको प्रवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लिन छन् । शिविरमा चहलपहल छ । शेर्पा ‘हाइ क्याप्स सेट’ (तेस्रो र चौथो शिविर व्यवस्थापन) मा छन् भने आरोही लुक्ला नाम्चे, वेसक्याम्पमा छन् । आधा जसो आरोही तेस्रो शिविरतिर पुगेका छन् । अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको प्रवन्ध निर्देशक शेर्पाले बताए । यो पटक धेरै आरोहीलाई सहज होस भनेर चाँडो सगरमाथाको आरोहण खुलाइएको उनको भनाइ छ । सन् २०१३ र २०१७ मा सगरमाथाको रोप फिक्सिङ गरेकार्नु लाक्पा शेर्पाले जलवायु परिवर्तनका कारण हिउँ पक्लिएर पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढी रक भेटिएको छ । हिउँ भएको ठाउँमा बाक्लो हिउँ परेको छ । खुम्बु आइसफलमा बढी रक देखिएकोले सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसिसी) ले मे २९ मै बाटोका भर्याङ उठाउने जनाएको छ । पर्यटन विभागबाट ७५ दिनको आरोहण अनुमति लिएर आरोही सगरमाथा गएका छन् । सगरमाथा आरोहण ४० दिनको हुन्छ । आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन् । उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन् । सभेने समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले बताए । मौसम अनुकूल रहेकाले यो पटक उत्साहवर्द्धक रूपमा सगरमाथा आरोहण हुने अनुमान गरिएको बताए । उनको कम्पनीमार्फत यो पटक पनि १०० भन्दा धेरै आरोही सगरमाथा आरोहणमा गएका छन् । एक्सपीडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गरेको छ । सपीसिसीले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो बनाएको थियो । सगरमाथा चढ्न ४२१ लाई अनुमति पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्यांकअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक-दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड संकलन भएको छ । सिबी अधिकारी / रासस
प्रभुचेलामा ध्यानका लागि एक करोडभन्दा बढी लगानीमा बन्यो पूर्वाधार
म्याग्दी । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको रु एक करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ । परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो । प्रदेश सरकारको रु ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा संकलन गरेर जुटाएको रु २८ लाखले तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ । विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरिएको समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नविन) ले बताए । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुन:निर्माण गरेका छन् । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्यांकी निर्माण भएको छ । परापूर्वकालमा ऋषिमुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो । बस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि उपयुक्त मानिएको छ । पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले बताए । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषि मुनीहरू आउने गर्दथे । स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए । कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ । रासस
पुँजीगत लाभकरको दर परिवर्तन गर्न आईक्यानका ५ सुझाव
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)ले नेपालमा वैदेशिक लगानी भित्र्याउन आयकर ऐन २०५८ का विभिन्न ५ वटा व्यवस्थामा परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । आईक्यानले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आयकर ऐन २०५८ मा नेपालमा लगानी गर्ने विदेशी कम्पनीलाई १५ प्रतिशत मात्रै पुँजीगत लाभकर लगाउनुपर्ने सुझाव दिएको हो । सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनदेखि विदेशी लगानीका कम्पनीहरूको दर्ताको लागि एकद्वार प्रणाली लागू गर्ने, लगानी बोर्डको गठन महत्त्वपूर्ण प्रयासहरू गरेको छ । तर पनि पछिल्लो ५ वर्षको अवधिमा औसत वार्षिक ४ अर्ब हाराहारी मात्रै विदेशी लगानी भित्रिरहेको देखिन्छ । तर, सोही अवधिमा बंगलादेश र श्रीलंकामा वार्षिक औसत क्रमश: ३ खर्ब र १.५ खर्ब रुपैयाँ बराबर विदेशी लगानी भित्र्याइरहेका छन् । जबकी नेपाल जस्तै अल्पविकसित एसियाली राष्ट्र लाओस, कम्बोडिया, अफगानिस्तान, म्यानमारले नेपालको भन्दा धेरै विदेशी लगानी भित्र्याइरहेका छन् । आईक्यानका अनुसार विदेशी लगानीमैत्री कर प्रणाली नहुनु, विदेशी लगानीबाट आर्जित मुनाफा फिर्ता लैजाने तथा लगानीकर्ताले चाहेको बेलामा लगानी समेत फिर्ता लाने प्रक्रिया झन्झटिलो हुँदा वैदेशिक लगानी आउन नसकेको आईक्यानले जनाएको छ । ‘नेपालको करको दर दक्षिण एसियाली मुलुकहरूको दाँजोमा धेरै फरक छैन । तर, दक्षिण पूर्वीय राष्ट्रहरूको तुलनामा औसतमा १० प्रतिशत विन्दुले बढी छ । नेपालमा गरेको लगानीलाई बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरको दर दक्षिण एसियामै सबैभन्दा बढी छ,’ आईक्यानले बजेटमा सुझाव दिँदै भनेको छ, ‘विदेशी लगानीकर्ताले गरेको लगानी निसर्ग गर्दा लाग्ने करलाई धेरै महत्त्वका साथ लिने गर्दछन् । विदेशी कम्पनी वा गैरवासिन्दा व्यक्तिले नेपालमा रहेको उसको लगानी बिक्री गर्दा २५ प्रतिशत लाभकर लाग्ने व्यवस्था छ । साथै आयकर ऐनले लाभकर गणना गर्दा मुद्रास्फीतिको समायोजन गर्ने व्यवस्था गरेको छैन । त्यसैले नेपालको लाभकरको दर अन्य राष्ट्रको तुलनामा धेरै छ ।’ आईक्यानका अनुसार भारतमा दीर्घकालीन लगानीको लाभकर १० प्रतिशत र अल्पकालीन लगानीको लाभकर २० प्रतिशत तोकिएको छ । यस्तै, म्यानमारमा १० प्रतिशत, मलेसियामा १० प्रतिशत, भियतनाममा २० प्रतिशत, मंगलादेशमा १५ प्रतिशत, पाकिस्तानमा ६ वर्षभन्दा बढीको लगानीमा लाभकर नलाग्ने र सोभन्दा कम समयको लगानीमा लाभकर १५, १२.५, १०,७५, ५ वा २.५ प्रतिशत, चीनमा २० प्रतिशत र सूचीकृत संस्थाको लगानीमा लाभकर नलाग्ने र जापानमा १५ प्रतिशत तोकिएको छ । नेपालमा ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन हुँदा सम्बन्धित निकायलाई समेत दफा ५७ अन्तर्गत आयकर लाग्ने अवस्था रहेको छ । बहराइन, सिंगापुर, जमैका, न्यूजील्याण्डजस्ता धेरै देशमा लाभकर लाग्दैन । यसर्थ नेपालमा लाभकर, अन्तर्राष्ट्रिय अभ्यासभन्दा धेरै रहेको देखिन्छ । यो विदेशी लगानीको प्रमुख बाधक रहेकाले पुनरावलोकन आवश्यक रहेको आईक्यानको सुझाव छ । आईक्यानले आयकर ऐन २०५८ को दफा ९५ क को उपदफा २ (क) र (ख) लाई संशोधन गर्दै अन्यको हकमा लाभ रकमको १५ प्रतिशतका दरले लाग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको तथा नभएको निकायको हितको निःसर्गबाट प्राप्त भएको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ७.५ प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको १० प्रतिशत र अन्यको हकमा लाभ रकमको २५ प्रतिशतका दरले लाग्ने व्यवस्था छ । उक्त व्यवस्थालाई संशोधन गर्दै अन्यको हकमा लाभ रकमको १५ प्रतिशतका दरले लाग्ने व्यवस्था गर्नुपर्ने आईक्यानले सुझाएको हो । यसका साथै आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ मा उपदफा ९ थप्न आईक्यानले सुझाव दिएको छ । आईक्यानका अनुसार सो व्यवस्थामा प्रचलित कानुन बमोजिम दर्ता भई धितोपत्रको खरिद-बिक्रीको कारोबार गर्ने बासिन्दा निकायबाहेक अन्य कुनै निकायलाई कुनै बासिन्दा निकायमा रहेको हितको निसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा कर लग्नुपर्नेछ । धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा १५ प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत, धितोपत्र बोर्डमा सूचीकृत नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिन भन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २५ प्रतिशत हुनुपर्ने आईक्यानको सुझाव छ । आयकर ऐन, २०५८ को अनुसूची १ को उपदफा (८) गैरबासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा २५ प्रतिशतको दरले कर लाग्नेछ । तर, गैरवासिन्दा प्राकृतिक व्यक्तिको हकमा बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा १५ प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र सूचीकृत नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २५ प्रतिशत । दफा ६७ मा नेपालमा रहेको सम्पत्ति भन्नाले जग्गा जमिन वा भवनहरू, गैरबासिन्दा व्यक्तिको बासिन्दा निकायमा रहेको हित तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हितसमेत सम्झनु पर्ने व्यवस्था राख्नुपर्ने उल्लेख छ ।
नगरकोटमा दुई दिने सहकारी पत्रकारिता तालिम सुरु
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको सहकार्यमा नगरकोटमा सहकारी पत्रकारिता तालिम सुरु भएको छ । समाजले सहकारी क्षेत्रमा कलम चलाउने २५ जना सहकारी पत्रकारका लागि दुई दिने सहकारी पत्रकारिता तालिम सुरु गरेको हो । समाजका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा सुरु भएको प्रशिक्षण कार्यक्रममा सहकारीको सैद्धान्तिक एवं कानुनी आधार, कार्यान्वयन तथा व्यवहारिक पक्ष, आर्थिक तथा सहकारी पत्रकारिता र वित्तीय क्षेत्रको नियामनको विषयमा विभिन्न प्रशिक्षकहरूले प्रशिक्षण गर्नेछन् । शुक्रबार सुरु भएको प्रशिक्षण कार्यक्रममा पहिलो सेसनअन्तर्गत सहकारी विभागका उपरजिष्ट्रार शशिकुमार लम्साल र दोस्रो सेसनअन्तर्गत समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंले प्रशिक्षण गरेका छन् । लम्सालले सहकारीको सैद्धान्तिक तथा कानुनी आधार र त्यसको कार्यान्वयन तथा व्यवहारिक पक्षको विषयमा प्रशिक्षण गरेका थिए । उनले सहकारी विभागले हाल गर्दै आएका काम कारवाही विभिन्न कानुनी अड्चनसँगै सहकारीको वर्तमान स्थिति र सहकारीमा सम्पत्ति शुद्धिकरण लगायत विषयमा प्रशिक्षण गरेका छन् । यस्तै, सहकारी पत्रकारिताको सम्भावना, भूमिका र चुनौतीको विषयमा प्रशिक्षण दिँदै हुमागाईंले पत्रकार र सञ्चार माध्यमले सहकारी बिटलाई दिने प्राथमिकता, यसको दायरा तथा सीमा, समाचारका विषयवस्तु र अवसरका विषयमा पनि जानकारी गराएका छन् । यस्तै, शनिबार आर्थिक पत्रकारिताका विषयमा नेपाल आर्थिक पत्रकार संघका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले प्रशिक्षण दिनेछन् भने नेपाल राष्ट्र बैंकले सहकारी संस्थाका लागि जारी गरेको मापदण्ड तथा निर्देशन, सहकारीमा राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण लगायतका विषयमा राष्ट्र बैंकका निर्देशक इन्द्रा चम्लागाईंले प्रशिक्षण दिनेछिन् । सीजेएनले विभागको सहकार्यमा आफ्ना सदस्यहरुको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि हरेक वर्ष प्रशिक्षण तथा.तालिम आयोजना गर्दै आएको छ ।
नेपाल लाइफले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, ५ अर्बको लगानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरे । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताएका छन् । नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनीकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए । ‘लगानी विविधिकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौं,’ उनले स्पष्ट पारे । संघाईले नियामक निकायका नियमहरू अनुसार अगाडि बढ्दै कम्पनीले स्थापना गरेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले उदाहरणीय कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे । साथै, संस्थागत सुशासन कायम राख्दै उच्चतम प्रतिफल प्रदान गर्न सकिनेमा पनि उनले आशा व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्त्वपूर्ण कदम भएको बताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे । नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनीमार्फत ५ अर्ब रुपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, 'यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ । यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ ।' कम्पनीका सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै, लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पु¥याएको बताए । उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन् । कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको अग्रवालले बताए । नेपाल लाइफको मुख्य उद्देश्य बीमा सेवा प्रदान गर्नु हो भने उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको अग्रवालको भनाइ छ । नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, नविकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागत रुपमा लगानी विविधिकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्रष्ट पारेका छन् । उनका अनुसार लगानी एक पटकमा हुने प्रक्रिया होइन, जहाँ जोखिम पनि सँगै आउँछ । त्यसैले लगानीको राम्रो व्यवस्थापन, नियमित अनुगमन र सटिक निर्णयको लागि छुट्टै दक्ष जनशक्ति र विशेषज्ञ टिम आवश्यक हुने देखिएपछि कम्पनीले छुट्टै संस्था स्थापना गरेको हो । नेपाल लाइफले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए । यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना रहेको उनले बताए ।
नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरुवात
काठमाडौं । होम एप्लायन्सेस प्रदायक नोबेल इलेक्ट्रोनिक्स नेपाल र एनबीएससीले नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरुवात गरेको छ । दक्षिण एसियामा पहिलो पटक प्रवेश गरेको मेजर एण्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित ब्राण्ड हो । नोबेलका ब्राण्डले २६ भन्दा बढी देशहरुमा आफ्ना उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको कम्पनीको दाबी छ । ‘परिवारलाई एकसाथ ल्याउने’ नारासहित नोबेलले सधैं गुणस्तर,भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिने गरेको नोबेल इलेक्ट्रोनिक्सकी महाप्रबन्धक सञ्चिता कार्कीले जानकारी दिइन् । उनले आधुनिक परिवारको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्ने दाबीसमेत गरे । नोबेल होम एप्लायन्सेस विश्वभर २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्तालाई गुणस्तरीय, भरपर्दो सेवा र नवप्रवर्तनका रूपमा परिचित छ ।
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिएको छ । आज कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त पोखरीको अनुगमन गर्दै निर्देशन दिएका हुन् । पौडी पोखरी, उद्यानको पूर्वाधार, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय अवस्थाको सुधारसँगै बालाजुलाई उत्कृष्ट गन्तव्य बनाउने काम एकैसाथ अगाडि बढाइने उनको भनाइ छ । शहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार उद्यानको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 'पुनःनिर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमता भएको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो', पुनःनिर्माण कार्यका बारेमा जानकारी दिँदै सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, 'पौडीपोखरी गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरी पुनःनिर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ ।' पौडी सञ्चालन गर्न सङ्घसँग सम्झौता पौडी पोखरी सञ्चालन गर्न कामपाले उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले नेपाल पौडी सङ्घसँग सम्झौता गरेको छ । सम्झौताबमोजिम सङ्घले एकजना वरिष्ठ जीवनरक्षक, एकजना महिला अनिवार्यसहित तीनजना जीवनरक्षक, एकजना पानी प्रशोधन प्राविधिकसहित पाँचजना जनशक्ति उपलब्ध गराउने छ । कामपाले तोकेको पोखरी सञ्चालन हुने दिनमा सेवाग्राही आउनुभन्दा १० मिनेट अगाडि नै जनशक्ति पोखरीमा पुगिसक्नुपर्नेछ । समय सकिएपछि कार्यालय प्रमुखलाई दैनिक कामको विवरण दिएर फर्किनु पर्नेछ । धार्मिक तथा प्राकृतिक दुवै कोणबाट पवित्र मानिने नागार्जुन डाँडाको फेदमा बालाजु बाइसधारा उद्यान छ । मन्नादी देवीसँगै उद्यान क्षेत्रमा शीतलामाई देवी, बुद्ध, गणेश, रत्नचुडेश्वर महादेवको मन्दिर तथा उद्यानको पूर्वतिर रहेको सानो कुण्डका शेषनागमाथि सुतेका बालनीलकण्ठ रहेका छन् । उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण भएका थिए । पछि रणबहादुर शाहले बीचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । विसं २०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण गरिए पनि २०२१ सालदेखि सर्वसाधारणलाई खुला गरिएको हो । विसं २०७२ को भूकम्पले पोखरीको चर्किएपछि चुहिने भएको थियो । रासस