विकासन्युज

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार सिंहदरबारमा बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू :  सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने ।   विद्युत उत्पादन, प्रशारण र वितरण लगायतका विभिन्न आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने । इनरुवा पूर्णीया ४ सय के। भि। अन्तरदेशीय प्रशारण लाइन तथा दोधारा ९बरेली ४०० के। भि। अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुई वटा संयुक्त कम्पनीहरू स्थापना गर्ने र उल्लिखित दुई वटा संयुक्त कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणबाट क्रमशः एक अर्ब तथा दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने ।  नेपाल र भारतबिच पारस्परिक कानूनी सहायता सन्धिसम्बन्धी एग्रिमेण्ट बिटुइन द गभमेंण्ट अफ नेपाल एण्ड गभमेण्ट अफ द रिपब्लिक इण्डिया अन म्युचअल लिगल एसिस्टेन्स म्याटर्स विषयक सम्झौता स्वीकृत गर्ने ।  नेपालले अन्य मुलुकसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानूनी सहायता सन्धि गर्न वार्ताको लागि प्रश्ताव गर्नेसम्बन्धी ट्रिटी अन म्युचअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स स्वीकृत गर्ने ।  विशेष अदालतमा कार्यरत नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका रजिस्ट्रार श्री जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने ।   उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री चन्द्रवहादुर सारूलाई सो अदालतको कामकाजसमेत गर्ने गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने । २०८२ असोज ३१ मा भारतमा सञ्चालन हुने दिक्षान्त परेड समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहलाई सहभागी हुन स्वीकृति दिने ।  मित्रराष्ट्रहरू चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतको रुपमा कार्यरत नेपाली राजदूतहरुलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने ।  २०८२ कात्तिक १७ र १८ मा भारतको नयाँदिल्लीमा आयोजना हुने सेकेण्ड एशिया प्यासिफिक इकमर्स पोलिसी समिट, २०२५ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री लक्ष्मीकुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।  कार्यक्रमहरूको सत्या ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका आ।व। २०८२र८३ का लागि अधिकृतस्तरका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।  नेपाली सेनातर्फ एकजना रथीको सरुवा गर्ने, एकजना उपरथीको रथीमा बढुवा गर्ने, पाँचजना सहायक रथीहरूको सरुवा गर्ने र पच्चीसजना महासेनानीहरूको सरुवा गर्ने ।  २०८२ कात्तिक १७ देखि २१ गतेसम्म भियतनामको हनोईमा आयोजना हुने आइएइए टेक्निकल कोप्रेशन प्रोजेक्ट, आरएएस ७०४३, रेजिनल मिड टिम रिभ्यु मिटिङ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री विश्ववावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने ।  २०८२ कात्तिक ९ देखि ११ गतेसम्म इण्डोनेसियामा आयोजना हुने ४५ औं सिटीनेट एक्ज्युकिटिभ कमिटी मिटिङमा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति दिने ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अध्ययन निर्देशक पदमा लोक सेवा आयोगका सहसचिव श्री यज्ञप्रसाद ढुङ्गेललाई काजमा पठाउन स्वीकृति दिने । २०८२ कात्तिक १६ देखि २३ गतेसम्म संयुक्त अधिराज्यको लण्डनमा आयोजना हुने वल्र्ड ट्राभल मार्के, २०२५ मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री हरिप्रसाद मैनालीलाई सहभागी हुन स्वीकृति दिने ।  २०८२ कात्तिक २६ मा गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ग्लोवल आइसिटी लिडरसिप फोरममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जगदीश खरेललाई स्वीकृति प्रदान गर्ने ।  त्रिभूवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रङ्गशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने ।  नेपाल न्याय सेवा, सरकारी वकील समूहका का।मु। नायबमहान्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने ।  नेपाल न्याय सेवा, सरकारी वकील समूहका बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री सूर्यराज दाहाललाई महान्यायाधिवक्ताको कार्यालयको नायबमहान्यायाधिवक्ता पदमा सरुवा गर्ने । 

सिंहदरबारको आगो सेनाले किन निभाएन ? यस्तो दियो जवाफ

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे धारणा सार्वजनिक गरेको छ ।  शुक्रबार पत्रकारसँग कुरा युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले सो घटनाबारे सेनामाथि उठेको प्रश्नहरुको जवाफ दिँदै भने, ‘राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो ।’ उनले  स्थिति तनावपूर्ण भएको र सेनाले कम घातक नीति अपनाएको बताए । उनले २ पटक सिंहदरबार छिर्न खोज्नेलाई सेनाले फर्काएको पनि धारणा राखेका छन् ।  उनले कुनै पनि नागरिकमाथि प्रत्यक्ष आक्रमण नगरेको पनि स्पष्ट पारे । सेनाले त्यतिबेला राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय  र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई मुख्य प्राथमिकता दिएर सुरक्षामा ध्यान केन्द्रित गरेको उनले बताए । उनका अनुसार, सेनाका जवान र दमकल टोली निरन्तर प्रयासरत रहेर आगो निभाउने क्रममा अर्थ मन्त्रालयको डेटा सेन्टर अन्ततः जोगाउन सफल भएका  बताए । 

काठमाडौंमा ९ बजेपछि देउसी–भैलो खेल्न निषेध

काठमाडौं । काठमाडौं जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध गरिएको छ। शुक्रबार (आज) जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो । जिप्रकाले मर्यादित ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरेको छ । 

ओली भन्छन् : फागुनको चुनावमा सहभागी हुन्नौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने बताएका छन् । शुक्रबार सम्मपन्न भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।  उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे पनि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उनको प्रतिवाद गरेका छन् । 

एमालेको १०औं केन्द्रीय कमिटी बैठकमा आत्मसमीक्षा र बहस, ओलीले गरे नेतृत्व हस्तान्तरण गर्ने संकेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलमा मंसिरमा महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । एमालेले आफ्नो ११ औ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा गर्ने भएको छ । नेपालको समसामयिक राजनीतिक परिदृश्य, विशेषतः भदौ २३ को जेनजी प्रदर्शन पछिको यो बैठक पार्टीका लागि गहिरो समीक्षा, चिन्तन र पुनर्संरचनाको अवसर बन्न पुगेको छ । यो बैठक केवल आन्तरिक छलफलको औपचारिकता मात्रै थिएन, यसले एमालेको भविष्यको दिशा, नेतृत्वको मर्म र संगठनात्मक आधारमा पुनरावलोकन गर्ने महत्त्वपूर्ण क्षण सिर्जना ग‍रेको एमाले नेताहरूले बताउँछन् । बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन, संगठनात्मक समीक्षा, आगामी महाधिवेशनको तयारी मुख्य कार्यसूची थिए । यस्तै, समसामयिक राजनीतिक मूल्यांकनका विषयमा एमाले नेताहरूले खुलेर छलफल गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक सम्बोधनमा पार्टीलाई अनुशासित, समर्पित र व्यवहारिक ढंगले अघि बढाउने विषयमा जोड दिए । उनले स्पष्ट रूपमा भनेका छन्, ‘हामी केवल प्रतिक्रिया होइन, नेतृत्वको जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा छौं ।’ बैठकमा पोलिटब्युरो र स्थायी कमिटीसहित १५० भन्दा बढी केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । पहिलो दिनमै ५० जनाले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । बैठकमा उठेका विचारहरू बौद्धिक, आत्मसमीक्षात्मक र केही स्थानमा आलोचनात्मक पनि रहेको नेताहरूले बताएका छन् । अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भदौ २४ को प्रदर्शनलाई राष्ट्र, संविधान र लोकतन्त्रविरुद्धको सुव्यवस्थित षड्यन्त्रका रूपमा व्याख्या गर्दै त्यसलाई प्रतिगमनको निरन्तरता भएको बताए ।  तर केही नेताहरूले यो विश्लेषणलाई अति एकपक्षीय भएको ठहर गर्दै जनआक्रोशलाई बुझ्ने प्रयास हुनु आवश्यक रहेको धारणा राखे । जनमत, असन्तुष्टि र विरोधको प्रकृतिलाई समग्र रूपमा अध्ययन गर्नुपर्ने सुझाब पनि बैठकमा आएको अर्का एक नेताले बताए । ती नेताका अनुसार भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र राजनीतिक जवाफदेहिताका सवाल बैठकमा विशेष रूपमा उठेका थिए ।  ओलीको प्रतिवेदनले कानुनी संरचना सुदृढीकरण र निष्पक्ष कारबाहीका विषय उठाए पनि नेताहरूको चिन्ता थियो– कथन धेरै, काम कम भयो । धेरैजसो नेताका धारणा कार्यान्वयन तहमा ध्यान केन्द्रित गर्नुपर्ने पक्षमा केन्द्रित रहेको ति नेताले बताए । बैठकमा केही सदस्यहरूले प्रत्यक्ष रूपमा ओलीको नेतृत्व अब बोझ हुँदै गएको भन्दै वैकल्पिक नेतृत्वबारे सोच्नुपर्ने र त्यसका लागि ओलीले मार्ग प्रशस्त गर्नुपर्ने रायसमेत राखेको नेताहरूले बताएका छन् ।  अध्यक्ष ओलीले त्यसप्रति प्रतिक्रिया दिँदै भने, ‘सामाजिक सञ्जालले भनेर होइन, पार्टीको निर्णयले म पदमा बस्ने या नबस्ने हो । यदि केन्द्रीय कमिटीले निर्णय ग‍र्यो भने म एक मिनेट पनि यो कुर्सीमा बस्दिनँ ।’ अध्यक्ष ओलीले अहिल्यै राजीनामा नदिनेसमेत बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई समापन सम्वोधन गर्दै ओलीले आफ्नो काँधमा केही जिम्मेवारी रहेको दोहोर्‍याए । ओलीले भने, ‘मेरो काँधमा केही जिम्मेवारी छन्, ती पुरा नहोउञ्जेल राजीनामा दिन्नँ ।’ ओलीले महाधिवेशनको फैसला मान्ने भन्दै महाधिवेशन पछि नेतृत्व हस्तान्तरण गर्न सक्ने संकेत गरे ।

ओलीले गरे महाधिवेशन पछि नेतृत्व हस्तान्तरण गर्ने संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।  केन्द्रीय कमिटी बैठकलाई समापन सम्वोधन गर्दै ओलीले आफ्नो काधमा केही जिम्मेवारी रहेको दोहा¥याए । ओलीले भने, ‘मेरो काँधमा केही जिम्मेवारी छन्, ती पुरा नहोउञ्जेल राजीनामा दिन्नँ ।’ ओलीले महाधिवेशनको फैसला मान्ने भन्दै महाधिवेशन पछि हस्तान्तरण गर्न सक्ने संकेत गरे।

नेपाली क्रिकेट टोलीका खेलाडीलाई सन नेपाल लाइफले दियो ३० लाखको बीमा उपहार

काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँको बीमा सुरक्षा प्रदान गर्ने भएको छ ।  यस अन्तर्गत राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा सुविधा र नेपालकै पहिलो इमर्जेन्सी मेडिकल सुविधा सन मेडिकेयर समावेश हुनेछ । जसले खेलाडीहरूलाई आकस्मिक दुर्घटनाबाट पनि स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।  यसले खेलाडीहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास कम्पनीले लिएको छ ।

एक महिनादेखि कार्यालय नगएका सीईओ चापागाईं ब्रोकरको कार्यक्रममा देखिए

काठमाडौं । विगत एक महिनादेखि कार्यालय हाजिर नभएका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईं शुक्रबार एउटा कार्यक्रममा देखिएका छन् । उनी शुक्रबार स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) को दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनी सहभागी भएका हुन् । नेप्सेका कर्मचारीहरुले विभिन्न माग राख्दै अध्यक्ष हेमन्त बस्याल र सीईओ चापागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । कर्मचारीले कार्यालय प्रवेश गर्न नदिइएपछि सीईओ चापागाईं घरमै बसिरहेका थिए । एक महिनापछि उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।  कर्मचारीहरुले अध्यक्ष बस्याल र सीईओ चापागाईंको नियुक्तिका विषयमा छानबिन गर्न माग गर्दै विगत करिब एक महिनादेखि विरोधमा छन् ।   नेप्से कर्मचारी संघले शुक्रबार नै विज्ञप्ति जारी गर्दै कानुनतः पाउनुपर्ने ५ प्रतिशत बोनस माग गरेका छन् । यो मुद्दा अहिले सर्वोच्च अदालतमा समेत पुगिसकेको छ ।