विकासन्युज

विराटनगरमा कियाको शोरुम सञ्चालन, भोलिदेखि ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’ सुरु

काठमाडौं । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’ का अधिकृत विक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा शोरुम सञ्चालनमा ल्याएको छ ।  कम्पनीले नयाँ ‘किया सीआई २.०’ मापदण्ड अनुसार अपडेटेड शोरुम खोलेको हो।  कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अटो डिभिजनका असिस्टेन्ट जनरल म्यानेजर मन्जीतकुमार पोखरेल, काठमाडौं शोरुम गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने र नयाँ विराटनगर शोरुमका शोरुम इन्चार्ज कुशल लामिछाने लगायतका उपस्थित थिए । नेपालको पूर्वी क्षेत्रमा कियाको उपस्थिति र पकड विस्तार बढाउन विराटनगरमा शोरुम आवश्यक परेको पोखरेलले जानकारी दिए । यो नयाँ शोरुममा विश्वविख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाका नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् । सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ ।  असार १४ देखि १६ सम्म (जुन २८ देखि ३० सम्म) चल्ने ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’ मा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिने जनाइएको छ । सो अवसरमा एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागू हुनेछ । त्यसैगरी, गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ ।  कम्पनीले क्याम्पमा बिक्री हुने गाडीमा रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बीमा आफैले बेहोर्ने नीति लिएको छ । विश्वभर ख्याति कमाएका दक्षिण कोरियाली ब्रान्ड कियाका सवारीसाधनहरु ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् ।   

उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र चिकित्सकलाई ५७ लाख बढीको जरिवाना

काठमाडौं ।  उपभोक्ता अदालतले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई जरिबाना तिराएको छ ।  उपभोक्ता अदालतले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।  सेवाग्राही वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराएकी थिइन् ।  वर्षाले दायर गरेको मुद्दाअनुसार चिकित्सकले दुईपटक अपरेसन गरेका थिए । तर निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी हुन् ।  अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आन्दराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।  अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ  डा. सञ्जीव त्रिपाठी र ३० प्रतिशत अर्थात् १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डीसिटी हस्पिटलले बेहोर्नुपर्ने छ ।  क्षतिपूर्ति भराउने फैसला गरेको अदालतले जनाएको छ । मुद्दामा अदालतले लापरबाहीको तुलनात्मक दायित्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ)ले पहिलोपटक टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न गरेको छ । नेपालका युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने, आपसी व्यापारिक सहकार्यको सम्भावना खोज्ने र नेपालको उद्यमशीलतालाई विश्वव्यापी र"पमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो भ्रमण गरिएको हो । सीएनआईवाईएफका अध्यक्ष आशीष अग्रवालको नेतृत्वमा आठ जना युवा उद्यमीहरूले टर्कीमा विभिन्न व्यवसायिक संस्था, उद्योगी तथा उद्यमीसँग भेटघाट तथा छलफल गरे। निर्माण, सूचना प्रविधि, स्वास्थ्य, वित्त, व्यापार तथा सेवा, कृषि, र पर्यटनजस्ता विविध क्षेत्रका उद्यमीहरू सहभागी उक्त टोलीले व्यापार, लगानी तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्यका अवसरहरू खोजी गरेको छ । नेपाली युवा उद्यमी प्रतिनिधिले टर्कीका प्रमुख व्यवसायिक संघ संस्थाहरू इस्तानबुल चेम्बर अफ कमर्श, टर्कीका युवा व्यवसायीहरूको संस्था टीयूजीआईएडी, अनातोलियन लायन्स व्यवसायी संघ, स्वतन्त्र उद्योगी तथा व्यवसायीहरूको संस्था एमयूएसआईडीसँग दुई देशबीचको साना तथा मझौला उद्योग (एसएमई) बीच सहकार्य, व्यापार प्रवर्द्धन र लगानी सम्भावना, उत्पादन व्यापार, कृषि प्रशोधन र औद्योगिक सहकार्य, निर्माण, पूर्वाधार तथा प्रविधिका क्षेत्रमा संयुक्त लगानी र सहकार्यका विषयमा छलफल गरे ।  त्यस्तै, दुई देशका युवा उद्यमीहरूलाई आपसी बीटूबी नेटवर्क बनाउने अवसर समेत प्राप्त भएको छ । सीएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालले भ्रमण निकै जानकारीमूलक र प्रेरणादायक रहेको बताए । यसले दीर्घकालीन साझेदारी, अन्तर्राष्ट्रिय सिकाइ र नयाँ बजारका अवसरहरूका लागि ढोका खोलिदिएको उनले बताए । टर्कीका व्यवसायिक संघ संस्थाबाहेक पनि मञ्चले टर्कीस्थित गैरआवासीय नेपाली समुदायका सदस्यसँग अन्तरक्रिया गरेको थियो ।  सो अवसरमा डायस्पोरा लगानी, सल्लाहकार भूमिका, तथा गैर आवासीय नेपालीहरूले नेपालमा बढ्दै गएको स्टार्टअप इकोसिस्टममा खेल्न सक्ने भूमिकाको विषयमा छलफल भएको छ ।  

सेरेसको मनसुन एक्सचेन्ज क्याम्प सुरु

काठमाडौं ।  सेरेस नेपालले मनसुन एक्सचेन्ज क्याम्प सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको क्याम्प १८ सम्म चल्ने जनाइएको छ ।  जसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू एक्सचेन्ज गर्दै सेरेस ३ मा अपग्रेड गर्ने अवसर पाउनेछन् । यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो । योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेशछन् । आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ।  सेरेस चीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरू मध्ये एक हो । यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शोरूमहरूमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुनेछ । 

यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुँदैछ । ‍ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनितक एसईईको नतिजा एसएमएस र विभिन्न वेबसाइटमार्फत नतिजा सजिलै हेर्न सकिने जनाएको छ ।  नेपाल टेलिकमको एसएमएस, युएसएसडी र आइभी आरमा १६०० मार्फत नतिजा थाह पाउन सकिनेछ भने जानकी टेक्नोलोजी प्रालि ३५००१ मा एसएमएस गर्दा पनि नतिजा हेर्न सकिने छ ।  यस्तै आकाश टेक प्रालि ३१००३ मा एसएमएस, स्वीफ टेक्नोलोजी प्रालि ३४४५५अल स्टार आइटी सोलुसन्स प्राली ३४९३४९ मा एसएमस गर्दा मोबाइलमा सहजै तरिकाले नतिजा हेर्न सकिने छ । यस्तै विभिन्न वेवसाइटमार्फत पनि नतिजा हेर्न सकिने छ ।  जसमा राष्ट्रिय परक्षिा बोर्ड , परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेभसाइट www.see.gov.np, राष्ट्रिय परक्षिा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेशन लिमिटेड, इडियू सञ्जाल प्रालिको www.see.edusanjal.com, इसेवा लिमिटेड see.esewa.com.np, खल्ती प्रालि https://khalti.com/, कलेज इन्फो नेपाल प्रालि collegeinfonepal.com/see, द कनेक्ट प्लस प्रालि https://www.theconnectplus.com, बाह्रखरी मिडिया प्राली www.12khari.com, कलेज नेपाल प्रालि https://www.collegenepal.com.see_result/, एनसेल आजियाटा लिमिटेड https://www.ncell.com.np/en , स्विफ्ट टेक्नोलोजी प्राली https://swifttech.com.np/see-result/, निमा एजुकेशन फाउण्डेशन https://result.neemaacademy.com र स्मार्ट कार्ड प्राली seemypay.com.np मार्फत पनि नतिजा हेर्न सकिने छ ।

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार २५औं हप्तामा प्रवेश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस मनाएको छ। बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो ।  बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको थियो ।  ‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।  अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजारको २५औं हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाटबजारले त्यस्ता उद्यम व्यवसायको प्रवद्र्धनमा विशेष योगदान पुर्‍याउने बताए । उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको बताए ।  साथै उनले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए।  ‘हामीले सानो तथा सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार आजसम्म आइपुग्दा व्यापक भइसकेको छ । साथै यो हाटबजारले नेपालको अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गर्ने र उत्पादकलाई हौसला प्रदान गर्नेछ,’ उनले भने । हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरुपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका दुई दर्जन बढी कृषक तथा व्यवसायीहरुका उत्पादन/सामग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ ।  आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

विद्युतीय चुरोट भेप आयात तथा बिक्री वितरणमा अवरोध नगर्न उच्च अदालतको आदेश

काठमाडौं । विद्युतीय चुरोट भेप आयात तथा विक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउने नपाउने भएको छ ।  स्वास्थ्य मन्त्रालयले विद्युतीय चुरोट (भेप) मा प्रतिवन्ध लगाउन खोजेपनि उच्च अदालतले त्यस्तो खाले कुनै रोकतोक नगर्न सरकारलाई आदेश दिएको हो । उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले भेप आयात तथा विक्री गर्न बाटो खुला गरिदिएको हो । अदालतले कुनै अवरोध नगर्न सरकारलाई भनेको छ ।  अर्थ मन्त्रालय, भन्सार विभाग लगायतले भेपको आयात रोकेको भन्दै भेपमान्डु ट्रेडर्सले सञ्चार र अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भन्सार तथा वाणिज्य विभाग समेतलाई विपक्षी बनाएर उच्चमा रिट दायर गरेको थियो ।  विद्युतीय चुरोट वा भेप प्रतिवन्धको प्रयास स्वरूप स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले प्रतिवन्ध लगाउँदै संवद्ध निकायहरूलाई परिपत्र समेत गरेको थियो ।   सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाउने छैन’ भनी उल्लेख भएकाले सोको पालना गराउन पत्राचार गरिएको केन्द्रले बताउँदै आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई परिपत्र गरिएको केन्द्रले गरेपनि उच्च अदालतको हालैको आदेशले त्यसरी नरोक्न सरकारलाई भनेको हो ।  पछिल्लो समय भेपप्रतिको लत बढेर गएको देखिन्छ र नेपालमा पनि चीनसँग जोडिएको रसुवा र तातोपानीबाट आयात हुने गरेको छ ।  भेपबाट गत आर्थिक वर्षमा २३ करोडभन्दा बढी राजस्व संकलन गरेको थियो । स्वास्थ्य मन्त्रालयले गरेको पत्राचारका आधारमा भन्सारहरुले भेपको जाँच पास गरेका थिएनन् । तर निकासी–पैठारी अनुमति दिने वाणिज्य विभागले भने मौन देखिँदै आएको थियो । स्वास्थ्य मन्त्रालयको पत्राचारको आधारमा जाँच पास रोकिँदै आएको थियो । जाँचपास रोकिएपछि चोरी पैठारी बढेको थियो । खासगरी आयातित भेपको ठूलो परिणाम दक्षिणी नाका भएर भारत जाने गरेको आशंको छ । पछिल्लो समय मुस्ताङको कारोला नाकाबाट पनि भेपको चोरी पैठारी हुने गरेको छ । प्रहरीले गत पुसमा मुस्ताङबाट १९ हजार थान भेप बरामद गरेको थियो । गत पुसमा इमाडोलको गोदाममा करिव २५ करोडको  ८६ हजार थान भेप जफत गरिएको थियो ।  

निजी विद्यालयलाई लोककल्याणकारी र गैरनाफामूलक बनाउने सहमति

काठमाडौं । निजी विद्यालयलाई सेवामूलक, लोक कल्याणकारी हुँदै गैरनाफामूलक गर्ने गरी संसदीय समितिमा सहमति जुटेको छ । निजी विद्यालयका बारेमा शुक्रबार विहानसम्म सांसदहरूबीच मत बाझिएको थियो ।  असार १५ आउन दुई दिनमात्र बाँकी रहँदा विद्यालय शिक्षा विधेयकमाथि छलफल तीव्र रूपमा भइरहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबारदेखि शुक्रबारसम्म तीव्र रूपमा छलफल गरिरहेको हो ।  बिहीबार दिनभरि पनि सांसदहरू छलफलमा व्यस्त थिए भने शुक्रबार पनि बिहानैदेखि छलफल जारी रहेको पूर्वशिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बताए । उनका अनुसार विवादित विषयमा बुधबारदेखि लगातार छलफल सुरु भइरहेको छ ।  बिहीबार निजी विद्यालयको विषय छलफल भएको थियो भने शुक्रबार यो विषय टुंगोमा लगाइ प्रारम्भिक बालविकास (इसीडी) का विषयमा छलफल सुरु भएको छ । समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए । यसमामा सांसदहरुले आआफ्ना तर्कसमेत राखेका थिए । त्यसपछि निजी विद्यालय सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामुलक बनाएर जाने गरी उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । इसीडीमाथि छलफल हुँदै निजी विद्यालयको विषय संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भइसकेपछि समितीको बैठकमा अहिले प्रारम्भिक बाल विकास (इसीडी) का बारेमा छलफल सुरु भएको छ । इसीडीलाई विद्यालयभित्र ल्याउनेकी छुट्टै बनाउने भन्ने विषयमा सहमति नजुटेकोमा अहिले सांसदहरू यो विषयमा धारणा राखिरहेका छन् ।  पूर्वशिक्षामन्त्री एवं एमाले सांसद विद्या भट्टराई इसीडीलाई विद्यालय संरचनामा ल्याउनुपर्ने बताउँछिन् । त्यसैगरी, पूर्वशिक्षामन्त्री एवं रास्वपाकी सांसद सुमना श्रेष्ठले बालविकासलाई विद्यालय शिक्षा संरचनामा मै राख्नु पर्न बताउँदै निजी र सामुदायिक बीच विभेद हुन नहुने बताइन् । इसीडीमा अहिले ३२ हजार सहजकर्ता छन् ।