विकासन्युज

५२ करोडमा दरवाङ–मुना सडक कालोपत्र हुँदै, म्याग्दीको सबैभन्दा ठुलो आयोजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरान्नतिसम्बन्धी आयोजना कार्यान्वयनमा आएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक ५२ करोड बढीको लागतमा कालोपत्र गर्न लागिएको हो । गण्डकी प्रदेशसभाका सांसद रेशमबहादुर जुग्जालीले पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनी छनोट गरी ठेक्का सम्झौता गरेपछि सडक स्तरान्नतिसम्बन्धी आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए । 'मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो', उनले भने, 'आयोजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र झिनडाडा–मुना (चार किलोमिटर) अस्फाल्ट प्रविधिको कालोपत्रसहित ढलान हुुनेछ ।' गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका आयोजनामध्ये यो सबैभन्दा ठूलो र बढी बजेटको रहेको जुग्जालीले जानकारी दिए । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले प्रशासनिक खर्चबाहेक रु ६७ करोड लागत अनुमान गरिएको आयोजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सिम्रन/सक्षम जेभीले सबैभन्दा कम ५२ करोड ८० लाख ५३ हजार बोलकबोल गरेपछि यही असार ११ गते ठेक्का सम्झौता भएको जानकारी दिए । 'सङ्घीय र प्रदेश सरकारको (समपूरक) ५०/५० प्रतिशत लागत साझेदारी रहने यस आयोजनाको ठेक्का अवधि २७ महिनाको छ', उनले भने, 'सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २४ बजेट विनियोजन गरेको यस आयोजनाका लागि आगामी आवका लागि रु २३ करोड २२ लाख विनियोजन भएको छ ।' केहीदिनमा कार्यक्षेत्रमा परिचालित भएर सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थाल्ने ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किमी दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । उक्त आयोजनाको निर्माण कम्पनी रामसागर/बिएस धवलागिरि जेभीले करिब ५५ प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेका बेला विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक आयोजनामा समावेश गराउने निर्णय गराएका थिए । 'बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किमी सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ', जुग्जालीले भने, 'अबको तीन वर्षभित्र दरवाङबाट मुनासम्मको सडक पक्की बनाउने छौँ ।' मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको केही दिनअघि मार्ग खुलेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । सङ्घीय सरकारले मरेनीबाट जलजला ढोरपाटन जोड्ने सडकका लागि चालु आवमा विनियोजन गरेको ६ करोड ५० लाख बजेटले आयोजनामार्फत सडकको मार्ग खोल्न ठेक्का लगाइएको थियो । रासस

एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने सरकारको लक्ष्य : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६५ देखि ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी योजना अघि बढाउने बताएका छन् । शनिबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले हालै सार्वजनिक एसईईको नतिजालाई लिएर केही व्यक्तिले विद्यार्थीको मेहनत र क्षमतालाई अपमान गर्ने किसिमले टिप्पणी गरेकोप्रति आपत्ति जनाए । 'विद्यार्थीको मेहनतको अपमान गर्ने कुरा दुःखद छ,' उनले भने । यस वर्ष एसईईको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएर ६१.८१ प्रतिशत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसलाई सुखद उपलब्धि भनेका छन् । '४८ प्रतिशतभन्दा कम नतिजाबाट ६१.८१ प्रतिशत पुर्याउन मेहनत गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई धन्यवाद दिन चाहन्छु,' उनले भने । प्रधानमन्त्रीले आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरू फेल नहुने जस्तो शैक्षिक वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिने स्पष्ट पारे । 'विद्यार्थीले मेहनत गरेर आफ्नो भविष्य बनाउने क्षमता राख्छन्, सरकारले त्यस्तो वातावरण बनाउँछ,' उनले भने ।

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३.८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए । विद्यालयबाट सो परीक्षामा ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको उनको भनाइ छ । मुलुक बाहिरको एक मात्र नेपाली पाठ्यक्रमअनुसार अध्ययन हुने उक्त विद्यालयबाट पाँचौँ समूहले एसइई परीक्षा दिएको थियो । उक्त विद्यालयमा नेपाल, भारत, बङ्गलादेश, जापान र जाम्बियाका ५०० बढी विद्यार्थी अध्ययनरत छन् । पाँच वर्षमा सो विद्यालयबाट ११३ जनाले एसइई उर्तीण गरिसकेको पनि प्रधानाध्यापक भट्टले बताए । जापानमा रहेका नेपाली समुदायको पहलमा सो विद्यालय सञ्चालनमा आएको हो । सन् २०१३ सालमा स्थापना भएको उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तरराष्ट्रिय विद्यालय सरहको मान्यता दिएको छ । त्यस विद्यालयले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ मा पनि अध्ययन गराइरहेको छ । एभरेष्ट स्कूलले टोकियो कै आराकावा सहरमा नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने गरी नयाँ विद्यालयसमेत खोलेको प्रधानाध्यापनक भट्टले जानकारी दिए । रासस

हामी मिसन ८४ अग्रसरमा छौँ, अवरोध गर्नेको हिसाबकिताब हुनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशनमा लागेको टिप्पणी गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने बताए । ‘हामी अर्जुनदृष्टिका साथ मिसन–८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन’, अध्यक्ष ओलीले भने, ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’ प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गत वर्षको भन्दा १४ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए । प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसइईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी दिए ।

उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म संसद अवरोध जारी राख्ने जनाएको छ । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको रास्वपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका सांसद हरिप्रसाद ढकालले सरकारले बनाएको छानबिन समिति मात्र झारो टार्ने र मुद्दा ओझेल पार्ने उद्देश्यका साथ बनेको आरोप लगाए । उनले भने, 'यो समितिलाई हामीले मानेका छैनौँ । हाम्रो माग उच्चस्तरीय छानबिन समिति हो। त्यो गठन नभएसम्म आन्दोलन जारी रहन्छ ।' सांसद ढकालले रास्वपाले उठाउँदै आएको ‘भिजिट भिसा मार्फत मानव तस्करी’ प्रकरणको गम्भीर अनुसन्धान हुनुपर्ने माग गर्दै सरकार प्रमुखले यसप्रति बेवास्ता गरेको टिप्पणी गरे । '३४ दिनसम्म चौथो ठूलो दलले नागरिकको आवाज उठाउँदा समेत प्रधानमन्त्रीले चासो नदिएको' भन्दै ढकालले आक्रोश पोखे । उनले समस्या समाधान गर्ने गरी प्रभावकारी आयोग गठन नगरेसम्म संसद अवरुद्ध राख्ने र आन्दोलन निरन्तर चलाइने स्पष्ट पारे । 'प्रधानमन्त्री बोल्नुहुन्छ, हाम्रो आन्दोलन पनि सँगै जारी रहनेछ,' ढकालले भने ।

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् ।  चौहत्तरौँ मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले शनिबार नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताएका छन् ।  प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औं जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।' आज एमाले र त्यसको जनवर्गीय सङ्गठनले तत्कालीन एमालेका महासचिव भण्डारीको ७४औं जन्मजयन्ती विविध कार्यक्रम गर्दै मनाउँदै छ ।   

२ लाख ५० हजार पुरस्कार सहित फुटबलर राजुकाजी र भलिबलकी अरूणा शाही सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् । शरदचन्द्र शाह स्मृति फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्य र शाहीलाई एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५ सहित नगद २ लाख ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । फाउन्डेसनकी अध्यक्ष रेणु शाहले दुवै खेलाडीलाई सम्मान हस्तान्तरण गरिन् । शरदचन्द्र शाहले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिवको जिम्मेवारी सम्हालेका थिए । उनलाई नेपालको सफल सदस्यसचिवका रूपमा स्मरण गरिन्छ । कार्यक्रममा पूर्वमन्त्री निरन्जन थापाले शाहको योगदान र नेतृत्व क्षमताको चर्चा गर्दै नेपाली खेलकुदको समृद्धिमा उनको भूमिकालाई स्मरण गरे । 'नेपाली खेलकुदले गरेको प्रगतिको फड्को नै शाहप्रति सच्चा श्रद्धाञ्जली हो,' उनले भने । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले पनि अरूणा शाहीको नेतृत्व र योगदानको प्रशंसा गर्दै, शरदचन्द्र शाहकै कार्यकालमा नेपाली खेलकुदमा धेरै विकास भएको बताए । कार्यक्रममा शाहका नाती शभिर शाहले पनि आफ्ना हजुरबुबाको सम्झना गर्दै आगामी दिनमा नेपाली खेलकुदको हितमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बागमती प्रदेशको बजेट : सबैभन्दा बढी काठमाडौं र मकवानपुरमा विनियोजन

मकवानपुर । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पूँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले ल्याएको बजेटको कुल ११.९ प्रतिशत बजेट काठमाडौं जिल्लामा परेको छ भने दोस्रोमा प्रदेश राजधानी समेत रहेको मकवानपुरमा १०.६  प्रतिशत बजेट विनियोजन भएको छ । यस्तै तेस्रो स्थानमा भने  नुवाकोट र काभ्रे जिल्लामा कुल बजेटको १०/१०  प्रतिशत बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । यसै गरी सिन्धुपाल्चोक जिल्लामा ८.४ प्रतिशत बजेट विनियोजन भएको छ । आर्थिक मामिला मन्त्री समेत रहेका दोलखा जिल्ला भने विनियोजित बजेटको ८.३ प्रतिशत बजेट विनियोजन भएको छ । आर्थिक मामिला मन्त्रीले आफ्नो जिल्लामा सबै बजेट लिएर गयो भन्ने आरोप रहेको समयमा मन्त्रीका जिल्ला भने बजेट परेको जिल्लामा पाँचौँ स्थानमा रहेको छ । यस्तै चितवनमा ७.५ प्रतिशत,सिन्धुलीमा ६.८ प्रतिशत, ललितपुरमा ६.७ प्रतिशत, रामेछाप जिल्लामा ६.१ प्रतिशत, धादिङमा ६.१ प्रतिशत, भक्तपुर जिल्लामा ४.८ प्रतिशत र रसुवा जिल्लामा २.८ प्रतिशत बजेट विनियोजित भएको छ । बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय , पर्यटन मन्त्रालय , खानेपानी मन्त्रालय, अन्तर्गतका विकास बजेट तर्फ ३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैंया बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । काभ्रेमा ३ अर्ब ३० करोड २५ लाख ७० हजार , चितवनमा २ अर्ब ४८ करोड ५८ लाख ४० हजार , दोलखा जिल्लामा २ अर्ब ७४ करोड ९९ लाख ५० हजार, धादिङमा २ अर्ब १ करोड ४० लाख ५० हजार, नुवाकोटमा ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार , भक्तपुरमा १ अर्ब ५९ करोड ९३ लाख, मकवानपुरमा ३ अर्ब ४९ करोड ८३ लाख , रसुवामा ९२ करोड ५२ लाख ९० हजार, रामेछापमा २ अर्ब ३ करोड ११ लाख ४० हजार, ललितपुरमा २ अर्ब २२ करोड ५४ लाख, सिन्धुपाल्चोकमा २ अर्ब ७९ करोड ९५ लाख ४० हजार र सिन्धुलीमा २ अर्ब २५ करोड ९६ लाख ८० हजार बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।