दुई करोड ५५ लाखको लागतमा फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै
काठमाडौं । जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् । सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ । दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिइन् ।
ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व
काठमाडौं । संसारभर विद्युत सवारीसाधन (ईभी) को संख्या तीव्र गतिमा बढेसँगै लिथियमको प्रयोग पनि बढिरहेको छ । विशेषगरी लिथियमको प्रयोग ब्याट्री निर्माणमा गरिन्छ । हाल अधिकांश लिथियमको उत्पादन अष्ट्रेलिया र चीनमा ‘हार्ड रक माइनिङ’ प्रविधिबाट गरिन्छ । अष्ट्रेलियामा सबैभन्दा बढी ४९ प्रतिशत लिथियम उत्पादन हुन्छ भने चीनमा १७ प्रतिशत उत्पादन हुन्छ । बाँकी लिथियम चिली र अर्जेन्टिनामा ‘ब्राइन’ (खनिजयुक्त नुनिलो पानी) प्रविधिबाट उत्पादन गरिन्छ । तर, आउँदो समयमा यो तरिका परिवर्तन हुनसक्छ । हाल ल्याटिन अमेरिका विश्व ऊर्जा रूपान्तरणको केन्द्रको रूपमा उदाउँदैछ, जहाँ विश्वको आधाभन्दा बढी लिथियम भण्डार रहेको छ । लिथियमलाई अहिले ‘नयाँ तेल’ भनिन्छ किनभने यो इलेक्ट्रिक सवारीसाधन र स्वच्छ प्रविधिका लागि अत्यन्तै आवश्यक मानिन्छ । विश्वभर अत्यधिक माग भएकै कारण यसलाई ‘ह्वाइट गोल्ड’ अर्थात् सेतो सुन पनि भन्ने गरिन्छ । दक्षिण अमेरिकाको ठूलो हिस्सा अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएस जिओलोजिकल सर्भे) का अनुसार दक्षिण अमेरिकी देशहरू बोलीविया, अर्जेन्टिना र चिलीले विश्वको सबैभन्दा ठूलो लिथियम भण्डारको हिस्सा ओगटेका छन् । बोलीवियामा अनुमानित २३ मिलियन मेट्रिक टन लिथियम रहेको छ भने अर्जेन्टिनामा पनि लगभग २३ मिलियन टन र चिलीमा ११ मिलियन टन लिथियमको भण्डार रहेको छ । यी तीन देश अहिले स्वच्छ ऊर्जा आपूर्ति श्रृंखला र स्रोत सुरक्षाका विषयमा विश्वव्यापी छलफलको केन्द्र बनेका छन् । संसार जीवाश्म इन्धन (पेट्रोल, डिजेल आदि) को सट्टा ब्याट्रीको विकल्पतर्फ बढ्दै जाँदा भूराजनीतिक ध्यान पनि अब तेल धनी मिडिल इस्टबाट लिथियम धनी देशहरूतर्फ सरेको देखिन्छ । अन्य प्रमुख लिथियम भण्डार भएका देशहरूमा अमेरिका (१९ मिलियन टन), अष्ट्रेलिया (९ मिलियन टन) र चीन (६.८ मिलियन टन) रहेका छन् । मूल्य कति ? लिथियम संसारकै सबैभन्दा नरम र हल्का धातुहरूमध्ये एक हो । यो धातु यति नरम हुन्छ कि चक्कुले सजिलै काट्न सकिन्छ र यो पानीमा पनि तैरन सक्छ । यसको विशेषता भनेको यो रासायनिक ऊर्जालाई विद्युतीय ऊर्जामा रूपान्तरण गर्न सक्ने क्षमता हो । हाल यसको प्रयोग स्मार्टफोनको ब्याट्रीदेखि लिएर ब्याट्रीले चल्ने लगभग सबै उपकरणमा भइरहेको छ । यही कारणले गर्दा लिथियमको विश्वव्यापी माग निकै उच्च छ । अन्तर्राष्ट्रिय बजारमा एक टन लिथियमको मूल्य १ करोड रुपैयाँसम्म पर्न सक्छ । विश्व बैंकको एक प्रतिवेदनअनुसार सन् २०५० सम्म विश्वभर लिथियमको माग ५०० प्रतिशतले बढ्नेछ । आगामी सम्भावना र चुनौतीहरू विश्वभर लिथियमको माग आकाशिँदै जाँदा यसले वातावरणीय, सामाजिक र राजनीतिक चुनौतीहरू पनि ल्याउने देखिन्छ । ब्राइन प्रविधिबाट लिथियम निकाल्दा जलस्रोतमा असर पर्न सक्छ भने हार्ड रक माइनिङले पारिस्थितिक प्रणालीलाई क्षति पुर्याउन सक्छ । दोस्रो तर्फ लिथियममा निर्भरता बढेसँगै यसको पुनः प्रयोग र वैकल्पिक ब्याट्री प्रविधिमा लगानीको आवश्यकता पनि तीव्र भएको छ । केही वैज्ञानिक समूहहरू ‘सोडियम-आयन’, ‘सोलिड-स्टेट वा ‘हाइड्रोजन सेल जस्ता नयाँ प्रविधिमा अनुसन्धानरत छन् जसले भविष्यमा लिथियममाथिको निर्भरता घटाउन सक्ने सम्भावना छ । लिथियम धातु मात्र नभइ अब अब ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र प्रविधिको अग्रगामी प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ ।
अब अरू विषय पढेकाले पनि शिक्षक बन्न लाइसेन्स परीक्षा दिन पाउने
काठमाडौं । अब शिक्षा संकाय बाहेकका विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरूले पनि शिक्षक लाइसेन्स (शिक्षक अध्ययन अनुमतिपत्र) को परीक्षा दिन पाउने भएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहका शिक्षकका लागि शिक्षा संकाय मात्रै पढेकाले अवसर पाउने व्यवस्था परिमार्जन गरी अन्य संकायका स्नातकलाई पनि लाइसेन्स परीक्षा दिन अवसर दिने सहमति गरेको हो । यद्यपि शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लाइसेन्स परीक्षा भने अनिवार्य हुने व्यवस्था कायम रहनेछ । यससँगै प्रत्येक शिक्षकले पाठ्यक्रम परिमार्जन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारद्वारा तोकिएको पुनर्ताजगी (रिफ्रेसर) तालिम अनिवार्य रूपमा लिनुपर्ने र त्यसकै आधारमा अध्यावधि हुने व्यवस्था समितिले पारित गरेको छ ।
चीनको सिगात्से सहरका मेयरसहितको टोली भरतपुरमा, सहकार्य विस्तारबारे छलफल
भरतपुर । चीनको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग भ्रमण टोली शनिबार भरतपुर आइपुगेको छ । भरतपुरको भगिनी सम्बन्ध रहेको सिगात्से सहरका मेयरसहितको टोलीलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्यालयमा स्वागत गरिन् । सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच दुई पालिका बीच सहकार्यलाई थप उचाई दिने विषयमा छलफल भएको थियो । भेटमा आपसी हित, दुई सहर र चीनबीचको गर्न सकिने सहकार्यको बारेमा छलफल भएको हो । प्रमुख दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा सधै सकारात्मक रहेको बताइन् । महानगरपालिका प्रमुख दाहालले भरतपुरको फोहर व्यवस्थापनमा सिगात्से सहर र चीनको सहयोग प्रस्ताव गरिन् । सिगात्से सिटिको सबै क्षेत्रमा भएको उच्च प्रविधिको प्रयोग, हरियाली सहर, समय व्यवस्थापन एवम् प्रभावकारी फोहर व्यवस्थापनको अभ्यास भरतपुर महानगरपालिकामा पनि क्रमिक रुपमा अगाडी बढाईरहेको बताइन् । 'विशेष गरी फोहर मैला व्यवस्थापनमा यहाँहरूको सहयोगको अपेक्षा समेत गरेका छौ,' उनले भनिन् । प्रमुख दाहालले चीनबाट भरतपुरमा धेरैभन्दा धेरै पर्यटक भ्रमणका लागि वातावरण निर्माण गर्न आग्रह गरिन् । यस्तै सिगात्से सहरका मेयर हुड्गले भरतपुर महानगरपालिकासँग थप व्यापारिक सम्बन्ध अघि बढाउन खोजेको उल्लेख गरिन् । भरतपुरमा उत्पादन भएका ग्रीन फार्मिङलाई सिगात्सेले आयात गर्न खोजेको उनको भनाई थियो । उनले भरतपुर प्राकृतिक रुपमा अति नै सुन्दर रहेकाले चीनबाट भरतपुर घुम्नका लागि पर्यटकलाई निमन्त्रणा दिने पनि बताइन् । सिगात्से र भरतपुरबीच गत वर्षको कार्तिक महिनामा भगिनी सम्बन्ध कायम भएको थियो ।
आज धान दिवश : वर्षभरि हिलो नछुने नेतालाई आज भ्याइ-नभ्याई
काठमाडौं । बाइसौं धान दिवसको अवसर पारेर थुप्रै नेता तथा सांसदहरूको धान रोपाँइ तथा हिलो खेल्ने कार्यक्रम तय भएको बताएका छन् । राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री , दलका नेता तथा कृषिमन्त्रीले धान दिवशको उपलक्ष्यमा शुधकामना दिइसकेका छन् । अधिकांश सांसद र नेताहरूले हिलो खेल्ने र विभिन्न धान रोपाँइसँग सम्बन्धित कार्यक्रममा सहभागी हुने जनाएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एमाले सचिव गोर्कण विष्ट, नेपाली कांग्रेसका नेता राजेन्द्र केसी लगायतका नेताहरू आज खेतमा भेटिने छन् । उपमहासचिव ज्ञवाली एमाले गुल्मी काठमाडौं सम्पर्क मन्चले फर्पिङ्गमा आयोजना गरेको धान रोपाइँ तथा हिलो खेल्ने कार्यक्रममा सहभागी हुने ज्ञवालीको सचिवालयले जानकारी दिएको छ । ज्ञवाली दिउसो २ वजे कार्यक्रम स्थलमा पुग्ने आयोजक संस्थाले बताएको छ । माओवादीका महासवि देव गुरुङ पनि उपत्यकाकै धानखेतमा हुनेछन । उनी आज पार्टीको कीर्तिपुरको स्थानीय कमिटीले आयोजना गर्ने रोपाइँ कार्यक्रममा आज मध्यान्ह १ बजे सहभागी हुन लागेका हुन् । कांग्रेस नेता रामहरि खतिवडाले आफू बिहान कीर्तिपुरको धान रोपाँइ तथा हिलो खेल्ने कार्यक्रममा सहक्भागी भएर सदन फर्किइसकेको बताउँछन् । एमाले सचिव विष्टले पनि पार्टीको सम्पर्क मञ्चको कार्यक्रममा फर्पिङ पुग्नै लागेको जानकारी दिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का सांसद तथा कांग्रेस नेता राजेन्द्र केसी पनि कीर्तिपुरको टौदह र पुष्पलाल पार्कमा हुने धान रोपाइँ कार्यक्रममा उपस्थित हुने छन्। विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय भएर २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । देशको १३ लाख ९४हजार ९०७ हेक्टर भूमिमा धानखेती हुँदै आएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार देशभरि जम्मा १५ प्रतिशत मात्रै धान रोपिएको छ ।
कृषि कर्जा सुरक्षण योजनाबारे सरोकारवाला सुझाव लिँदै अन्तर्क्रिया सम्पन्न
काठमाडौं । युएनडीपीको सहकार्यमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको 'एग्री सीजीएस प्रोडक्ट्स डिजाइन स्टेकहोल्डर्स फिडब्याक' विषयक आधा दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको रोयल सिङ्गी होटलमा सम्पन्न कार्यक्रममा कोषका पदाधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अर्थतन्त्रको दिगो विकासका लागि कृषि क्षेत्रमा संस्थागत कर्जाको पहुँच विस्तार गर्न र सो क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरण गरी लगानी बढाउन नयाँ कृषि कर्जा सुरक्षण योजना तर्जुमा गर्ने विषयमा सरोकारवालाको राय–सुझाव लिन यो अन्तर्क्रिया आयोजना गरिएको हो । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कार्यक्रममा प्रस्तावित कृषि कर्जा सुरक्षण योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै, वर्तमान अवस्था र तत्काल विस्तार गर्नुपर्ने क्षेत्रबारे जानकारी गराएका थिए । सहभागीहरुले सुरक्षण शुल्क र क्षतिपूर्ति दाबीको प्रतिशत निर्धारण अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार वैज्ञानिक रुपमा गर्नुपर्ने सुझावसमेत दिएका थिए । कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह बढाउँदै वित्तीय पहुँच विस्तारमा सघाउन युएनडीपीले प्राविधिक सहयोग गरिरहेको कोषले जनाएको छ ।
शिक्षा विधेयक पारितका लागि दबाब दिन शिक्षक नेताहरू सिंहदरबारमा
काठमाडौं । सामुदायिक विद्यालयका शिक्षक नेताहरू सिंहदरबार पुगेका छन् । आइतबार असार १५ गते सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने दिन भएकाले सरकारलाई दबाब दिन नेताहरू बिहानै सिंहदरबार पुगेका हुन् । ‘हामी बिहान ७ बजे सिंहदरबार पुगेका थियौं, मुख्य मुख्य केही व्यक्तिहरूलाई भेट्यौँ, विधेयक आज जसरी पनि संसदमा प्रस्तुत हुनुपर्छ भनेका छौं,’ शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले भने । विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै दबाब दिन संसदीय समितिको ढोकामै शिक्षकहरू पुगेको र अहिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समिति बैठक बसेकाले आफूहरू बाहिर निस्केको उनको भनाइ छ । थापाका अनुसार विभागीय कारवाही, अस्थायी शिक्षकहरूका लागि कस्तो व्यवस्था गर्ने र शिक्षक हुन लाइसेन्स अनिवार्य गर्ने कि नगर्ने भन्ने विषयमा समितिमा सहमति हुन बाँकी छ । २०७५ सालदेखि छलफलमा रहेको विधेयक पारित नहुँदा समग्र शिक्षा प्रणाली नै अस्त व्यस्त बनेको भन्दै शिक्षक महासंघले पटक पटक आन्दोलन गर्दै आएको थियो । गएको चैत्रमा काठमाडौंमा भएको सडक प्रदर्शनपछि शिक्षक र सरकारबीच असार १५ गते विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने सहमति भएको थियो ।
महालक्ष्मी विकास बैंकले ल्यायो पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड, फोन पेसँगको सहकार्यमा सेवा सुरु
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने नीति अनुरूप फोन पेसँगको सहकार्यमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप 'महालक्ष्मी स्मार्ट साथी' मार्फत महालक्ष्मी फोन पे क्रेडिट कार्ड सेवामा गई, कुनै पनि स्थानबाट सुरक्षित र सजिलै भुक्तानी गर्न सक्नेछन् । यसमार्फत फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानीका साथै अनलाइन किनमेलका भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । भौतिक क्रेडिट कार्डजस्तै ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा पनि रहनेछ । यसले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य गर्दै डिजिटल सुविधालाई अझ सहज बनाउने बैंकको विश्वास छ । सेवाको सुरुआतसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० रुपैयाँसम्मको क्यासब्याक अफर समेत ल्याएको छ, जसले सेवा झनै आकर्षक बनाउने विश्वास बैंकले लिएको छ। डिजिटल नवप्रवर्धनका क्षेत्रमा नेपालका विकास बैंकहरूमध्ये अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंकले यो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको जनाएको छ । साथै, आगामी दिनमा आफ्ना डिजिटल सेवा र मोबाइल एप्लिकेसनलाई अझ परिमार्जित र परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता समेत बैंकले जनाएको छ।