नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या, विदेशी नेटवर्क गडबडीले डाटा सेवा प्रभावित
काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट सेवा प्रभावित भएको छ । मंगलबार राति साढे १ बजेबाट कम्पनीको नेटवर्कमा समस्या देखिएको टेलिकमले एक सूचना जारी गर्दै जानकारी दिएको हो । टेलिकमका प्रवक्ता रविन्द्रमान मानन्धरका अनुसार डाटा सेवा प्रभावित हुनुको कारण अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा प्रदायकको नेटवर्कमा आएको समस्या हो । यसले गर्दा देशभर टेलिकमको इन्टरनेट सेवामा अस्थायी अवरोध आएको हो । कम्पनीले समस्या समाधानका लागि आवश्यक प्राविधिक प्रयास जारी रहेको र सेवा यथाशीघ्र पुनःस्थापनाको प्रयास भइरहेको जनाएको छ । अप्रत्याशित रूपमा सिर्जित समस्याका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति टेलिकमले क्षमा याचना गरेको छ ।
बीमा प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गरी बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे हाे । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले सार्वजनिक गरेका नीति तथा कार्यक्रम समग्र बीमा प्राधिकरण र सम्पूर्ण बीमा बजारका लागि ऐतिहासिक भएको बताए । कार्यकारी निर्देशक सुवेदीका अनुसार अबदेखि हरेक वर्ष असार महिनामा वार्षिक बीमा नीति सार्वजनिक गरिनेछ । उनले नीति तथा कार्यक्रम ल्याउनुकाे उद्देश्य बीमा क्षेत्रलाई दिगो, पारदर्शी, उत्तरदायी र समावेशी बनाउँदै नियामक दृष्टिकोणलाई स्पष्ट पार्नु रहेको बताए । साथै नीति निर्माण प्रक्रियामा सरोकारवाला निकायहरूको भूमिका उल्लेखनीय रहेको प्राधिकरणले जनाएको छ । अनुसन्धान महाशाखा र नीति तथा योजना महाशाखाको संयुक्त पहलमा नीति तयार गरिएको प्राधिकरणले जनाएकाे छ । आगामी वर्षहरूमा यो प्रक्रिया अझ व्यवस्थित र समावेशी बनाइने कार्यकारी निर्देशक सुवेदीकाे भनाइ छ । प्राधिकरणले बीमा सम्बन्धी उजुरी तथा गुनासोलाई डिजिटल माध्यममार्फत व्यवस्थापन गर्ने योजना नीति अन्तर्गत अघि सारेको छ । बीमालेखहरू र निर्देशनहरूलाई एकीकृत डिजिटल प्रणालीमा आधारित बनाई, सेवा प्रवाहलाई सरल, छरितो र पारदर्शी बनाउने उल्लेख छ । नीतिमा बीमकहरूसँग सम्बन्धित थप व्यवस्था पनि समावेश छन् । बीमा क्षेत्रसँग सम्बन्धित विषयमा अनुसन्धान गर्दै बीमितको आवश्यकतालाई मध्यनजर राखी नयाँ बीमालेखहरू विकास गरिनेछ । बीमकहरूले कम्तीमा एउटा नवीनतम बीमालेख निर्माण गर्नुपर्ने व्यवस्था गरिनेछ । बीमकहरूको लगानी, पुनर्बीमा र पूँजी व्यवस्थापनसँग सम्बन्धित कानुनी प्रावधानहरूमा समयसापेक्ष परिमार्जन गरिनेछ । साथै, बीमा क्षेत्रमा लैङ्गिक समावेशिता प्रवर्द्धन गर्ने संयन्त्रको विकास र जलवायु परिवर्तन जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइ कानुनी संरचना निर्माण गरिनेछ । बीमा सूचना केन्द्र तथा बीमा विकास कोष स्थापना गरिनेछ । उक्त कोषमार्फत सरकारी विद्यालयका विद्यार्थीहरूलाई बीमाको पहुँचमा ल्याउने र लक्षित वर्गलाई समेट्ने पाइलट परियोजना सञ्चालन गरिने नीति दस्तावेजमा उल्लेख छ ।
१ अर्ब ५० करोडभन्दा बढीको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार, २ भारतीय नागरिकबाट पक्राउ
काठमाडौं । गैरकानुनी क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुरको सानेपाबाट पक्राउ गरेको छ । किराना पसलको आवरणमा सञ्चालन भइरहेको अवैध कारोबारबारे प्राप्त सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिहरूबाट अनुसन्धान टोलीले विभिन्न सामग्रीहरू बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरूको साथबाट मोबाइल फोन ५ थान फेला परेको छ । त्यसैगरी, नेपाली रुपैयाँ ८ लाख २० हजार नगदसमेत बरामद गरिएको छ । साथै भारतीय रुपैयाँ १० हजार नगद पनि बरामद भएको सीआईबीले जनाएको छ । घटनास्थलबाट सीसीटीभी डीभीआर १ थान पनि बरामद गरिएको छ । त्यस्तै, प्रतिबन्धित वन्यजन्तु कस्तुरीको अखेटोपहारजस्तो देखिने वस्तु ७४ ग्राम वजनको १ थान समेत फेला परेको छ । प्रारम्भिक अनुमान अनुसार उक्त वस्तु संरक्षित वन्यजन्तुसँग सम्बन्धित हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ । सीआईबीको टोलीले असार २३ गते ललितपुर महानगरपालिका–२ स्थित कालोपुल सानेपामा रहेको ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसलमा छापा मारेको थियो । सो पसल भारतको बिहार राज्य मोतिहारी स्थायी ठेगाना भएका ४३ वर्षीय रुपेश कुमार गुप्ताले सञ्चालन गर्दै आएका थिए । छानबिनका क्रममा सो पसलबाट अवैध क्रिप्टोकरेन्सी कारोबारसँगै हुण्डी कारोबार पनि भइरहेको पुष्टि भएको छ । सोही क्रममा गुप्तासँगै भारतकै बिहार राज्य पूर्वी चम्पारण बिजबनी स्थायी ठेगाना भएका २२ वर्षीय बिपिन कुमारलाई समेत पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभौतिक मुद्रा प्रयोग गर्न नहुने, हुण्डी कारोबार गर्न नहुने, तथा संरक्षित बन्यजन्तुसम्बन्धी कसूरमा मुद्दा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले यस्ता गैरकानुनी गतिविधिहरूमा संलग्न नहुन सबैमा अनुरोध गर्दै, यस्ता कार्यबारे कुनै सूचना भएमा नजिकको प्रहरी कार्यालय वा सीआईबीमा जानकारी दिन आग्रह गरेको छ । प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक युवराज खड्काले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता अपराधहरूविरुद्ध ब्यूरोले निरन्तर निगरानी राखिरहेको उल्लेख गरिएको छ।
प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि जाने भएको छ । सोमबार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि जान लागेको हो । बाढीग्रस्त क्षेत्रमा गएर प्रत्यक्ष अवलोकनपछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री लेखकले बताए । रसुवामा ठूलो विपद् आएको बताए । उनले भने, ‘रसुवामा ठूलो डिजास्टर भएको छ । हामी जान लागेका छौँ । त्यहाँ गएर हेरेपछि आवश्यक निर्णय गर्नेछौँ ।’ बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ ।
कालीमाटी बजारको रायो सागमा भेटियो अत्यधिक विषादी
काठमाडौं । कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट मंगलबार बिक्रीका लागि ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी पाइएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार परीक्षणका क्रममा यस्तो तथ्य फेला परेको हो । केन्द्रीय कृषि प्रयोगशालाले सोही दिन बजारका १७ थरी तरकारी र फलफूल परीक्षण गर्दा रायो साग अत्यधिक विषादीयुक्त पाइयो । सरकारको मापदण्डअनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र उपभोगयोग्य मानिन्छ । तर, रायो सागमा भेटिएको ८२.७८ प्रतिशत विषादीका कारण यसलाई उपभोग अयोग्य ठहर गरिएको हो । यसअघि पनि धनियाँ, काउली, ब्रोकाउली र तिते करेला जस्ता तरकारीहरूमा यस्तै उच्च विषादी भेटिएको थियो ।
घट्यो सेयर बजार, ६ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.१४ अंकले घटेको २६ सय ८३ बिन्दुमा पुगेको छ । आज १३३ कम्पनीको मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३०४ कम्पनीको मूल्य बढ्दा १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ४१ करोड, गार्डियन माइक्रो लाइफको ४१ करोड, लाइफ सनराइज बैंकको २४ करोड र राधी विद्युत कम्पनीको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा फाइनान्स समूह सबैभन्दा धेरै १.२५ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ०.४१, हाइड्रोपावर ०.५९, लगानी ०.०८, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.३८ प्रतिशतले बढेको छ । बैंकिङ ०.३७, होटल तथा पर्यटन ०.०१, अन्य ०.७७, निर्जीवन बीमा ०.३७ प्रतिशतले घटेको । जीवन बीमा भने स्थिर रहेको छ ।
हितेन्द्रको सय दिने उपलब्धि : श्वेतपत्र जारीदेखि ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गरेका छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार्यकालमा प्राधिकरणको यथार्थता बाहिर ल्याउन श्वेतपत्र जारी गरिएको बताएका हुन् । उनकाअनुसार श्वेतपत्रमा उर्जा सुरक्षा, विश्वसनिय विद्युत,नविनतम उपायबाट वित्तीय व्यवस्थापनलाई जोड दिएको छ । त्यस्तै, मानव स्रोत व्यवस्थापन गरिएको छ । सय दिने उपलब्धिमा उनले वितरण तथा ग्राहकतर्फ १० ओटा धेरै महशुल बुझाउने उद्योगीलाई सम्मान गरिएको बताए । जसबाट वृद्ध खपतमा वृद्धि आउने आशा व्यक्त गरे । कार्यकारी निर्देशक शाक्यले भने–‘डेडिकेटर लाइनसम्बन्धि विवाद समाधानतर्फ उन्मुख छ भने एकसय दिनको अवधीमा चार्जिङ स्टेशनका पूर्वाधार बनाउन १ करोड बजेट छुट्याइएको छ, ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ । वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाइएको छ भने सबस्टेशनहरु तयार भएका छन् ।’ शाक्यकाअनुसार चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण र यस अन्तर्गतका जलविद्युत आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बढी क्षति पुयाएको छ भने उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको उनको भनाई छ । त्रिशुली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द भएको उनले बताए । बाढीले त्रिशुली करिडोरका आयोजनाहरूमा असर पारेको बताए । उनकाअनुसार बाढीले प्रत्यक्ष असर पारेका आयोजनामा रसुवागढी, चिलिमे र त्रिशूली थ्री ए रहेका छन् । त्रिशुली करिडोरका मात्रै करिव ६–७ वटा प्लान्ट बन्द अवस्थामा पुगेका छन् । शाक्यका अनुसार बाढीले माथिल्लो त्रिशुली ‘थ्री ए’ को ड्याममा क्षति पुर्याएको छ भने दुई गेट बगाएको छ । बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशुली आयोजनाको उत्पादन पनि ठप्प भएको छ । उनले ठूलो क्षमताका आयोजना बन्द भएपनि देशभर विद्युतको माग व्यवस्थापनमा कुनै समस्या नभएको स्पष्ट पारे । यस्तो छ पूर्णपाठ
सेयर बजार पूँजीकरण ४४ खर्ब, एकै वर्षमा ९ खर्ब वृद्धि
काठमाडौं । पछिल्लो समय धितोपत्र बजारको पूँजीकरणले आफ्नो रेकर्ड ब्रेक गर्दै गएको छ । २०८२ जेठ मशान्तसम्म धितोपत्र बजार पूँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड कायम भएको छ । गत वर्षको जेठ मसान्तमा बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रहेको थियो । त्यसअघि २०८० माघ मसान्तको अवस्था हेर्ने हो भने धितोपत्र बजार पूँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको थियो । अझ त्यसअघि अर्थात २०७९ माघ मसान्तमा बजार पूँजीकरण ३० खर्ब ६१ अर्ब रहेको थियो । धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरूको संख्या र तिनको आ–आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण निकालिन्छ । यसले सेयर बजारको आकारलाई समेत जनाउँछ । यस्तो बजारको आकारमा रेकर्ड ब्रेक हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा २११२.३० रहेको नेप्से सूचकांक २०८२ जेठ मसान्तमा २६५५.३९ कायम भएको देखिन्छ । यस्तै, जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ ओटा अन्य समूहका रहेका छन् । गत जेठमा सूचीकृत कम्पनीहरूको संख्या २७० रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ । यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा २३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस सेयर, २२ अर्ब ४० करोड रुपैयाँ बराबरको साधारण सेयर, १२ अर्ब १५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १४ अर्ब ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ अर्ब ४२ करोड रुपैयाँ बराबरको डिवेन्चर र २ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल ३९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।