काठमाडौंमा इन्टरप्रेनरसिप सम्मेलन हुँदै, ६ देशका विशेषज्ञ सहभागी हुँदै
काठमाडौं । किङ्स कलेजले नेपाल इन्टरप्रेनरसिप सम्मेलन गर्ने भएको छ । बुधबार कलेजमा पत्रकार सम्मेलन गर्दै कलेजले आगामी साउन १०–११ गतेसम्म सम्मेलन गर्न लागेको जानकारी दिएको छ । नेपालमा उद्यमशीलता र व्यवसाय शिक्षा प्रदान गर्दै आइरहेको कलेजले सोल्टी होटेलमा आयोजना गर्न लागेको सम्मेलनमा नेपालसहित फिनल्याण्ड, जापान, भारत, बङ्गला देश, र कोसोभो लगायतका देशका २५ भन्दा बढी वक्ता र विज्ञहरू सहभागी हुने जनाएको छ । ‘टुवर्डस् सस्टेनेबल इन्टरप्रेनरसिप इकोसिस्टम’ भन्ने मूल नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो संस्करण हो । दुई दिने यो कार्यक्रमले दिगो उद्यमशीलता क्षेत्रमा कार्यरत शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी, तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ । सम्मेलनले शैक्षिक ज्ञान र व्यवहारिक अनुभवलाई जोड्दै, उद्यमशीलताको विविध पक्षमा गहन संवाद र छलफललाई प्रवद्र्धन गर्न सहकार्यको अवसर प्रदान हुने कलेजले विश्वास लिएको छ । कार्यक्रमको बारेमा जानकारी दिँदै अनुसन्धानकर्ता एंव कार्यक्रम संयोजक सगुनबाबा श्रेष्ठले २०१६ सालदेखि अन्तराष्ट्रिय सम्मेलन गर्दै आएको बताइन् । उनले सम्मेलनका सत्रहरूमा शैक्षिक अनुसन्धान र व्यावसायिक कार्यान्वयनबीच सम्बन्ध उजागर गर्ने गरी विचार-विमर्श, शोधपत्र प्रस्तुतिकरण गरिने बताइन् । सम्मेलन कनभेनर तथा किङस कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेले यस्ता सम्मेलनले नेपालमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्न सहयोग पुग्ने बताए । उनले भने, ‘यो सम्मेलनले आर्थिक वृद्धिमा टेवा दिन, बेरोजगारी न्यूनीकरण गर्न, दिगो विकासलाई प्रवद्र्धन गर्न, र विकासशील राष्ट्रका युवाहरूलाई उनीहरूले सामना गरिरहेका चुनौतीहरूसँग जुझ्न सहयोग पुर्याउने आशा गरेका छौं ।’ कार्यक्रममा अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धान नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि, र विद्यार्थी गरी २ सय भन्दा बढी सहभागीहरू हुने अपेक्षा गरिएको छ । कलेजका अध्यक्ष नरोत्तम अर्यालले २०११ मा किङस कलेज टेकओभर गर्दा नेपालमा उद्यमशीलता शिक्षा निकै कम रहेको स्मरण गरे । विकासका लागि बैङ्कतर्फको आकर्षण बढी रहेको बेला उद्यमशीलताको आवश्यकता गर्दै सुरु गरेको कलेज अहिले अन्तराष्ट्रिय सम्मेलन गर्ने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गरे । नेपाली युवाहरू स्वदेशमा अवसर नभएको भन्दै वैदेशिक रोजगारीका लागि विदेश भइरहेको बेला स्वदेशमा भएका रिसोर्सलाई कसरी भ्यालुएड गर्न सकिन्छ भन्ने उद्देश्यले उद्यमशीलता शिक्षा सुरु गरेको बताए । पहिलो चरणमै इन्टरप्रेनरसिप कार्यक्रम लन्च गरेको थियो । धेरै आरोहअवरोह गर्दै अहिले यो अवस्थामा पुगेको बताए । कार्यक्रम सुरु गर्दा विद्यार्थीको रुचि यो विषयमा धेरै कम थियो । तर पछिल्लो समयमा विद्यार्थीको आकर्षण निकै बढेको छ । एउटा ब्याचमा ६, ७ जना विद्यार्थीलाई जम्मा गरेर, आफै चिया कफी खाएर विद्यार्थीलाई उद्यमशीलताका विषयमा पढाउन सुरु गरेका थियौं, उनी भन्छन्,‘अहिले आउँदा, नेपालमा उद्यमशिलताको विषयमा चर्चा हुन्छ, पढाइ हुन्छ सरकारले पनि धेरै कार्यक्रम ल्याएको छ , बैंकहरूले पनि प्राथमिकता दिएको छ अहिले निकै खुसी लागेको छ ।’ उद्यमशीलता अहिले पनि गर्न धेरै बाँकी रहेको भन्दै अर्यालले नेपाललाई साच्चै अगाडि बढाउने हो भने हरेक क्षेत्रमा उद्यमीहरूको जरुरी रहेको बताए । ‘उद्यमी नयाँ भेन्चर क्रियट गर्ने मात्र होइन उद्यमशिल मानसिकताको जरुरी छ,’उनी थप्छन्, ‘नेपालमा राजनीतिमा उद्यमशिलताको जरुरी छ, शिक्षामा उद्यमशीलता चाहिएको छ, संसार धेरै अगाडि बढीसक्यो समाज धेरै अगाडि बढिसक्यो तर, जे भइरहेको छ त्यो भन्दा कसरी नयाँ तरिकाले अगाडि बढ्न सकिन्छ भन्ने कुरा सोच्न सक्योमात्र केही गर्न सकिन्छ ।’ शिक्षित भट्टले टुटलबारे सोच्दा राइडसेयरिङ यहाँसम्म पुगेको सुनाए । ‘नेपाल बैंक अथवा राष्ट्रिय बाणिज्य बैंकमा एउटा चेक साट्जाँदा सात वटा झ्यालमा जानुप्रथ्यो अहिले विश्वास ढकालले सोच्दा बैङकिङ क्षेत्रलाई कहाँबाट कहाँसम्म पुर्यायो अहिले हातको मोवाइलबाट एकैछिन पेमेन्टको काम हुन्छ यो सबै उद्यमशिल मानसिकता हो,’ उनले भने । उनले अब सरकारको मुख ताक्नुभन्दा व्यक्ति आफैले आफैसँग भएको स्रोत र साधनमा आधारित नयाँ प्रविधि प्रयोग गरी कसरी हाम्रा समस्या हामी नै समाधान गर्न सक्छौं भनेर लाग्नुपर्ने बताए ।
आइक्यानको अध्यक्षमा निल सारु मगर र उपाध्यक्षमा आनन्द शर्मा निर्वाचित
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सीए निल बहादुर सारु मगर निर्वाचित भएका छन् । यसअघि उपाध्यक्ष रहेका मगर आइक्यानको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, आइक्यानको उपाध्यक्षमा सीए आनन्द राज शर्मा वाग्ले निर्वाचित भएका छन् ।
काठमाडौं महानगरको बजेट पारित
काठमाडौं । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । महानगरले आगामी आवको लागि रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट प्रस्ताव गरेकोमा १७ औँ नगरसभाले पारित गरेको हो । महानगरले नगर सभाको पहिलो बैठकमा सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको थियो ।
आगामी दशकमा १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न उद्योग परिसंघको पहल
काठमाडौं । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् । परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले अर्थतन्त्रमा सुधार हुने अपेक्षा निजी क्षेत्रले राखेको बताए । उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिए । १०० अर्ब डलरको अर्थतन्त्र एवं दोहोरो अंकको आर्थिक बृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत अध्ययन सुरु गरेको जानकारी समेत उनले गराए । अध्यक्ष पाण्डेले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न एवं उधारो उठाउने ऐन ल्याउन आग्रह गरे । सो अवसरमा अर्थमन्त्री पौडेलले नवनिर्वाचित समितिलाई बधाई दिँदै परिसंघले उठाएका विषयलाई गम्भिरतापूर्वक लिएको बताए । उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई सरकारले अपनत्व लिएको र कार्यान्वयन प्रक्रियामा लगिसकेको बताए । चरणवद्ध रुपमा अगाडि बढाउनुपर्ने सुझावहरुलाई सोही अनुरुप अगाडि बढाइने उनले बताए । अवैध कारोबारका कारण सबैभन्दा ठूलो असर सरकारको राजस्वमा परेको भन्दै उनले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताए । मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ सालको बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न आग्रह गरे । अर्थमन्त्रीसँगको छलफलमा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु राज बहादुर शाह, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
भावना घिमिरे लुम्बिनी लायन्सको सीईओमा नियुक्त
काठमाडौ । लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ । उनी पूर्व क्यान सीईओसमेत हुन् । उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ । घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् । यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने छ भन्ने लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने कम्पनीले जनाएकाे छ । भावना घिमिरेको नियुक्तिको विषयमा आफ्नो प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, 'हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं । उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने मलाई लागेको छ ।'
‘साउन डेङ्गी सचेतना’ महिना घोषणा
काठमाडौं । सरकारले ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा गरेका हुन् । मन्त्री पौडेलले साउनमा डेङ्गी सङ्क्रमण उच्च विन्दु पुग्ने तथा तीव्र हुने भएकाले साउनको सुरुआतदेखि नै सचेतना फैलाउनका लागि डेङ्गी सचेतना महिनाका रूपमा घोषणा गरिएको जानकारी दिए । उनले साउनदेखि कात्तिकसम्म डेङ्गीको जोखिम हुने भएकाले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’अभियान सुरु गरिने उल्लेख गरे । 'डेङ्गी साउन महिनामा उच्च सङ्क्रमण हुने सुरुवाती महिना हो', उनले भने, 'यस महिनामा सतर्कता अपनाउन सके सङ्क्रमण कम गर्न सकिन्छ । त्यसैले सम्भावित जोखिम नियन्त्रण गर्नका लागि साउनलाई सचेतना अभियान महिना घोषित गरिएको हो ।' मन्त्री पौडेलले डेङ्गी सरकारको एकल पहलले मात्र गर्न न्यूनीकरण गर्न नसकिने भन्दै नीजि क्षेत्र, समुदाय, टोल सबैको सहयोग र समन्वय आवश्यक पर्ने खाँचो औँल्याए । मन्त्रालयका सचिव डा विकास देवकोटाले साउनमा बढी पानी पर्ने भएकाले घर वरपर पानी जम्न नदिने उपाय अपनाउन सबैलाई अनुरोध गरे । उनले कम्तिमा साउनदेखि कात्तिकसम्म लामखुट्टे खोज र नष्ट गर अभियान हरेक कार्यलय, टोलमा संचालन गर्न सके डेङ्गी सङ्क्रमणलाई कम गर्न सकिने धारणा राखे । 'गत वर्ष सुरु भएको लामखुट्टे खोज र नष्ट गर अभियानका कारणले डेङ्गी सङ्क्रमण घटेको छ', उनले भने, 'यसपटक पनि यस अभियानलाई निरन्तरता दिएर सङ्क्रमण घटाउनु पर्छ ।' सचिव डा देवकोटाले डेङ्गी पूर्णरूपमा उन्मूलन गर्न नसकिने भन्दै मानिसको जीवनशैली परिवर्तन गरेर सङ्क्रमित हुनबाट जोगिनुपर्ने बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटीले डेङ्गी सङ्क्रमण एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले उक्त लामखुट्टेलाई खोजेर नष्ट गर्नु उत्तम उपाय रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश पाण्डवले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि बहुक्षेत्रको भूमिका तथा संलग्नता हुनुपर्नेमा जोड दिए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले डेङ्गीको जोखिम हुने क्षेत्र पहिचान गरी खोज र नष्ट अभियान सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिइसकिएको जानकारी दिए । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी परेसँगै डेङ्गीको सङक्रमण बढ्ने बताए । उनका अनुसार गत पुस १७ गतेदेखि असार ३१ गतेसम्म ७३ जिल्लाका एक हजार ९८३ जनामा सङ्क्रमण देखिएको छ । 'डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गी रोग लाग्दछ', उनले भने ।
पूर्व गृहमन्त्री खाँणलाई व्यापार संघले बुझायो ज्ञापन पत्र, उद्योगमैत्री नीति र कर सुधारको माग
काठमाडौं । मोरङ उद्योग व्यापार संघको एक प्रतिनिधिमण्डलले पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट गरी उद्योगी-व्यवसायीका समस्याबारे ज्ञापनपत्र बुझाएको छ । संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायतको टोलीले बुधबार खाँणलाई भेट गरी आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा मौद्रिक नीति उद्योगमैत्री भए पनि अझ सुधार आवश्यक रहेको धारणा राख्दै ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्रमा बीमा क्षेत्रमा रहेको अत्यधिक प्रिमियम दर न्यूनीकरण, कवाडीजन्य फलामको धुलो र सिसाको टुक्राको निर्यातमा लाग्ने भन्सार महसुल खारेज, एमएस वायर रडमा गरिएको भन्सार महसुल वृद्धिको पुनरावलोकन, अति आवश्यक सुतिका कपडामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेजजस्ता माग समावेश छन् । त्यसैगरी, सुनका गहना तथा बहुमूल्य पत्थर जडित गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने माग पनि संघले राखेको छ । भेटमा संघका वाणिज्य उपाध्यक्ष अनिल सारडा, महासचिव संजय कुमार श्रेष्ठ, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र महिला उद्यम समिति सदस्यहरूको पनि उपस्थिति थियो ।
मन्त्रिपरिषद् निर्णय : साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने
काठमाडौं । सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय गर्दै साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने जानकारी दिए । उनका अनुसार सरकारले यही असार ३० गतेदेखि आगामी साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने, नेपाल राष्ट्र बैंकबाट रु एक हजार दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने सरकारको निर्णय छ । त्यस्तै, विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १० दशमलव आठ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१/८२ का लागि उखु उत्पादक कृषकलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल रु तीन हजार ५०० कायम गर्ने, नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने, आगामी साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने नर्भे टु स्ट्रेन्थन कोअपरेसन कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्रीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए । रेस्टोरिडा रिफ्रेश सेन्टर प्रालिलाई पर्यापर्यटन व्यवसाय गर्ने कार्यको लागि सुनकोशी गाउँपालिका–६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडीबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका–४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने, शिक्षा, विज्ञान तथा प्रविधि आगामी साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने रिजनल वर्कसप अनक्लियर सेक्युरिटी रेस्पोन्स क्यापाविलिटी डेभलपमेन्ट फर बार्डरर्स एण्ड पोर्टस् कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) लाई सहभागी हुन स्वीकृति दिने, नेपाल र जापान सरकारबीच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ देखि थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने निर्णय रहेको सरकारका प्रवक्ता गुरुङले उल्लेख गरे । उनका अनुसार जल तथा ऊर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, ‘क्यासिनो नियमावली, २०८२’ स्वीकृत गर्ने, ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ स्वीकृत गर्ने, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखा परीक्षक नारायण एमसीलाई बढुवा गर्ने सरकारको निर्णय रहेको छ । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिपरिषद् बैठकको असार ३० गतेको निर्णयसमेत सार्वजनिक गरिएको बताए। आगामी साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामा आयोजना हुने सेकेन्ड युएन फुड सिस्टम्स् समिट स्टक टेक (युएनएफएसएस प्लस फोर) कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको उहाँले जानकारी दिए । उनका अनुसार नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेको समिति गठन गर्ने, छानबिन समाप्त भई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्नेगरी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई तोक्ने निर्णय गरिएको छ । निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन पाँच अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, आगामी साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानस्वर्गमा आयोजना हुने ‘फस्ट ग्लोबल एसएमइ मिनिस्ट्रीयल मिटिङ’मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा कपिलमान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मा, रूपन्देहीलाई नियुक्ति गर्ने, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि यही असार २९ गतेदेखि चार महिनाका लागि थप गर्ने सरकारको निर्णय छ । नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक सेनानी दर्जामा बढुवा गर्ने र १९ जना सहायक सेनानीको सरुवा गर्ने, ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी (बर्दघाट–सूस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथअन्तर्गत गिरुवारी–झ्यालबास–डण्डा–चौराहा–पनौती–वसन्तपुर सडकखण्ड स्तरोन्नतिका लागि राष्ट्रिय वनको तीन दशमलव ९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, कोशी गाउँपालिका, सुनसरीको केन्द्र वडा नं १ लौकहीबाट परिवर्तन गरी वडा नं ३ बद्रीपुल कायम गर्ने, कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं ४ कट्टीबाट परिवर्तन गरी वडा नं ४ गहलाम कायम गर्ने सरकारको निर्णय रहेका सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले जानकारी दिए । आगामी साउन १० गतेदेखि १२ गतेसम्म चीनको सङ्घाईमा आयोजना हुने ‘वल्र्ड आर्टिफिल इन्टेलिजेन्स कन्फ्रेन्स– २०२५’ मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङलाई स्वीकृति प्रदान गर्ने, साउन ८ र ९ गते चीनको बेइजिङमा आयोजना हुने ‘ग्लोबल हेल्थ फोरम (जिएचएफ)–२०२५’ सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेका मन्त्री गुरुङले बताए ।