७ प्रतिशत ब्याज पाइने नबिल बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला
काठमाडौं । नबिल बैंकले आज साउन ६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन २० गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित रहेको संकेत गर्दछ ।
देआज शरभर पानी पर्ने, कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा भएका नीतिगत तथा संस्थागत सुधारका विषयमा सोमबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले धानमा आत्मनिर्भर बन्न लागेको बेला मधेस प्रदेशमा खडेरीका कारण आएको समस्या समाधानका लागि मन्त्रालयले अध्ययन गर्न कर्मचारीको टोली खटाएको जानकारी दिए । कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको मन्त्री अधिकारीको भनाइ छ । मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको उनले उल्लेख गरे । मन्त्री अधिकारीले यो अवधिमा आफ्नो सोच अनुरुपका सबै काम गर्न नसके पनि आफ्नो प्रयास मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानका पक्षमा रहेकामा जोड दिए । ‘कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो र लाखौंँ नेपालीको जीविकोपार्जनको आधार हो, यसैलाई मध्यनजर गर्दै, मन्त्रालयले कृषि उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राख्दै आएको छ’, उनले भने । यस अवधिमा विगत लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिदसम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरणसम्बन्धी कार्यविधि संशोधन गरिएको जानकारी पनि उनले गराए । यसबाट रायानिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीको भनाइ छ । विगत सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारी समायोजन अनुसारको सङ्गठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरी सङ्गठन सुदृढ तथा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको, कृषि तथा पशुपन्छी बिमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको उनले उल्लेख गरे । कृषि क्षेत्रको एकीकृत कानुनको रूपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भई मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको, पशु कल्याण ऐनलाई अन्तिम रुप दिइएको मन्त्री अधिकारीले जानकारी गराए । केही वर्षदेखि थन्किएर रहेको खाद्य गुणस्तर परीक्षण गर्ने चार वटा मोबाइल भ्यान सञ्चालनमा आएको, नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्न उच्चस्तरीय कार्यदल गठन गरी कार्य भइरहेको, कृषि सम्बन्धी प्रविधिहरूको दर्ता, कृषि प्रविधि प्रसार एवं हस्तान्तरणको संस्थागत संरचना निर्माण गर्ने नीतिगत निर्णय गरी यसको कार्यान्वयनसमेतलाई सहयोग पुग्ने उद्देश्यले नेपाल राष्ट्र बैङ्कमा आवश्यक पहल गरी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । नार्कका सिफारिस प्रविधिमा कर्जा प्रवाह सहजीकरण गर्ने व्यवस्था समावेश गरिएको मन्त्री अधिकारीले जानकारी गराए । जीवनाशक विषादीको गुणस्तर परीक्षण तथा अनुसन्धान प्रयोगशाला सञ्चालनार्थ क्वारेन्टाइन केन्द्र, प्रदेश सरकार, विश्वविद्यालयलगायत सरोकारवाला संस्थासँग परामर्श र समन्वय गर्नेगरी आवश्यक संरचना, मोडेल र कार्यक्रमबारे नीतिगत निर्णय भई प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । खोरेत रोग मुक्त क्षेत्र घोषणा गर्न संघीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा कोशी प्रदेशको इलाम जिल्लाका तीन वटा क्षेत्रमा विभाजन गर्न लागिएको छ । यसबाट पशुजन्य पदार्थ (मासु, दुध, छुर्पी, घिऊ) को अन्तरराष्ट्रिय बजार पहिचान गर्न महत्त्वपूर्ण रहने विश्वास लिएको मन्त्री अधिकारीले बताए । रैथाने बालीको संरक्षण, प्रवर्द्धन एवं यसको महत्वको प्रचारप्रसार गर्न मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदको बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । यसअघि हिमाली क्षेत्रको आनुवंशिक स्रोत तथा दुर्लभ हुँदै गएको याकको संरक्षणका लागि वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने घोषणा गरी पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ । बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतिपत्र नवीकरण, प्रमाणीकरणलगायतका कार्य अनलाइनमार्फत् सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाइएको छ । गत मङ्सिरदेखि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपन्छी रोग प्रयोगशालामा ‘ल्याबरेटोरी इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ सुरु भएको छ । विभिन्न विधामा सात प्रदेशका १४ जना उत्कृष्ट किसानलाई राष्ट्रिय उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित गरिएको छ । यसले कृषि पेशालाई सम्मानित बनाउन एवम् युवा जनशक्तिलाई कृषि उद्यमप्रति उत्प्रेरित गर्ने विश्वास मन्त्रालयको छ । मन्त्रालय अन्तर्गतका निकायमा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा लामो समयदेखि रिक्त रहेका पदमा नेतृत्व प्रदान गरिएको पनि मन्त्रालयले जनाएको छ ।
संस्कृति मन्त्री पाण्डेले गरे पशुपति क्षेत्रको अनुगमन
काठमाडौं । साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज पशुपतिनाथ मन्दिरसहित पशुपति क्षेत्रको अनुगमन गरेका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले अनुगमनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन् । उनले दर्शनार्थीसँग समेत कुराकानी गरे । दर्शनार्थीले छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएको प्रतिक्रिया दिएका थिए । यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको भक्तजनको अनुभव छ । दर्शनका लागि निःशुल्क बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखिएको रामकोटबाट आउनुभएकी दर्शनार्थी रमा रिमालले जानकारी दिए। यसले अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज भएको छ । धार्मिक आस्थाका दृष्टिले साउन महिनाको सोमबार शिवको भक्तिका लागि विशेष दिन मानिन्छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । भक्तजनको सहज आवागमनका लागि चक्रपथ घुमेर आउने निःशुल्क रुपमा चार वटा बस सेवा सञ्चालनमा ल्याइएको छ । अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई सक्रिय रहन निर्देशनसमेत दिएका थिए । साउन महिनाभर प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ । संस्कृतिमन्त्री पाण्डे सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा लगाइएको पितृमुक्ति ज्ञान महायज्ञसमेत सहभागी भएका थिए ।
एमाले केन्द्रीय बैठक जारी, सिग्देलले भने- ‘राष्ट्रपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा फर्कनु ठीक होइन’
काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टी अध्यक्ष ओलीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राख्ने क्रम सुरु भएको हो । अध्यक्ष ओलीले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रचार विभाग प्रमुख गौतमका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यले विधान संशोधनका विषयमा धारणा राख्न सुरु भएको छ । हालसम्म केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका छन् । उनीहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संसोधन प्रस्तावलाई समर्थन गरेका छन् । त्यसक्रममा केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताए । केन्द्रीय सदस्य पहारीले अध्यक्ष ओलीको नेतृत्वमा एमालेले मिसन ०८४ मा बहुमत ल्याउनुपर्ने सुनाए । आजदेखि सुरु भएको बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बैठक भोलिसम्म सञ्चालन हुनेछ ।
व्यास नगरपालिकाबाट २०६ विद्यार्थीलाई छात्रवृत्ति, शिक्षा क्षेत्रमा लगानी
काठमाडौं । तनहुँको व्यास नगरपालिका कार्यालयले २०८१/८२ मा २०६ विद्यार्थीलाई १८ लाख ४८ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । कक्षा १२ भन्दा माथिका ३९ जना विद्यार्थीलाई ११ हजारका दरले र कक्षा ९ देखि १२ सम्मका १६७ जनालाई आठ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो । आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गरेर पढ्ने वातावरण मिलाइदिएको नगरपालिकाले जनाएको छ । शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भनी नगरपालिकाले शिक्षा क्षेत्रमा बर्सेनि ठूलो रकम लगानी गर्दै आएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनले भने, ‘नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ, शैक्षिक क्यालेन्डर निर्माण गरी सोही आधारमा विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’ कक्षा ५ र ८ को परीक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर मापन कार्य गरिएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, दीर्घ सेवारत शिक्षक, निवृत्त शिक्षक गरी ४९ र १२ उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत एवं सम्मान गरेको थियो । राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा अन्तर विद्यालय विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरी उत्कृष्ट चार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । संघीय शिक्षण सिकाइ सहयोग अनुदानमा माध्यमिक र आधारभूत तहको २३ कोटामा विषयगत शिक्षक पदपूर्ति गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘प्रसूति बिदामा रहेका १३ शिक्षकको सट्टामा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन गरी पठनपाठन कार्यलाई सञ्चालन गरिएको थियो ।’
बीवाईडीले बनायो नयाँ कीर्तिमान, १ करोड ३० लाख एनईभी सवारी उत्पादन
काठमाडौं । न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाखौं युनिट सवारी साधन उत्पादन गरेर माइलस्टोन हासिल गरेको छ । चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौं सवारीको रुपमा सार्वजनिक गरेर सो उत्सव मनाएको हो । कम्पनीका अनुसार सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रुपमा बढिरहेको छ । गत जनवरी देखि जुन सम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ । त्यसैगरी यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ । यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा बीवाईडी पहिलो स्थानमा रहन सफल भएको छ र १ करोड ३० लाख न्यु इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनी समेत बनेर यो उद्योगमै एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । प्रोडक्सन लाइनमा १ करोड ३० लाखौं सवारीको रुपमा न्यु इनर्जी भेइकल सार्वजनिक गरेको छ र यसले बीवाईडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताहरुको आशा र विश्वासलाई प्रतिविम्बित गरेको छ । याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रुपमा परिचित छ र उच्च–गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान कायम गरेको छ । याङवाङले प्राप्त गरेको निरन्तर उपलब्धिहरूले केवल उच्च–स्तरीय अटोमोबाइल क्षेत्रमा चिनियाँ ब्रान्डहरूको ऐतिहासिक फड्को मात्र जनाउँदैन, यसले न्यु इनर्जीको युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रबल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई पनि प्रमाणित गरेको छ ।
नेपाल मेडिसिटीले पियर किड्नी एक्सचेन्जमार्फत बचायो ४ जनाको जीवन
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ । काठमाडौं निवासी र सिराहा निवासी दुई परिवारबीच मिर्गौला साटासाट गरी असार ३१ गते प्रत्यारोपण गरिएको हो । एक परिवारका ४८ वर्षे महिलाले अर्का परिवारका ५८ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् भने ५९ वर्षे महिलाले ४९ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् । श्रीमतीले आफ्नो श्रीमानलाई मिर्गौला दान गर्न चाहे पनि रक्त समूह नमिल्दा पियर किड्नी एक्सचेन्ज विधि अपनाइएको हो । अस्पतालमा मल्टिडिसिप्लिनरी टिम भएकै कारण पियर किड्नी एक्चेन्ज प्रत्यारोपण सफल भएको हो । यो शल्यक्रिया गर्दा एकैपटक दुई जना दाता र दुई जना प्राप्तकर्तालाई छुट्टाछुट्टै चारवटा अपरेशन कक्षमा एकैपटक शल्यक्रिया गरिन्छ । यसका लागि मिर्गौला रोग विशेषज्ञ, मिर्गौला सर्जनहरु, मुटुरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्टस्, तालिमप्राप्त नर्सहरुको टीमकै सहभागिता आवश्यक पर्दछ । नेपालमा पियर किड्नी एक्सचेन्जलाई कानुनी रूपमै मान्यता दिइएको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ तथा संशोधित ऐन २०७२ अनुसार, दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रूपमा एक अर्काको परिवारको सदस्यले मन्जुरी दिएको मनासिब देखिएमा प्रत्यारोपण स्वीकृती समितिले स्वीकृति दिन सक्ने छ । अस्पतालमा प्रत्यारोपण गराएका बिरामीहरुको आफ्नै परिवारबाट मिर्गौला दान गर्न सम्भव नभएपछि पियर किड्नी एक्सचेन्जको बाटो अपनाइएको हो । नेपाल मेडिसिटीको यस सफल प्रयासले नेपाली मिर्गौला उपचार सेवा क्षेत्रमा नयाँ अध्याय थपेको छ । अस्पतालले भविष्यमा पनि यस्ता नवीनतम चिकित्सा अभ्यासहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।