विकासन्युज

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका ५ उद्योगलाई कार्यपालिकाको बैठकको निर्णयानुसार बन्द गर्न लागिएको नगरले जनाएको छ । पाँचखालको नगरसभाबाट स्वीकृत भएको आर्थिक ऐन २०८१ को अधिनमा रही व्यवसाय कर चुक्ता गर्नुपर्ने तथा बक्यौता व्यवसाय कर चुक्ता गर्न नगरले पटकपटक पत्राचार गर्दासमेत बेवास्ता गरेकाले २०८१ चैत २६ गते नगर कार्यपालिकाको बैठकको निर्णयानुसार कर चुक्ता नगरेसम्म इँटा बिक्री बन्द गरिएको थियो । नगरमा सञ्चालित इँटा उद्योगले समयमै नगरलाई तिर्नुपर्ने हालसम्मको कर नबुझाएकाले नगर कार्यपालिकाको गत असार १८ गतेको निर्णयानुसार सिल गरिएको जनाइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार नगरको पत्राचारलाई बेवास्ता गरी व्यवसायीले अटेर गरेपछि सोमबार सुरक्षाकर्मीसहित नगरका प्रतिनिधिको टोलीले इँटाभट्टा सिल गर्ने प्रक्रिया अगाडि बढाएको छ । नगरलाई कर तिर्न बाँकी रहेका ५ भट्टामध्ये ३ वटा सोमबार सिल गरिएको र अन्य २ सिल हुने प्रक्रियामा रहेको सापकोटाले बताए। उनका अनुसार पाँचखाल–१२ मा रहेको श्री जय भीमसेन इँटा उद्योग प्रालि र पलाञ्चोक भगवती फिक्स चिम्नी इँटा उद्योग तथा पाँचखाल–७ स्थित सुवर्णेस्वरी इँटा उद्योग प्रालि सिल गरिएको हो । यस्तै पाँचखाल–८ मा रहेको उपकार इँटा उद्योग प्रालि र वडा नं ९ स्थित पलाञ्चोक भगवती ब्रिक इन्डस्ट्रिज प्रालि सिलको प्रक्रियामा रहेको जनाइएको छ । पाँचखालमा ८ इँटा उद्योग सञ्चालनमा छन् । यसैबीच गत जेठ अन्तिम साता काभ्रेको मण्डनदेउपुर नगरपालिकाले पटकपटक ताकेता गर्दा पनि कर तिर्न नटेरेको जनाउँदै चार क्रसर तथा इँटा उद्योग बन्द गराएको थियो । नगरप्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य सङ्घलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इँटा उद्योग गरी चार उद्योगमा ताला लगाएको थियो । रासस

राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक​​​​​​​ विधायन समितिमा पठाइने, भौतिक र गृह मन्त्रीले उत्तर दिने

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज अपरान्ह १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।  प्रतिनिधिसभा मातहतका तीन समितिको बैठक पनि आजै बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ । कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ । महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ । सो समितिमा लगातार यही विधेयकमाथि छलफल भइरहेको छ । 

खराब कर्जा घटेपछि सिन्धु विकास बैंकको नाफा २८७.६० प्रतिशत बढ्यो

काठमाडौं । सिन्धु विकास बैंकको गत आर्थिक वर्ष २०८१÷८२ मा खुद नाफा २८७.६० प्रतिशत बढेर ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ३ करोड ४ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष बैंकको खराब कर्जा १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा झरेको छ । बैंकको खराब कर्जा घटेसँगै नाफा बढेको देखिन्छ ।  समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशत घटेर १३ करोड ३७ लाख ५२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १९ करोड १४ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशत घटेर १५ करोड ६ लाख ७६ हजार रुपैयाँ, सञ्चाल नाफा ४१७.३९ प्रतिशत बढेर १५ करोड ३५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।  बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ र गेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन ३.५८ प्रतिशत घटेर ५ अर्ब ६८ करोड ८ लाख रुपैयाँ र कर्जा लगानी ९.३४ प्रतिशत घटेर ३ अर्ब २५ करोड २२ लाख रुपैयाँ गरेको छ ।  बैंकको प्रतिसेयर आम्दानी १५.६९ रुपैयाँ बढेर २१.१५ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ४०.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ८६.७० रुपैयाँ रहेको छ । 

लाभांश घोषणा गर्ने पहिलो कम्पनी बन्यो एनआईबिएल एस, सहभागिता फण्डले ७ प्रतिशत बाँड्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै लाभांशको सिजन पनि सुरु भएको छ । गत वर्ष लगानी गरेका कम्पनीहरुको आम्दानीबाट सबै हिसाबकिताब मिलान तथा लेखापरीक्षणपछि लाभांश वितरणको प्रस्ताव गरिन्छ । चालु आवमा लाभांश घोषणा गर्नेमा एनआईबिएल सहभागिता फण्ड पहिलो बनेको छ ।  एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना)ले लाभांश घोषणा गरेको हो । एनआईएमबि एस क्यापिटलको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सहभागिता फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआईबिएल सहभागिता फण्का इकाईधनीहरुलाई कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ साउन ५ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ५ गतेसम्म कायम इकाईधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् । क्यापिटलका अनुसार इकाईधनीहरुले लाभांशबाट प्राप्त रकमलाई पुनः लगानी योजनामार्फत थप इकाई खरिद गर्न सक्ने छन् । एनआईबिएल सहभागिता फण्डको स्वीकृत कोष आकार ६ अर्ब रुपैयाँ समाप्त भएकाले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धिको स्वीकृति प्राप्त गरे पश्चात् लाभांश प्राप्त गर्नेछन् । 

भारतका उपराष्ट्रपति धनखरले दिए राजीनामा

काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्दै राजीनामा दिने निर्णय गरेका हुन् ।  धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएका छन् । जसमा उनले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उल्लेख गरेका हुन् ।  आफ्नो पत्रमा राष्ट्रपति र प्रधानमन्त्रीको साथसाथै मन्त्री परिषद्लाई पनि उनको कार्यकालमा दिएको अमूल्य समर्थनका लागि धन्यवाद दिए ।  उपराष्ट्रपतिको रूपमा धनखरले सन् २०२२ मा पदभार सम्हालेका थिए । उनको कार्यकाल सन् २०२५ सम्म थियो । तर स्वास्थ्य कारणले उनले यो महत्वपूर्ण निर्णय लिएका हुन् ।  धनखरको राजीनामा पछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ। यस सम्बन्धी उपराष्ट्रपतिको सचिवालयले पनि जानकारी दिएको छ। उपराष्ट्रपतिको कार्यकालमा धनखरको योगदान अत्यन्त प्रेरणादायक र महत्त्वपूर्ण रहेको बताइएको छ । उनको कार्यकालको अवधिमा देशको संविधान र संसदीय प्रक्रियामा राम्रो ज्ञान र नेतृत्व देखाएको जानकारहरु बताउँछन् । 

आजदेखि नेपाल इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन, १० कित्ता हुनेले ३.४७ कित्ता पाउने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज साउन ६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।  कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । ​​​​हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा-चिप्लेढुङ्गा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।

बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमले आज साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै, जारी पुँजीको १८.७० प्रतिशत अर्थात् ५२ करोड ९४ लाख रुपैयाँको ५२ करोड ९४ हजार कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता सेयर छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २० गते र वैदेशीक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । 

बेनी-अर्थुङ्गे-पुलाचौर सडककाे बेनी-पुरुण्डी खण्ड पक्की बन्यो

काठमाडौं । म्याग्दीको बेनी-अर्थुङ्गे-पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिका-६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।  बेनीबाट बेनी-६ अर्थुङ्गे-बाँसबोट-एकपाटे-अवेचौर हुँदै पुरुण्डीसम्म ६ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।  “बेनीबाट अर्थुङ्गे हुँदै पुलाचौर जोड्ने सडक योजना बेनी नगरपालिकाको प्राथमिकताप्राप्त क्रमागत योजना हो । पुरुण्डीबाट पुलाचौतर्फको सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८२/८३ मा लागि १ करोड ६२ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ,’ उनले भने ।  बेनी-अर्थुङ्गे पुलाचौर सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा दुईवटा योजना सञ्चालन गरेको थियो । गत वर्षसम्म बेनीबाट अर्थुङ्गे हुँदै बेनी नगरपालिका-६ बाँसबोटसम्म ढलान र कालोपत्र भएको थियो । ६२ लाख ६७ हजार ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको योजनामार्फत एकपाटे र अवेचौर क्षेत्रमा ४२६ मिटर प्रिमिक्स कालोपत्र, १३० मिटर ढलान र १९० मिटर पक्की नाली निर्माण भएको बेनी नगरपालिकाका प्राविधिक मिलन केसीले बताए ।  सडक बोर्डको कार्यक्रमअन्तर्गत ६८ लाख ७९ हजार ४९८ रुपैयाँमा ठेक्का सम्झौता भएको योजनामार्फत पुरुण्डी खण्डमा २३२ मिटर ढलान, १५० मिटर पक्की नाली, पर्खाल निर्माण सकिएको र ७२ मिटर प्रिमिक्स कालोपत्र गर्न बाँकी छ । कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली र कुनातर्फ टेवा पर्खाल निर्माण भएको छ । यसअघि सडक ४ मिटरको अनुपातमा फरालिको थियो । विस्तार गरेर सात मिटरको अनुपातमा फराकिलो पारिएको छ । एकपाटेका बासिन्दा विष्णुदत्त शर्मा मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति भएसँगै आवतजावतमा सहज भएको बताए ।  ‘सडक सुधार भएसँगै यसअघि एकपाटेबाट बेनी आउन ४० मिनेट लाग्ने गरेकामा अहिले यात्राअवधि १० मिनेटमा छोटिएको छ,’ उनले भने, ‘हिलो र धुलोमुक्त सफा सडकमा सुरक्षित रूपमा यात्रा गर्न पाउँदा दङ्ग परेका छौँ ।’ स्तरोन्नति भएको सडकमा नियमित यातायातका साधन सञ्चालन गर्न र भाडादर समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् । स्थानीयको मागअनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नयाँ आर्थिक वर्षको सुरुआतसँगै नयाँ भाडादर लागि गरिएको नगरपालिकाले जनाएको छ ।