विकासन्युज

सोलार र ब्याट्रीले डिमाण्ड पूरा गरे धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्छ : शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलर ब्याट्रीले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ ।  अहिले उद्योगहरुमा विद्युतको खपत त्यति नरहेको शाक्यले जानकारी दिए । सोलार, ब्याट्रीले साँझ, बिहानको विद्युतको आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उनको भनाइ छ ।  राजधानीमा आयोजित एक कार्यक्रमललाई सम्बोधन गर्दै शाक्यले सिँचाइ हुने ठाउँहरुमा चोरीको समस्या देखिएको बताए ।  उनका अनुसार त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्नुपर्छ । त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ ।  प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमाण्ड ब्याट्री र सोलरले पूरा हुन्छ भने हामी हाइड्रको पछाडि लाग्नुपर्छ भन्ने छैन । हाम्रो डिमाण्ड भनेको दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्‍यो । हाम्रो राति त्यति बिजुली डिमाण्ड हुँदैन । औद्योगिक क्षेत्रमा अहिले त्यति विद्युत खपत छैन ।’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरुका सडक पोलमा विद्युत प्राधिकरणले बत्ति राख्दिने गरेतापनि पालिकाहरुले धेरै वर्षसम्म पनि विद्युत वक्यौता नतिर्ने गरेको बताए । उनका अनुसार बजेटमा नगरहरुले वक्यौता व्यवस्था गर्ने गरेका छैनन् ।  प्रशारण लाइनका नजिक सोलर राख्ने र प्रशारण लाइनभित्र परेका जग्गाहरुको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको बताउँदै उनले पाइलट पोजेक्टका रुपमा खिम्तिमा सुरु भइसकेको जानकारी दिए ।  

डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गर्‍यो

काठमाडौं । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो कार्डमार्फत सक्रिय डिशहोम ग्राहकहरूले देशभरका विभिन्न सेवा प्रदायकहरूबाट विशेष छुट र सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ‘माइ डिशहोम एप’ मा उपलब्ध यो डिजिटल कार्डले ग्राहकहरूलाई प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । सुरुवाती चरणमा १० प्रतिष्ठित ब्रान्डका ३५ आउटलेटहरू यो कार्डको नेटवर्कमा समावेश गरिएको छ । साझेदार ब्रान्डहरूमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप (जसअन्तर्गत देशका विभिन्न स्थानमा होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफेहरू छन्), होटल ले हिमालय (काठमाडौं), लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स (हरकपुर, मौलाकाली, बागलुङ), मेलुङ ठकाली, साकी एण्ड फेङ रेस्टुरेन्ट (काठमाडौं), लुम्बिनी केबलकार, मौलाकाली केबलकार (गैडाकोट, चितवन) र अचार घर (कमलपोखरी, कुपन्डोल) रहेका छन् । डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भनिन्, 'भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।' डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्ड र आउटलेटहरूसम्म सेवा विस्तार गर्ने योजना बनाएको छ। यस अन्तर्गत थप अफरहरू र श्रेणीहरू समावेश गरिनेछन् । डिशहोमका सक्रिय ग्राहकहरूले ‘माइ डिशहोम एप’ (प्लेस्टोर वा एप स्टोरबाट डाउनलोड गरी) प्रयोग गरेर आफ्नो भर्चुअल कार्ड देखाई साझेदार आउटलेटहरूमा छुट पाउन सक्नेछन् ।

सेग्वेले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ४ नयाँ मोडेल सार्वजनिक गर्ने

काठमाडौं । आइहब प्रालि, सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँच दिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा कम्पनीले गरेको छ । कम्पनीका अनुसार यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (ई १५० एमके २’ र ‘ई १२५ एमके २’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन् ।  यी मोडेलहरू सहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ । ‘सेग्वे ई १५० एमके २’ मा ७ हजार ५०० वाट मोटर र दुईवटा १ हजार ९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० किमी/घण्टा गति लिइ७५ देखि १२० किमीसम्म यात्रा गर्न सक्ने कम्पनीले दावी गरेको छ । ‘सेग्वे ई १२५ एमके २’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी.÷घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० किमीसम्मको दायरा दिनेछ। ‘सेग्वे जाइबर ई–बाइक’ मा ३ हजार वाट हब मोटर र १ हजार ४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ । यसले अधिकतम ३२ किमी/घण्टा गति लिई ७७ किमीसम्म चल्न सक्ने कम्पनीको दावी छ । ‘सेग्वे जाफारी ई–साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ किमी÷घण्टा गति लिन सक्छ र ५८ किमीसम्म चल्न सक्छ । साथै यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारीसाधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा कम्पनीको छ ।  सेग्वे व्यक्तिगत यातायात साधन प्रदान गर्ने विश्वस्तरको कम्पनी हो । करिब दुई दशकभन्दा बढी अनुभवसहित सेग्वेले हाल ८० भन्दा बढी मुलुकहरूमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन, फ्रन्टलाइन हस्पिटल र एनआईसी एशिया बैंकबीच भएको सम्झौतापछि ग्राहकहरूले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिँदा बैंकको डिजिटल माध्यमबाट भुक्तानी गरेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र अस्पतालका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् । ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा सो छुट उपलब्ध हुनेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई स्वास्थ्य सेवामा सहजता पुग्ने र देशमा नगदरहित कारोबार तथा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको छ ।

बहुविवाहलाई मान्यता दिने बहसबारे गृहमन्त्री : कानूनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्नुस्

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कानूनमा खराब व्यवस्था आउँछन् भन्ने आशंका नगर्न आम नागरिकहरूलाई आग्रह गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् अन्तर्गतको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले यस्तो आग्रह गरेका हुन् । उनले बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी कानून गरी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव प्रस्तुत भएको जानकारी दिए । गृहमन्त्री लेखकका अनुसार, बहुविवाहसम्बन्धी व्यवस्था, विवाहको उमेर, अग्रिम जमानत, राष्ट्रपतिको सिफारिसमा हुने सजाय माफी, मुल्तवी वा परिवर्तन जस्ता विषयमा थप छलफल र परिमार्जन आवश्यक रहेको निष्कर्षमा समिति पुगेको हो । बैठकले ती संवेदनशील विषयमा थप अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । उक्त उपसमितिले सम्बन्धित मन्त्रालयहरू, कानून आयोग, महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरी संशोधन तथा परिमार्जनको प्रक्रिया अघि बढाउने बताइएको छ । गृहमन्त्री लेखकले भने, 'नागरिकको चासोलाई विधेयक समितिले सम्बोधन गरेर संशोधन गर्छ । कानूनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्नुस् । यो प्रक्रिया जनताको हितमा अघि बढ्छ ।'

काईको ‘बबाल अफर’ घोषणा, एक्स थ्री प्रो ईभी किन्दा ९ लाख छुट

काठमाडौं । काई इलेक्ट्रिक सवारीसाधनहरूको नेपालका लागि अधिकृत वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई-मोबिलिटीले ‘काई बबाल अफर’ घोषणा गरेका छन् ।  यो अफरमा काई एक्स थ्री प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टमा छुट र आकर्षक सुविधा दिइएको छ । काई एक्स थ्री प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँबाट घटाएर केवल ३९ लाख ९६ हजारमा उपलब्ध गराइँदैछ ।  साथै ग्राहकले ७।३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको सर्भिस र स्पेयर टायर पाउनेछन् । यो विशेष अफर नाइमा मोबिलिटी एक्स्पो अवधिभर मात्र लागू हुनेछ ।  काई एक्स थ्री प्रोको अफर नाइमा मोबिलिटी एक्स्पो र काठमाडौंको नक्साल, थापाथली, बिर्तामोड, नेपालगञ्ज, धनगढी, दाङ, भैरहवा, हेटौडा, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका प्रमुख सहरका अधिकृत शोरुमहरू मा उपलब्ध हुनेछ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसङ्घीय सम्मेलन सुरु, प्रधानमन्त्री ओलीको सम्बोधन आजै

काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ । आजदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटनस्थल आवाजास्थित स्पोर्टस कम्प्लेक्समा स्वागत गरेका थिए ।  उद्घाटनसत्रमा सम्बोधन गर्दै महासचिव गुटेरेसले भूपरिवेष्टित मुलुकहरुले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बजारसम्मको पहुँच बढाउन र भोगिरहेका समस्या समाधान गर्नका लागि आवश्यक सहयोग एवं समन्वयसहित साझा प्रयास गर्नुपर्नेमा जोड दिए ।  तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण–दक्षिणको सहकार्यका साथै संसदीय मञ्च, युवा र नागरिक सञ्जालको सक्रियताबाट भूपरिवेष्टित विकासशील राष्ट्रहरूले भोगिरहेका आर्थिक र सामाजिक समस्याको समाधान गर्नुपर्ने बताए । यसैगरी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटनसत्रलाई सम्बोधन गरेका थिए ।  सम्मेलनको ‘प्लेनरी’सत्र आवाजास्थित पर्यटकीय भवनमा सुरुभएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्बोधन गर्ने छन् । उनले अल्पविकसित मुलुक (एलडिसी) समूहका तर्फबाट समेत सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी, सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटवार्ता गर्ने छ ।  समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण विशेषगरी भूपरिवेष्टित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, ‘कनेक्टिभिटी’ र आर्थिक विकासमा कठिनाइ झेलिरहेको अवस्थामा तुर्कमेनिस्तानमा भइरहेको सो समूहको तेस्रो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।  प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्राडा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् । रासस

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई नजरबन्दमा राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई हाउस अरेस्ट (घरमै नजरबन्द) गर्न आदेश दिएको छ । बोल्सोनारोमाथि अवैधानिक सत्ता कब्जाको आरोपमा मुद्दा चलाइएको छ । बोल्सोनारोले आफू अवैधानिक सत्ता कब्जाको कथित योजनामा संलग्न नरहेको दाबी गरेका छन् । न्यायाधीश एलेक्जेन्डर डी मोरेसले भने अनुसार यो निर्णय त्यसकारण लिइएको हो किनभने बोल्सोनारोले गत महिनामा आफूमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेका थिए । यस विषयमा बोल्सोनारोको कानुनी टोलीले प्रतिबन्धको उल्लंघन गरिएको दाबी अस्वीकार गरेको छ र उक्त आदेशविरुद्ध अपील गर्ने बताएका छन् । अमेरिकाले भने ब्राजिलको सर्वोच्च अदालतको उक्त आदेशको निन्दा गरेको छ । ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो सन् २०१९ देखि २०२२ सम्म राष्ट्रपति पदमा रहेका थिए । उनले आफ्नो कार्यकालको अन्त्यतिर ब्राजिलमा राजनीतिक रूपमा अत्यन्त विभाजित वातावरण सिर्जना गरेका थिए । २०२३ को जनवरीमा बोल्सोनारोका समर्थकहरूले चुनावमा हार स्वीकार नगरी ब्राजिलको संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका थिए ।  बोल्सोनारोमाथि त्यस घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताको आशंका गर्दै ब्राजिलको सर्वोच्च अदालतले अनुसन्धान अगाडि बढाएको छ । यही सन्दर्भमा उनलाई गत महिना राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाइएको थियो, जसको उल्लंघन गरेको आरोपमा अब उनलाई घरमै नजरबन्द गर्न आदेश दिइएको हो ।