विकासन्युज

लोडसेडिङको तालिका निकाल्ने कर्मचारीको सरुवा, हाइड्रोको आवश्यकता नरहेको अभिव्यक्तिको आलोचना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको तालिका सार्वजनिक गर्ने कर्मचारीको सरुवा गरेका छन् । उनले नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेका हुन् । उनलाई  प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती सरुवा गरिएको जानकारी दिइएको छ ।  नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले गत साउन १० गते विद्युत आपूर्ति कटौती गर्ने सूचना सार्वजनिक गरेको थियो । त्यसपछि लोडसेडिङ पुनः सुरु भएको भन्दै देशव्यापी रूपमा प्राधिकरणको नेतृत्वको आलोचना भएको थियो ।  शाक्यले आफूलाई असहयोग गरेको भन्दै सजाय स्वरूप उनको सुरुवा गरिएको बुझिएको छ ।  पछिल्लो समय एकपछि अर्को विवादित अभिव्यक्ति र कार्यशैली गर्दै आएका शाक्यले सोलार र ब्याट्रीले बिजुली पुर्‍याउन सके विद्युत् प्राधिकरण जलविद्युतकाे पछि लाग्न जरुरी नरहेको धारणा राखेका थिए ।  मंगलबार एक सार्वजनिक कार्यक्रममा उनले सोलार र ब्याट्रीले साँझ बिहानको बिजुली पुर्‍याउन सके जलविद्युत भनिरहनुपर्ने अवस्था नरहने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिपछि जलविद्युत उद्यमीले आलोचना गरिरहेका छन् ।  ‘हामीलाई ऊर्जा कहाँबाट आयो भन्ने छैन, ब्याट्री र सोलारले माग पूरा हुन्छ भने हाइड्रोको पछि लाग्नुपर्छ भन्ने छैन। दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नु पर्‍यो। रातिमा त्यति बिजुली डिमाण्ड हुँदैन,’ शाक्यले कार्यक्रममा भनेका थिए । 

नाइमा मोबिलिटी एक्स्पोमा अर्थमन्त्रीले गरे आधुनिक प्रदर्शनी हल निर्माणको घोषणा

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५', बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे ।  उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको नीतिगत स्थायित्वको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको र आगामी दिनमा अनावश्यक नीतिगत फेरबदल नगरिने प्रतिबद्धता व्यक्त गरे । समारोहमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्ने घोषणा गरे । उनले भने, 'यो केवल बजेटमा बोलिएको विषय मात्र होइन, यो कार्यान्वयन हुने विषय हो । ढिलोमा पनि तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हल निर्माण भइसक्नेछ, जसले निजी क्षेत्रले भोग्दै आएको झन्झटको अन्त्य गर्नेछ ।' उनले सरकार पूर्वाधार विकास, विशेषगरी गुणस्तरीय सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकताका साथ लागेको बताए । पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र उत्तर(दक्षिण करिडोर निर्माणका कामहरू तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । अर्थमन्त्रीले हालैको बजेट निजी क्षेत्रसँगको बृहत छलफलपछि ल्याइएको र यसले लगानीको वातावरण बनाउन तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको स्पष्ट पारे । 'यो बजेट अर्थमन्त्रीले बनाएको होइन, यो हामी सबैले बनाएको बजेट हो भन्ने अनुभूति निजी क्षेत्रले गरोस् भन्ने हाम्रो चाहना थियो,' उनले भने । नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले स्वागत मन्तव्य राख्दै अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र रोजगारीमा पुर्‍याएको महत्वपूर्ण योगदानबारे प्रकाश पारिन् । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढीलाई रोजगारी दिएको छ र कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्‍याएको छ । अध्यक्ष वैद्यले भनिन्, 'अटोमोबाइल क्षेत्रले बारम्बार नीतिगत अस्थिरताको सामना गर्नु परेको छ, जसले लगानीको वातावरणलाई असर गरेको छ। हामी सरकारसँग नीतिगत स्थायित्वको लागि जोडदार माग गर्दछौं ।' उनले  भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हलको आवश्यकता औंल्याउँदै यसका लागि सरकारसँग आग्रह गरेकी थिइन् । अध्यक्ष वैद्यले नाइमा केवल एउटा संस्था मात्र नभएर एक 'मुभमेन्ट' भएको र यसले नेपालको मोबिलिटी इकोसिस्टमलाई बलियो बनाउने लक्ष्य राखेको बताइन् ।  एक्स्पोमा ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा 'मोबिलिटी : हिजो, आज, भोलि', 'वर्कफोर्स डेभलपमेन्ट,' र 'सेफ मोबिलिटी' जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्वपूर्ण मञ्च बनेको छ । सरकारको सकारात्मक प्रतिबद्धता र निजी क्षेत्रको उत्साहले आगामी दिनमा यो क्षेत्रले थप गति लिने अपेक्षा गरिएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा प्रोटोन ईमास ७ को प्रदर्शनी, जगदम्बा मोटर्सले दियो आकर्षक अफर

काठमाडौं । जगदम्बा मोटर्सले 'नाइमा मोबिलिटी एक्स्पो २०२५' मा प्रोटोन ईमास ७ को प्रदर्शनी गरिरहेको छ । प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले कार्यक्रममा अफरको घोषणा गर्दै देशभर सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । यसअघि मलेसियामा आफ्नो सेग्मेन्टमा नम्बर १ ईभीको मान्यता पाएको प्रोटोन ईमास ७ यस वर्षको सुरुवातमा नेपालमा निर्यात भएर इतिहास रचेको थियो । सन् २०१८ देखि प्रोटोनको आधिकारिक वितरकका रूपमा कार्यरत जगदम्बा मोटर्सले २०२५ भित्रै देशभर १२ वटा सोरूम तथा सेवा केन्द्र विस्तार गर्ने लक्ष्य लिएको छ, जसअन्तर्गत हाल ३ वटा सोरूम सञ्चालनमा छन् । शंकर ग्रुपमार्फत विकसित इभी इकोसिस्टम अन्तर्गत ग्राहकका लागि प्रामाणिक स्पेयर पार्ट्स, आधुनिक डाइग्नोस्टिक उपकरण, प्रमाणित प्राविधिक, चार्जिङ स्टेसन र सरल वारन्टी प्रक्रिया उपलब्ध गराइनेछ। यी सबै सेवाले ग्राहक आवश्यकताको सम्पूर्ण सम्बोधन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । नाइमा एक्स्पोमा घोषणा गरिएका प्रमुख अफरहरू ०.५ प्रतिशत ब्याजदरमा ४ वर्षको फाइनान्सिङ योजना, जसमा ६० मिनेटभित्र ऋण स्वीकृति ८ वर्षको अनलिमिटेड माइलिज ब्याट्री वारन्टी २.९९ लाख रुपैयाँको नगद छुट, साथै थप लाभहरू पुरानो गाडीमा उच्चतम मूल्यांकनसहित एक्सचेन्ज अफर निःशुल्क अटो प्लस बीमा 'इमास असिस्टेन्ट प्लस' सेवा, जसमा प्रिमियम रोडसाइड सहायता र ह्वाट्सएप ग्राहक सहायता सुविधा

३८ हजार नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौं । ३८ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जना युवक सुनसरीबाट पक्राउ परेका छन् । उनीहरू भारतबाट नक्कली नोट लिएर नेपाल प्रवेश गर्ने क्रममा सीमाबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही पालिकाको वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् । दुवै जनालाई कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर पोस्ट नजिकबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार उनीहरू लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट, अर्थात् ३८ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका- ९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा, भारतमाथि थप कर बढ्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी चरणमा २५० प्रतिशतसम्म पुग्न सक्ने स्पष्ट पारेका छन् । साथै, उनले विदेशी अर्ध चालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी भइरहेको जानकारी दिए । सीएनबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले प्रारम्भमा औषधिमा सानो दरको शुल्क लगाइने भए तापनि आगामी एक वर्षदेखि डेढ वर्षभित्र त्यसको दर १५० प्रतिशत र त्यसपछिका चरणहरूमा २५० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको बताए ।  ‘हामी सुरुमा औषधिमा सानो शुल्क लगाउँदैछौँ,’ ट्रम्पले भने, ‘तर एक वर्ष वा डेढ वर्षभित्र यो १५० प्रतिशत हुन्छ र पछि २५० प्रतिशत पुग्छ। हामी चाहन्छौं कि औषधिहरू अमेरिकामै उत्पादन होउन ।’ उक्त अन्तर्वार्तामा उनले भारतमाथि पनि आयात शुल्क निकै उल्लेखनीय मात्रामा बढाउने योजना रहेको बताए । यसको कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्दै आएको विषय भएको उनको धारणा छ ।  राष्ट्रपतिले यो निर्णय २४ घण्टाभित्र लागू हुन सक्ने संकेत दिए । ट्रम्प प्रशासनले यसअघि सन् २०२५ को अप्रिल महिनामा अधिकांश व्यापारिक साझेदारहरूमाथि १० प्रतिशतको आधारभूत भन्सार शुल्क लागू गरिसकेको थियो ।  यद्यपि, केही विशिष्ट वस्तुहरू जस्तै औषधि र अर्धचालकहरूलाई छुट दिइएको थियो, जसमा छुट्टै अनुसन्धानपछि शुल्क लगाउने योजना बनाइएको थियो । यसप्रकारका क्षेत्र-विशेष शुल्कहरू सामान्यतः राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरूमा आधारित सरकारी अनुसन्धानपछि लागू गरिन्छन् । ट्रम्प सरकारद्वारा औषधि र अर्धचालकहरूमा पहिल्यैदेखि अनुसन्धान सुरु गरिएको थियो र ती अध्ययनहरू अन्तिम चरणमा रहेको जनाइएको छ। अध्ययनको निष्कर्षका आधारमा नयाँ शुल्क घोषणा हुने अपेक्षा गरिएको छ । यसअघि राष्ट्रपति ट्रम्पले आयातित फलाम र एल्युमिनियममा ५० प्रतिशत भन्सार लगाइसकेका छन् । यस्तै, सवारीसाधन र पाटपुर्जाहरूमा पनि छुट्टै तर कम दरको शुल्क लागू गरिएको छ ।

भिडियो एक्सरे मेसिन चलाउने मान्छे नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा बन्द

काठमाडौं । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रा साउण्ड लगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको हो । तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवा प्रवाहबाट वञ्चित भएका छन् ।  अस्पतालमा भिडियो एक्सरे मेसिन उपलब्ध भए पनि त्यसलाई चलाउने जनशक्ति अभावका कारण सेवा बन्द रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति सह प्राध्यापक डा डबल बहादुर धामीले जानकारी दिए ।  प्रतिष्ठानले रेडियोलोजिस्टका लागि माग गरे पनि कोही सम्पर्कमा नआउँदा यो समस्या भएको उनले बताए । एक सातादेखि बन्द भएको सिटिस्क्यान सेवा भने सञ्चालनमा ल्याएको निमित्त उपकुलपति डा. धामीले बताए । 

राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष सञ्चालनमा नरहेका खातामा ब्याज नदिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ६ वर्षसम्म सञ्चालनमा नरहेका खातामा ब्याज नदिने भएको छ । बैंकले एक सूचना जारी गर्दै ६ वर्ष वा सोभन्दा बढी अवधिसम्म सञ्चालनमा नरहेका कोषमा रहेका खाताहरूमा रहेको रकममा ब्याज नदिने भएको हो ।  बैंकबाट अवकाश भएर अवकाश कोषका केही हिताधिकारीहरूको कोषमा रहेका अवकाश योगदानका रकमहरू सम्बन्धित हिताधिकारीहरूका नाममा रहेका खाताहरूमा लामो समयसम्म लेना तथा देना रकम बाँकी रहेको जनाएको छ ।  कोषको कार्यकारिणी समितिको निर्णयानुसार सम्बन्धित व्यक्तिहरूलाई यथाशीघ्र कोषमा सम्पर्क राखी आफ्नो रकम राफसाफ गर्ने अनुरोध गरेको हो । यसरी लामो समय (६ वर्ष वा सोभन्दा बढी समय) सम्म सञ्चालनमा नरहेका खातामा रहेका रकममा ब्याज प्रदान नगरिने निर्णय भएको बैंकले जनाएको छ ।  कोष वा नजिकमा रहेको बैंकको शाखा कार्यालयमा सम्पर्क राखी थप जानकारी लिन सकिने बैंकले जनाएको छ ।