सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले लाभांश वितरण गर्ने
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले लाभांश वितरण गर्ने भएका छन् । फण्डहरुले गत आर्थिक वर्ष २०८१/८२ को मूनाफाबाट इकाईधनीलाई लाभांश वितरण गर्ने भएका हुन् । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ को प्रतिफल वितरण गर्ने भएका हुन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत प्रतिफल लाभांश गर्ने भएको हो । इकाईधनी बुक क्लोज हुने बारेको सूचना पछि प्रकाशन हुने कम्पनीले जनाएको छ ।
सिक्लेस हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा, १ सय प्रतिशत हकप्रद सेयर
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव निराजन महर्जनले जानकारी दिए । उनका अनुसार बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्ता पुँजीको कम्पनीले १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद सेयरबाट संकलित रकम अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उनको भनाइ छ ।
अलिबाबाबाट अर्बौं कमाएका सोन ३०० वर्ष टिक्ने एआई साम्राज्य बनाउँदै
काठमाडौं । मसयोसी सोनले सफ्टबैंक कृत्रिम बौद्धिकता (एआई) द्वारा सञ्चालित क्रान्तिको केन्द्र बन्ने विश्वास लिएका छन् । सोनको भनाइमा कृत्रिम सुपर इण्टेलिजेन्स (एएसआई) — जसको क्षमता मानिसभन्दा १० हजार गुणा बढी बुद्धिमान हुने बताइन्छ, १० वर्षभित्रै आउनेछ । यसका लागि उनले आजसम्मकै ठूलो जोखिम मोल्दैछन् । उनले विगतमा पनि ठूलो जोखिम लिएका छन्– जसको एक उदाहरण सन् २००० मा चिनियाँ ई–कमर्स कम्पनी अलीबाबामा गरेको २० मिलियन डलरको लगानी हो, जसबाट सफ्टबैंकले अर्बौं डलर कमाएको छ । अर्बपति उद्यमीले एआई क्षेत्रमा लगानी र अधिग्रहणमार्फत सोही सफलता दोहोर्याउने लक्ष्य लिएका छन्, जसले सफ्टबैंकलाई आधारभूत प्रविधि परिवर्तनको केन्द्रमा पुर्याउनेछ । गत वर्षदेखि उनले सार्वजनिक रूपमा एआईको दृष्टिकोण व्यक्त गर्दै आएको भए पनि सफ्टबैंकका दुई पूर्व कार्यकारीका अनुसार यो सोच धेरै पहिलेबाट नै थियो । सफ्टबैंकका पूर्व वित्त प्रमुख र पूर्वअध्यक्ष आलोक सामाले सन् २०१६ सम्मको अनुभव सुनाउँदै भने, ‘पहिलोपटक जब म उनको घरमा डिनरका लागि गएँ, वाइनको ग्लाससँगै उनको बरन्डामा बस्दा उनले ‘सिंगुल्यारिटी’ — अर्थात मेशिन इण्टेलिजेन्सले मानव बौद्धिकतालाई पार गर्ने क्षण बारे कुरा गर्न थाले ।’ सफ्टबैंकको एआई रणनीति सोनका लागि एआई व्यक्तिगत महत्त्वको विषय हो । ‘सफ्टबैंक किन स्थापना भएको हो ? म सोन किन जन्मेको हुँ ? अचम्म लाग्न सक्छ, तर म एएसआईलाई साकार गर्न जन्मिएको हुँ भन्ने लाग्छ,’ उनले गत वर्ष भनेका थिए । २०१६ मा सफ्टबैंकले करिब ३२ अर्ब डलरमा चिप डिजाइनर ‘आर्म’ किनेको थियो । आज ‘आर्म’को मूल्य १४५ अर्ब डलरभन्दा बढी छ । आर्मको डिजाइनले विश्वका अधिकांश स्मार्टफोनको आधार निर्माण गर्छ, तर हाल कम्पनी एआई पूर्वाधारको प्रमुख खेलाडी बन्न खोज्दैछ । यही मेसोमा सफ्टबैंकले अर्को चिप डिजाइनर ‘एम्पियर कम्प्युटिङ’लाई ६.५ अर्ब डलरमा किन्न योजना घोषणा गर्यो च्याटजीपीटी निर्माता ‘ओपनएआई’मा पनि सफ्टबैंकको ठूलो लगानी छ । कम्पनीले हालै ओपनएआईमा करिब ४.८ ट्रिलियन जापानी येन (३२.७ अर्ब डलर) लगानी गर्ने योजना सार्वजनिक गरेको छ । रोबोटदेखि एआईसम्मको यात्रा २०१० मा ‘सफ्टबैंकको आगामी ३० वर्षको दृष्टि’ सार्वजनिक गर्दै सोनले ‘ब्रेन कम्प्युटर’ — आफै सिक्ने र प्रोग्राम गर्ने प्रणालीको अवधारणा राखेका थिए । २०१२ मा सफ्टबैंकले फ्रान्सेली कम्पनी ‘अल्डेबारेन’मा बहुमत हिस्सेदारी किन्यो । दुई वर्षपछि उनीहरूले ‘पेपर’ नामक मानवीय भाव बुझ्न सक्ने व्यक्तिगत रोबोट बजारमा ल्याए । तर पेपरको परियोजना सफल भएन । २०२० मा उत्पादन बन्द भयो र २०२२ मा सफ्टबैंकले अल्डेबारेनलाई जर्मन कम्पनीलाई बेच्यो । सोनको प्रारम्भिक रोबोट चासोले भविष्यका एआई एप्लिकेशनप्रति उनको गहिरो रुचि देखायो । भिजन फन्ड र ठूला जोखिमहरू २०१७ मा सोनले १०० अर्ब डलरको ‘भिजन फन्ड’ स्थापना गरे, जसले उबर, चिनियाँ ‘डिडी’ लगायतमा ठूलो लगानी गर्यो । तर वर्कस्पेस कम्पनी ‘वीवर्क’ जस्ता असफल लगानीले २०२३ सम्ममा अर्बौं डलर घाटा निम्त्यायो । पूर्व भिजन फन्ड साझेदारका अनुसार ती लगानीहरू पनि सोनको एआई दृष्टिकोणसँग जोडिएका थिए– जसमा पहिलो एआई एप्लिकेशन ‘स्व–चालित कार’ हुने विश्वास थियो । तर समयभन्दा अगाडि भएको कारण परिणाम सीमित रह्यो । जोखिम र अवसर आज अमेरिकी र चिनियाँ प्रविधि दिग्गजहरू ‘कृत्रिम साधारण बौद्धिकता’ (एजीआई) प्राप्त गर्न होडमा छन् । यस क्षेत्रमा लगानीको जोखिम उच्च छ, तर सम्भावित लाभ अझै उच्च हुनसक्छ । यो वर्ष चिनियाँ कम्पनी ‘डिपसीक’ ले अमेरिकी प्रतिस्पर्धीभन्दा सस्तोमा विकसित गरिएको ‘रिजिनिङ मोडेल’ सार्वजनिक गर्दा विश्व बजार हल्लिएको थियो । सोनको लक्ष्य सफ्टबैंकलाई ३०० वर्षसम्म टिक्ने ‘डीएनए’ दिने हो । उनका पूर्व सहकर्मीका शब्दमा ‘उनले केही गल्ती गरे, तर दिशा एउटै हो– उनी एआईमा वास्तविक खेलाडी बन्न चाहन्छन् र त्यो सम्भव बनाउन लागेका छन्।’ ४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास
माधवलाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, साथीहरू सत्ताच्युत गर्न खोज्यो भन्दैछन् : झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रश्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यका रूपमा नबुझ्न आग्रह गरेका छन् । उनले यस्ता टिप्पणीहरूलाई कच्चापन र बचपनाको संज्ञा दिँदै असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुराहरू नगर्न नेताहरूलाई आग्रह गरे । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ । माधव नेपालले २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलीलाई ८ सय १५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै २०६६ चैत ६ मा उक्त जग्गा बेच्न स्वीकृति दिएको आरोप छ । यो निर्णय कानूनविपरीत भएको र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारले २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ । नेपालको सांसद पद निलम्वन छ । सोही विषयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो किसिमको बच्पना नदेखाउन पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टी नेताहरुले उक्त मुद्दा माधव नेपाललाई मात्रै लागेको मुद्दा नभइ पार्टीलाई नै लागेको मुद्दा हो भन्ने टिप्पणी गरिरहेको भन्दै यो गलत रहेको बताए । सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु गर्नु उचित नहुने उनको भनाइ छ । असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरितका कुराहरु नगर्न पनि आग्रह गरे । यसले अध्यक्ष नेपाललाई झन बढी समस्या पार्ने जिकिर सम्मानित नेता खनालको छ । उनले भने, ‘उहाँले (माधव नेपाल) कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनुभयो । म अचम्मित छु । माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ । १९ करोडको मुद्दा लागेको छ । तर कसरी माधव कमरेडलाई बचाउने होला, उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने होला ।’ उनले अध्यक्ष नेपालमाथि १९ करोड बराबरको मुद्दा लागेको र आफूले उनलाई कसरी बचाउने होला भनेर सोचिरहेको बताए । अध्यक्ष नेपालको मुद्दालाई अनुकुल कसरी बनाउने ? प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला ? भनेर सोचिरहेको उनको भनाइ छ ।
‘नर्सिङ पेसालाई अस्पतालबिनै चलेका कलेज र कमजोर अनुगमनले संकटमा पार्यो’ {अन्तर्वार्ता}
नेपाल नर्सिङ परिषदले लिने लाइसेन्स परीक्षामा ८० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुन्छन् । बीएस्सी नर्सिङमा तुलनात्मक रूपमा नतिजा राम्रो भए पनि सन्तोषजनक भने छैन । प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद (सीटीईभीटी) अन्तर्गतको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा हेर्ने हो भने अवस्था अझै दुःख लाग्दो छ । जसले नर्सिङ शिक्षाको गुणस्तरको विषयमा ठूलो प्रश्न खडा गरेको छ । नेपालमा नर्सिङ शिक्षाको अवस्था, समस्या र अवसरको विषयमा विकासन्युजका लागि इन्द्रसरा खड्काले नेपाल नर्सिङ परिषदका अध्यक्ष प्रा.सरला केसीसँग कुराकानी गरेकी छन् । तपाईंहरूले केही साता अगाडिमात्र नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गर्नुभयो, परीक्षाको परिणामलाई कसरी कसरी हेर्नु भएको छ ? यो पटक मात्र होइन, नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सतप्रतिशत पास कहिल्यै आउँदैन । यो पटकको मात्र कुरा गर्ने हो भने सीटीईभीटीअन्तर्गत नर्सिङतर्फ प्रमाणपत्र तहको लाइसेन्स परीक्षाको नतिजा निकै नराम्रो आयो । परीक्षामा ९ सय २६ जना सहभागी भएकोमा १ सय ७७ जनामात्र पास भए । झण्डै ८१ प्रतिशत विद्यार्थी फेल हुनु भनेको राम्रो पक्कै होइन । बीएस्सी नर्सिङ परीक्षामा भने ६२ प्रतिशत पास भए । यसमा फ्रेस विद्यार्थी पास हुन्छन् भने, जो धेरै पहिले पढेका र पटक-पटक परीक्षा दिइरहेका हुन्छन् उनीहरू बढी फेल भएका हुन् यद्यपि यो राम्रो नतिजा हो भन्नेमा भने परिषद सन्तुष्ट छैन । यति ठूलो संख्यामा अनुत्तीर्ण हुन्छन् ? कहिलेकाही ब्याचअनुसार पनि नतिजा फरक पर्दो रहेछ । यो भन्दा अगाडि ७० प्रतिशतसम्म पनि विद्यार्थी पास भएका पनि छन् । तर, अहिलेको कुरा गर्ने हो भने फ्रेस भन्दा थिग्रिएका पुराना विद्यार्थी धेरै थिए । फेल भइरहेका भनेको धेरै वर्ष अगाडिदेखि परीक्षा दिँदै आएका परीक्षार्थी हुन् । तत्कालै पढेर आएका विद्यार्थी त्यति फेल हुँदैनन् । हामी कहाँ ८, १० वर्षदेखि परीक्षा दिँदै आएका नर्सहरू पनि हुनुहुन्छ त्यसैले पनि नतिजा यस्तो देखिएको हो । अर्को कुरा आजभोलि उत्पादन भएका नर्सहरूमा सैद्धान्तिक ज्ञान भएपनि व्यवहारिक ज्ञान नभएको पाइन्छ । यो समस्या धेरै पहिलेदेखिको हो । सीटीईभीटीअन्तर्गत पीसीएल नर्सिङको पढाइ सीटीईभीटी अन्तर्गतका कलेजहरूमा सञ्चालन हुन्छ । त्यहाँका पढाइ कस्तो भइरहेको छ, विद्यार्थीले सिकेका छन् कि छैनन्, कस्तो वातावरणमा पढाइ भइरहेको छ, नर्सले पढे अनुसारको कुरा अस्पतालमा गएर सिक्न पाएको छ कि छैन भन्ने कुरामा भर पर्छ । सायद यो कुरामा सीटीईभीटीले अनुगमन गरिरहेको छ होला । कुनै पनि नर्सिङ कलेजको आफ्नै एक सय शैयाको अस्पताल सञ्चालन हुनुपर्छ भन्ने छ तर यहाँ अहिले पनि आफ्नै अस्पतालहरू नभएका कलेज पनि सञ्चालनमा आइरहेका छन् । यसैको परिणाम न नर्स परीक्षामा पास हुन सक्छन् न व्यवहारिक ज्ञानमा दक्ष हुन सक्छन् । यो ठूलो समस्याको रूपमा देखिन्छ । अस्पतालबिना कलेजहरू अहिले पनि सञ्चालन छन् ? अवस्था अझै उस्तै छ । अहिले पनि अस्पताल नभएका कलेजहरूले शिक्षा दिइरहेका छन् । थाह छैन कुन दलका नेताले च्यापेका छन् । यस्ता कलेजले व्यवहारिक भन्दा सैद्धान्तिकमा जोड दिन्छन् । हामीले लिने लाइसेन्सको परीक्षा भनेको सैद्धान्तिक भएपनि प्राक्टिकल बेस कुरा धेरै आउँछ । किनभने लाइसेन्स लिएको भोलिपल्ट नर्सले प्राक्टिकल गर्नुपर्छ । त्यो बेला सिद्धान्त भनेर त हुँदैन । त्यसकारण जो मापदण्ड नपुगेका कलेजहरू छन् उनीहरूले उत्पादन गरिरहेका नर्सहरूमा बढी समस्या देखिएको छ । किन कि उनीहरुले बिरामी नै देखेको छैनन् । सीटीईभीटीको कुरै छोडौं, बीएससी पढाउने काठमाडौं उपत्यका भित्रकै कलेजहरूमा पनि अस्पतालमा नटेकाइकन बच्चाहरुलाई राखेको छ । अस्पताल लग्यो भने त्यही कटनहरू पोको पार्न लाउने मात्रै राखेको छ भन्ने हामीलाई कति कम्प्लेन आएको छ। त्यो कम्प्लेन मैले चाहिँ चिकित्सा शिक्षामा पुर्याइसकेकी छु । तर,आयोगले यसलाई कसरी हेरिरहेको छ थाहा छैन । उपत्यकाभित्र पनि यस्ता कलेज छन् ? हो, यही भ्याली भित्रै छन् । काठमाडौं, ललितपुरभित्रै, भक्तपुरभित्रै छन् । त्यस्ता थुप्रै कलेजहरू छन् । कलेज सञ्चालकहरूको र कतातिर के को सञ्जाल कतातिर छ म बुझ्दिनँ तर क्वालिटीमा कम्प्रमाइज अहिले पनि भइरहेको छ । बाहिर देखावटी रूपमा अस्पताल देखाउने तर भित्र अस्पताल नभएका कलेजहरू अहिले पनि छन् । तपाइहरुले पनि यसो विचार गरेर हेर्नुभयो भने त्यो पाइन्छ । अनि अनुगमन हुँदैन ? अनुगमन गर्ने काम हाम्रो होइन । पहिले हाम्रो अधिकार क्षेत्रभित्र थियो । त्यो बेला हामीले उपत्यका मात्र होइन बाहिर गएर पनि अनुगमन गरेका थियौं । अनुगमन गर्दा विद्यार्थी हिउँदमा सुन्तला र बदाम खाँदै चउरमा बस्ने, वर्षामा सानो कोठाभित्र बसेर फर्केर आउने गरेका घटना फेला पारेका थियौं । त्यसपछि हामीले नै कलेज सञ्चालन गर्दा अनिवार्य अस्पताल सञ्चालन गरेको हुनुपर्ने प्रस्ताव राखेका थियो । त्यसपछि नर्सिङ कलेजका लागि अनिवार्य सय बेडको आफ्नै अस्पताल भएको हुनुपर्ने ऐन बनेको थियो । कतिपयले यो कुराको विरोध गर्नुभयो तर यस्तो हुनैपर्छ । अहिले शैक्षिक संस्थाको अनुगमन गर्ने जिम्मा चिकित्सा शिक्षा आयोगलाई छ । उसले वर्षमा एक पटक गरिरहेको हुन्छ तर, यो अनुगमनले पुग्दैन । नेपाल नर्सिङ परिषदले परिषदको ऐन अन्तर्गत नर्सहरूको नाम दर्ता गर्ने र रेकर्ड राख्ने अनि, जनतालाई गुणस्तरीय सेवा प्रवाह गर्नको लागि नर्सको कोड अफ इथिक्सको बनाउने हो । यस्ता नर्सहरूले बिरामीलाई कसरी हेर्छन् भन्ने अर्को प्रश्न पनि खडा भयो नि त उसो भए ? हो । पहिला नर्सिङ परिषदले फिजिबिलिटी स्टडी भन्थ्यो । हामी त्यो गर्थ्यौं। कति जना त्यो बेलामा हामी शिक्षक हेर्थ्याैं, अस्पताल हेर्थ्याैं, अस्पतालको बेडमा पेसेन्ट कति छ, अकुपेन्सी हेर्थ्याैं। अनि त्यसपछिबाट लाइब्रेरी हेर्थ्याैं, लाइब्ररीमा सिक्ने बाटो, सबै हेर्थ्याैं। त्यो चाहिँ सुरुमा हुन्थ्यो र अनि हामी चाहिँ सीटीईभीटीलाई र विश्वविद्यालयलाई चाहिँ हामी चाहिँ परामर्श दिन्थ्यौं है, यति दिन सकिन्छ। अहिले चिकित्सा शिक्षाले नै त्यो गरेको छ । तर कस्तो छ भने वर्षमा एकचोटि अनुगमन हुन्छ । यसरी गरिउको अनुगमनले पुग्दैन । क्वालिटीमा कम्प्रमाइज गर्ने कलेजहरुले नै अहिले पनि विद्यार्थी पाइरहेको अवस्था छ। हाम्रो अनुगमन गर्ने पाटो तपाईंहरूको भएन अहिले चिकित्सा शिक्षा आयोग कहाँ गयो, त्यहाँ जनशक्ति कम भयो र यसको व्यापक यो एकदमै अब छ कि छैन जुन हाम्रो मापदण्ड अनुसार सञ्चालन हुनुपर्ने थियो, त्यो अनुसार सञ्चालन छ कि छैन कलेज, उहाँहरूले शिक्षा कसरी दिइरहेको छ, यो कुराको अनुगमन नहुँदाको परिणाम त यो हो नि त । एकातिर अनुगमन कमजोरको कुरा आयो अर्कोतिर हाम्रो पढाइ र हामीले लिने परीक्षाको तालमेल नमिलेर पनि यो नतिाजा आएको हो कि ? होइन, हामी पाठ्यक्रममा आधारित भएर प्रश्नहरु निर्माण गर्छौं। प्रश्न निर्माणकर्ताहरु, हामी प्राज्ञिकहरु त्यो अनुसारको सेलेक्सन गर्छौं। हामी पाठ्यक्रम पठाउँछौं उहाँहरुलाई। पाठ्यक्रमको एकाइहरु पठाउँछौं। त्यो एकाइबाट चाहिँ हामी प्रश्नहरु माग्छौं भन्दाखेरि तालमेल नमिलेको होइन। बच्चाहरुले अब कोही चाहिँ कस्तो छ भने अँ, नेपालमा त त्यही त छ नि, सबलाई नर्सिङ। राज्यलाई पनि विशेष कार्यक्रममा नर्सिङ नै पढाउनु छ। सक्कछ कि सक्दैन थाहा छैन। त्यति पैसा खर्च गरेर दिएर एउटा पसल थाप्या भए नि राम्रैसँग त उसको त गुजारा हुन्थ्यो होला नि त। उसलाई एक ढंगको भारी बोकाउन चाहने। अनि सबैले चाहिँ सबैका छोरी विदेश गएको देखेको छ। अनि मेरो छोरीलाई नि पढाउँछु भन्ने जुन एउटा चाहना छ। त्यो र त्यो अब जस्तै करिकुलम त्यही हुँदा हुँदै पनि त्यहाँ कसरी पढाइयो त त्यो कलेजमा? इन्डिभिजुअल कलेजमा कसरी बच्चाहरुलाई पढाइयो? बच्चाहरुले कसरी पढे? प्राक्टिस गर्ने अवसर पाए कि पाएनन्? यसमा डिपेन्ड हुन्छ। तर त्यो तालमेल नमिलेको भने चाहिँ हामी पाठ्यक्रममा आधारित भएर नै हामीले प्रश्नपत्रहरु तयार गर्छौं । अहिले देशभर नर्सिङको अवस्था के छ ? नर्सिङ पढ्ने विद्यार्थीहरूको संख्या वृद्धि छ । नेपालमा सीटीईभीटी अन्तर्गतको प्रोफेसिन्सी सर्टिफिकेट लेभलको कोर्स र प्लस टु साइन्स लिएर पास गर्नेहरुको लागि बीएससी नर्सिङको कोर्स हुन्छ । प्रोफेसिन्सी सर्टिफिकेट तीन वर्षको हुन्छ जुन सीटीईभीटी अन्तर्गतका शैक्षिक संस्थामा पढाइ हुन्छ । विश्वविद्यालय प्रतिष्ठानहरुको अन्तर्गतमा चाहिँ बीएससी नर्सिङ पर्छ । यसमा विद्यार्थीको तीव्र इच्छा छ । सरकारी संस्थाहरुमा ७५ प्रतिशत कोटामा छात्रवृत्ति पनि छुट्ट्याएको छ भने प्राइभेटमा पनि १० प्रतिशत छात्रवृत्ति छुट्ट्याएको छ। यसमा आकर्षण बढ्दा ४० सिट संख्याबाट बढाएर ६० सिट संख्या पर्याइएको छ । तर बीएमएस र बीएनएसमा भने विद्यार्थीको रुचि घटेको छ । जहाँ छात्रवृतिका कोटामा पनि विद्यार्थी अध्ययनको लागि आउँदैनन् । किन भन्दा एक सेवा सूिवधा नै कम छ अर्को जव अवसर पनि निकै कम छ । सरकारले छात्रवृत्ति दिँदाखेरि पनि विद्यार्थी पढ्न रुचाउँदैनन्। निजी क्षेत्रहरुलाई पनि सरकारले नै अस्पताल खोल्न स्वीकृति दिन्छ । कलेज खोल्न सरकारले नै स्वीकृति दिन्छ । त्यहाँ नर्सेसहरुको उचित पारिश्रमिकको व्यवस्था यति हुनुपर्छ भनेर सरकारले कहिल्यै भन्दैन । त्यसो नहुँदा उच्च शिक्षा लिएर अर्थ छैन भन्ने भान नर्सहरूमा परेको छ । किनकी गंगाललमा ६० हजार भन्दा बढी खाने स्टाफ नर्सले बीएन पढ्न त छोड्नुपर्छ । फेरि जागिर छोड्दाखेरि त भोलिपर्सि जब पनि पाउँदैन। पाउँदाखेरि त्यति स्यालरी तीन महिना पनि पाउँदैन। त्यसकारण चाहिँ रुचि छैन। काउन्सिलमा अहिले कति नर्सिङहरू दर्ता छन् ? एसईई पास गरेर १८ महिनाको कोर्स गरेका एनएम ३७ हजार, ५ सय ६४ छन् । स्टाफ नर्स र बीएस्सी नर्सिङ गरेकाहरूको संख्या ८७ हजार छ भने स्नातकोत्तर गरेका नर्सहरू १८ सय ७० जना छ, जुन मास्टर्स गरेको सेकेन्ड क्लास अफिसरको नियुक्ति पाउनुपर्ने हो । यो सबै गर्दा हामीसँग अहिले १ लाख २३ हजार ७ सय २२ जना नर्सहरु हुनुहुन्छ। अनि अर्को मिडवाइफ पनि छ । मिडवाइफ पनि कसले पढिरहेको छ भन्दाखेरि त्यो पीसीएल गरिसकेका नर्सहरूले गरिरहेका छन् । मिडवाइफको संख्या चाहिँ अहिले १ सय ९ छ जना पुगेको छ । नर्सहरूले काम अनुसारको पैसा पाएका छन् कि छैनन् ? काम मात्रै भएर भएन । उनीहरूसँग पेट पनि छ । परीवार पनि छ । त्यो पाल्न दाम पनि चाहिन्छ । अहिले राज्यले चाहिँ श्रमिकहरु जस्तै ढुङ्गा, बालुवा, इँटाको काम गर्नेहरुलाई पनि १९ हजार ५ सय भनेको छ । तर निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरुको २०, २२, १८, र १५ हजार छ । यस्तो पनि कहीँ हुन्छ ? एउटा श्रमिकलाई त्यति दिइन्छ । त्यस कारणले गर्दा नर्सहरु नेपालमा बस्न चाहँदैनन्। त्यही भएर पनि नर्सहरू विदेश जाने क्रम बढेको हो ? हो । अहिले अधिकांश नर्सको रोजाइ विदेश भएको छ । नेपालमा काम अनुसारको पारिश्रमिक नहुँदा उनीहरू विदेश जान बाध्य छन् । अहिलेसम्म विदेश जान ५० हजार बढी नर्सहरूले परिषदबाट पत्र लिइसकेका छन् । तर त्यो सबैले भिसा पाएका छन् कि छैनन्, गएका छन् कि छैनन् हामीलाई थाहा हुँदैन । हामीसँग भेरिफिकेसन लेटर लिने र रेकमेन्डेसन माग्नेहरूको संख्या ५० हजार माथि छ । १ लाख २३ हजार नर्स छन् भनेपछि ५० हजारले चाहिँ विदेशको लागि लिइसकेको छ । यो अवस्था पक्कै डर लाग्दो हो । यही अवस्था हुनेहो भने भोलि हामीलाई नर्स पाउन गाह्राे हुने छ । कुन देश बढी जान्छन् ? अलि पहिला पहिला नर्सहरू जाने युकेमा थियो । अहिले अमेरिका र अस्ट्रेलिया जान थाले । नेपालको विश्वको श्रम बजार चाहिँ एक ढंगको खुल्ला भएको छ । अरु सबै जान्छन्। एउटा दक्ष नभएको मान्छे पनि गएर रेमिट्यान्स पठाएर राज्य त धानिएकै छ । नर्सहरु भनेको त क्वालिफाइड हुन्, प्रोफेसनल हुन्। उनीहरु जाँदा खेरि उनीहरुको आफ्नो जीवन स्तर पनि बढ्छ, पारिवारिक बढ्छ र तिनीहरुले पठाएको रेमिट्यान्सले राज्यको पनि स्तर त बढेको छ । जाने एउटा रहर पनि छ । विदेश किन रोज्छन् ? राज्यले व्यवस्थापन नगरेर हो। लाखौं पैसा खर्च गरेर १५ हजार २० हजार पाउने भए किन बस्ने भन्ने भाव आउँछ । काम भनेको ओभरटाइम बढी गर्नुपर्छ, धेरैलाई हेर्नुपर्छ, हैन? तर पैसा चाहिँ हुँदैन। अर्को एउटा मान–सम्मान पनि छैन नि। एउटा त्यो प्राइभेटमा गएर उसको कम्पनीमा काम गर्ने त्यो कसैलाई पनि त्यस्तो खालको व्यवहार गर्न, नर्स भनेको त एउटा क्वालिफाइड पर्सन हो नि त। उनीहरुलाई गर्ने व्यवहार पनि राम्रो छैन। सेवा सुविधा पनि राम्रो छैन। उनीहरुको वर्किङ आवरको किटान छैन। प्राइभेटमा धेरैमा १२ घण्टा लाउँछ भनेछ सरकारकोमा त ६ घण्टा, साढे ६ घण्टा हो ड्युटी। अनि हामीले धेरै अगाडिदेखि म नेपाल नर्सिङ संघको पूर्व अध्यक्ष पनि हुँ भूतपूर्व, २०६६ सालमा हामीले राष्ट्रव्यापी नर्सिङको आन्दोलन पनि गरेका थियौं। त्यो बेलामा नेपाल सरकारसँग हाम्रो २१ बुँदे सहमति पनि भएको थियो। तर त्यो अहिले सम्म कार्यान्वयन भएको छैन। त्यसैले पनि बाहिर जाने ट्रेन्ड चाहिँ बढ्दोछ । नर्सहरु उत्पादनको अवस्था कस्तो छ ? अहिले वर्षमा पाँच हजार बढी नर्सहरू उत्पादन भइरहेका छन्। राज्यले खपत गर्ने सक्यो भने नर्स पर्याप्त छन्। तर खपत गर्न सकिरहेको छैन । विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनरल, साधारण बिरामी, रुघाखोकी लागे, ज्वरो आयो, पेट दुख्यो, साधारण वार्डमा चाहिँ राख्यो भने एउटा नर्सलाई दिनुपर्ने बिरामी भनेको ६ देखि ८ जना मात्रै हो। तर हाम्रो नर्सले ५० जनासम्म हेर्नु परेको छ । आईसियुमा एउटा पेसेन्ट, एउटा नर्स हुनुपर्छ भनेको छ अर्को अप्रेसन थियटरमा एउटा टेबलमा दुईटा नर्स, एउटा बिरामी र एउटा अप्रेसन गर्ने बिरामी, दुईटा नर्स। अनि इमर्जेन्सीमा एउटा नर्स, तीनटा पेसेन्ट। त्यो फरक फरक छ। अनि डेलिभरी गर्ने ठाउँमा, प्रसूति गर्ने ठाउँमा दुईटा नर्स, एउटा डेलिभरी हुने महिला, त्यसरी तोकेको छ । सरकारले दरबन्दी सिर्जना नगरेर हो ? त्यही नै हो । त्यही अहिले त झन् तीनवटा तहको सरकार, अनि तीन वटाको आफ्नै के के पोलिसीहरु, त्यसले गर्दा झन् गाह्रो भइरहेको छ । अब नर्सहरूलाई स्वदेशमै राख्न के गर्नुपर्छ ? सबैभन्दा नर्सिङ एउटा छुट्टै पेसा हो, यो चाहिँ छुट्टै यसको अस्तित्व छ भन्ने स्वीकार गर्नुपर्छ । नर्सिङ केयर भनेको मेडिकल केयर भन्दा फरक हो भन्ने कुरा बुझ्नुपर्छ । नर्सहरू चाहिँ चिकित्सकका सहायक होइनन्। एउटा टिममा काम गर्ने हुन्। टिममा चाहिँ उनीहरुको पनि डिसिजन हुन्छ। उनीहरुको कुरा नि सुन्नुपर्छ भन्ने जबसम्म लागु हुँदैन र नर्सहरुको क्वालिटी केयर खोज्ने हो भने नर्सहरु रिटेन्सन गर्ने हो भने नर्सहरुको योग्यताको आधारमा उनीहरुको दरबन्दीहरु हुनुपर्छ, पोजिसनहरु दिनुपर्छ र उनीहरुको करियर ल्याडरहरु खुलाउनु पर्छ र मिनिमम स्टाफ नर्सको तलब ५० हजार राज्यले दिनुपर्छ । नर्सहरूलाई खरिदार सुब्बासँगै एउटै तराजुमा राखेर जोख्न मिल्दैन।
नाइमा अटो एक्स्पोमा अल्ट्राभायोलेटको एफ ७७ मार्च २ सार्वजनिक
काठमाडौं । अल्ट्राभायोलेट नेपालले नाइमा अटो मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो प्रमुख इलेक्ट्रिक मोटरसाइकल एफ ७७ मार्च २ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एफ ७७ मार्च २ ले एल्भिओन-प्रेरित डिजाइन, १५५ किमी र घण्टा गति, १०० एनएम टर्क र रिर्कन भेरियन्टमा ३२३ किमी सम्मको दायरा प्रदान गर्छ। यसमा पहिलोपटक १ लाख किमी वा ५ वर्षको ब्याट्री वारेन्टी, १० स्तरको डाइनामिक रिजनरेटिभ ब्रेकिङ, ४- स्तरको ट्र्याक्सन कन्ट्रोल, डाइनामिक स्टेबिलिटी कन्ट्रोल, स्विचेबल डुअल-च्यानल एबीएस, हिल-होल्ड र ५ इन्चको टीएफटी डिस्प्ले जस्ता अत्याधुनिक सुविधा समावेश छन् । यसको एसआरबी १० ब्याट्री प्याक ६ लाख किलोमिटरभन्दा बढीको वास्तविक यात्रामा परीक्षण गरिएको हो, जसमा पाँच तहको सुरक्षा प्रणाली र भ्वाइलेट एआइ स्मार्ट टेक इकोसिस्टम (मुभमेन्ट अलर्ट, टोइङ अलर्ट, क्र्यास डिटेक्सन, रिमोट लकडाउन र रियल-टाइम डायग्नोस्टिक्स) जस्ता स्मार्ट सुविधा छन् । एफ ७७ मार्च २ पछि कम्पनीले दुई नयाँ मोडेलको तयारीसमेत घोषणा गरेको छ । टीसइरेक्ट, उच्च प्रदर्शन र शैली चाहनेका लागि प्रिमियम इलेक्ट्रिक स्कूटर, र सकवेभ, साहसिक तथा टिकाउ अफ-रोड इलेक्ट्रिक डर्ट बाइक। यी मोडेलहरू २०२६ को पहिलो चौमासिकमा नेपालमा आउनेछन् ।
डिशहोम र लेक साइड रिट्रिबीच साझेदारी, ग्राहकलाई आवास र खानेकुरामा छुट
काठमाडौं । डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखराको लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग साझेदारी गरेको छ । यस सहकार्यमार्फत डिशहोमका सक्रिय ग्राहकहरूले आवास र फुड एण्ड बेभरेजमा १५–१५ प्रतिशत छुटको सुविधा पाउने छन् । यो छुट प्राप्त गर्न ग्राहकले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिटमा देखाउनुपर्नेछ । पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दै आएको छ । यस साझेदारीसँगै डिशहोमका ग्राहकले यहाँको भ्रमणलाई अझ किफायती र स्मरणीय बनाउन सक्नेछन् । भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्छ । त्यसपछि होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकन क्लिक गरी प्राप्त कार्ड देखाएर छुट लिन सकिन्छ । डिशहोमका अनुसार यो सहकार्य केवल इन्टरनेट वा टेलिभिजन सेवाभन्दा बाहिरका जीवनशैलीका फाइदा, बचत र अनुभव ग्राहकलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धताको हिस्सा हो ।
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
डुम्रे । यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । इलामको रोङ गाउँँपालिकाको अध्ययन भ्रमणपश्चात प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढङ्गले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताए । गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम् प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ । जसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने उनले जानकारी दिए । उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवद्र्धन, डिजिटल मार्केटिङ, क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ । किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीको भनाइ छ । 'गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझै बढी जीवन्त बनाउनेछ', उनले भने, 'हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचालाई अँगाल्नेछौँ ।' भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा टेवा पुर्याउने विश्वास गरिएको छ । रैथाने खेतीलाई अभियानले प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । रासस