काठमाडौं महानगरले गर्यो २७१ मापदण्डविपरीतका पानीका जार नष्ट
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो । एक हप्ताको अवधिमा विभिन्न क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीतका २७१ वटा जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । यस्तै, महानगरले आषाढ र श्रावण महिनामा गरी जम्मा १३९ वटा गाडीहरूबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ । साथै, पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि महानगरपालिकाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा अनुगमन गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए । कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानहरूमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो । 'हामीले बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ । मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ' न्यौपानेले बताए । उनका अनुसार जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ। विभागले साउन २० गते काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८ वटा विभिन्न कम्पनीका पानी बोक्ने सवारी साधनहरूको जाँच गरिएको थियो । उक्त अनुगमनमा ५९ वटा जारहरू कुच्चिएको, फुटेको र अपारदर्शी अवस्थामा भेटिएका थिए, जुन मापदण्ड विपरीत थिए । त्यसैगरी, साउन २१ गते वडा नम्बर ७, चाबहिल–चुच्चेपाटी क्षेत्रमा १९ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ६७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए । यी जारहरू पनि नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरिएको छ । साथै, ३ वटा २० लिटरका जारहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । साउन २३ गते वडा नम्बर १६, माछापोखरी–बालाजु क्षेत्रमा २० वटा सवारी साधनहरूको अनुगमन गरियो । यस अनुगमनमा ६८ वटा जारहरू मापदण्ड विपरीत भेटिए, जुन नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइयो । साउन १८ गते वडा नम्बर ३२, कोटेश्वर क्षेत्रमा १५ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ७७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए, जुन नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरियो । अनुगमनका क्रममा मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको विभागका प्रमुख नुरनिधि न्यौपानेले बताएका छन् । नागरिकको स्वास्थ्यप्रति गम्भीर रहँदै पानीजन्य रोगहरूको जोखिम कम गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने उनको भनाई छ । यस्तै, फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले पानीको गुणस्तरबारे भन्छन्, 'प्रशोधित पिउने पानीको जारहरूको भौतिक र जैविक गुणस्तर जाँच्नु अत्यन्त महत्त्वपूर्ण छ । हामीले प्रयोगशालामा पठाइएका नमुनाहरूको परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्नेछौँ । नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।' आगामी दिनहरूमा पनि पानी उत्पादन, ढुवानी र वितरण प्रणालीको नियमित अनुगमनलाई निरन्तरता दिने पराजुलीले बताए । साथै, समुदायस्तरमा पानीको नमुना परीक्षण र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ। विशेषगरी, बल्खु, कालीमाटी र टङ्केश्वर जस्ता क्षेत्रहरूमा विगतमा हैजा रोगका बिरामी भेटिएकोले यस्ता जोखिम कम गर्न महानगरपालिका संवेदनशील बनेको उनको भनाई छ । महानगरले जरमा राखिएको पानीलाई वर्षा याममा विशेष गरी राम्रोसँग उमालेर मात्र पिउन अनुरोध गरेको छ ।
विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा अंगीकृत नागरिकता
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गरे । गृहमन्त्री लेखकले बुबाले सन्तानलाई अपनत्व नदिएको वा आवश्यक स्नेह नदिएको अवस्थामा बाबुलाई बाबु मान्नैपर्छ भन्ने बाध्यता रहेको समेत स्पष्ट पारे । उनले आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट समेत सरकारको निर्देशकात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको बताए । आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने बताए । उनले विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अंगीकृत नागरिकता दिने व्यवस्था गरिएको जानकारी दिए । उनले सन्तानले आमा नामबाट नागरिकता लिँदा बुबा नाम राख्न नचाहेको अवस्थामा समेत नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।
जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति बेपत्ता
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ र बौद्ध छुट्टीको हप्तामा यातायातमा असर पारेको छ । धेरै जना बेपत्ता भएको बताइएको छ । गत हप्ताको अन्त्यतिर सुरु भएको भारी वर्षाले कागोसिमाको दक्षिणी प्रान्तमा एक जना बेपत्ता र अन्य चार जना घाइते भएका छन् । यस क्षेत्रमा अड्किएको न्यून चापीय प्रणालीले क्युशुको उत्तरी भागहरूमा थप वर्षा ल्याएको छ । जापान मौसम विज्ञान एजेन्सीले सोमबार बिहान कुमामोटोमा उच्च–स्तरको चेतावनी जारी गरेको छ अग्नि र विपद् व्यवस्थापन एजेन्सीले कुमामोटो र यस क्षेत्रका अन्य छ प्रान्तमा दशौँ हजार मानिसलाई निकासी सल्लाह जारी गरेको छ । यस क्षेत्रका उद्धारकर्मीहरूले धेरै मानिसको खोजी गरिरहेका छन् कुमामोटोमा, तिनीहरूले तीन व्यक्तिलाई खोजी गरिरहेका थिए । निकासी केन्द्रतर्फ गाडी चलाउने क्रममा तीन जनाको परिवार भूस्खलनको चपेटामा परेको थियो । दुई जनालाई जिउँदै निकालियो तर तेस्रो व्यक्ति अझै बेपत्ता छन् । प्रान्तमा अन्य दुई जना बेपत्ता भएका छन् । कुमामोटो र नजिकैको फुकुओका प्रान्तमा बढेको नदीमा खसेर अन्य धेरै मानिस बेपत्ता भएको पनि रिपोर्ट गरिएको छ । टेलिभिजन फुटेजले हिलो पानी बगिरहेको, भाँचिएका रुख र हाँगाहरू बगाएको र बासिन्दाहरू घुँडासम्म बाढीको पानीमा हिँडिरहेको देखाएको छ । प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको र प्रभावित क्षेत्रका अन्य व्यक्तिहरूलाई सहायता गरिरहेको बताए । उनले बासिन्दाहरूलाई ‘आफ्नो जीवन बचाउनका लागि कार्यहरूलाई प्राथमिकता दिन’ प्रोत्साहित गर्दै ‘अधिकतम सावधानी अपनाउन’ आग्रह गरे । भारी वर्षाले जापानको बौद्ध ‘बोन’ छुट्टी हप्तामा यात्रा गर्ने मानिसहरूलाई पनि असर पारेको छ । उत्तरी क्युशुमा काकोशिमा र हाकाटा जोड्ने बुलेट रेलहरू र स्थानीय रेल सेवाहरू सोमबार बिहान स्थगित गरिएको छ । वर्षा कम भएका क्षेत्रहरूमा सेवाहरू आंशिक रूपमा पुनः सुरु गरिएको थियो । क्युशु इलेक्ट्रिक पावर कम्पनीका अनुसार कुमामोटोमा करिब छ हजार घरपरिवार विद्युत्विहीन भएका छन् । रासस
तीन दिनदेखि कालीगण्डकी ‘करिडोर’ ठप्प
गलकोट । अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी ‘करिडोर’को बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन आइतबार दिनभर दुई स्काभेटर प्रयोग गरे पनि पहिरो ठूलो भएकाले अहिलेसम्म सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । उक्त खण्डमा यातयता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ । ठूला–ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ । कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर आज बिहानैदेखि पहिरो पन्छ्याउने काम पुनः थालिएको छ ।
गण्डकी प्रदेशमा सात निर्देशनालय र दुई केन्द्र खारेज, १८५ कर्मचारी दरबन्दी घटाइयो
गण्डकी । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउनले लक्ष्यका साथ यो निर्णय गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । निर्णयसँगै खारेज गरिएका निर्देशनालयहरूबाट प्रवाह हुँदै गरेका काम तथा सेवाहरू आगामी दिनमा मन्त्रालयका महाशाखाहरूबाटै उपलब्ध गराउने जानकारी दिँदै उनले यसबाट सेवा प्रवाहमा कुनै असर नपर्ने बताए । त्यस्तै जिल्लास्तरका विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटामा झार्ने निर्णय गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । निर्णयअनुसार खारेज हुने निर्देशनालयहरूमा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय रहेका छन् । खारेज भएका केन्द्रमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र रहेका छन् । यसअघि प्रदेशको विद्यमान प्रशासनिक संरचना बोझिलो भएको र खर्च धान्न नसकिने अवस्था आएको भन्दै सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले दिएको प्रतिवेदन अनुसार प्राप्त सुझावका आधारमा यो निर्णय गरिएको उनले बताए । प्रतिवेदनलाई आवश्यकता र औचित्यका आधारमा क्रमशः कार्यान्वयन गर्दै लाने सन्दर्भमा यो कदम चालिएको उल्लेख गर्दै उनले यसबाट संरचनागत सुधार, चालु खर्च कटौती, छरितो प्रशासनसँगै मितव्ययी एवम् सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास लिइएको उनले बताए । सरकारले एक सय ८५ जना कर्मचारीको दरबन्दी घटाएकोमा अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ रहेको सरकारले जनाएको छ । रासस
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बोलबमका लागि हलेसी आउने तीर्थालु अलपत्र
खोटाङ । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा सोमबार बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराई जाने/आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन् । करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल)बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए । पहिरोका कारण जयराम–हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् । साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको सङ्ख्या पनि बढी हुने अवस्थामा च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । 'जयराम–हलेसी सडकखण्डमा ठूलो पहिरो जाँदा धेरै तीर्थालु ‘बी’ सडकमै अलपत्र परेका छन् । उनीहरूलाई उद्धार गर्न सबै संयन्त्र परिचालन गरिएको छ', उनले भने, 'लगातारको वर्षा नरोकिँदा सम्भव भएको छैन । बेलुकासम्ममा पुनः सञ्चालनमा ल्याउनेगरी पहिरो हटाउने काम भइरहेको छ ।' केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण आज बिहान ८ बजेर करिब १० मिनेट जाँदा च्यास्मिटारमा पहिरो खसेको प्रहरीले जनाएको छ । च्यास्मिटारमा खसेको पहिरोले दाम्ली–डिकुवा सडकसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन् । अवरुद्ध सडक खुलाउन हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए । 'पहिरो ठूलो छ । सडकमा थुप्रिएको ढुङ्गा, माटो तथा रुखहरू हटाउने प्रयास भइरहेको छ', उनले भने, 'अवरुद्ध सडक तत्कालै खुलाउन सकिने अवस्था छैन । यद्यपि, प्रयास जारी छ । यात्रा गर्नेहरूले जानकारी लिएर मात्र यात्रा गर्नुहोला ।' हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिनादिनसम्म बोलबम मेला लाग्ने गर्दछ । बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चीन, भूटानलगायतका नागरिकसमेत आउने गरेका छन् । रासस
शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक, डा. उज्ज्वल पाटनीको उपस्थितिमा सेमिनार
काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको उपस्थितिमा 'बिजनेस ब्लुप्रिन्ट नेपाल' आयोजना हुँदैछ । उक्त कार्यक्रममा नेपालको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट मुख्य प्रायोजकका रूपमा आवद्ध भएको छ । यो सेमिनार २०८२ साल भदौ १२ गते (२०२५ अगस्ट २८), बिहीबार, काठमाडौंको होटल मेरियट, नक्सालमा बिहान १०:३० बजेदेखि अपराह्न ५:०० बजे सम्म हुनेछ । शिवम् सिमेन्टले आफ्नो नवीन, इनोभेटिभ कार्यक्रमहरू, सन्देशमूलक अभियान र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट ग्राहकबीच छुट्टै पहिचान कायम गर्दै आएको छ । यसैक्रममा, यस मेगा बिजनेस सेमिनारमार्फत विश्वस्तरका मोटिभेसनल स्पिकरसँग सहकार्य गरी सहभागीहरूलाई व्यवसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको कम्पनीका प्रतिनिधिले बताएका छन् । डा. उज्ज्वल पाटनीसँग ३ वटा गिनिज वर्ल्ड रेकर्ड, १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र प्रतिष्ठित सम्मानहरू छन् । उनको डिजिटल शो 'दि उज्ज्वल पाटनी शो' हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकहरूले ७५ भन्दा बढी देशमा हेर्दै आएका छन् । उनले सञ्चालन गरेका प्रशिक्षण कार्यक्रममार्फत १० हजारभन्दा बढी व्यवसायीहरूले जीवन र व्यवसायमा रूपान्तरण पाएका छन् । साथै, उनका ७ पुस्तकहरू १२ भारतीय भाषामा अनुवादित भइसकेका छन् र विश्वभर २८ देशमा १० लाखभन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन् ।
अस्ट्रेलियाले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने बताएका छन् । यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशका रूपमा मान्यता दिने तयारीबारे बताएका छन् । अल्बानिजका अनुसार प्यालेस्टाइन प्राधिकरण (पीए) ले अस्ट्रेलियासँग केही प्रतिबद्धता जनाएका छन्, जसमा सेना र हतियारको संख्यामा कमी ल्याउने, आम निर्वाचन गराउने र इजरायलको अस्तित्वलाई मान्यता दिने कुरा समावेश छ । उनीले सोमबार भने, ‘दुई देशलाई मान्यता दिनु यस्तो समाधान हो, जसले मध्यपूर्वमा हिंसा अन्त्य गर्ने र गाजा क्षेत्रमा भइरहेको द्वन्द्व, पीडा र भोकमरी समाप्त गर्ने मानवताको सबैभन्दा ठूलो आशालाई बल पुर्याउँछ ।’ त्यसैबीच गाजामा युद्धविरामका लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु भनेको ‘आतंकवादलाई इनाम दिने’ जस्तो भएको टिप्पणी गरेको छ । शनिबारदेखि अहिलेसम्म गाजामा भोक र कुपोषणका कारण पाँच जनाको मृत्यु भइसकेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृतकको संख्या २१७ पुगेको छ । मन्त्रालयले यो पनि जनाएको छ कि २०२३ देखि अहिलेसम्म इजरायलको सैन्य अभियानमा ६१ हजारभन्दा बढी मानिस मारिएका छन् ।