किम जोङ उन र पुटिनबीच वार्ता, रणनीतिक साझेदारी विस्तारमा सहमति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनाबद्ध भेटअघि उत्तर कोरियाली नेता किम जोङ उन र पुटिनले आफ्नो गहिरिएको सम्बन्ध र युक्रेनविरुद्धको युद्ध प्रयासहरूबारे छलफल गर्न फोन वार्ता गरेको दुवै देशको राज्य सञ्चारमाध्यमले बुधबार जनाएका छन् । मङ्गलबारको कुराकानीमा पुटिनले रुसको कुर्स्क सीमा क्षेत्रमा युक्रेनी आक्रमणलाई रोक्न रुसी सेनासँग लडाइँ गर्दा उत्तर कोरियाली सेनाले देखाएको ‘बहादुरी, वीरता र आत्मबलिदानी भावना’ को प्रशंसा गरेको उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । क्रेमलिनलाई उद्धृत गर्दै रुसको तास समाचार एजेन्सीका अनुसार, पुटिनले किमसँग शुक्रबार अलास्कामा हुने निर्धारित ट्रम्पसँगको आफ्नो आसन्न वार्ताहरूको जानकारी पनि साझा गरे । उत्तर कोरियाली रिपोर्टहरूले ट्रम्पको भेटघाटबारे उल्लेख गरेनन् । केसिएनएका अनुसार दुवै नेताले गत वर्ष शिखर सम्मेलनमा हस्ताक्षर गरेको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत ‘सबै क्षेत्रमा’ सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्दा किमले पुटिनलाई प्योङयाङले ‘भविष्यमा पनि रूसी नेतृत्वले गर्नुपर्ने सबै उपायलाई पूर्ण समर्थन गर्नेछ’ भने । रुसको युक्रेन आक्रमणपछि, किमले कूटनीतिक अलगावबाट निस्कने र वासिङ्टनसँग टकराव गर्ने देशहरूसँग सम्बन्ध विस्तार गर्ने लक्ष्य राख्दै मस्कोलाई आफ्नो विदेश नीतिको प्राथमिकता बनाएका छन् । उनको सरकारले उत्तर कोरियाको आणविक कार्यक्रमलाई कम गर्ने उद्देश्यले कूटनीति पुनः सुरु गर्ने वासिङ्टन र सियोलको घोषित इच्छालाई खारेज गरेको छ । यो सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा भएको असफल शिखर सम्मेलनपछि लिकबाट बाहिर भएको थियो । दक्षिण कोरियाली मूल्याङ्कनअनुसार, उत्तर कोरियाले गत शरद ऋतुदेखि रुसमा करिब १५ हजार सैनिक पठाएको छ र युक्रेनविरुद्ध पुटिनको युद्ध प्रयासहरूको समर्थनमा तोपखाना र ब्यालिस्टिक मिसाइल लगायत ठूलो मात्रामा सैन्य उपकरणहरू पनि आपूर्ति गरेको छ । किमले हजारौँ सैन्य निर्माण कामदार र डिमाइनरहरू रुसको कुर्स्क क्षेत्रमा पठाउन पनि सहमति जनाएका छन् । यो तैनाथी दक्षिण कोरियाली गुप्तचरका अनुसार छिट्टै हुनसक्छ ।
रविमाथि अन्याय भएको भन्दै अन्तर्राष्ट्रिय अदालत जाने निकिताको चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले रविमाथि अन्याय भएको भन्दै अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन् । उनले न्यायालयमाथि गम्भीर हस्तक्षेप भइरहेको भन्दै आपत्ति जनाएकी हुन् । उनले गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । अदालतले दिएका आदेशहरू समेत गृह मन्त्रालयको निर्देशनमा रोकिने आरोप उनको छ । निकिताले अदालतमा सरकारी वकिल पटक(पटक नाजवाफ हुँदा पनि फैसला आफूहरूको विपक्षमा आउने गरेको उल्लेख गरेकी छन् । ‘इजलासमा सबै कुरा स्पष्ट हुन्छ, तर फैसला बहसको विपरीत आउँछ। दिउँसो बहस सकिन्छ, तर रातपर्यन्त आदेश आउँदैन, पेनड्राइभ डुल्छ, अस्वाभाविक गतिविधिहरू देखिन्छन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । निकिताका अनुसार अदालतमा मुद्दाको पेसी चढेपछि तुरुन्तै न्यायिक परिषद्मा उजुरी पर्ने, उजुरीको ड्राफ्ट समेत गृहमन्त्री रमेश लेखककै कार्यकक्षमा तयार हुने, त्यसपछि ती सामग्रीहरू सञ्चार माध्यमहरूलाई फैलाउने आदेश दिइनेजस्ता घटना भएका छन् । श्रीमानलाई भेट्न कारागार जाँदा समेत संगठनका मान्छेहरूले पछ्याउने गरेको भन्दै उनले आफूमाथि पनि निगरानी राखिएको पनि गुनासो गरिन् । निकिताले न्यायका सबै ढोका ढकढक्याउने दृढता व्यक्त गरेकी छन् । ‘म जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत बुटवल जान्छु। आवश्यक परे अन्तर्राष्ट्रिय अदालत पनि जान्छु,’ उनले भनिन् । सामाजिक सञ्जालमा निकिताले राखेको स्टाटस : गृहमन्त्री रमेश लेखकजी नमस्कार, आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन ? अदालतमा मुद्दाको पेसी चढेपछि तपाईँकै निर्देशनमा तपाईँकै मान्छेबाट न्यायिक परिषद्मा उजुरी पर्छ, तपाईँकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी? उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर त्यस्तो समाचारको लिङ्क आफ्नो सचिवालयलाई सम्बन्धित सबैका मोबाइल मोबाइलमा पठाउन आदेश दिँदै न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ किन ? मुद्दाको पेशी चढेकै दिन न्यायपरिषदमा उजुरी पुगेपछि तपाईँहरू जस्ताको मुठ्ठीमा रहेको वर्तमान संरचनामा रहेका कुन न्यायमूर्तिले आफ्नो करियरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला ? न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने यो ऑट तपाईंलाई कहाँबाट आउँछ ? रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछि किन र के का डरले लगाउनुहुन्छ तपाईँका संगठन र संरचना ? मैले केही सांसदहरूले भनेको सुनेको थिएँ न्यायाधीशहरूलाई प्रधानमन्त्रीको, कानुनमन्त्रीको, गृहमन्त्रीको सिधै फोन जान्छ तर, त्यति बेला मलाई त्यो कुरा विश्वास लागेको थिएन। आज मैले त्यो किन विश्वास नगर्ने? सम्माननीय प्रधान न्यायाधीश ज्यू, अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले कहिले दिन सक्दैन, इजलासमा उपस्थित सबले प्रस्ट देख्छन्, सुन्छन् । तर प्रत्येक अदालतमा आदेश आउने बेलामा अनेक अस्वाभाविक गतिविधि देखिन्छन् । दिउँसै बहस सकिँदा पनि आदेश आउन रात पर्छ, घण्टौँ लाग्छ, कपी पेस्ट हुन्छन् ,पेनड्राइभ डुल्छ, मिडिया ट्रायल हुन्छ, न्यायपरिषदमा उजुरी पुग्छ,अस्वाभाविक मानिसहरूको आवतजावत चल्छ अनि बहसको ठिक विपरीत आदेशहरू आउँछन्। दुई तिहाइको सरकार छ, एउटा विपक्षी दलको नेतामाथि भइरहेको यो खुल्लमखुल्ला अन्याय विरुद्ध म कहाँ जाउँ ? न्यायका दृष्टिकोणले,मानव अधिकारको दृष्टिकोणले जे भइरहेको छ के सही भइरहेको छ ? आफ्नै देशको न्यायालयलाई कसरी विश्वास नगरौं। विश्वास गरौँ भने गृहमन्त्रीको कोठामा बसेर न्यायालयलाई धम्काउने पत्र तयार हुन्छ। यो सब हेर्ने कसले? न्याय दिने कसले ? हप्तै पिछे ३/४ वटा उच्च अदालतमा पेशी चढ्छ। कता लड्नु, कता सार्नु, बेहाल भएको छ। फलानोको बेन्चमा पर्यो भने त बरबाद हुन्छ, भनेको सुन्छु । न्यायाधीशको सरुवा बढुवा छ त्यसैले न्याय दिन आँट गर्दैनन् भनेको पनि सुन्छु। बढुवाको मुखमा हामीलाई न्याय दिएर दुई तिहाईको सरकारसँग पंगा लिन आँट गर्ने को होला ? न्यायालयको यो हरिबिजोगले यो देश कसरी चलेको छ भन्ने कुराले म आश्चर्यचकित परेको छु। उस्तै दुरुस्तै आइडेन्टिकल केसमा सर्वोच्च अदालतले समेत मान्छेलाई धरौटीमा छोड्नु भन्ने नजिर स्थापित गरेको छ। तर त्यसका विपरीत एउटा रवि लामिछाने चाहिँ थुनिएको थुनियै छ। पेसी चढेकै दिन न्यायपरिषदमा उजुरी गएपछि अदालतमा स्वतन्त्र बहस गर्ने वातावरण कसरी बन्ला ? आम मान्छेले बुझेका छन् तर व्याख्या गर्न सक्दैनन् । व्याख्या गर्न सक्नेहरू रवि लामिछानेलाई राखेको काल कोठरीमा AC छ कि कुलर छ कि पंखा भनेर बहस गरिरहेका छन्। हामी देशमा मान्छे बसेन भनेर पिर गर्छौँ। को बस्न चाहन्छ यो अन्यायी समाजमा ? को बस्न चाहन्छ यो अन्याय विरुद्ध बोल्न नसक्ने समाजमा ? को बस्न चाहन्छ व्यक्ति हेरी फरक फरक न्याय दिने यो समाजमा ? मेरो श्रीमान माथि लागेका सबै मुद्दा रमेश लेखक गृहमन्त्री भएपछिका मात्र छन्। कुनै एउटा पनि मुद्दा हदम्यादमा छैनन् । मेरो श्रीमानले आफ्नो अपिल मार्फत भन्नुभएको छ कि राज्यका सबै निकायहरूलाई यिनीहरूले कब्जा गरेका छन्। देशका सबै निकाय एउटै रावणका फरक फरक टाउका हुन् । उहाँले त्यसो भने पनि म चाहिँ लड्छु। न्याय पाउँछु पाउँदिन भन्ने कुराको परवाह नगरी म कानुनले दिएका, संविधानले दिएका सबै ढोकाहरू निरन्तर ढकढक्याउँछु । मलाई अन्तर्राष्ट्रिय अदालतमा यो अन्याय विरुद्ध बोल्नका लागि मद्दत चाहिने भएको हुनाले पहुँच पुगेका व्यक्तिहरूले मद्दत गर्नुहोला। सम्माननीय प्रधान न्यायाधीश ज्यू , तपाईंको कार्यकाल बाँकी छँदै आफ्नो कार्यकालमा भएको खुल्ला अन्याय बारे सोच्नुहोला । कार्यकाल सकिएपछि छाप्ने पुस्तकले न्याय दिँदैन कार्यकाल छँदै लेखेको आदेशले दिने हो न्याय। अस्तिका दिन हाम्रो मुद्दा चलेको बेलामा गरिएको उजुरी र मिडिया ट्रायलका कारण न्यायालयमा पारिएको दबाब विरुद्ध म न्याय परिषद् जान्छु र स्वतन्त्र न्याय सम्पादनमा बाधा पुगेका बेला न्याय सम्पादन भएको रुपन्देही जिल्ला अदालतको आदेश विरुद्ध म उच्च अदालत बुटवल पनि जान्छु। न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु। न्याय नपाउन्जेल लड्छु।
नाउपाको अध्यक्ष रञ्जिता नै हुन् : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष पदमा रञ्जिता श्रेष्ठ कायम रहने निर्णय गरेको छ । पार्टीको विधानमा बैठक, भेला बोलाउने अधिकार अध्यक्षलाई नै भएकाले अन्य व्यक्तिले बोलाएको भेला र निर्णयलाई मान्यता दिन नमिल्ने आयोगले जनाएको हो । पार्टीका संस्थापक नेता रेशम चौधरी पक्षले रञ्जितालाई अध्यक्ष पदबाट हटाई रेशमका बुवा लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।
देशभर २८ हजार बढी कैदीबन्दी, १ हजार ४ सय २७ विदेशी
काठमाडौं । नेपालमा ७२ वटा जिल्लामा ७५ कारागारहरु रहेका छन् । जसमध्ये भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । गृहमन्त्री रमेश लेखककाअनुसार काठमाडौं, दाङ र बाँकेमा एउटै जिल्लामा दुई वटा कारागार छन् । बुधवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागार व्यवस्थापनका निमित्त केही नीतिगत र कानूनी व्यवस्था रहेको बताए । कारागार ऐन, २०७९, मुलुकी अपराध संहितामा कारागारका सम्बन्धमा व्यवस्थाहरू उल्लेखित रहेको उनले जानकारी दिए । उनले मुलुकी फौजदारी कार्यविधि संहिताले पनि केही कुराहरू निर्देश गरेको उल्लेख गरे । कारागार नियमावली, २०२० पनि रहेको र यसलाई समय सापेक्ष रुपले संशोधन र परिमार्जन गर्न नियमावली अघि बढाइसकेको र नयाँ मस्यौदा मन्त्रीपरिषदमा पुगेको गृहमन्त्री लेखकले बताए । चाँडै नै नयाँ नियमावली जारी गर्ने उनको भनाइ छ । नेपालमा बन्दीहरूको संख्या देशभर अहिले २८ हजार ७ सय १८ जना बन्दी कैदीहरू रहेका छन् । यो तथ्यांक २०८२ को असार मसान्तसम्मको हो । गृहमन्त्री लेखकका अनुसार थुनुवा पुरुषतर्फ ९ हजार ८ सय ३९, महिला थुनुवा ५ सय ९६ गरी कुल १० हजार ४ सय ३५ जना रहेका छन् । कैदीहरुमा पुरुषतर्फ १७ हजार ३ सय २९ जना र महिलातर्फ ९ सय ५४ जना गरी कुल १८ हजार २ सय ८३ जना रहेका छन् । थुनुवा र कैदी गरेर पुरुषतर्फ जम्मा २७ हजार १ सय ६८ र महिलातर्फ १ हजार ५ सय ५० गरी २८ हजार ७ सय १८ जना रहेका छन् । गृहमन्त्री लेखकले ६५ वर्ष माथिका ६०१ जना कैदीबन्दी रहेको बताए । उनका अनुसार आश्रित बालबालिकाको संख्या ६४ जना रहेका छन् । कुनै मानिस थुनुवा वा कैदीका रुपमा आमा रहेको छ भने आमासँगै बस्नुपर्ने बालबालिकालाई पनि आमाको सामीप्यताको लागि राख्ने गरिन्छ । नेपालमा कुल विदेशी बन्दीहरुको संख्या १ हजार ४ सय २७ रहेको गृहमन्त्री लेखकले बताए । यो संख्या नेपालमा रहेका २८ हजार ७ सय १८ जना बन्दी कैदीहरुमध्ये हो । नेपालमा मुद्दाको हिसावले हेर्दा जबरजस्तीकरणतर्फ २५.५४ प्रतिशत, लागुऔषधतर्फ २४.३७ प्रतिशत, कर्तव्य ज्यान मुद्दाको १६.१२ प्रतिशत, सवारी ज्यान तथा सवारी अंगभंगको ४.१६ प्रतिशत, चोरीको ३.८२ प्रतिशत मुद्दाका कैदीबन्दीहरु रहेका छन् । कारागारको कुल क्षमता पुरुषतर्फ देशभरमा ७५ वटा कारागारको कुल क्षमता १६ हजार ६ सय २५ रहेको गृहमन्त्री लेखकले बताए । जम्मा क्षमता १६ हजार ६ सय २५ रहेकोमा पुरुष बन्दीतर्फ २७ हजार १ सय ६८ जना रहेका छन् । देशभरमा रहेका कारागारको कुल क्षमता भन्दा बन्दीको संख्या ६७ प्रतिशत बढी रहेको उनले बताए । महिलातर्फ देशभर सञ्चालनमा रहेका ५० वटा कारागारको क्षमता २ हजार ५ सय १ रहेको छ भने महिला बन्दीको संख्या १ हजार ५ सय ५० जना रहेको छ । प्यारोलमा बन्दी छोड्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको गृहमन्त्री लेखकले बताए । हालसम्म २ हजार ७५ जनालाई प्यारोलमा राख्न सिफारिस गरिएको छ । गृहमन्त्रीकाअनुसार प्यारोल एउटा विशेष व्यवस्था हो । यसमा कारागारमै नबसीकन राज्य, प्रहरी प्रशासनको नियन्त्रणमा घरमा बस्ने र आवधिक रुपले तारिक जस्तो हाजिर दिने र म उपस्थित छु भन्ने स्थिति हुन्छ । प्यारोलले थोरै भएपनि संख्या घटेको छ । २ हजार ७५ पछिल्लो समय छुट्दा केही संख्या कम भएको गृहमन्त्रीले बताए । नेपालमा भक्तपुर, मकवानपुर, विराटनगर, वीरगञ्ज, रुपन्देही, कास्की, बाँके र डोटीमा गरी ८ जिल्लामा ९ वटा बाल सुधार गृह रहेका छन् । २०८२ को असार मसान्तसम्म बालविजयीकर्ताको संख्या थुनुवामा बालक ५ सय ७३ छन् भने बालिका २१ जना रहेका छन् । ५ सय ९४ थुनुवा रहेका छन् । कैदी बालक ७ सय ६३ र बालिका १७ जना गरी जम्मा ७ सय ८० रहेका छन् । कुल बालक र बालिकाको संख्या बालक १ हजार ३ सय ३६ र बालिका ३८ गरी १ हजार ३ सय ७४ बालबालिका कैदीबन्दीका रुपमा रहेको गृहमन्त्री लेखकले बताए । उनका अनुसार ७ हजार बन्दीहरुलाई उत्पादनमुलक काममा लगाइएको छ ।
धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल बोर्डमा प्रवेश गरेका हुन् । यसअघि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालक बनेका थिए । तर व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएपछि पद रिक्त रह्यो । सो पदमा महासंघले ढकाललाई पठाउने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक ढकाललाई बुधबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए । उद्योग–व्यवसायमा चार दशकभन्दा बढी समय बिताएका ढकाल नेपालको वित्तीय क्षेत्रमा पनि तीन दशकदेखि सक्रिय छन् । उनी हेरिटेज ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन्, जसअन्तर्गत हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टी, व्यापारलगायत दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।
नाइमा एक्स्पोमा राखिएका गाडी नाडा अटो शोमा पनि सहभागी हुने, ईभीमय बनाउने नाडाको रणनीति
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो सकिए लगत्तै नेपाली अटो क्षेत्रको ध्यान नाडा अटो शोतर्फ मोडिएको छ । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोले सवारीसाधनका पारखी माझ नयाँ उत्साह र कौतुहलता थपेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ (नाडा) ले यसपटकको अटो शो विगतको भन्दा भव्य, फरक र आकर्षक हुने दाबी गरिरहेको छ । आयोजकदेखि सहभागी व्यवसायीहरू अहिले अन्तिम तयारीमा जुटेका छन् । नाडा अटो शो आउन अब एक हप्ता मात्रै बाँकी रहँदा सहभागी ब्राण्ड र व्यवसायीहरू ग्राहकलाई आकर्षित गर्नेतर्फ रणनीति बनाउन व्यस्त छन् । उनीहरू आफ्नो बजार विस्तार गर्न आकर्षक फिचर र नयाँ प्रविधियुक्त मोडलहरू प्रस्तुत गर्ने रणनीतिमा छन् । आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुन लागेको अटो शोमा ठूला ब्राण्डका नयाँ विद्युतीय गाडी मात्र होइन, नेपालमै पहिलोपटक ‘उड्ने कार’ समेत मुख्य आकर्षणको बिन्दु बन्दैछ । यसपटकको नाडा अटो शोको सबैभन्दा ठूलो आकर्षण चाङ्गन अटोमोबाइलको सब–ब्राण्ड दिपलले बनाएको ‘उड्ने अटोनोमस कार’ हुने निश्चित छ । नेपालका लागि दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार यो कार नाडा अटो शोमा प्रदर्शनका लागि मात्र राखिनेछ । चार पांग्रेमा कुन ब्राण्डले के ल्याउँदैछन् ? नाडा अटो शोमा चार पाङ्ग्रे सवारीसाधनका स्थापितदेखि नयाँ ब्राण्डसम्मको उल्लेख्य सहभागिता रहने संयोजक अनुप बरालले जानकारी दिए । उनका अनुसार दीपल, अवतार, डङफेङ, सेरेस, टाटा, सुजुकी, आयोन, एक्पेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बिएडब्लु ब्रम्बी जस्ता ब्राण्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन् । नाडाका अनुसार एमएडब्लू ग्रुपले दीपल, डङफेङजस्ता धेरै ब्राण्डहरू लिएर सहभागी हुँदैछ । दीपलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रूपेश शर्मा भट्टका अनुसार हाल बजारमा रहेका एच जेरो सेभेन, ई जेरो सेभेन जस्ता मोडलका साथै नयाँ मोडल ‘एस जेरो फाइभ’ पनि सार्वजनिक गर्ने तयारी छ । त्यस्तै, डङफेङको ‘नामी जेरो वान’ बाहेक अर्को नयाँ मोडल पनि सार्वजनिक गर्ने बुझिएको छ । टाटाले आफ्ना लोकप्रिय मोडलहरू नेक्सन, कर्भ ईभी र सफारीलाई नै निरन्तरता दिने भएको छ । नयाँ मोडल ल्याउने विषयमा भने कम्पनीले अझै केही स्पष्ट पारिसकेको छैन । यस्तै, सुजुकीले यसपटक आफ्नो ‘स्ट्रङ्ग एसयुभी लाइनअप’ मा जोड दिएको छ । जसमा जिम्नी, नेपालकै सर्वाधिक बिक्री हुने ब्रिजा, ग्रान्ड भिटारा, एसयूभी ई–भिटारा र फ्रन्क्स जस्ता मोडलहरू प्रदर्शन गरिनेछन् । तत्काल नयाँ मोडल लन्च गर्ने योजना भने नरहेको कम्पनीले जनाएको छ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शोमा एट्टो–टु मोडल सार्वजनिक गर्ने तयारी रहेको छ । कम्पनीले अटो शोमा सिलायन–७, एट्टो–वाइन, डल्फिन, एसयुभी सिलायन–७ लगायत मोडल राख्नेछ । यस्तै, नाइमामै सहभागी भएको एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले पनि नाडा अटो शोमा सहभागी हुने बताएको छ । कम्पनीका अनुसार नाइमा एक्स्पोमा लन्च भएका ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ गरी दुईवटै मोडेल नाडा अटो शोमा ल्याउन लागेको हो । नाडाले प्रेस विज्ञप्तिमा टेस्लाको सहभागिता रहने उल्लेख भए पनि टेस्लाका एक प्रतिनिधिले भने आफूहरू सहभागी नहुने बताएका छन् । यसपटकको अटो शोलाई गाडीको खरिद बिक्रीमा मात्र सीमित नराखेर प्रविधि र अनुभवमा केन्द्रित गर्न खोजिएको छ । नाडा अटो संयोजक अनुप बरालले भने, ‘हामीले यसलाई वल्र्ड क्लास नै बनाउन खोजिरहेका छौं । यो गाडीको मात्र होइन, भविष्यको प्रविधि देखाउने प्लेटफर्म पनि हो ।’ अवलोकनकर्ताले ‘फ्युचर टेक्नोलोजी’, ‘मेड इन नेपाल’ प्याभिलियन र पुराना भिन्टेज कारहरूको प्रदर्शनी समेत हेर्न पाउनेछन् । यसले अटो शोलाई सबै उमेर र रुचिका दर्शकका लागि एउटा उत्सवको रूप दिने अपेक्षा गरिएको छ । अटो शोका लागि टिकट खरिद गत वर्ष जस्तै यसपटक पनि डिजिटल वालेट ‘खल्ती’ मार्फत गर्न सकिनेछ । विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा १५० रुपैयाँ र अन्य सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क तोकिएको नाडाले जानकारी दिएको छ । स्टलहरूको माग अत्यधिक बढेकाले आयोजकले थप डोम बनाएर व्यवस्थापन गर्ने तयारी गरिरहेको नाडा अटो शोका संयोजक बरालले जानकारी दिए । अटो शोमा १९ वटा चार पांग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारी साधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड सहभागी हुनेछन् । अटो शोमा ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने नाडाले जनाएको छ । अटो शोमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । ‘अटो एक्स्पो कस्तो हुन्छ हामी देखाउँछौं, नाडा अटो शो ईभीमय हुन्छ’ {अन्तर्वार्ता}
कर्णाली सरकारले विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिने
कर्णाली । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नागरिकको स्वास्थ्य समस्या समाधानमा विशेष प्राथमिकता दिएको छ । मानव स्वास्थ्य बचाउन र नागरिकलाई स्वास्थ्य जाँचका लागि अस्पतालसम्म पुग्ने तथा फर्किने क्रममा हुने आर्थिक अभाव परिपूर्ति गर्न सरकारले सहयोग गर्ने भएको हो । सरकारले ‘विपन्न तथा असहाय नागरिकका लागि स्वास्थ्य उपचार तथा यातायात खर्च’ कार्यक्रम सञ्चालन गरेको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले चालु आर्थिक वर्ष २०८२/८३ मा बेसाहारा, असहाय र विपन्नलाई यातायात खर्च सुविधा उपलब्ध गराइ स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम ल्याइएको बताए । 'जसको कोही छैन, उसका लागि सरकार छ भन्ने अनुभूति नागरिकलाई गराउन चाहान्छौँ', उनले भने, 'यसले विपन्न, असहाय र बेसाहारा नागरिकलाई मलमपट्टी लगाउनेछ ।' मन्त्री भण्डारीका अनुसार प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्ने क्रममा दुर्गमता र भौगोलिक विकटताका कारण आर्थिक अभावले अस्पताल आउन तथा जान समस्या परेका नागरिकलाई दूरीका आधारमा रु पाँच हजारदेखि रु २० हजारसम्म यातायात सुविधा खर्च प्रदान गरिनेछ । यद्यपि सेवाग्राहीले भने वडाको सिफारिस र अस्पतालबाट घर जान नसक्ने बिरामीको सिफारिस गरेको पत्र लिएर मन्त्रालयमा निवेदन दिनुपर्नेछ । चालु आवमा यो कार्यक्रमका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको र आवश्यकताका आधारमा बजेट थप्ने जनाउँदै उनले कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी वर्षमा १० जिल्लाका अस्पतालबाट भुक्तानी दिने प्रबन्ध मिलाइने बताए । मन्त्रालयका सचिवको संयोजकत्वको चार सदस्यीय समितिले स्वीकृत निर्देशिकाबमोजिम तोकिएका जिल्लाबाट आउने बिरामीको रोगभारका आधारमा रकम बाँडफाँट गरी भुक्तानीका लागि निर्णय गर्नेछ । उक्त रकम पाउनका लागि लाभग्राहीले वडाको सिफारिस, नजिकका हकवालाको बैंक खाता, मृतकको हकमा मृत्यु प्रमाणपत्र र नजिकको हकवालाको बैंक खातासहित मन्त्रालयमा निवेदन दिनुपर्ने जनाइएको छ । रासस
नेशनल लघुवित्तको नाफा दोब्बरले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को चौंथोे त्रैमास (असार) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफा र आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ । गत वर्ष कम्पनीको खुद नाफा दुई गुणा अर्थात १३६.३ प्रतिशतले बढेर ४७ करोड ४० लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा २० करोड ५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ४४.५९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ११ करोड ७२ लाख १८ हजार खुद ब्याज आम्दानी आर्जन गरेको थियो । त्यस्तै कम्पनीको सञ्चालन नाफा दोब्बरले वृद्धि भएको छ । कम्पनीले अघिल्लो वर्ष ३३ करोड ७९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष ६७ करोड ७७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३५.६० रुपैयाँ छ । त्यस्तै मूल्य आम्दानी अनुपात ३९.३३ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ छ । त्यसैगरी तरलता अनुपात २०.३० रहेको छ ।