विकासन्युज

एनआईएमबिको नाफामा ६४.४३ प्रतिशत उछाल, वितरणयोग्य नाफा पनि धनात्मक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १५ अर्ब ११ करोड ६९ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशत बढेर २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँ र सञ्चालन नाफा ५८.६६ प्रतिशत बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक थियो । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १८ प्रतिशत बढेर ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष बैंकले ४ खर्ब ३ अर्ब ४१ करोड ६९ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब ४९ करोड ४८ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७४.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७९.२२ प्रतिशत थियो ।  नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १९.८० रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२.०४ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ । अघिल्लो वर्ष ४.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ५.८५ प्रतिशत पुगेको छ ।

नेपाली बजारमा दीपलको नयाँ इलेक्ट्रिक एसयूभी एस-०५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक, एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दीपल एस-०५ एक समारोहबीच सार्वजनिक गरेको छ । दीपल एस-०७ को सफलतापछि बजारमा ल्याइएको यो नयाँ मोडलले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । काठमाडौंमा आयोजित भव्य कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया, चंगन अटो साउथइस्ट एसियाका प्रबन्ध निर्देशक झाङ जियानहुआ लगायतको उपस्थिति थियो । कार्यक्रममा दीपलका ब्रान्ड एम्बेसडर तथा पूर्व क्रिकेटर पारस खड्का पनि उपस्थित थिए । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले एमएडब्लुले ६० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वास कमाएको बताए । उनले भने, ‘नेपालमा कार किन्नु भनेको विश्वासको सम्बन्ध गाँस्नु हो । चंगनको १६३ वर्षको गौरवशाली इतिहास र एमएडब्लुको ६ दशकको विरासतले यो सहकार्यलाई अझ बलियो बनाएको छ ।’  उनले नेपालको ९० प्रतिशतभन्दा बढी बिजुली स्वच्छ जलविद्युतबाट उत्पादन हुने भएकाले ईभी प्रयोग गर्नु वातावरण र उपभोक्ताको खल्ती दुवैका लागि फाइदाजनक रहेकोमा जोड दिए । एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले दीपल एस-०५ का अत्याधुनिक विशेषताहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । यसमा ’क्वीन को-पाइलट प्यासेन्जर सिट’ र ’वेलकम सिट’ जस्ता सुविधा छन्, जसले गाडीभित्र पस्ने बित्तिकै आरामदायी र प्रिमियम अनुभव प्रदान गर्छ । रिमोट इन एन्ड आउट पार्किङः साँघुरो ठाउँमा पार्किङ गर्दा गाडी बाहिरैबाट रिमोटको सहायताले अगाडि-पछाडि सार्न सकिने सुविधा रहेको छ भने गाडीको गति, नेभिगेसन जस्ता जानकारी सिधै चालकको आँखा अगाडि विन्डस्क्रिनमा देखिने प्रविधि रहेको छ ।  यस्तै गाडी बाहिर रहेका व्यक्तिसँग गाडी भित्रबाटै कुरा गर्न सकिने अनौठो सुविधा छ । १८ वटा उच्च गुणस्तरका स्पिकर र स्पोटिफाई, युट्युब जस्ता एप चलाउन मिल्ने कनेक्टेड फिचर रहेका छन् । यसमा एडीएएस २.० प्रणाली अन्तर्गत १९ वटा उन्नत सुरक्षा फिचरहरू समावेश छन्, जुन यो सेग्मेन्टमा सबैभन्दा बढी हो । यसमा सीएटीएल कम्पनीको ’गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको लाइफ ५,००० साइकलसम्म रहेको दाबी गरिएको छ । यो रियल-ह्विल ड्राइभ गाडीले १५ मिनेटमै फास्ट चार्ज हुन सक्छ । यसको स्लिक र प्रिमियम फ्रेमलेस डिजाइनले २०२५ को प्रतिष्ठित ’आईएफ डिजाइन अवार्ड’ जितिसकेको छ ।  कम्पनीले दीपल एस-०५ दुई भेरियन्टमा सार्वजनिक गरेको छ । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, चिनियाँ राजदूत महामहिम छेन सोङले सफल लन्चको लागि चंगन र एमएडब्लु ग्रुपलाई बधाई दिए । उनले भने, ‘चिनियाँ ईभी प्रविधि विश्वमै अग्रणी छ र नेपाली उपभोक्ताले सबैभन्दा नयाँ र उन्नत प्रविधि प्रयोग गर्न पाउनु खुसीको कुरा हो ।’ उनले एमएडब्लु ग्रुपले चिनियाँ प्रविधिलाई अँगालेर दूरदर्शी निर्णय लिएको र यसले नेपालको आर्थिक र सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

गत वर्ष सरकारी खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड रुपैयाँ बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ बराबर खर्च भएको थियो ।  त्यसैगरी, चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् ९ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७.८७ अर्थात् ३ खर्ब २० अर्ब ४ करोड रुपैयाँ बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ २.९४ प्रतिशत बढी खर्च भएको हो ।  यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६.१५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१र८२ मा वित्तीय व्यवस्थातर्फ ८७.१४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१.८७ प्रतिशत खर्च भएको देखिएको छ ।  आव २०८१/८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३.०६ प्रतिशत पुगेको छ । आव २०८०/८१ मा कुल राजस्व १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ सङ्कलन भएकामा आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४.४१ प्रतिशत बढी हो ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले वृद्धि भएको हो ।   आव २०८१/८२ मा कुल आयात १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ, निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबर भएको छ । कुल व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ ।

व्यवसाय वृद्धिमा आक्रामक सरकारी बैंक, सेयरधनी सूचकमा कमजोर

काठमाडौं । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक असामञ्जस्यता आदिका कारण राष्ट्रिय अर्थतन्त्रसँगै बैंकिङ व्यवसाय समेत प्रभावित भइरहेको अवस्थामा अर्थतन्त्रलाई लयमा फर्काउन, सरकार र नेपाल राष्ट्र बैंकबाट ल्याइएका विभिन्न सुधारका उपायले अर्थतन्त्रमा सुधार आएको बैंकरहरूको दाबी छ । जसको प्रत्यक्ष प्रभाव बैंकहरूको ब्यालेन्ससिटमा परेको बैंकरहरू बताउँछन् । अर्थतन्त्रमा असहजताको बाबजुद पनि सरकारको लगानी रहेका तीन वाणिज्य बैंकले सकारात्मक प्रगति हासिल गरेका छन् । सरकारी लगानी रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको वित्तीय विवरणलाई चासोको रुपमा हेरिने गरिन्छ ।  विगतको तुलनामा पछिल्लो समय आफ्नो सेवालाई चुस्त बनाउँदै व्यवसायमा उल्लेख्य सुधार गरेका यी तीन बैंकले गत वर्ष पौने १२ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार तीन बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब ७४ करोड ४१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ११४.३७ प्रतिशत अर्थात् ६ अर्ब २६ करोड ५८ लाख १८ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष यी तीनै बैंकले ५ अर्ब ४७ करोड ८३ लाख ७४ हजार रुपैयाँ मात्रै नाफा गरेका थिए । सरकारी स्वामित्वका यी तीन बैंकले निजी लगानीका बैंकलाई समेत टक्कर दिइरहेका छन् । यी तीनमध्ये गत वर्ष सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले गरेको छ । कृषि विकासले ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्यले ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ र नेपाल बैंकले ३ अर्ब ७७ अर्ब ३० करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । कृषि विकास बैंकको व्यवस्थापकीय नेतृत्व गोविन्द गुरुङले गरिरहेका छन् भने राष्ट्रिय वाणिज्य बैंकको देवेन्द्र रमण खनाल र नेपाल बैंकको तिलकराज पाण्डेयले गरिरहेका छन् । सरकारको लगानी रहेका अधिकांश सार्वजनिक संस्थानहरू घाटामा रहँदा यी तीन बैंकले विश्वास जगाएका छन् ।  हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको चुक्ता पुँजी ६ खर्ब ८७ अर्ब ७५ करोड १३ लाख रुपैयाँ रहेको छ । जसमध्ये यी तीन बैंकको मात्रै ४९ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ रहेको छ । कृषि विकास बैंकको १९ अर्ब २८ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ र नेपाल बैंकको १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । गत असारमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी नेपाल बैंकले गरेको छ । बैंकले १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्यले १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ र कृषि विकासले ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् । गत वर्ष सेयरधनी सूचकमा भने कृषि विकास बैंक अगाडि रहेको देखिन्छ । कृषि विकासको २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश क्षमता राख्छ । यस्तै, राष्ट्रिय वाणिज्यको ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य नाफा रहँदा नेपाल बैंकको ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक छ ।  कुन बैंकको कस्तो छ वित्तीय अवस्था ?  राष्ट्रिय वाणिज्य बैंकको गत वर्ष खुद नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशत बढेर १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी ७२.८८ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख ३१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.२५ प्रतिशत बढेर १२ अर्ब ८४ करोड ३७ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.५७ प्रतिशत बढेर ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.९४ प्रतिशत छ ।  १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३७ अर्ब ४७ करोड ५४ लाख ९ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकको निक्षेप १६.५९ प्रतिशत बढेर ५ खर्ब ४१ करोड ४६ लाख ८० हजार रुपैयाँ र कर्जा लगानी १९.७८ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६२.३९ प्रतिशत रहेको छ ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ, खराब कर्जा ३.५९ प्रतिशत, रिटर्न अन इक्विटी ७.६० प्रतिशत, आधार दर ४.७८ प्रतिशत रहेको छ ।  नेपाल बैंकको गत वर्ष खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ६९२ प्रतिशत बढेर ५ अर्ब ४१ करोड ८६ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य नाफा ऋणत्मक रहेकाले बैंकले लाभांश पनि वितरण गर्न नसक्ने अवस्थामा छ ।  १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप १७.२८ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी १३.८८ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ । अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत छ । कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ, सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।  गत वर्ष बैंकको चुक्ता पुँजी २.१३ प्रतिशत बढेर १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ र जगेडा कोष १२.३७ प्रतिशत बढेर १६ अर्ब ९९ करोड २६ हजार रुपैयाँ पुगेको छ ।  गत असारसम्म बैंकको निक्षेप संकलन २०.५० प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ६२ करोड ८६ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८.६८ प्रतिशत छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ९.०७ रुपैयाँ बढेर २७.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४१.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ ।  बैंकको रिटर्न अन इक्विटी ११.८८ प्रतिशत, आधार दर ५.८७ प्रतिशत, कस्ट अफ फण्ड ३.८१ प्रतिशत र खराब कर्जा ३.२६ प्रतिशत रहेको छ ।

एशियन होटलले आईपीओ जारी गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । एशियन होटल लिमिटेडले आफ्नो व्यवसाय विस्तारका लागि आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले ३५ लाख कित्ता सेयर निष्काशनमार्फत ३५ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ । उक्त रकमबाट जसबाट होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोर्ट्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गरिने जनाइएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  होटल एसियनका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो होटल बौद्ध धर्मावलम्बी तथा सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने उद्देश्यले सन् २०२१ मा स्थापना भएको थियो । लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो । हाल होटलमा ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्क्वेट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स र डेस्टिनेशन वेडिङका सुविधा उपलब्ध छन् । आईपीओपश्चात् कम्पनीले पोखरा, काठमाडौं र चितवनमा सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

एथर रिज्टा जेड लाइभ गिभअवे विजेता शालिक

काठमाडौं । नेपालमा एथर एनर्जीको एक मात्र अधिकृत वितरक वैद्य इनर्जी प्रालिले बहुप्रतीक्षित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा गरेको छ । यस गिभअवेको भाग्यशाली विजेता शालिक बनेका हुन् । यो अवसर उनले काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको नाइमा अटो मोबिलिटी एक्स्पोमा आयोजित ‘विन द रिज्टा’ अभियानमा विजेता बनेर पाएका हुन् । उनलाई यो इलेक्ट्रिक स्कूटर सोमबार आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । सन् २०२४ मा भारतमा सार्वजनिक भएको एथर रिज्टा जेड एथर एनर्जीको परिवारकेन्द्रित श्रेणीको प्रमुख मोडेल हो । यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन्—२.९ किलोवाट र ३.७ किलोवाट । यसले अधिकतम १६० किमिसम्मको रेन्ज दिने कम्पनीको दावी छ । सबै भेरियन्टको शीर्ष गति ८० किमि/घण्टा रहेको छ । यसमा ५६ लिटर स्टोरेज क्षमता रहेको छ जसअन्तर्गत सीटमुनि ३४ र अगाडि वैकल्पिक फ्रङ्कमा २२ लिटर छ । फराकिलो र लामो सीट, पिलियन ब्याकरेस्ट र ठूलो फ्लोरबोर्ड—विशेषगरी पारिवारिक यात्राका लागि अनुकूल रहेको छ । यसमा अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, इमर्जेन्सी स्टप सिग्नल, लाइभ(लोकेशन सेयरिङ, चोरीरटो अलर्ट र ‘पिङ माई स्कूटर’ सुविधा पनि रहेको छ । यसैगरी, ७ इन्चको टीएफटी डिस्प्ले, सहज नेभिगेशन र एथरस्ट्याक ६ मार्फत कनेक्टिभिटी रहेको छ । स्कूटर सात आकर्षक रंगमा उपलब्ध रहेको छ । भारतमा यसको उच्च लोकप्रियताको कारण रिज्टाले एथर एनर्जीको सबैभन्दा बढी बिक्री हुने मोडेल बनेको छ । सार्वजनिक भएको एक वर्षभित्रै १ लाखभन्दा बढी इकाइ बिक्री भएको कम्पनीले जनाएको छ । वैद्य इनर्जीले ब्रान्डको उपस्थितिलाई मजबुत बनाउन आवश्यक पूर्वाधार तयार गरिरहेको छ । यसका देशभर २३ प्लस एथर ग्रिड फास्ट–चार्जिङ स्टेशन रहेका छन् । यसैगरी ७ भन्दा बढी सर्भिस सेन्टर रहेका छन् । त्यसैगरी, ८ वटा एक्सपिरियन्स सेन्टर र १ विशेष टेस्ट राइड जोन रहेका छन् ।

दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहेको रास्वपाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैनिक एक हजार बढीले रास्वपाको सदस्यता लिने गरेको दाबी गरेको छ ।  बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका हुन् । उनका अनुसार अहिले रास्वपामा पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ ।  सशस्त्र प्रहरी बल, नेपालका डिआइजी भई सेवानिवृत्त भएका दुर्गा भट्टराई, सशस्त्र प्रहरी बलमै रहेर सेवा निवृत्त भएका विश्वेश्वर थापा रास्वपामा प्रवेश गरेको उनले बताए। त्यस्तै शोभा जोशी, मिन्तिरा लामा र नेपाली सेनामा कर्नेल भइ काम गरिसकेका डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेको प्रवक्ता झाले जानकारी दिए । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई ग्लोबल आइएमईमा गैरकोषमा आधारित बैंकिङ सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने समझदारी भएको हो ।  उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधाहरु ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।  साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।  बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका १०९ वटा शाखा तथा ३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।