विकासन्युज

यी हुन् बढी लाभांश दिन सक्ने विकास बैंक, २२ प्रतिशत बढ्यो नाफा

काठमाडौं । विकास बैंकहरुले गत वर्ष २२ प्रतिशत नाफा बढाएका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १४ वटा विकास बैंकहरुको खुद नाफा २२ प्रतिशत बढेर ५ अर्ब ९२ करोड ४८ लाख ६ हजार रुपैयाँ आर्जन गरेका हुन् । अघिल्लो वर्ष ४ अर्ब ८५ करोड ६१ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेका थिए ।  समीक्षा वर्षमा विभिन्न ८ बैंकको नाफा बढेको छ भने ४ बैंकको नाफा घटेको छ । साथै विभिन्न २ बैंकको नाफा ऋणात्मक रहेको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै नाफा मुक्तिानाथ विकास बैंकले गरेको छ भने वृद्धिदरमा सिन्धु विकास बैंक अगाडि छ ।  मुक्तिानाथ विकास बैंकको नाफा ३०.६९ प्रतिशत बढेर १ अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । जुन विकास बैंकहरुमा सबैभन्दा धेरै हो । यस्तै, गरिमा विकास बैंकको २०१.९६ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।  सिन्धु विकास बैंकको २८७.६० प्रतिशत बढेर ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ७९.५१ प्रतिशत बढेर ६ करोड ९४ लाख ८ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको ९.१८ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ६.५० प्रतिशत बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको १.२५ प्रतिशत बढेर ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ०.४८ प्रतिशत बढेर ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ नाफा गरेका छन् ।  एक्सेल डेभलपमेन्ट बैंकको ५.९६ प्रतिशत घटेर ४ करोड ९ लाख १ हजार रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको १०३ प्रतिशत घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको ३०.१२ प्रतिशत घटेर ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँ, ज्योति विकास बैंकको ९२.७४ प्रतिशत घटेर १ करोड २३ लाख ७८ हजार रुपैयाँ नाफा गरेका छन् ।  गत वर्ष कर्पाेरेट डेभलपमेन्ट बैंक १ करोड ६३ लाख ८५ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको २ करोड ५१ लाख ६९ हजार रुपैयाँ नोक्सानीमा रहेका छन् ।  खराब कर्जाको भारी  गत वर्ष विकास बैंकहरु खराब कर्जाको भारी थिचिएका छन् । अघिल्लो वर्ष औसत ७.७८ प्रतिशत विन्दुमा रहेको खराब कर्जा गत वर्ष ८.१४ प्रतिशत ८.४१ प्रतिशत पुगेको छ । गत वर्ष अधिकांश बैंकको खराब कर्जा बढेको देखिन्छ ।  समीक्षा वर्षमा नारायणी डभेलपमेन्ट बैंकको खराब कर्जा १०.८० प्रतिशत बढेर ५०.९७ प्रपतशत विन्दुमा पुगेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको ६.९२ प्रतिशत बढेर १२.३६ प्रतिशत विन्दु, ज्योति विकास बैंकको ५०.८५ प्रतिशत बढेर ७.९८ प्रतिशत विन्दु, एक्सेल डेभलपमेन्ट बैंकको ८.९२ प्रतिशत बढेर ६.७१ प्रतिशत विन्दु, सांग्रिला डेभलपमेन्ट बैंकको ४३.५१ प्रतिशत ५.६४ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ । महालक्ष्मी विकास बैंकको १९.४१ प्रतिशत बढेर ४.८६ प्रतिशत विन्दु, लुम्बिनी विकास बैंकको ३८.२९ प्रतिशत बढेर ४.५५ प्रतिशत विन्दु, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २३.६१ प्रतिशत बढेर ४.२४ प्रतिशत विन्दु, कामना सेवा विकास बैंकको ०.५९ प्रतिशत बढेर ३.३८ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ४.७१ प्रतिशत घटेर ३.३३ प्रतिशत विन्दु, मुक्तिनाथ विकास बैंकको १६.०३ प्रतिशत बढेर २.७५ प्रतिशत विन्दु खराब कर्जा रहेको छ ।  गत वर्ष विभिन्न ३ बैंकले खराब कर्जा घटाएका छन् । मितेरी डेभलपमेन्ट बैंकको ६५.४३ प्रतिशत घटेर ०.२८ प्रतिशत विन्दु, सिन्धु विकास बैंकको ६.०३ प्रतिशत विन्दु र गरिमा विकास बैंकको २.६८ प्रतिशत घटेर ४.७२ प्रतिशत विन्दुमा कायम राखेका छन् ।  लाभांश क्षमतामा अब्बल विकास बैंकहरुको खराब कर्जा उच्च भएपनि लाभांश क्षमतामा भने अब्बल देखिएका छन् । ज्योति, सिन्धु, कर्पारेट र नारायणीबाहेक अधिकांश बैंकको लाभांश क्षमता दोहोरो अंकमा देखिएको छ । गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको रहेको छ । मुक्तिनाथको २०.७५ प्रतिशत लाभांश क्षमता रहेको छ ।  यस्तै, कामना सेवाको १७.३ प्रतिशत, शाइन रेसुङ्गाको १३.९६ प्रतिशत, मितेरीको १२.८३ प्रतिशत, गरिमाको १२.५९ प्रतिशत, सांग्रिलाको ११.६४ प्रतिशत, महालक्ष्मीको ११.५१ प्रतिशत लाभांश क्षमता देखिन्छ ।  ग्रीनको १०.६७ प्रतिशत, लुम्बिनीको ८.१३ प्रतिशत, एक्सेलको २.०९ प्रतिशत लाभांश क्षमता रहेको तथ्याङ्क छ ।

दक्षिण अफ्रिकाको ईभी बजारमा प्रवेश गर्दै टोयोटा

काठमाडौं । टोयोटाले सन् २०२६ मा दक्षिण अफ्रिकामा तीनवटा पूर्णतया विद्युतीय मोडल प्रस्तुत गर्ने योजना बनाएको छ । कम्पनीका एक वरिष्ठ कार्यकारीले बिहीबार यो जानकारी दिएका हुन् ।  यससँगै टोयोटा त्यहाँको प्रारम्भिक चरणको ईभी बजारमा प्रवेश गर्नेछ, जहाँ चिनियाँ प्रतिद्वन्द्वीहरू जस्तै बीवाईडी पहिले नै युरोपेली गाडी निर्माताहरूसँग प्रतिस्पर्धामा छन्। हाल दक्षिण अफ्रिकाको ईभी बिक्रीमा भोल्भो अगाडि छ र त्यसपछि बीएमडब्ल्यू र मर्सिडिज-बेन्ज छन् । यता चिनियाँ ईभी निर्माताहरूले पनि अमेरिका र युरोपमा निर्यात प्रतिबन्धको बीचमा नयाँ बजार खोज्दै दक्षिण अफ्रिकामा प्रवेश तीव्र पारेका छन् । टोयोटाले हाल दक्षिण अफ्रिकामा केवल हाइब्रिड विद्युतीय गाडीहरू मात्र बेच्दै आएको छ तर २०२४ मा हाइब्रिड र प्लग-इन हाइब्रिड बजारमा ६७ प्रतिशतको अग्रणी हिस्सा ओगटेको छ, जसमध्ये कोरोला क्रसजस्ता मोडल प्रमुख छन् । टोयोटा साउथ अफ्रिकाका सीईओ एन्ड्र्यु किर्बीले रोयटर्ससँगको अन्तर्वार्तामा भने, ‘हामी २०२६ को सुरुवातमै ब्याट्री विद्युतीय गाडी ल्याउँदैछौं, जसमा तीन नयाँ मोडल हुनेछन् ।’  ‘हामीलाई विश्वास छैन कि भविष्यमा कुनै एक मात्र पावरट्रेनले बजार कब्जा गर्छ । त्यसैले हामीसँग आन्तरिक दहन इन्जिन, हाइब्रिड, प्लग-इन हाइब्रिड, ब्याट्री विद्युतीय गाडी, फ्युल सेल विद्युतीय गाडी र सम्भवतः कार्बन न्यूट्रल आन्तरिक दहन इन्जिन पनि रहनेछन्,’ उनले थपे । दक्षिण अफ्रिकामा कम आम्दानी, उच्च आयात शुल्क, अनिश्चित विद्युत आपूर्ति र पर्याप्त चार्जिङ पूर्वाधारको अभावका कारण लामो समयदेखि ईभी बिक्रीमा चुनौती रहँदै आएको छ । हालसम्म कुल गाडी बिक्रीमा ईभीको हिस्सा निकै कम छ । चिनियाँ प्रतिस्पर्धाबारे किर्बी भन्छन्, ‘हामी प्रतिस्पर्धालाई स्वागत गर्छौं, तर यो हाम्रो लागि निकै रणनीतिक चिन्ता हो र हामीले छिटो र सही तरिकाले प्रतिक्रिया दिनुपर्छ। यो ठूलो चुनौती हो ।’ उनका अनुसार दक्षिण अफ्रिकाको अटोमोबाइल क्षेत्र अहिले यस्तो मोडमा पुगेको छ, जहाँ उत्पादन मात्रा स्थिर छ, स्थानीय सामग्रीको हिस्सा घटेको छ र आयातित गाडी बिक्री बढेको छ । यसै कारण टोयोटा, बीएमडब्ल्यू, इसुजु र फक्सवागनसहित सात प्रमुख गाडी निर्माताहरूले व्यापार तथा उद्योगमन्त्रीलाई स्थानीय उद्योगलाई सहयोग र संरक्षण गर्नका लागि नीतिगत सिफारिस पत्र पठाएका छन् । किर्बी भन्छन्, ‘हामीसँग केही कर संरचना छन्, जुन अलि प्रतिकूल छन्, त्यसैले हामीले आर्थिक रूपमा तटस्थ हुनेगरी नीतिगत प्रस्तावहरू गरेका छौं । यसमा रिबेट प्रणाली पुनः संरचना गर्ने सुझाव पनि छ ।’ ‘हामीलाई आशा छ कि आगामी ६ महिनामा केही छोटो अवधि प्रभाव पार्ने कदम घोषणा हुनेछन्,’ उनी थप्छन् । हाल टोयोटाको उत्पादन संयन्त्र दक्षिण अफ्रिकामै छ, तर सुरुवाती चरणमा पूर्ण ईभी मोडलहरू आयात गरिनेछन् र पछि केही मोडल स्थानीय रूपमा उत्पादन गर्ने लक्ष्य राखिएको छ । ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट  

डिशहोम र बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच छुट सुविधासम्बन्धी सम्झौता

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत फास्टफूड चेन द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनसँग साझेदारी गरेको घोषणा गरेको छ ।  यस सम्झौताअनुसार सक्रिय डिशहोम ग्राहकहरूले अब देशभर रहेका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकका लागि मात्र उपलब्ध हुनेछ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा उपलब्ध गराउन सुरु गरिएको हो ।  कम्पनीले निकट भविष्यमा थप अग्रणी ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने लक्ष्य राखेको छ ।

खैबर पख्तूनख्वा र काश्मीरमा बाढी आउँदा ५१ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा  बाढी र पहिरोका घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । धेरै अन्य बेपत्ता भएका बताइएको छ । आकस्मिक बाढीका कारण पहिरो खस्दा थुप्रै मानिसहरू जमिनमुनि परेका छन् भने केही बाढीको पानीमा बगिएका छन् । धेरै स्थानहरूमा आपतकालीन उपाय अपनाउँदै खोज तथा उद्धार अभियान जारी छ। पाकिस्तान प्रशासित कश्मीरको विपद् व्यवस्थापन एजेन्सीका अनुसार नीलम घाटी क्षेत्रमा फसेका ५५० जना पर्यटकलाई उद्धार गरिएको छ भने ३०० भन्दा बढी पर्यटक अझै फसेका छन् । जुन महिनामा मनसुन सुरु भएदेखि पाकिस्तानमा सयौंको ज्यान गइसकेको छ । बीबीसी उर्दूका अनुसार एउटै परिवारका छ जना सदस्यको मृत्यु भएको छ । उद्धारकर्मीहरूले पति, पत्नी र तीन बच्चाको शव फेला पारेका छन् भने एक छोरीको खोजी जारी छ । अत्यधिक वर्षाका कारण मुजफ्फराबाद, नीलम बाग, नीलम घाटी र झेलम  जिल्लाका सबै विद्यालयहरूमा बिदा घोषणा गरिएको छ । प्रभावित परिवारहरूलाई विद्यालय भवनमा सार्ने आदेश जारी भएको छ । कश्मीरलाई इस्लामाबादसँग जोड्ने कोहाला र एबटाबाद दर्रा पहिरोका कारण अवरुद्ध भएको छ ।

कामना सेवा विकास बैंकले गर्यो इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ ।  कामना सेवा विकास बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानालाई हस्तान्तरण गरेका हुन्। बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको अध्यक्षता र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरिक्षक धर्मराज खत्री र सालिकराम खनाल र बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।  कार्यक्रममा वोल्दै प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बाल–बालिका तथा जेष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले समुदायप्रति बैंकको उत्तरदायित्व र आगामी दिनहरुमा पनि यस्ता सहयोग जारी रहने तथा नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे।  कार्यक्रमको सञ्चालन बैंकका बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले गरेका थिए ।

एलजी नेपालले मनायो ४० औं वार्षिकोत्सव

काठमाडौं । एलजी नेपालले आफ्नो ४०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एलजी नेपालले डुराबिलिटी क्याम्पेनको सुभारम्म समेत गरेको छ । यो उपलब्धि चार दशकदेखि नेपाली परिवारहरूसँग कायम रहेको अटुट विश्वास, भावनात्मक सम्बन्ध र साझा यात्राको प्रमाण रहेको एलजी नेपालले जनाएको छ । अत्याधुनिक फ्रिज र वाशिङ मेसिनदेखि ओएलईडी टिभी, एयर कन्डिसनर र साउन्ड सिस्टमसम्म एलजीका सामान रहेका छन् । एलजीका ब्रान्ड प्रबन्धक मुकेशकुमार बैठाले ग्राहकहरूले देखाएको अटुट विश्वासका कारण ४० वर्षको यात्रा सम्भव भएको बताए ।   नेपालमा एलजीका उत्पादनहरू २० औ वर्षभन्दा बढी ग्राहकहरुले प्रयोग गर्दै आइरहेका छन् ।   सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको एलजी नेपाल एलजी प्रडक्टको अग्रणी वितरक हो ।

स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव सम्पन्न, दुई नवीनतम सेवा थप

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) को २४औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  उक्त वार्षिकोत्सवमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले संस्थाले विगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पारे । विशेष गरी संस्थाले दिँदै आएका कार्ड सेवा (एससीटी- युनियन पे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड, आदि), मोबाइल बैंकिङ सेवा (स्मार्ट बैंकिङ, अन्तर बैंक भुक्तानी सेवा (स्मार्ट पे), क्युआर भुक्तानी सेवा (स्मार्ट क्यूआर) र मर्चेन्ट व्यवस्थापन सेवा (स्मार्ट एमएमएस) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे ।  वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नवीतम सेवाहरू स्मार्ट क्यूआर साउन्डबक्स र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे ।  स्मार्ट क्यूआर साउन्डबक् स्मार्ट च्वाइस टेक्नोलोजिजको नवीन सेवा हो जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यूआर साउन्डबक्स मार्फत सुन्न सक्नेछन् ।  स्मार्ट क्यूआर साउन्डबक्सलाई मर्चेन्टहरूले आफ्नो वाईफाईसँग लिंक गरेर वा स्मार्ट क्यूआर साउन्डबक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्यूआर साउन्डमार्फत विभिन्न भाषामा सुन्न सक्नेछन्। साथै एससीटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नवीनतम प्रविधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, रिपोर्ट जेनेरेसनलगायतका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् । 

पर्सामा अनुचित लेनदेनसम्बन्धी एक हजार ६८९ उजुरी टुङ्ग्याइयो

वीरगञ्ज (पर्सा) । पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी एक हजार ६८९ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३५८ उजुरी परेका थिए । सोमध्ये चालु आवको साउन २८ गतेसम्मको अवधिमा भने ६३७ मात्रै उजुरी फर्स्यौट गर्न बाँकी छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आएकामध्ये एक हजार ६८९ थान उजुरी मेलमिलापमार्फत टुङ्गो लगाएको जानकारी दिए । यसअघि जिल्ला प्रशासनबाट एक हजार ७२९ मिटर ब्याजसम्बन्धि उजुरी आएका थिए, यहाँको प्रहरी कार्यालयमा पनि छुट्टै ६२९ उजुरी दर्ता भएका थिए ।  उनका अनुसार यसअघि जिल्ला प्रशासन कार्यालयले २२० उजुरी मेलमिलापबाट टुङ्गो लगाएको थियो । प्रहरीले भने एक हजार ४६७ उजुरी टुङ्गो लगाएको छ । सूचना अधिकारी लम्सालले मिटरब्याजसँग सम्बन्धित ३२ मुद्दा अदालतमा दर्ता भएको जानकारी दिए । यहाँ मिटरब्याजसम्बन्धी कसुरमा १५ पुरुष र दुई महिला गरी १७ जना पक्राउ परेका छन् ।  पर्सामा मेलमिलापको बिगो भने २८ करोड ५९ लाख ५५ हजार ५५७ रहेको छ । पर्सा प्रहरीले ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराएको छ ।  सूचना अधिकारी लम्सालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आएको बताए ।  उनले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताए । जिल्ला प्रहरी कार्यालयमा २०८१ फागुन १ गतेदेखि अनुचित लेनदेनका उजुरी दर्ता गर्न थालेको हो ।