विकासन्युज

दार्चुला पावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । दार्चुला पावर लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बीमा गरिने

काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गर्ने भएको छ । आइतबार भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरी बिमा कार्यक्रम लागू गरिने उल्लेख गरे ।  मन्त्री थापाले भने, ‘पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर भएका काम गरिरहेका छौं, त्यसैले प्रदेशका १३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बिमाभित्र समेटेर बीमाबापतको प्रिमियम शुल्क प्रदेश सरकारले व्यहोर्ने गरी कार्यक्रम लागू गर्ने भएका हौं, त्यसका लागि बजेटको व्यवस्था गरिसकेका छौं ।’ उनले पत्रकार स्वास्थ्य बिमाका लागि मन्त्रालयले २० लाख रुपैयाँको बजेट चालु आर्थिक वर्षका लागि व्यवस्था गरेको जानकारी दिँदै यसका लागि कार्यविधि तयार भइरहेको बताए ।  बीमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउँदै पत्रकारलाई पाँच जनाको परिवार मानेर समूहमा आबद्ध गराएर बिमाको प्रिमियम सरकारले तिर्नेगरी व्यवस्था गर्ने तयारी भएको उनले बताए । मन्त्री थापाले पत्रकारको स्वास्थ्य सुरक्षामा बीमाले दीर्घकालीन रूपमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनाका रूपमा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ कार्यक्रम पनि यसै वर्षदेखि सञ्चालन हुने जानकारी दिए ।  मन्त्री थापाले १३ जिल्लाका १३ प्रादेशिक अस्पताल मात्रै नभइ अब दूरदराजका विकट क्षेत्रका नागरिकलाईसमेत सहज स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर आमनागरिकले सरकार गाउँगाउँ पुगेको महसुस गर्नेगरी कार्ययोजना अगाडि बढाइएको बताए । स्वास्थ्य सामग्री, औषधि, उपकरण लिएर आफैं गाउँगाउँ पस्ने गरेको भन्दै उनले जनताले परिवर्तनलाई अनुभूति गर्नेगरी सबैले काम गर्नुपर्नेमा जोड दिए ।

बीमा बजार विकास र पहुँच विस्तारका लागि नेपाल बीमा प्राधिकरणको कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसामयिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्रिर्या कार्यक्रम शुक्रबार (साउन ३० गते) ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन, मूल्य निर्धारण, आईएफआरएस–१७ कार्यान्वयन र एक्चुअरीहरूको नियुक्ति सम्बन्धमा प्रस्तुती दिएका थिए । उनले नेपालमा बीमाको पहुँच बढाउनका लागि बीमालेखमा विविधता ल्याउनुपर्ने, विभिन्न उमेर समूहलाई बीमाको दायरामा ल्याउने, नवीनतम् बीमा प्रणाली विकास गर्ने, दक्ष जनशक्ति र पूर्वाधार विकास आवश्यक रहेको तथा बीमा सचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव प्रस्तुत गरे । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कोल्लिमार्लाले बीमाको पहुँच बढाउन नागरिकको आर्थिक अवस्था अनुसार बीमालेख निर्माण, बीमा शिक्षाको विस्तार, र बीमा सेवा ९दाबी भुक्तानीसम्म० चुस्तदुरुस्त हुनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रमको पहिलो दिन परामर्शदाता बीमाङ्की र नेपाल बीमा प्राधिकरणका कर्मचारीबीच नियामकीय दृष्टिकोणमा छलफल भयो भने दोस्रो दिन बीमकका प्रोडक्टरभ्यालुएसन विभाग प्रमुखहरूसँग बीमाङ्कीय दृष्टिकोणमा अन्तक्रिर्या सम्पन्न भयो । अन्तिम दिन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशक पूजन ढुङ्गेल अधिकारीको उपस्थितिमा परामर्शदाता बीमाङ्की कोल्लिमार्ला र बीमकका प्रमुख कार्यकारी अधिकृतबीच नेपालमा बीमाको पहुँच बढाउने विषयमा छलफल भएको थियो । कार्यक्रमका क्रममा कार्यकारी निर्देशक सुवेदीले बीमाङ्कीय मूल्याङ्कन, जोखिममा आधारित पूँजी, सोल्भेन्सी, बीमा बजारका समस्या र अपेक्षा सम्बन्धी राय सुझाव लिन उद्देश्या राखिएको बताए भने निर्देशक ढुङ्गेलले बीमा बजारको विकास र पहुँच वृद्धि गर्ने साझा उद्देश्य हासिल गर्न अझ परिस्कृत ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । कार्यक्रम साउन २८ देखि ३० गतेसम्म सञ्चालन भएको थियो ।

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली आइतबार पक्राउ परेका छन् । बैंकिङ कसुरको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।  उनलाई काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सिन्धुपाल्चोकका राजु गोर्खाली विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका छन् ।

जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच सम्झौता, जापान र कोरियाबाट रकम पठाउन सहज

काठमाडौं । जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सुरु भएको छ । अब जापान र कोरियामा रहेका नेपालीहरूले जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनी ट्रान्सफरमार्फत सहजै रकम पठाउन सक्नेछन् । यो साझेदारीपछि नेपालीहरूले नेपालका कुनै पनि बैंक खाता वा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सक्नेछन् । साथै, नियो मनी ट्रान्सफरका देशभर रहेका एजेन्ट नेटवर्कमार्फत पनि रकम प्राप्त गर्न सकिने सुविधा उपलब्ध हुनेछ । नियो मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खनालले भने, 'जेआरएफ रेमिटसँगको साझेदारीले हामीलाई अझ छिटो र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्ने अवसर दिएको छ । यसले औपचारिक माध्यमको प्रयोग बढाएर देशको वित्तीय प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्नेछ ।' नियो मनी ट्रान्सफरले पछिल्लो समयमा बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ ।

गण्डकीमा ८ सय जनामा डेङ्गी सङ्क्रमण, पोखरामै आधाभन्दा बढी

गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गी सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ ।  प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गी रोग देखिएको हो ।  मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेङ्गी देखिएको छैन । प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए । प्रदेशको राजधानी पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो ।  साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रमणको दर बढ्दै जाने अनुमान छ । डेङ्गी न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् । स्थानीय तहले डेङ्गी रोग फैलन नदिन डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेङ्गी फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गरेको छ ।

प्रभु बैंकका ग्राहकलाई जोय स्टोरमा २० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडाको न्युरोडस्थित जोय स्टोर  र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवासुविधामा छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा  तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरे ।  सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले आईफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र आईफोन र म्याकबुकका एसेसरिजमा २० प्रतिशतसम्म छुट पाउने छन् ।  बैंकका क्रेडिटकार्ड होल्डरलाई इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न  सकिनेछ।  प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।  

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ६० अर्ब खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि अन्तर बैंक ब्याजदर थप घट्न नदिन केन्द्रीय बैंकले उक्त कदम चाल्न लागेको हो । राष्ट्र बैंकले ३१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ माग गरेको छ । यस प्रक्रियाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थालाई ध्यानमा राखी बढी भएको मात्र रकम केन्द्रीय बैंकमा जम्मा गर्नेछन् । राष्ट्र बैंकका अनुसार आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले राखेको करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्व हुने भएकाले सो रकम व्यवस्थापन गर्न निक्षेप संकलन जारी गरिएको हो । गत शुक्रबारसम्ममा वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ बढी तरलता रहेको र हाल करिब साढे ६ खर्ब बराबरको तरलता राष्ट्र बैंकमा रहेको जानकारी समेत दिइएको छ ।