विकासन्युज

एकवर्षमा विपद्का घटनाबाट १४ करोड बढीको क्षति

विराटनगर । विपद्सम्बन्धी घटनाबाट एक वर्षमा मोरङमा कुल १४ करोड ९२ लाख २९ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ४१२ वटा विपद्का घटना घटेका थिए । त्यसमध्ये सबैभन्दा बढी आगलागीका २६१ घटनामा १४ करोड ६५ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ । चट्याङका ११ घटनामा दुई महिला, एक पुरुषको मृत्यु, दुई घाइते र एक घर क्षति भई तीन लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ । त्यसैगरी, डुबानका चार घटनामा ६५ हजार रुपैयाँ, हावाहुरीका सात घटनामा एक घर पूर्णरुपमा र २२ घरमा आंशिक क्षति हुन गई छ लाख ८५ हजार रुपैयाँ तथा जङ्गली जनावरका आक्रमणका ३४ घटनामा दुई महिला र दुई जना पुरुषको मृत्यु एवं १५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको भौतिक क्षति भएको जिल्ला आपतकालीन् कार्य सञ्चालन केन्द्रले जनाएको छ । सो अवधिमा बाढीका १० घटनामा १८७ घरमा क्षति, पहिरो एक, सर्पदंशका ४३ घटनामा चार महिला र चार पुरुषको मृत्यु, भिरबाट लडि एक जनाको मृत्यु र करेन्टका ४०  घटनामा सात महिला र आठ पुरुषको मृत्यु भएको जनाइएको छ । कुल ३६ वटा चौपयाको मृत्यु भएको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद्का घटना थाहा पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी स्थानीयको सहयोग लिने गरको बताए ।  

घट्दै वैदेशिक सहायता, लक्ष्यको ३३ प्रतिशत मात्रै

काठमाडौं । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोडमात्रै प्राप्त गरेको छ । जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्रै हो ।  अघिल्लो आर्थिक वर्षमा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा २४ अर्ब प्राप्त भएको थियो । जुन लक्ष्यको तुलनामा प्राप्ति ४९.०८ प्रतिशत हो ।  अघिल्लो आवको तुलनामा वैदेशिक अनुदान प्रप्ति २.०४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा सरकारले लिने ऋण समेत घटेको छ ।  आव २०८१/८२ मा २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्रै ऋण लिन सरकार सफल भएको छ । यो सरकारले लिएको वैदेशिक ऋण लक्ष्यको तुलनामा ५७.७८ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा २ खर्ब १२ अर्ब ऋण लिने सरकारले लक्ष्य राखेको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब ६६ करोड सरकारले ऋण लिएको थियो ।  लक्ष्यको तुलनामा ५९.०७ प्रतिशत सरकारले ऋण लिएको थियो । अघिल्लो वर्षको तुलनामा २०८१/८२ मा वैदेशिक ऋण प्राप्ति ०.२१ प्रतिशतले घटेको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।   कुल वैदेशिक सहायतातर्फ २०८१/८२ मा सरकारले २ खर्ब ६९ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४८ अर्ब त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको ५५.१५ प्रतिशत हो।  अघिल्लो आवमा सरकारले वैदेशिक सहायतातर्फ  २ खर्ब ६२ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४९ अर्ब ६७ करोड त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ५६.९८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा वैदेशिक सहायता ०.४९ प्रतिशतले घटेको अर्थमन्त्रालयको तथ्यांकले प्रष्ट देखाएको छ । 

डिशहोमको कुशे औंसी अफर सार्वजनिक

काठमाडौं । डिशहोमले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारी ग्राहकहरूका लागि अफर ल्याएको छ ।  अफरअन्तर्गत अब वार्षिक नयाँ इन्टरनेट (एमबीपीएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ पर्ने फोर-के स्ट्रीमर उपहार स्वरूप दिनेछ । यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ ।  ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर उपहार लिनसक्ने डिसहोमले जनाएको छ ।

मेटलाइफ नेपालद्वारा सर्पदंश नियन्त्रणका लागि सहयोग, झापामा जनचेतना अभियान सुरु

झापा । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गर्दै ग्रामीण क्षेत्रमा बढ्दो सर्पदंशको जोखिम नियन्त्रण गर्न सहयोग गरेको छ । कम्पनीले यसलाई कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको महत्वपूर्ण पहलका रूपमा अघि सारेको हो । झापाको कृषिमुखी जीवनशैली र बढ्दो तापक्रमका कारण यहाँका ग्रामीण समुदाय सर्पदंशको उच्च जोखिममा रहेको बताइएको छ । नेपालमा हरेक वर्ष सयौं मानिसको ज्यान जाने सर्पदंशलाई गम्भीर सार्वजनिक स्वास्थ्य समस्या मानिन्छ । सीमित जनचेतना, समयमै उपचार नपाइनु र स्वास्थ्य सुविधाको कमीले मृत्यु दर अझै उच्च रहेको विशेषज्ञहरूको भनाइ छ । यस पहलमार्फत समुदायमा सर्पदंश रोकथाम र तत्कालीन उपचारबारे जनचेतना अभिवृद्धि गर्ने, ग्रामीण बासिन्दालाई उपचार सेवामा सहज पहुँच उपलब्ध गराउने र सर्पदंशजन्य मृत्यु कम गर्ने लक्ष्य राखिएको छ । मेटलाइफ नेपालले जनचेतना अभियान, रोकथामका उपायहरूको प्रवर्द्धन र जीवनरक्षक उपचारमा सहज पहुँच सुनिश्चित गर्न योगदान पुर्‍याउने जनाएको छ । 'सर्पदंश ग्रामीण नेपालमा गम्भीर तर प्रायः बेवास्ता गरिने सार्वजनिक स्वास्थ्य समस्या हो। कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर हामी समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान मात्र नभई समयमा उपचारमा सहज पहुँच दिलाउन प्रतिबद्ध छौँ,' मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।

सांसद लिम्बूको प्रश्न - करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद डिगबहादुर लिम्बूले करोडौँ रुपैयाँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने कुरा राम्रो नभएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  बुधबार विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो । उनले अहिले आएको विद्यालय शिक्षा विधेयक प्रगतिशिल रहेको बताए । यसमा कोकोहोला गरिरहन जरुरी नरहेको बताए । सरकार निजी विद्यालयको घाँटी समात्ने गरी अघि नबढेको स्पष्ट पारे । नेताहरु एउटै निर्णयमा अडग रहन नसक्दा पनि समस्या आइरहेको उनको भनाइ छ ।   उनले भने, ‘यो विधेयक प्रगतिशिल छ । शिक्षक साथीहरुले जुन ढंगको कोकोहोला गरिरहनुभएको छ, कतिले कुनै नेतालाई घेरेका छन्, अर्कोले अर्को नेतालाई घेरेका छन् । महंगी बढेको अवस्था छ । आवश्यकता दिनका दिन बढ्दै गएको छ । चन्दा दिने बेलामा करोडौँ दिन तयार हुने निजी क्षेत्रका साथीहरु हामीलाई थाहा छ, पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउने कुरामा खुट्टै कमाउनुपर्छ भन्नेकुरा होइन नि ।’ सांसद लिम्बूले निजी क्षेत्रलाई विश्वासमा लिएर उत्तरदायी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए ।  

सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ । कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा  सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे ।  त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमछ वटा डिप बोरिङ खनिएको जानकारी दिए ।   

विद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौँ : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गरेकी छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।  बुधबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो । छलफलमा बोल्दै उनले विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न कुरा विधेयकमै लेखिनुपर्ने बताइन् ।  शिक्षकहरुको हकमा बन्द हड्ताल गर्न पाउँदैन भनेर विधेयकमा लेखिएको पनि यो कुरा निजी विद्यालयका लागि पनि लेखिनुपर्ने बताइन् ।  उनले भनिन्, ‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस् । विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन । विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाउँदैन, जुनसुकै कारण भएपनि । त्यो हामीले शिक्षकहरुको हकमा बन्द हड्ताल गर्न पाउँदैन भनेर लेखेका छौँ । तर हामीले त्यो कुरा निजीको लागि पनि लेख्नुपर्नेछ । विद्यालयहरु कुनैपनि बहानामा बन्द गरिनुहुँदैन ।’ सांसद श्रेष्ठले अनिवार्य निःशुल्क शिक्षा तोकेबमोजिम सबैले पाउनुपर्ने बताइन् । 

फोर्थिङ फ्राइडेको पाँच वर्षे अफर : बीमा, सर्भिस र घरमै चार्जिङ सुविधा

काठमाडौं । फोर्थिङ फ्राइडेले नेपालमा नयाँ पाँच वर्षे विशेष योजना ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ सार्वजनिक गरेको छ । ब्रान्डले यस अफरमार्फत ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति आफ्नो प्रतिबद्धता प्रष्ट पारेको छ । नेपालमा फोर्थिङ फ्राइडे इभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी, लक्ष्मी समूहअन्तर्गत, यस योजना लागू गरेको हो । ‘फ्राइडे टु फ्राइडे’ स्किम अन्तर्गत ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स, ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा र हरेक खरिदमा ७ किलोवाट चार्जर पाउनेछन् । यसले घरमै सजिलो चार्जिङ समाधान दिलाउने कम्पनीले जनाएको छ । लक्ष्मी ई–मोबिलिटीका अनुसार यो अफर ग्राहकहरूको लागि ईभी स्वामित्वलाई अझ आकर्षक र फाइदाजनक बनाउन डिजाइन गरिएको हो । यस कदमले ग्राहकहरूको विश्वास बढाउनेछ र नेपालमा दिगो गतिशीलताको स्वीकार्यता बढाउनेछ । यस अफरसँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्डको रूपमा स्थापित गरेको छ ।