निजामती विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने प्रतिपक्षको अडान
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाको प्रावधान राख्नुपर्ने प्रतिपक्ष दलको अडान कायमै छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदहरूले नयाँ मान्छेलाई अवसर दिन र प्रतिस्पर्धा सुनिश्चित गर्न सो व्यवस्था राख्नुपर्ने अडान राखेका हुन् । विधेयकमाथिको दफावार छलफलमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले सह–सचिवमा १० प्रतिशत खुला राख्ने विषय उठाए । सांसद पदम परियारले सहसचिवमा जसरी पनि १० प्रतिशत खुला राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘९० प्रतिशत त आन्तरिकबाट आइरहेकै छन् । खुला प्रतिस्पर्धाबाट महिला, दलितलगायत व्यक्तिलाई आउने सुनिश्चितताका लागि पनि सहसचिवमा १० प्रतिशत खुला राख्नै पर्छ ।’ सांसद विष्णुदेवी पुडासैनीले पनि खुला प्रतिस्पर्धामा नयाँ मान्छेलाई वञ्चित गर्न नहुनेमा जोड दिइन् । सांसद डा बेदुराम भुसालले कुनै पनि हालतमा सहसचिवमा खुला हुन दिनुपर्ने बताए । 'अधिकांश सहसचिव अतिरिक्त सचिव भएर सचिव हुने भए, यसअघि सहसचिव खुलाबाट आएर पनि सहसचिव हुन सक्ने व्यवस्था थियो । जोखिम मोल्ने कर्मचारी भनेकै सहसचिव हो, सहसचिवमा कुनै पनि हालतमा खुला हुन दिनुपर्छ,' उनले भने। सांसद कृष्णबहादुर रोकायले सहसचिवलाई मात्रै नभई नासु पनि खुला गर्नुपर्ने बताए । सांसद सुमित्रा बिसीले तल्लो तहका कर्मचारीको वृद्धि विकास रोक्नेगरी विधेयक ल्याउन नहुने बताइन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले भने प्रतिनिधिसभाले विवेक प्रयोग गरेर नै सहसचिव खुला नगर्ने निर्णय गरेको स्मरण गराए। समिति सभापति तुलसाकुमारी दहालले पनि प्रतिनिधिसभाबाट विधिसम्मत आएको व्यवस्थाबारे थप केही गर्न नमिल्ने जनाइन् ।
औपचारिक क्षेत्रका २१ हजार बढी रोजगाराता र ६ लाख १३ हजार श्रमिक सासु कोषमा आवद्ध
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाता तथा करिब ६ लाख १३ हजार ७१८ श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । मन्त्री भण्डारीले स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका ७७६ श्रमिक र ४७६ स्वरोजगार व्यक्ति समेत कोषमा आबद्ध भइसकेको जानकारी दिए । उनले हालसम्म १८ लाख ३५ हजार ६ सय ४ जना वैदेशिक रोजगारीमा जाने श्रमिक कोषमा आबद्ध भइसकेको उल्लेख गर्दै सामाजिक सुरक्षा कोषलाई सबै श्रमिकका लागि अनिवार्य बनाउने लक्ष्य सरकारको स्पष्ट पारे । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने व्यवस्था सरकारले गरेको स्पष्ट गर्दै यसले वैदेशिक रोजगारी सुरक्षित हुनुका साथै श्रमिकका परिवारलाई समेत सहयोग पुग्ने विश्वास मन्त्री भण्डारीको छ । उनले आन्तरिक रोजगारीको सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको पनि बताए । उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साथै सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।
कोलम्बियामा कारबम हमला : १८ जनाको मृत्यु, ४० भन्दा धेरै घाइते
काठमाडौं । कोलम्बियाको क्याली सहरमा भएको कार बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् । पुलिसका अनुसार यो हमला मार्को फिडेल सुआरेज मिलिट्री एभियसन स्कूललाई लक्षित गरेर गरिएको थियो । विस्फोटका कारण वरिपरिका धेरै भवनहरूमा पनि क्षति पुगेको छ । क्यालीका मेयर एलेजान्ड्रो एडरले हमलाको निन्दा गर्दै जिम्मेवार व्यक्तिहरूको बारेमा जानकारी दिनेलाई ४० करोड डलरको पुरस्कार घोषणा गरेका छन् । सुरक्षालाई ध्यानमा राख्दै उनले धेरै भवन र विद्यालय खाली गराउन आदेश दिएका छन् र शहरमा ठूला ट्रकहरूको प्रवेशमा प्रतिबन्ध लगाएका छन् । यसअघि बिहीबार उत्तर(पश्चिमी शहर म्याडेलिन नजिकै ग्रामीण क्षेत्रमा प्रहरीले हेलिकोप्टरमा भएको हमलामा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।
डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार यादव हुमागाईंलाई
काठमाडौं । डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष आर्थिक अभियान दैनिकका संवाददाता यादव हुमागाईंलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको दशौं वार्षिक पुण्य स्मृति दिवश पारेर भदौ २१ गते शनिबार यादव हुमागाईंलाई प्रदान गरिने भएको हो । जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजयराज खनाल, यज्ञ बञ्जाडे र कृष्ण रिजाललाई प्रदान गरिएको थियो । फाउण्डेशनले पत्रकारितामार्फत आर्थिक विकासमा योगदान पुर्याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई सम्मान गर्दै आएको छ । विगत पन्ध्र वर्षभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका आर्थिक अभियान दैनिकका संवाददाता हुमागाईंलाई पुरस्कारस्वरूप नगद एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरिएको हो।
सानिमा बैंक दुई ठूला जलविद्युत आयोजनामा एजेन्ट बैंक नियुक्त
काठमाडौं । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सीईएक्सआईएम) ले सानिमा बैंक लिमिटेडलाई दुई ठूला जलविद्युत परियोजनाका लागि वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको रूपमा नियुक्त गरेको छ । सीईएक्सआईएम बैंकको सिचुआन शाखामा आयोजित विशेष कार्यक्रममा दुवै बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सीईएक्सआईएम बैंक सिचुआन शाखाकी उपाध्यक्ष यानहुईले हस्ताक्षर गरे । सम्झौतापश्चात अब सानिमा बैंकले मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेगावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट)–१ परियोजनाका लागि बैंक एजेन्ट बैंकका रूपमा काम गर्नेछ । उक्त कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, सीईएक्सआईएम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेङग्रोङ तथा एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लिआयो बिनको समेत उपस्थिति थियो । समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले एजेन्ट बैंकको रूपमा विश्वास व्यक्त गरी छनोट गरेकोमा आभार प्रकट गरे । उनले सीईएक्सआईएमसँगको सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार हुनुका साथै नेपालमा व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी, सीईएक्सआईएम र लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले परियोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
२ अर्ब ७७ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, कस्ता छन् शर्त ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरूलाई आह्वान गरेको छ । राष्ट्र बैंकले लगानी गर्ने कुल रकममध्ये वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी दिएको छ । राष्ट्र बैंकले भदौ २६ गतेबाट मुद्दती निक्षेपमा गर्ने यो लगानी ३६६ दिनका लागि हुनेछ । उक्त प्रश्ताव अन्तर्गत, वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूले तोकिएको रकमको लागि प्रतिष्पर्धात्मक प्रस्ताव पेश गर्न सक्नेछन्। बैंक तथा वित्तीय संस्थाहरुका लागि तोकिएका त्यस्ता शर्तहरुमा प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित सूचना तथा यसमा उल्लेख गरिएका सम्पूर्ण शर्तहरू पूरा गर्नुपर्ने उल्लेख छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कायम पुँजी न्यूनतम् पुँजीको अनुपात बर्फरसहित कायम गरिएको हुनुपर्ने, निष्कृय कर्जा (एन.पी.एल) अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एन.पी.एल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ । खुद तरल सम्पत्ति अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, कर्जा निक्षेपको अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसावअनुसार खुद मुनाफामा रहेको, बैंक तथा वित्तीय संस्था शिघ्र सुधारात्मक कारवाहीमा परेको भए यस्तो कारवाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए यस्तो कारवाही फुकुवा भएको ६ महिना अवधि पूरा भएको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्नेछ । प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको ढाँचामा आवश्यक विवरणहरू भरेर इमेलमार्फत पठाउनु पर्नेछ । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार प्रस्ताव फाइल इमेल गर्ने अन्तिम म्याद भदौ ९ गते राति १२ बजेसम्मलाई तोकिएको छ ।
नबिल बैंकबाट भारतीय लगानीकर्ता बाहिरिँदै
काठमाडौं । नबिल बैंकको भारतीय लगानीकर्ता मुथुट फाइनान्स बाहिरिने भएको छ । आफ्नो स्वामित्वमा कायम रहेको सेयर बिक्री गरेर फाइनान्स बाहिरिने भएको हो । बैंकमा मुथुट फाइनान्सको ०.४४ प्रतशत सेयर स्वामित्व सहित चौंथो ठूलो सेयरधनी हो । कम्पनीले बैंकमा रहेको ०.४४ प्रतिशत अर्थात् ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक सेयर नै बिक्रीमा राखेको हो । कम्पनीले बिक्रीमा राखेको उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । भारतीय मुथुट ग्रुप अन्तर्गतको मुथुट फाइनान्स विसं २०७५ मा नेपाल भित्रिएको थियो । चौधरी समूहको लगानी रहेको साबिक युनाइटेड फाइनान्समा लगानी गरेको थियो । साबिक युनाइटेड फाइनान्समा मुथुटले प्रतिकित्ता १९० रुपैयाँका दरले २१ लाख कित्ता सेयर किनेको थियो । मुथुट फाइनान्स भारतमा सुन धितो राखेर दिइने कर्जामा लागि चर्चित कम्पनी हो । युनाइटेड फाइनान्स विसं २०७८ असारमा नबिल बैंकमा गाभिएपछि चौथो ठूलो सेयरधनी बनेको थियो । तर, नेपाल भित्रिएको ७ वर्षमै आफ्नो स्वामित्व बिक्री गरेर कम्पनी बाहिरिन लागेको हो ।
एक वर्षमा निर्जीवन बीमकको लगानी ६६ अर्ब २३ करोड, कसको लगानी कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा ६६ अर्बभन्दा बढीको लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले गत आवको चौथो त्रैमाससम्ममा विभिन्न क्षेत्रमा ६६ अर्ब २३ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् । गत आवमा बीमा कम्पनीहरूले गरेको लगानी गत आवको तुलनामा ०.४३ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीहरूले ६६ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका थिए । बीमा कम्पनीहरूको लगानी सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा रहेको छ । निर्जीवन बीमा कम्पनीहरूको कुल लगानीमा ७७.४८ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा देखिन्छ । कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा मात्रै ५१ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरूले ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ४४ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, ‘ख’ वर्गको बैंकको निक्षेपमा ५ अर्ब २३ करोड ७१ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब १३ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् । समीक्षा वर्षमा निर्जीवन बीमकले सरकारी बचतपत्र तथा ऋणपत्रमा ६० करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको सेयरमा ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरूको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २ अर्ब ८९ करोड ९० लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरूले नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ७ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २९ करोड ४३ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा २ अर्ब ६० करोड ८८ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा १ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन् । समीक्षा वर्षमा कम्पनीहरूले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत विकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब २५ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् । यसबाहेक बीमा कम्पनीहरूको अन्य क्षेत्रमा ९२ करोड २२ लाख रुपैयाँ लगानी रहेको छ । सबैभन्दा धेरै लगानी सिद्धार्थ प्रिमियरको बीमा कम्पनीहरूमध्ये विभिन्न क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्ष विभिन्न क्षेत्रमा ७ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ । धेरै लगानी गर्ने दोस्रो कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको विभिन्न क्षेत्रमा ७ अर्ब ७७ करोड १० लाख रुपैयाँ लगानी रहेको छ । तेस्रो धेरै लगानी रहेको कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले विभिन्न क्षेत्रमा ७ अर्ब २७ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, गत वर्ष विभिन्न क्षेत्रमा नेको इन्स्योरेन्सले ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब १५ करोड ६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४ अर्ब ८९ करोड ८ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ३ अर्ब ४६ करोड १३ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २४ करोड ११ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ लगानी गरेका छन् ।