विकासन्युज

तल्लो अप्सुवा जलविद्युतको लागि ८.८४ अर्ब रुपैयाँ लगानी स्वीकृत, पोडवे सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । लगानी बोर्डले तल्लो अप्सुवा जलविद्युत परियोजनाको लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको ६५औँ बैठकले ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत परियोजनाका लागि ८ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको सहसचिव एवं प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए । साथै, ८ सय मेगावाटको पश्चिम सेती जलविद्युत परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी एवं वित्तीय ढाँचा लगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।  यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्‍चालन सम्बन्धी परियोजना तथा काठमाडौं-हेटौंडा-वीरगञ्ज पोडवे परियोजनाको सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्न र सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको छ ।  बैठकले माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को विद्युत प्रसारण लाइनको नयाँ रुट अलाइनमेन्टको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्धक कम्पनी कर्णाली ट्रान्समिसन कम्पनी प्रालि (केटीअीपीएल)लाई सहमति प्रदान गरेको छ ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।  शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो ।  बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पारित गर्न राख्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गरे ।  जसअघि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले विधेयक सरकारले प्रस्तुत गरेको भन्दा उन्नत, व्यवहारिक, पारदर्शी बनाएर संसदले अघि बढाएको बताए ।  उनले विधेयक पारित गरेर आफूहरूले ऐतिहासिक प्रस्थान गरेको जिकिर गरे । आमा पनि वंश हो भन्नेकुरा व्यवहारिक स्थापना गरेको उनले बताए ।

प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित भएका छ ।  सभाको शुक्रवारको बैठकबाट विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।  विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयकले नेपालको पूर्वाधार विकाका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे । विधेयकले ऐनको रूप लिएसँगै आवश्यक कार्यान्वयन गर्ने सोचका साथ सरकार तयारी अवस्थामा रहेको पनि उनले जिकिर गरे ।  अब कुनै पनि विकासका आयोजनाहरू स्रोतको अभावमा नरोकिने उनको दाबी छ ।  निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्न र वर्तमान वित्तीय स्रोतको कमी पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासका लागि स्रोतको प्रबन्ध गर्न विधेयक ल्याइएको अर्थमन्त्री पौडेलको भनाइ छ ।  ऋणपत्र, स्वपूँजी कोष र अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्नको लागि आवश्यक भएकोले यो विधेयक ल्याइएको उनले बताए ।

नाडा अटो शोमा बीवाईडीको स्टलमा झुम्मिए अवलोकनकर्ता, तेस्रो दिनमै ३०० भन्दा बढी बुकिङ

काठमाडौं । १७ औं संस्करणको नाडा अटो शोमा विश्वप्रसिद्ध विद्युतीय सवारी निर्माता बीवाइडीको नयाँ कम्प्याक्ट एसयूभी ‘एट्टो २’को स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । नाडा अटो शोमै सार्वजनिक गरेको उक्त गाडी तेस्रो दिनसम्ममा ३०० भन्दा बढी युनिट बुकिङ भइसकेको सेल्स म्यानेजर सन्ध्या श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार एट्टो २ लाई कम्पनीले इन्ट्रोडक्टरी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रस्तुत गरेको हो । नेपाली सडकका लागि विशेष उपयुक्त मानिएको यो गाडीमा २०० एमएमको ग्राउन्ड क्लेरेन्स रहेको छ। एट्टो ३ कै जस्तै 'ड्रागन फेस' डिजाइनमा आधारित एट्टो २ को बाहिरी लुक्स आकर्षक र आफ्नो सेग्मेन्टमा अलि ठूलो देखिन्छ। गाडीमा एडास लेभल २, अटोमेटिक ब्रेकिङ सिस्टम र लेन असिस्ट जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू समावेश छन् ।   ५१.१३ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको मोटर जडित यो गाडीले एक पटकको फुल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । नाडा अटो शोलाई लक्षित गर्दै बीवाइडीले नगद छुटभन्दा पनि वारेन्टीमा विशेष जोड दिएको छ । कम्पनीले गाडीमा १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।   सेल्स म्यानेजर श्रेष्ठले भनिन्, ‘यो वारेन्टीले ग्राहकलाई दीर्घकालीन फाइदा दिन्छ र भोलि गाडी बिक्री गर्दा पनि यसले राम्रो रिसेल भ्यालु सुनिश्चित गर्छ।’ यसका साथै ग्राहकले इन्सोरेन्स, रोड ट्याक्स, एसेसरिज, ट्राभल चार्जर र वाल बक्स चार्जर जस्ता सुविधा पनि पाउनेछन् ।  शोको चौथो दिनसम्म आइपुग्दा बीवाइडीको स्टलमा ग्राहकको बाक्लो भीड देखिएको छ । धेरै ग्राहकहरू विशेष गरी नयाँ एट्टो २ हेर्नकै लागि आएको श्रेष्ठ बताउँछिन् । ‘ग्राहकहरूले गाडीको मूल्य र फिचरलाई निकै मन पराउनुभएको छ, जसको प्रमाण ३०० भन्दा बढीको बुकिङ हो,’ उनले भनिन्। एट्टो २ बाहेक, प्रिमियम सेग्मेन्टमा बीवाइडी सीलले पनि ग्राहकको ध्यान खिचेको छ । 

साउनमा उत्साहजनक वैदेशिक व्यापार, ९५.७५ प्रतिशत बढ्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा उत्साहजनक वैदेशिक व्यापार भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशत बढेको छ।  विभागका अनुसार साउन महिनामा १ खर्ब ४३ अर्ब ६ करोड ६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ भने २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन गत वर्षको साउन महिनाको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको हो । गत आर्थिक वर्ष २०८१/८२ को साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको निर्यात भएको थियो । निर्यातमा सुधार भए पनि आयातको आकार ठुलो भएकाले व्यापार घाटा भने बढेको छ । चालु आवको साउनमा व्यापार घाटा २.५५ प्रतिशत बढेर १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको छ । जबकि गत वर्षको साउनमा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो ।  विभागको तथ्याङ्क अनुसार आयात निर्यात रेसियो ५.९८ रुपैयाँ अनुपातमा झरेको छ । यसअघि गत वर्षको साउनमा आयात निर्यात रेसियो १०.५० रुपैयाँ थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत पुगेको छ । यसअघि गत वर्षको साउनमा ८.७० प्रतिशत थियो । 

श्रीलङ्काका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे पक्राउ

काठमाडौं । श्रीलङ्काका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघेलाई सरकारी रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । यो जानकारी त्यहाँको प्रहरीले दिएको हो । उनीमाथि लागेको आरोप राष्ट्रपति पदमा रहँदा भएको विदेश यात्रासँग सम्बन्धित छ । आरोपअनुसार सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको आमसभाबाट फर्कँदा उनले आफ्ना निजी कामका लागि श्रीमतीसहित लन्डनमा रोकिँदा सरकारी खर्च प्रयोग गरेका थिए । उनलाई शुक्रबार राजधानी कोलम्बोको जिल्ला अदालतमा पेश गरिनेछ । यसअघि उनले अपराध अनुसन्धान विभाग (सीआईडी) मा बयान दिएका छन् । रानिल विक्रमसिंघेले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै लन्डनमा उनले विभिन्न बैठकहरूमा सहभागी भएको बताएका छन् । विक्रमसिंघे २०२२ देखि २०२४ सम्म श्रीलङ्काका राष्ट्रपति रहेका थिए । उनी आर्थिक संकटका कारण देशभर प्रदर्शन चर्किँदा पदभार सम्हालेका थिए, जब उनका पूर्ववर्ती गोटाबाया राजपक्षे देश छोडी भागेका थिए ।

शिक्षा विधेयक प्रतिनिधिसभामा पेस, शिक्षक महासंघ र निजी विद्यालय भने आन्दोलनमा

काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । शुक्रबार संसदीय समितिबाट पास भएको विधेयक प्रतिवेदन  शुक्रबार प्रतिनिधिसभामा पेश भएको हो ।  संसदीय समिति अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले बिहीबार दिनभरि छलफल गरेको प्रतिवदेन तयार पारेको थियो ।  सोही प्रतिवेदन समिति  सभापति अम्मरबहादुर थापाले प्रतिनिधिसभामा पेश गरेका हुन् । प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग घनिभूत छलफल विधेयक प्रतिवेदन तयार पारेको बताए ।  अब यो विधेयक प्रतिवेदनमाथि प्रतिनिधिसभामा छलफल हुने भएको छ । समितिले प्रतिवेदन प्रतिनिधिसभामा पठाइ राख्दा निजी विद्यालय सञ्चालकहरू सडकमा आएका छन् । विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन नसकिने भन्दै विधेयकमा समावेश भएका बुँदा सच्याउनुपर्ने माग उनीहरूको छ ।  बिहीबारदेखि सडकमा आएका निजी विद्यालय सञ्चालकहरू शुक्रबार पनि सडकमै प्रदर्शन गरिरहेका छन् ।  यता नेपाल शिक्षक महासंघले पनि शिक्षक कर्मचारीसँग सम्झौता भएका बुँदाहरू विधेयकमा नराखेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । महासंघले भाद्र ९ गतेदेखि आन्दोलन गर्ने बताएको छ ।

शिक्षा विधेयकमा शिक्षक महासंघको असन्तुष्टि, फेरि आन्दोलनमा जाने

काठमाडौं । शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्ने भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूसँग भएको सम्झौता अनुसारका कुराहरू नसमेटिएको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।  आन्दोलन कार्यक्रमअन्तर्गत भाद्र ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री लगायत राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षणपत्र बुझाउने महासंघले जनाएको छ ।  यस्तै, भाद्र ११ गतेदेखि २० गतेसम्म सबै राजनीतिक पार्टीका कार्यालयहरूमा दुई घण्टा धर्ना दिने र भाद्र १३ गते शुक्रबार सबै पालिका र १५ गते आइतबार सबै जिल्लाका समन्वय इकाइमा ध्यानाकर्षणपत्र बुझाइने छ ।  यति गर्दा पनि सुनुवाइ भएन भने भाद्र २१ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ ।  नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूसँग भएका धेरै कुरा विधेयकमा नआएको भन्दै फेरि सडकमा आउने परिस्थिति सिर्जना भएको बताए  ।  उनले केही बुँदा समावेश भएपनि शिक्षक र कर्मचारीका धेरै कुरा विधेयकमा नसमेटिएको बताए ।   पटकपटक विधेयकमा शिक्षक कर्मचारी कुरा समावेश गरिनुपर्छ भन्दै आन्दोलन गर्दा पनि नसुनेको बताउँदै बाध्य भएर फेरि सडकमा आउनुपर्ने बाध्यता भएको गुनासो गरे । ‘हामीले काठमाडौंमा लामो आन्दोलन गर्यौं वैशााख १७ गते महत्वपूर्ण सहमति भयो, आन्दोलन स्थगित गर्यौं । सहमतिअनुसार यतिखेर प्रतिनिधि सभाबाट पारित भइसक्नु पर्थ्यो तर आजसम्म हुन सकेन । यतिमात्र होइन, सोही दिन मन्त्री परिषदबाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयनमा आएका छैनन्,’ त्यसैले पनि फेरि हामी आन्दोलन गर्न बाध्य भएका हौं,’ सुवेदीले भने ।  शिक्षक महासंघका सह अध्यक्ष नानुमाया पराजुलीले सरकारले शिक्षकहरूका आंशिक माग मात्र पुरा गरेको बताइन् ।  उनले विधेयकमा विद्यालय शिक्षक, कर्मचारी कुराहरू पनि समेटिनुपर्छ भन्दा ८९ दिन आन्दोलन गर्नुपरेको तीतो यथार्थ सुनाइन् ।  ‘हामी २९ दिन सडकमा बसिसकेका छौं, अब पनि हाम्रा माग पुरा नभई विधेयक आउँछ भने कडा खालका कार्यक्रमहरू सञ्चालन गर्नेछौं,’  पराजुलीले चेतावनी दिँदै भनिन् ।