विकासन्युज

नेपाल टेक मार्केटको नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक

काठमाण्डौं । नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ । यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य रहेको टेक मार्केटले जनाएको छ । नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानका अनुसार यो प्रणालीलाई प्रयोगकर्ता-मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको छ ।  यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ। यसले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ ।  प्रमुख व्यवसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् । फोहोर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू भनेको, फोहोर व्यवस्थापनमा काम गर्ने हुने संस्थाहरू, फोहोर उत्पादन गर्ने घरायसी बासीहरू, व्यवसायहरू जस्तै हस्पिटल, होटल, स्कुल, सरकारी संस्थाहरू आदि हुन् ।  यस सिस्टममार्फत प्रत्येक फोहोर व्यवस्थापन गर्ने कम्पनी, फोहोर उत्पादन गर्ने संघ संस्था, घरहरूबीच अन्तरसम्पर्क गर्न सकिनेछ ।  फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथ-साथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ । नगरपालिकाका यूजरबाट आफ्नो नगररवडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ । डिलाइट सोलुसन्सद्वारा सञ्चालित नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए ।  उनले यस प्रणालीमा एआईको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गरे ।  नेपाल टेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक विभिन्न आईटी सेवाहरू पनि प्रदान गर्छ । यसका प्रमुख सेवाहरूमा वेब र मोबाइल अनुप्रयोग विकास, हार्डवेयर उपकरण, डोमेन दर्ता र वेब होस्टिङ र आईटी तालिम रहेका छन् ।  यसबाहेक कम्पनीले ग्राहकको मागअनुसार अनुकूलित सफ्टवेयर विकास, वित्तीय तथ्यांक व्यवस्थापन र भुक्तानी गेटवे एकीकरण जस्ता विशेष सेवाहरू पनि प्रदान गर्दै आएको छ।  

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुख सरुवा

जनकपुरधाम । नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक वर्षमा तीनजना कार्यालय प्रमुखको सरुवा भएको छ । सो कार्यालयमा मनोजकुमार साह, मनिष न्यौपाने तथा रजीत कापडीको कार्यालय प्रमुख पदमा सरुवा भएको हो । कापडी अहिले विगत दुई महिनादेखि कार्यालयमा कार्यरत छन् । सरकारको स्वामित्वमा सञ्चालित सो आयल निगमको ऐन एवं विनियमावलीमा प्रत्येक दुईवर्षमा कार्यालय प्रमुख तथा अधिकृतस्तरका कर्मचारीको सरुवा हुने प्रावधान रहेको छ । सरुवाले कार्यालयको काममा प्रभावकारी रुपमा व्यस्थापन तथा सञ्चालनमा समस्या पर्ने गरेको कर्मचारीहरुको गुनासो छ । वर्तमान कार्यालय प्रमुख कापडीले हाम्रो निगममा प्रत्येक दुई वर्षमा सरुवाको प्रावधान छ तर आवश्यक परेको खण्डमा कुनै बेला सरुवा हुन्छ तथा तोकिएको स्थानमा गएर काम गर्नुपर्छ भने । उनले भने “आफू पदबहाली भएर आएदेखि नै कार्यालयको कामलाई प्रभावकारी तथा व्यवस्थित बनाउनेतर्फ जोड दिएको छु ।” सो कार्यालयमा पेट्रोलियम ढुवानीकर्ता, पेट्रोलिय व्यवसायी तथा कर्मचारीबीचको विवादले कार्यालय प्रमुखको सरुवा हुने गरेको बताइको छ । सो कार्यालयले निगमको अमलेशगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर धनुषा तथा महोत्तरी जिल्लामा रहेका पम्पहरुमा पेट्रोलिय पदार्थ बिक्री वितरण गर्दैआएको छ । सो कार्यालयले करिब ८० ट्र्याकङ्रमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दैआएको प्रमुख कापडीले जानकारी दिए । ट्र्याकङ्रको ढुवानी खर्च निगमले उपलब्ध गराउने गरेको छ । रासस

बजाज मोटरसाइकल किन्दा नगद उपहार र क्रिकेटको मजा लिन पाइने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँ र तिहारलाई लक्षित गर्दै नयाँ क्याम्पेन ‘बजाज प्रिमियर लिग’ सार्वजनिक गरेको छ । मोटरसाइकललाई यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीकका रूपमा स्थापित गर्न कम्पनीले उपभोक्तालाई अझ नजिक ल्याउने उद्देश्यले यो अभियान सुरु गरेको हो । क्याम्पेनको विशेषताअनुसार हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीअनुसार ‘जति धेरै रन, त्यति धेरै नगद पुरस्कार’ पाउनेछन् । साथै, नागरिकताको आधारमा सहज वित्तीय सुविधा (फाइनान्सिङ) मार्फत पनि मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस योजनामा सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रुपैयाँको नगद पुरस्कार, ‘प्लेयर अफ द वीक’ बन्ने ग्राहकलाई १ लाख रुपैयाँ नगद, साथै चर्चित क्रिकेटरहरूसँग भेट्ने अवसर प्रदान गरिनेछ । यसरी खरिदकर्ताले नगद उपहारसँगै क्रिकेटसँग जोडिएका विशेष अनुभव पनि प्राप्त गर्नेछन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बजाज प्रिमियर लिगमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउन खोजिएको बताए । उनले भने, 'नेपालमा बजाजलाई भरपर्दो र लोकप्रिय ब्रान्डका रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनीले यो क्याम्पेनमार्फत ग्राहकलाई मात्र होइन, आम सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलोमा जित र उपहारको नयाँ अनुभव दिलाउने विश्वास लिएको छ ।' यसैगरी, मोबाइल गेमप्रेमीका लागि पनि यो अभियानमा अवसर दिइएको छ । ग्राहकले मोबाइलमा क्रिकेट खेल्दै रन बनाउन सक्ने र त्यसको आधारमा विभिन्न उपहार प्राप्त गर्ने सुविधा उपलब्ध गरिएको कम्पनीले जनाएको छ । यस खेलमा जोसुकैले सजिलै सहभागी भई उपहार जित्न सक्नेछन् ।

एमाले नेता महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महर पक्राउ परेका छन् । चरित्र हत्या तथा गाली बेइज्जती सम्बन्धी मुद्दामा उनी पक्राउ परेका हुन् । महरविरुद्ध बझाङकी एमाले नेता रश्मिला धामीले मुद्दा दर्ता गरेकी थिइन् । त्यसपश्चात अदालतले पक्राउ पुर्जी जारी गरेको हो । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको भनिएका धामी र महरको ०७९ को आम निर्वाचनपछि सम्बन्धमा चिसोपन आएको बताइन्छ ।  आफूलाई महरले लामो समय यौन उत्पीडन गरेको बताउने धामीले महरविरुद्ध साइबर क्राइम ब्यूरोमा जाहेरीसमेत दिएकी थिइन् । महर अखिलका पूर्वअध्यक्ष हुन् भने धामी पनि अखिलकी पूर्वनेता हुन् । महरलाई अहिले म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा लगिएको छ ।

अमेरिकी कार्यस्थलमा युवा कामदारहरू एआई प्रतिस्थापनको जोखिममा : अध्ययन

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीहरूलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई–सम्बन्धित व्यवसायहरूमा रोजगारी १३ प्रतिशतले घटेको देखिएको छ । यो अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्री एरिक ब्रिनजोल्फसन, भारत चन्द्र र रुयु चेनले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो पेरोल प्रोसेसिङ कम्पनी अटोमेटिक डाटा प्रोसेसिङको तथ्याङ्क प्रयोग गरी गरेका हुन् ।  अध्ययनले सन् २०२५ जुलाईसम्मका दशौँ हजार कम्पनीको रोजगारी ढाँचा ट्र्याक गरेको थियो । अध्ययनको निष्कर्षले पहिलो पटक ठूला स्तरमा च्याटजिपिटीजस्ता उत्पादक एआई उपकरणहरूले रोजगार बजारलाई पुनःआकार दिइरहेको प्रमाण प्रस्तुत गरेको छ । अध्ययनमा भनिएको छ, 'जेनेरेटिभ एआईलाई व्यापक रूपमा अपनाएपछि सबैभन्दा बढी एआई–सम्बन्धित व्यवसायहरूमा प्रारम्भिक क्यारियरका कामदारहरूले कम्पनी स्तरका अन्य प्रभावहरू नियन्त्रण गरिसकेपछि पनि रोजगारीमा १३ प्रतिशत गिरावटको अनुभव गरेका छन् ।'  यसमा जागिर कटौती नै मुख्य कारण रहेको र तलब कटौती माध्यमिक भएको उल्लेख गरिएको छ । यी परिवर्तनहरूको सबैभन्दा ठूलो असर युवा सफ्टवेयर विकासकर्ताहरू र ग्राहक सेवा प्रतिनिधिहरूले बेहोरेका छन् । बाइसदेखि २५ वर्ष उमेरका सफ्टवेयर विकासकर्ताहरूको रोजगारी सन् २०२२ को अन्त्यमा देखिएको शिखर अवस्थाबाट झण्डै २० प्रतिशतले घटेको छ भने सोही पेशामा वृद्ध कामदारहरूको रोजगारी स्थिर वा बढ्दो देखिएको छ । लेखकहरूले एआई–प्रभावित रोजगारीमा युवा कामदारहरूको गिरावटलाई समग्र कार्यबलमा हुने आगामी ठूलो परिवर्तनको प्रारम्भिक चेतावनी सङ्केतका रूपमा व्याख्या गरेका छन् । शोधकर्ताहरूले ३५ देखि ५० लाख कामदारको मासिक पेरोल रेकर्डको विश्लेषण गर्दै रोजगारी वर्गीकरणलाई अघिल्लो शैक्षिक अध्ययनहरूद्वारा परिभाषित एआई एक्सपोजर सूचकसँग जोडेका छन् ।  नतिजामा, एआईले कार्य स्वचालित गर्ने व्यवसायहरूले रोजगारीमा तीव्र गिरावट भोगे भने एआईले मानव क्षमतामा सहयोग गर्ने कामहरूले निरन्तर वृद्धिको अनुभव गरे । यो समय सन् २०२२ नोभेम्बरमा च्याटजिपिटीको सुरु हुने अवधिसँग मेल खान्छ, जसले अमेरिकी कार्यस्थलहरूमा एआई उपकरणहरूको तीव्र प्रयोगलाई गति दियो । सन् २०२५ को मध्यसम्ममा, अमेरिकी सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले आफ्ना कार्यस्थलमा ठूला भाषा मोडेल प्रयोग गरेको बताएका छन् । यद्यपि अध्ययनले एआईको प्रभाव व्यवसायको प्रकारअनुसार निकै फरक पर्ने देखाएको छ । स्वास्थ्य सहयोगी, नर्सिङ सहायक र अन्य कम एआई–प्रभावित भूमिकाहरूमा युवा कामदारहरूको रोजगारी बढेको छ । एआईले मुख्यतया विद्यालयमा सिकाइने संहिताबद्ध ज्ञानलाई प्रतिस्थापन गर्छ, तर कार्य अनुभवबाट प्राप्त मौन ज्ञानलाई भने प्रतिस्थापन गर्न सक्दैन भन्ने शोधकर्ताहरूको सुझाव छ । रासस  

बाफिया विधेयकले अर्थतन्त्रमा नकारात्मक असर गर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टि प्रकट गरेका हुन् । कुनै बैंक वा वित्तीय संस्थाको प्रवर्तकको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीमा १० प्रतिशत मात्र सेयर राखे पनि, ९० प्रतिशत अन्य प्रवर्तक भएको निजी कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने प्रावधान हालको बाफिया विधेयकको ड्राफ्टमा रहेको उनले बताए । यसले आम नागरिकबीच चर्चा पाएको भए पनि आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग नपुग्ने उनको जिकिर छ। ढकालले यस प्रावधानले अर्थतन्त्रका सम्पूर्ण सूचकहरूमा नकारात्मक असर गर्ने दाबी गरे। उनका अनुसार हालका अधिकांश उद्योग–धन्दा र प्रतिष्ठानहरूमा नातेदारभन्दा बाहिरका मानिसहरू नरहेको हकीकत छ। उनले भने, 'कुनै बैंक वा वित्तीय संस्थाको प्रवर्तकको नातेदारले अर्को निजी कम्पनीमा १० प्रतिशत मात्र शेयर राखे पनि ९० प्रतिशत अरू प्रवर्तक भएको निजी कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था ड्राफ्टमा छ । हालका उद्योग–धन्दा तथा प्रतिष्ठानहरू वास्तवमा नातेदारभन्दा बाहिरका छैनन् ।' अध्यक्ष ढकालले बनेका उद्योग–धन्दा बन्द गर्नेतर्फ लाग्नु हुँदैन भन्दै त्यसका लागि व्यवहारिक नीतिहरू आवश्यक पर्नेमा जोड दिए ।

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । उनी नेपाली कांग्रेसको समानुपातिक सांसद हुन् । समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको अध्यक्षतामा बुधबार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो ।  बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई  सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए । समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनीयताको शपथ लिनेछिन् । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य हुन् । यसअघि उनी तत्कालीन संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छिन् ।  कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ। कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

स्मार्ट च्वाइस टेक्नोलोजिज पीसीआइ एसएससीको दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्टान्डर्स काउन्सिल (पीसीआइ एसएससी) को दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ । यस बोर्डमा नेपालबाट चयन हुने एकमात्र संस्था एसटीसी हो । एसटीसीसँगै गुगल, नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया र युरोनेट यूएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका ठूला कम्पनीहरूले पनि यस बोर्डमा प्रतिनिधित्व गर्नेछन् । विश्वव्यापी स्तरमा भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड विकास र प्रवर्द्धन गर्दै आएको पीसीआइ एसससीले डिजिटल भुक्तानीमा देखिएका साइबर तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न सहयोग पुर्‍याउँदै आएको छ । भारत–दक्षिण एशियामा पहिलोपटक गठन भएको यस क्षेत्रीय बोर्डमार्फत पीसीआइ एसएससीले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गरेको छ । एसटीसीले बोर्ड सदस्यका रूपमा भुक्तानी सुरक्षासम्बन्धी चुनौती र अवसरबारे परामर्श दिने, मापदण्ड र कार्यक्रम विकासका लागि सुझाव प्रदान गर्ने तथा दक्षिण एशियाभर पीसीआइ एसससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे सचेतना अभिवृद्धि गर्ने भूमिका निर्वाह गर्नेछ । स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले नेपालबाट यस प्रतिष्ठित मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, 'यो सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ। हामी हाम्रो विशेषज्ञता मार्फत योगदान गर्दै भुक्तानी प्रणालीलाई अझ सबल बनाउन क्षेत्रीय सहकार्यलाई मजबुत बनाउनेछौं ।'