विकासन्युज

लुम्बिनी क्षेत्रका उद्योग २ वर्षभित्र हटाउन आदेश, यी उद्योग हुनेछन् प्रभावित

काठमाडौं । लुम्बिनी क्षेत्र आसपासका उद्योगहरु २ वर्षभित्र हटाउनुपर्ने आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीसद्धय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले लुम्बिनी क्षेत्रको दीर्घकालीन संरक्षणका लागि प्रदूषण गर्ने उद्योग तथा कारखाना दुई वर्षभित्र बन्द वा स्थानान्तरण गर्न आदेश जारी गरेको हो । जनहित संरक्षण मंचको तर्फबाट मंचका कार्यकारी अध्यक्ष बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले दायर गरेको रिटमा सर्वोच्च अलदालतले उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै अब लुम्बिनी क्षेत्र संरक्षणका लागि बनेको पर्खालको १५ किलोमिटर दायरमा रहेको दर्जनौं उद्योगहरु २ वर्षभित्र स्थानान्तरण गर्नुपर्नेछ । लुम्बिनी संरक्षणका लागि बनेको पर्खालको पूर्व, पश्चिम र उत्तरतर्फ १५ किलोमिटरभित्र र दक्षिणतर्फ भारतीय सीमासम्म धुलो, धुँवा तथा कार्बन उत्सर्जन गर्ने कुनै पनि नयाँ उद्योग स्थापना गर्न अनुमति नदिने व्यवस्था कार्यान्वयनमा ल्याउन सर्वोच्चले भनेको छ । साथै १२ मंसिर २०६६ भन्दाअघि दर्ता भई सञ्चालित प्रदूषणकारी उद्योगलाई २ वर्षभित्र बन्द वा स्थानान्तरण गर्न निर्देशन दिएको हो ।  सर्वाेच्चको आदेशबाट गोयन्का सिमेन्ट, सिद्धार्थ सिमेन्ट, कैलाश सिमेन्ट, श्रीराम सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट, श्याम प्लाइउड उद्योग प्रभावित हुने छन् । साथै, अम्बे स्टिल, ब्रिज सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्ट हिमाल स्न्याक्स लगायतका उद्योगहरु समेत प्रभावित हुने देखिएका छन् ।  

२५ प्रतिशत बढी सेयर स्वामित्व रहेका लघुवित्त संस्थापकले लाभांश नपाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थामा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनीले लाभांश नपाउने भएका छन् । लाभांश प्राप्त गर्न उनीहरूले आफ्नो संस्थापक सेयरको हिस्सा घटाएर कम्तीमा २५ प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२’ मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।  ‘घ वर्गको संस्थाको हकमा उपर्युक्त बमोजिमको सीमालाई क्रमशः २५ र १० प्रतिशत लगानी गर्न सकिने विद्यमान व्यवस्थाभन्दा बढी हुने गरी संस्थापक सेयर धारण गर्ने संस्थापक सेयरधनीलाई तोकिएको सीमा कायम नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस सेयर वितरण रोक्का राख्न लगाउने,’ कार्यविधिमा उल्लेख छ । 

पूजा आराधना गरी ऋषिपञ्चमी मनाउँदै, नरोपी उम्रेका अन्न खाई हविष्य बस्ने

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।  यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नु पर्याे । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए ।  इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए । यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले जानकारी दिए । रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, देशभर वर्षा

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै  जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ । 

पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत

काठमाडौं । लक्जरी स्पोर्ट्स कार निर्माता पोर्शेले आफ्ना सीईओ ओलिभर ब्लुमेको उत्तराधिकारी खोज्ने प्रक्रिया सुरु गरेको स्रोतले जनाएको छ । यसले पोर्शे र प्यारेन्ट कम्पनी फक्सवागनमा उनको दोहोरो भूमिका अन्त्य हुने संकेत गरेको छ । २०२२ सेप्टेम्बरमा पोर्शे छुट्टै कम्पनीका रूपमा सूचीबद्ध भएपछि ब्लुमेको दोहोरो पद सेयरधनीहरूबीच विवादास्पद बनेको थियो । लगानीकर्ताहरूले शासन प्रणालीसम्बन्धी चिन्ता औंल्याउँदै बारम्बार उनलाई एउटा पदबाट हट्न दबाब दिँदै आएका छन् । ब्लुमेले यो दोहोरो भूमिका स्थायीका लागि नभएको बताउँदै आएका भए पनि उनले यसै महिना सम्बन्ध विच्छेदको मिति तोकिएको छैन भन्दै ‘यस वर्ष कसरी अघि बढ्छौं, हेर्नेछौं’ भनेका छन् । फक्सवागन, पोर्शे एजी र पोर्शे एसईले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । समाचार बाहिरिएसँगै पोर्शेका सेयर १.१ प्रतिशतले बढे, जसलाई पहिलोपटक जर्मन पत्रिका विर्ट्सचाफ्ट्सवाेचले प्रकाशन गरेको थियो । पत्रिकाले कम्पनी र वित्तीय स्रोतहरूलाई उद्धृत गर्दै उत्तराधिकारीबारे छलफल भइरहेको र शरद ऋतुमा नियुक्ति हुने अपेक्षा गरिएको जनाएको छ । यसका लागि आन्तरिक र बाह्य दुवै उम्मेदवारलाई विचाराधीन राखिएको बताइएको छ । पोर्शे र पियेख परिवारले गत मे महिनामा पोर्शे एसईको वार्षिक साधारण सभामा ब्लुमेप्रति निरन्तर समर्थन व्यक्त गरेका थिए । हाल पोर्शेले चीनमा आफ्ना स्पोर्ट्स कारहरूको कमजोर माग, सुस्त विद्युत् सवारीतर्फको संक्रमण र अमेरिकाले लगाएको उच्च ट्यारिफका कारण नाफा लक्ष्य घटाउनुपरेको अवस्थाबीच महँगो पुनर्संरचना प्रक्रिया अघि बढाइरहेको छ । २०२२ मा फक्सवागनभन्दा उच्च मूल्याङ्कनसहित सूचीबद्ध भएको पोर्शेको सेयर त्यसयता करिब ४५ प्रतिशत घटिसकेको छ । निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुन सरकारको आह्वान

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रूपमा आह्वान गरेको छ ।  सोमवारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।  बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएको जानकारी दिए । उनका अनुसार सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको छ ।  उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले पेश गरेको स्वैच्छिक अवकाश स्वीकृत गरेको पनि बताए ।  यस्ता छन् सोमबारको मन्त्रिपरिषद्का बाँकी निर्णयहरू  नेपाल सरकारबाट घोषणा भएका विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने । मित्रराष्ट्र भियतनामका उपराष्ट्रपति एच. ई. भो थी अनछुआङले २०८२ साल भदौ ७ देखि ९ गतेसम्म गर्ने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने । नेपाली सेनातर्फ चारजना उपरथीहरूको सरुवा गर्ने, एकजना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, एकजना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने । २०८२ भदौ १६ देखि १८ गतेसम्म कोरियाको सियोलमा आयोजना हुने ग्लोवल ग्रीन ग्रोथ इन्स्टिच्युटसँगको सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई स्वीकृति प्रदान गर्ने । २०८२ भदौ १० देखि १३ गतेसम्म फिजीको नाडीमा आयोजना हुने छैटौँ फोरम अफ मिनिस्टर एण्ड इन्भायरोमेन्ट अथुरिटीज अफ एसिया प्यासिफिक (एपी फोरम)मा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रुपा वि.क.लाई स्वीकृति प्रदान गर्ने । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मिति २०८२ भदौ ३० देखि असोज ३ गतेसम्म भियना इन्टरनेसनल सेन्टर, भियनामा आयोजना हुने ६९औँ आईएईए जेनेरल कन्फरेन्स कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) श्री विश्ववावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा देहायबमोजिम गर्नेः (क) सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने । (ख) तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने ।   नेपाल लेखापरीक्षण सेवाको समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक रिक्त पदमा श्री इन्द्र प्रसाद आचार्यलाई बढुवा गर्ने । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव श्री भरतमणी सुवेदीले पेश गर्नु भएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।  

काठमाडौंमा अमेरिकी विश्वविद्यालयहरूको जमघट हुने

काठमाडौं । करिब ३० भन्दा बढी अग्रणी अमेरिकी विश्वविद्यालयहरू शिक्षा मेलामा सहभागी हुन काठमाडौं आउने भएका छन् ।  आगामी शुक्रबार पुतलीसडकस्थित जाम्बोरी एजुकेशन नेपालमा यो मेला आयोजना हुन लागेको हो । यो मेला देशमै अमेरिकी शैक्षिक संस्थानहरूको सबैभन्दा ठूलो उपस्थितिको रूपमा दर्ता हुने जनाइएको छ । यो एक दिने कार्यक्रमले नेपाली विद्यार्थीलाई प्रत्यक्ष रूपमा विश्वविद्यालयका भर्ना अधिकारीसँग भेटघाट, छात्रवृत्ति अवसरको जानकारी र तत्काल आवेदन प्रक्रियामा सहभागी हुने मौका दिनेछ ।  अमेरिकी संस्थानका प्रतिनिधिहरूले स्थलमै अन्तर्वार्ता, प्रोफाइल मूल्याङ्कन तथा योग्य विद्यार्थीलाई सशर्त भर्ना पत्र प्रदान गर्ने तयारी गरेका छन् । नेपालबाट अमेरिकी विश्वविद्यालयतर्फ विद्यार्थीको आकर्षण हाल अभूतपूर्व रूपमा बढेको छ । तथ्याङ्कअनुसार विगत दुई वर्षमा मात्र नेपाली विद्यार्थीको अमेरिकी विश्वविद्यालयमा आवेदन ४० प्रतिशतले वृद्धि भएको छ । मेलामा विद्यार्थीहरूको मागलाई ध्यानमा राखी विभिन्न विशेष सत्रहरू समेत सञ्चालन हुनेछन् । जसअन्तर्गत भर्चुअल क्याम्पस भ्रमण, एसटीईएम कार्यक्रमसम्बन्धी प्रिजेन्टेशन, व्यापारिक विद्यालयको जानकारी र उदारवादी कलाको विस्तृत प्रदर्शनी हुनेछन् ।  त्यसैगरी, धेरै अमेरिकी विश्वविद्यालयहरूले यस मेलामा नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति प्याकेज घोषणा गर्ने संकेत गरेका छन् ।  कार्यक्रम एमपावर फाइनान्स, क्याथी प्यासिफिक एयरवेज र प्राइम बैंकको प्रायोजनमा तथा ईटीएस टोफेलको सहकार्यमा आयोजना हुन लागेको हो ।  मेला बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । १५ वर्षदेखि ५ हजारभन्दा बढी विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा प्लेसमेन्टमा सहयोग गर्दै आएको ईडीएफ जाम्बोरी अहिले २०० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थानहरूसँगको साझेदारीसहित नेपालकै प्रमुख शैक्षिक परामर्श संस्थाको रूपमा स्थापित भइसकेको छ ।  

भदौ १४ गते चीन भ्रमणमा जाँदै ओली, सी जिनपिङ र मोदीसँग भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने भएका छन् । उनी सांघाई सहयोग संगठन (एससीओ)को २५औं शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । उक्त भ्रमणमा प्रधानमन्त्री ओलीले त्यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेट्ने तय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । भारत, इरान, काजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ राष्ट्र एससीओको सदस्य रहेका छन् । शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिनमा हुँदै छ । नौ सदस्य राष्ट्रका राष्ट्र वा सरकार प्रमुख सहभागी रहने एससीओमा अफगानिस्तान, बेलारुस र मंगोलिया गरी तीन राष्ट्र पर्यवेक्षक रहेका छन् । एससीओमा नेपाल, अजरबैजान, अर्मेनिया, बहराइन, इजिप्ट, कम्बोडिया, कतार, कुवेत, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, टर्की र श्रीलंका गरी १४ राष्ट्र डायलग पार्टनर रहेका छन् । सम्मेलनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन जाने कार्यक्रम रहेको छ ।  ओलीले भारत र चीनबाहेक अन्य देशका राष्ट्र वा सरकार प्रमुखसँग पनि भेट्ने कार्यक्रम तय भएको छ ।