जापानमा प्रधानमन्त्री मोदी भने- भारत चाँडै नै विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्छ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार टोकियोमा आयोजित ‘इन्डिया–जापान इकोनोमिक फोरम’लाई सम्बोधन गर्दै भारतमा पूँजी मात्र नबढी कयौं गुणा बढ्ने बताएका छन् । उनले बताएअनुसार विदेशी कम्पनीहरूको लगानी निरन्तर बढिरहेको छ र आर्थिक सुधारका कारण भारत आज तीव्र गतिमा बढ्दै गएको ठूलो अर्थतन्त्र भएको देश बन्दै गएको छ । मोदीले भने, ‘जेट्रो (जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसन)का अनुसार ८० प्रतिशत कम्पनीहरू भारतमा विस्तार गर्न चाहन्छन् र ७५ प्रतिशत कम्पनीहरूले नाफा कमाइरहेका छन्। भारतमा पूँजी केवल बढ्दैन, बरु कयौं गुणा बढ्छ ।’ उनले भारत राजनीतिक र आर्थिक स्थिरतासहित चाँडै नै विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने दावी पनि गरे । विश्व केवल भारतलाई हेरिरहेको छैन, बरु भारतप्रति भरोसा पनि गरिरहेको मोदीको भनाइ छ । प्रधानमन्त्री मोदी शुक्रबार बिहान टोकियो पुगेका थिए । दुई दिनको यस भ्रमणका क्रममा उनले १५औं भारत–जापान वार्षिक सम्मेलनमा सहभागिता जनाउनेछन् र प्रधानमन्त्री शिगेरु इशिबासँग वार्ता गर्ने कार्यक्रम छ । जापान भ्रमणपछि मोदी अगस्ट ३१ मा चीनको तियानजिन पुग्नेछन् जहाँ उनले शाङ्घाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् ।
प्रधानमन्त्रीको चीन भ्रमण: एससीओ शिखर सम्मेलनमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने (पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको कार्यतालिकाबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् । सभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै उनले भदौ १४ देखि १८ सम्म चीनको ५ दिने औपचारिक भ्रमणबारे जानकारी गराउनु भएको हो । उनले चीनको थियानजिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जानकारी दिए । उनले भ्रमणको मूल उद्देश्य एससीओ सम्मेलनमा नेपालको दृष्टिकोण र प्राथमिकता प्रस्तुत गर्नु रहेको बताए । ओलीका अनुसार भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । एससिओ शिखर सम्मेलनका दौरान विभिन्न मित्र राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग नेपालसँग सम्बन्धित द्विपक्षीय तथा अन्य प्राथमिकताका विषयमा छलफल हुने उनले जानकारी दिए । उनले बेइजिङमा आयोजित फासिवाद विरोधी युद्ध र जापानी अतिक्रमण विरुद्धको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुने समेत बताए । प्रधानमन्त्री ओलीले भ्रमणबाट नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अवधारणा र प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत हुने विश्वास पनि व्यक्त गरे । पूर्णपाठ : मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म यही भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म चीनको ५ दिने भ्रमणमा जाँदैछु । यस भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु हो । शाङ्घाई सहयोग संगठन (एससिओ), सन् २००१ मा स्थापना गरिएको, आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको छ। चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मंगोलिया, दुई देश पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपाल सहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्। नेपाल, सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ । हाम्रो प्रयास यस संगठनमा नेपालको सहभागिताको स्तर अभिबृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवं यस मार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबर्द्धन गर्नु रहेको छ । यस भ्रमणका क्रममा चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङसँग मेरो दुई पक्षीय भेट हुने कार्यक्रम छ । बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति श्री हान चङ्गसँग पनि मेरो भेट हुनेछ। चीनका महामहिम राष्ट्रपति र उपराष्ट्पतिले दिनुहुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौं । २०८२ भदौ १६ (तदनुसार २०२५ सेप्टेम्बर १) थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा हाम्रो सहभागिता हुनेछ, मैले त्यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । एससिओ शिखर सम्मेलनका दौरान मैले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । थियानजिनबाट म सोही दिन बेइजिङ्ग जाने कार्यक्रम छ । हालसम्म रूसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री श्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री श्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ । अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै हाम्रो प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गते (तदनुसार २०२५ सेप्टेम्बर ३) चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने छन् । यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससिओ शिखर सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने मैले विश्वास लिएको छु । हाम्रो भ्रमण दलमा मेरी धर्मपत्नी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य माननीय श्री पूर्णबहादुर खड्का, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्त, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य माननीय श्री छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनुहुने छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा २० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीपश्चात यस बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । ग्राहकले ओपीडी, प्याथोलोजी, एक्स–रे, यूएसजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, नर्मल बेड, आईसीयू, एसी क्याबिन, सर्जरी, मेडिसिन , सिटी स्क्यानलगायतमा छुृट पाइने बैंकले जनाएको छ । यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सिटिजन्स बैंकको सेमिनार सम्पन्न
काठमाडौं । सिटिजन्स बैंकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्थित शाखा प्रमुख, क्लस्टरहेड, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूका लागि प्रेरणादायी नेतृत्व र कार्यसम्पादन सेमिनार सम्पन्न गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो । सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताबारे छलफल गरिएको थियो । साथै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहन अन्तरक्रिया भएको बैंकले जनाएको छ । यसअघि बैंकले मधेश, बागमती र कोशी प्रदेशमा पनि यस्तै कार्यक्रम सम्पन्न गरिसकेको थियो। त्यसैको निरन्तरतामा काठमाडौंलाई केन्द्र बनाएर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखाहरूलाई लक्षित गरी सेमिनार गरिएको हो । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप तथा खुद ब्याज आम्दानीमा दोहोरो अंकको वृद्धि हासिल गर्न सफल भएको छ । यस अवधिमा कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । त्यस्तै निक्षेप संकलन ११.६९ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानीमा ११.२० प्रतिशत वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशतमा कायम रहँदा बैंकको तरलता व्यवस्थापन सन्तुलित रहेको देखिन्छ। सम्पत्ति प्रतिफल दर (आरओए) ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर (आरओई) ५.८१ प्रतिशत रहेको छ। सिटिजन्स बैंकले फोनपेसँग सहकार्य गर्दै नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवामा पहुँच दिने सुविधा पनि पहिलो पटक उपलब्ध गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ३१ हजार ग्राहकलाई आधुनिक वित्तीय सेवा दिँदै आएको छ ।
सहुलियतपूर्ण कर्जामा ठूलो परिवर्तन : युवादेखि विपद् पीडितसम्म लाभान्वित हुने
काठमाडौं । सहुलियतपूर्ण कर्जासम्बन्धि हालै संशोधित कार्यविधि कार्यान्वयनमा गएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र पर्दै सहुलियतपूर्ण कार्यविधिका संशोधित व्यवस्थाहरूलाई कार्यान्वयनमा लैजान बैंकहरूलाई भनेको हो । राष्ट्र बैंकका अनुसार अब ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम बैंकहरूले कर्जा प्रवाह गर्नुपर्नेछ । प्रवाहित कर्जामा नेपाल सरकारबाट प्रदान नगरिएको अनुदान रकम राष्ट्र बैंकले उपलब्ध गराउने छ । त्यसो त, त्यसरी प्रवाह गरेको पुरानो १ अर्ब बढी बक्यौता बैंकहरूले पाएका छैनन् । राष्ट्र बैंकका अनुसार गत असारसम्म नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८२ असार मसान्तमा कुल ९४ हजार ९२० ऋणीलाई प्रवाह भएको ७८ अर्ब ६६ करोड कर्जा वक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ३५ हजार ८६१ ऋणीलाई प्रवाह भएको ५७ अर्ब ५५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६३६ महिला उद्यमीलाई प्रवाह भएको २० अर्ब ९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत १ हजार ४२३ ऋणीको १ अर्ब २ करोड कर्जा बक्यौता रहेको छ । तर राष्ट्र बैंकले नयाँ परिपत्र गर्दै कार्यविधिअनुसार प्रवाह भएको कर्जा नेपाल सरकारबाट पाउनुपर्ने ब्याज अनुदान वापतको रकमलाई पुँजीकोष अनुपात गणना प्रयोजनका लागि सरकार माथिको दाबीसरह शून्य प्रतिशत जोखिमभार प्रदान गर्न सकिने व्यवस्था गरिएको जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम हाल कायम रहेका ऋणी र ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्नेछ । हालै सरकारले परम्परागत सीप र पेशाको आधुनिकीकरण एवं प्रवर्द्धन गर्दै उद्यमशीलताको विकास तथा प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण गर्न प्रदान गरिने सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याज, बीमाशुल्क वा सुरक्षण शुल्कमा अनुदान रकम उपलव्ध गराउने उद्देश्यले सरकारले कार्यविधि संशोधन गरेको थियो । कृषि तथा पशुपंक्षी कर्जा अन्तर्गत पाँच करोड रूपैयाँसम्म कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुले सक्न व्यवस्था बनाइएको थियो । पहिले व्यवसायीक कृषिलाई मात्रै दिइने दिइन्थ्यो भने अब सबै खालेलाई दिइँदैछ । त्यस्तै, महिला उद्यमशील कर्जालाई कार्यविधि संशोधन गरेर पच्चीस लाख रूपैयाँसम्म पुर्‍याइएको छ । वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार बन्न चाहेमा अब सरकारले २० लाख रुपैयाँसम्म कर्जा दिनेछ । शिक्षित युवा परियोजना कर्जालाई २० लाख रूपैयाँसम्म पुर्‍याइएको छ भने दलित समुदाय भगत सर्वजित उद्यम विकास कर्जालाई समेत २० लाख रूपैयाँसम्म पुर्‍याइएको छ । त्यस्तै संशोधित कार्यविधिअनुसार स्टार्टअप उद्यम कर्जाको सीमा पच्चीस लाख रुपैयाँसम्म पुर्‍याइएको छ । उद्योगमा ब्रोइलर प्रतिस्थापन कर्जाका लागि अधिकतम २५ लाख रुपैयाँसम्म सरकारले सीमा तोकेको छ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा पाँच लाख रूपैयाँसम्म तोकिएको छ । यसअघि यस्तो व्यवस्था राखिएको थिएन ।
पौने २ अर्ब लागतमा कमलादीमा ठडियो १२ तले मोक्सी होटल, छिट्टै ओपनिङ (फोटोफिचर)
काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण सम्पन्न भएको छ । व्यापारिक घराना एमएस समूहको लगानीमा निर्माण भएको होटलको भौतिक पूर्वाधार सम्पन्न भएको हो । कुल एक अर्ब ८५ करोड रुपैयाँ लागतमा निर्माण भएको होटल अहिले आन्तरिक काम भइरहेको छ । यो व्यापारिक समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल निर्माण सम्पन्न गरेको हो । होटलका सञ्चालक शशीकान्त अग्रवालले अबको दुई साताभित्र होटल सञ्चालनमा आउने बताए । ‘होटलको निर्माण सम्पन्न भइसकेको छ, अहिले केही आन्तरिक काम बाँकी छ, अब छिट्टै होटल सञ्चालनमा आउँछ,’ उनले भने । उनका अनुसार अबको दुई साताभित्र होटल सञ्चालनमा आउनेछ । उनले विश्व महामारीका रूपमा फैलिएको कोरोनाको कारण लागत अनुमानभन्दा बढेको बताए । जनशक्तिको लागत बढेकोले होटलकाे निर्माण लागत पनि बढेको उनको भनाइ छ । यो होटललाई एसियाकै दोस्रो होटलका रूपमा लिइएको छ । यस्तो होटल पहिलो जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिसकेको छ । दुई रोपनी जग्गामा बनेको यो होटलमा डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार लगायत सुविधा बनाइँदैछ । होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुने बताएको छ । होटलमा कुल ११० वटा कोठा छन् । यस परियोजनामा ७३ करोड रुपैयाँ बैंक ऋण र १ अर्ब १२ करोड रुपैयाँ इक्विटी रहेको छ । एम एस ग्रुपको होटलसँगै स्टील, चिनी, रसायन, कागज, कपडा, रियल इस्टेट, बैंकिङ, बीमा तथा आतिथ्यसहितका क्षेत्रमा लगानी गरेको छ । इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलको नेतृत्व अध्यक्ष गौरव अग्रवालले गर्ने बुझिएको छ । उनी तीन दशकदेखि विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छन् । उनी शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष पनि हुन् । यस कम्पनीका प्रबन्ध निर्देशक सुमित कुमार अग्रवाल रहेका छन् । उनले एमएमस ग्रुपअन्तर्गतका सम्पूर्ण होटलहरूको नेतृत्व गरिरहेका छन् । सम्पूर्ण निर्माण चरण सकिएपछिको सञ्चालन स्थिरता, पर्यटक आगमन दर र अक्युपेन्सी काम राख्न सक्ने क्षमता नै भविष्यको नाफा सुनिश्चित गर्ने आधार हुने कम्पनीको धारणा छ । त्यस्तै, काठमाडौं उपत्यकामा रहेका ठूलो संख्याका होटलबीचको प्रतिस्पर्धा, पर्यटन क्षेत्रको मौसमी उतारचढाव, र ब्याजदरको अस्थिरता पनि जोखिमका कारक मानिएका छन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो कम्पनीलाई डबल बी प्लसको रेटिङ प्रदान गरेको छ । तस्बिर : नरेश बोहाेरा
ललितपुरका महिला उद्यमीको उत्पादन अब एपबाटै किनबेच, बजारीकरणको समस्या न्यूनीकरण हुने
ललितपुर । ललितपुर महानगरपालिकाले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्याउन एलएमसी हाटबजार एप सार्वजनिक गरेको छ । महानगरमा दर्ता भएका उद्यमीले उत्पादन गरेका सामग्रीलाई बजारमा पुर्याउन यो एप निर्माण गरी सार्वजनिक गरिएको हो । महिला उद्यमीले आफ्नो उत्पादनको सम्पूर्ण विवरण उक्त एपमा राख्नुपर्छ । क्रेताले एप्समा राखेको सामान खरिद गर्न लगइन गरी अर्डर गर्न सक्छन् । उत्पादित सामग्री एपमा राख्नका उद्यमीले महानगरका सम्पर्क गरी लगइन गर्नुपर्छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्त्वपूर्ण ‘टुल’ भएको बताए । उनले भने ‘आइटीको जमानामा महानगरले सार्वजनिक गरेको यो एप महत्वपूर्ण हो ।’ महिला उद्यमीको उत्पादन बजारमा ल्याउन यो एपले धेरै मद्दत गर्ने उनले जानकारी दिए । प्रमुख महर्जनले सम्पूर्ण महिला उद्यमीलाई यो एप सक्दो प्रयोग गर्न अनुरोध गरेका छन् । यो एपले ‘उत्पादन छ तर बजार छैन’ भन्ने कुरालाई हल गर्न केही हदसम्म सहयोग गर्ने महानगरको विश्वास छ । महानगरका उपप्रमुख तथा महिला उद्यमशीलता सहजीकरण केन्द्रका संयोजक मञ्जली शाक्य बज्राचार्यले उद्यमीले उत्पादन गरेको उत्पादनले बजार नपाइराखेको अवस्थामा बजारसम्म उत्पादनलाई पु¥याउन यो एप महत्त्वपूर्ण हुने बताइन् । उनले भनिन्, ‘उद्यम र व्यवसाय एकै होइन, उद्यमीले व्यवसाय सञ्चालन गर्न गाह्रो हुन्छ, यो एपले उद्यमीलाई क्रेतासँग जोड्न सजिलो बनाउँछ, जसले बजार खोज्ने सहयोग पुग्छ ।’ वर्षैपिच्छे वडा र महानगरले धेरै वटा हाट बजार सञ्चालन गरेपनि सधैं सञ्चालन भइरहने बजारका लागि यो एप ल्याएको उपप्रमुखको भनाइ छ । महिला शाखा प्रमुख शोभादेवी खरेलले महिला उद्यमीलाई आफ्नो उत्पादनको बिक्री वितरण गर्न यो एप महत्त्वपूर्ण हुने धारणा राखिन् । उनका अनुसार एपमार्फत खरिद बिक्री गर्दा मध्यस्तकर्ताको आवश्यकता पर्दैन । क्रेताले विक्रेतासँगको सिधैं मोलमोलाई गर्न सक्छन् । सामानको गुणस्तरको बारेमा सोधपुछ गर्न सक्छन् । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) कलेजका डा. विनोदकृष्ण श्रेष्ठले महानगरले उद्यम र उद्यमशीलतालाई महत्त्व दिएर एप सार्वजनिक गरेकोमा खुसी व्यक्त गरे । उद्यमी र क्रेताबीच सिधै सम्पर्क हुने यो एपले उत्पादनको बजारिकरणलाई सहयोग पुग्ने बताए । यसैगरी, एप सार्वजनिक कार्यक्रमपछि उद्यमशीलतासम्बन्धी जानकारी दिन अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ । महानगरले पहिलो चरणमा यो एपमा ५० जनाभन्दा बढी महिलाहरूलाई तालिमसहित आबद्ध गराइसकेको छ । विस्तारै अन्य महिला उद्यमीहरूलाई यो एपमा आबद्ध गराउने योजना महानगरले राखेको छ । महानगरका अनुसार महानगरभित्र २५ सय १ जना महिलाहरूले आफ्नो उद्यम व्यवसाय दर्ता गरेर सञ्चालन गरिरहेका छन् । महानगरका अनुसार दर्ता नभएका समूहमा आबद्ध भएर उद्यम गरिरहेका महिलाहरूको तथ्यांक भने संकलन हुन बाँकी छ । ती महिलाहरूले उत्पादन गरेको उत्पादनलाई पनि यस एपमा आबद्ध गराउने लक्ष्य महानगरले राखेको छ ।
स्काईलाईन ईन्फ्राले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज नियुक्त
काठमाडौं । स्काईलाईन ईन्फ्रा लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले हिमालय सेक्युरिटिज बैंकरलाई नियुक्त गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाषबहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले सम्झौतापत्रमा हस्ताक्षर गरे । हिमालय सेक्युरिटिज नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था हो जसले मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । स्काईलाईन ईन्फ्रा लिमिटेड हाल सरोवर पोर्टीको ब्राण्ड अन्तर्गत चारतारे होटल सञ्चालन गर्दै आएको छ । होटलमा बैंक्वेट हल, अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो र क्युएफएक्स सिनेमा हलसमेत सुविधा उपलब्ध छन् । कम्पनीले यस कम्लेक्समार्फत स्थानीय बासिन्दादेखि आन्तरिक तथा बाह्य पर्यटकसम्मलाई गुणस्तरीय सेवा दिने लक्ष्य राखेको जनाएको छ ।