विकासन्युज

सनराइज होल्डिङ्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं ।  सनराइज होल्डिङ्सले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका २४ लाख कित्ता सेयर जारी गर्दै २४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।  कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास सिलवालले हस्ताक्षर गरे ।  सनराइज होल्डिङ्गस लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरूमा केन्द्रित छ । 

सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र पोखरा स्थित हिमालयन फ्रन्ट होटेलबीच बैंकका ग्राहकहरूले होटेलका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौता अनुसार बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले छुटको सुविधा प्राप्त गर्न सक्नेछन् । यस कदमले ग्राहकहरूलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ उन्मुख गर्न मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । यस सम्झौताबारे थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

सुदूरपश्चिममा लगानी गर्न मुख्यमन्त्रीको आग्रह, उद्योगका लागि जग्गासहित पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन केन्द्रित छलफल भएको छ । सोमबार परिसंघको सचिवालयमा भएको छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा उच्च सम्भावना भएका क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । मुख्यमन्त्री शाहले लगानीमैत्री वातावरण बनाउन, कानुनी तथा नीतिगत सुधार गर्न र लगानीको सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले उद्योग स्थापना गर्न चाहने तर जग्गा खरिद गर्न नसक्ने लगानीकर्ताका लागि प्रदेश सरकारले आवश्यक जग्गासहित बाटो, बिजुली, पानीलगायतका पूर्वाधार उपलब्ध गराउने आश्वासन दिए । उनले भने, 'उद्योगका लागि जग्गा कति चाहिन्छ भन्नुहोस्, प्रदेश सरकारले दिने ग्यारेन्टी गर्छ । बाटो, पानी, बिजुली हामी पुर्याइदिन्छौं, लगानी तपाईँहरूले गर्नुहोस् ।' शाहले लगानीमैत्री नियम, कानुन निर्माणका लागि संघीय सरकारसँगै प्रदेश सरकार र सबै राजनीतिक दल एकताबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट सन्देश दिए । सो अवसरमा, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुदूरपश्चिम प्रदेशले आयोजना गर्न लागेको सम्मेलनलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले मुलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको र लगानीमैत्री वातावरण भएमा प्रदेशमा पर्याप्त लगानी भित्रिने विश्वास व्यक्त गरे । परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले जग्गा खरिदमा देखिने अवरोध हटाइ प्रदेश सरकारले सहज र छिटो प्रक्रिया अवलम्बन गरेमा लगानी भित्रिने बताए । उनले कुनै पनि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । यस्तै, परिसंघका उपाध्यक्ष राजबहादुर शाहले लगानीसम्मेलन सफल बनाउन आवश्यक समन्वयमा परिसंघ तयार रहेको बताउँदै, लगानी बाहेकका अन्य प्रक्रिया, कानुनी तथा नीतिगत सहजता प्रदेश सरकारले सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सुदूरपश्चिम प्रदेश लगानीका लागि उर्वर भूमि रहेको समेत उल्लेख गरे । छलफलमा प्रदेश सरकारका मन्त्रीहरू, पूर्व मन्त्रीहरू, सांसद, प्रमुख सचिवलगायतका उच्च अधिकारीहरू सहभागी भएका थिए। त्यस्तै, परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, राष्ट्रिय परिषद् सदस्यहरू, उद्योगी–व्यवसायी तथा महानिर्देशक डा. घनश्याम ओझालगायत पनि सहभागी थिए ।

अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिन्छ । तथ्यांकअनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् ।  भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् । दोस्रोमा चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् । सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा ७ लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् ।  बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् । त्यसैगरी अमेरिकाबाट ७ हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।

एलजी नेपालको ‘खुशीको ४० वर्ष’ दशैँ–तिहार अफर, आकर्षक छुट र पक्का उपहार

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै 'खुशीको ४० वर्ष' नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ । दशैँ–तिहारको उल्लासलाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र पक्का उपहारसहित विशेष स्किम सुरु गरेको हो । नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यो अफर अन्तर्गत उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र विभिन्न आकर्षक उपहार पाउनेछन् । स्किमअन्तर्गत वाशिङ मेसिन, डिशवाशर, फ्रिज, माइक्रोवेभ ओभनदेखि एयर कन्डिसनरसम्मका उत्पादनमा उपहार र विशेष सुविधा उपलब्ध छन् । अभियानअन्तर्गत ११ किलोसम्मका फ्रन्ट लोड वाशिङ मेसिनमा एरियल म्याटिक, १३ किलोसम्मका मेसिनमा इन्डक्सन चुलो, टप लोड र ट्विन टब मेसिनमा एरियल लिक्विड, डिशवाशरमा वाशिङ ट्याब्लेट, साइड–बाइ–साइड फ्रिजमा माइक्रोवेभ ओभन, ३०८ लि. सम्मका डबल डोर फ्रिजमा प्रेशर कुकर, ३४० लि. सम्मका फ्रिजमा मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन उपलब्ध गराइनेछ । त्यस्तै, उपभोक्ताले ० प्रतिशत इएमआइमा सजिलो किस्ताबन्दी सुविधा पाउनेछन् भने ३२ इन्च वा सोभन्दा ठूलो टिभी खरिद गर्दा ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन पनि प्राप्त गर्ने व्यवस्था गरिएको छ । यो अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुने कम्पनीले जनाएको छ ।

वैकल्पिक वित्त विकास विधेयक चाँडो पारित गरिदिन अर्थमन्त्रीको आग्रह

काठमाडौैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका क्षेत्रमा देखिएको वित्त व्यवस्थापनको चापलाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याइएको स्पष्ट पारेका छन् ।   राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजको आवश्यकता पूरा गर्न कठिन हुने अवस्था रहेको बताए ।   प्रतिनिधिसभाबाट छोटो अवधिमा उक्त विधेयक पारित भएको स्मरण गर्दै उपप्रधानमन्त्री पौडेलले राष्ट्रियसभाको विषयगत समितिमा नपठाइ सभाबाटै पारित गरिदिन आग्रह गरे ।   सो प्रस्तावमाथिको छलफलमा सांसदहरु गोपीबहादुर सार्की अछामी, किरणबाबु श्रेष्ठ, विष्णुबहादुर विश्वकर्मा, नारायणदत्त मिश्र र विष्णुकुमारी सापकोटाले भाग लिए । बैठकले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।   सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदले विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्ने व्यहोरा जानकारी गराए ।   बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराए । उनले संसदीय सुनुवाई समितिमा राष्ट्रियसभाबाट सासद अञ्जान शाक्यलाई मनोयन गरिएको जानकारी गराए । उक्त मनोनयनलाई सभाले सहमति जनाएको थियो ।   अध्यक्ष दाहालले विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने विषय कार्यसूचीबाट हटाइएको जानकारी गराए ।   बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे ।  राष्ट्रियसभाको अर्को बैठक यही भदौ १६ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्नेछ ।  

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) २५ औं वर्षमा प्रवेश

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ ।  एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भएको नेपालको बीमा कम्पनी हो ।  कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी तथा यस कम्पनीका सञ्चालक श्रीमती कोमल अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर एवं निम्तालु अतिथिलाई दोसल्ला लगाइ सम्मान गरे ।  कार्यक्रममा प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्णबहादुर खड्का, रामकुमार अधिकारी र एजेन्सी म्यानेजरको आधारमा प्रथम हुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो ।  उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको बाबजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिममलाई न्यूनीकरण गरी आमनागरिकको विश्वास जित्न सफल भएको बताए ।  त्यसैगरी उनले कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याउन सहयोग गर्ने  नियमनकारी निकाय, सञ्चालक समिति, सेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञता साथै धन्यवाद व्यक्त गरे ।  कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले एलआईसी नेपाल नेपालको बीमा क्षेत्रको विश्वविद्यालय भएको र यहाँबाट सिँगै बीमा क्षेत्र लगायत धेरै जनशक्तिले बीमाबारे सिक्ने अवसर पाएको भनी गर्व गरे ।

नेप्सेले अप्पर स्याङ्‍गे हाइड्रोको सेयर कारोबार रोक्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्याङ्‍गे हाइड्रोपावरको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले लामो समयदेखि वार्षिक साधारण सभा सम्बन्धी निर्णय नगरेको भन्दै कारोबार रोक्का गरेको हो । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो । तर सो निर्णय कम्पनीले नेप्सेमा भदौ १६ गते मात्र पठाएको थियो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ ‘१’ क मा भएको व्यवस्था बमोजिम कम्पनीले वार्षिक साधारण सभा सम्बन्धी विवरण पेस नगरेकोले सेयर कारोबार रोक्का गरेको जनाएको छ । धितोपत्र सूचिकरण विनियमावली विनिमय १६ ‘१’ घ मा भएको व्यवस्था बमोजिम भदौ १६ गतेदेखि कम्पनीको कारोबार रोक्का गरिएको हो । साथै नेप्सेले ३ दिनभित्र के कारणबाट समयमा नै जानकारी दिन किन नसकेको हो भनी सञ्चालक समितिको वार्षिक साधारण सभा सम्बन्धी गरेका निर्णयहरूको छायाँ कपीसहित स्पष्टिकरण पेश गर्न नेप्सेले अनुरोध गरेको छ ।