गोरखामा रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते
काठमाडौं । काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१-००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका-३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
कहाँ पुग्यो दैलेखको पेट्रोलियम उत्खनन र व्यावसायिक उत्पादनको काम ?
अशोक घिमिरे काठमाडौं । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका-१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ । खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले थालेको अन्वेषणबाट जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको विशाल भण्डारण स्थल रहेको पुष्टि भइसकेको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य ४ हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । यसबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पाइएको छ । यो जम्मा ४ वटा सम्भावित कुवामध्ये पहिलो कुवाको मात्र प्रारम्भिक नतिजा हो । बाँकी ३ कुवाको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कुल ४३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना देखिएको छ । नेपालमै यति ठूलो पेट्रोलियम भण्डारण भेटिएपछि त्यसको उत्खनन र व्यावसायिक उत्पादनको काम कहाँ पुगेको छ भनेर सर्वत्र चासो व्यक्त भइरहेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी एवं भूगर्भ विद् प्रकाश लुइँटेल पेट्रोलियम नमुनाको विस्तृत प्रतिवेदनको पर्खाइमा नेपाल रहेको बताउँछन् । चिनियाँ टोलीले अहिले नमुनाको विश्लेषण र अन्तिम प्रतिवेदनको तयारी गरिरहेको छ । सन् २०२५ को डिसेम्बरसम्म पेट्रोलियम अन्वेषणको अन्तिम प्रतिवेदन प्राप्त हुने उनको भनाइ छ । अन्तिम प्रतिवेदनबाट पेट्रोलियम पदार्थको परिणामसहित विभिन्न तथ्य तथ्याङ्क प्राप्त हुनेछ । ‘जियोफिजिकल र जियोलोजिकल अध्ययनको विस्तृत तथ्याङ्कसहित अन्तिम प्रतिवेदनको पर्खाइमा छौँ,’ विभागका भूगर्भ विद् लुइँटेलले भने, ‘अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्रै अन्य काम अघि बढ्छ ।’ सरकारले पनि उक्त स्थानमा पेट्रोलियम अन्वेषणको कामलाई तीव्र गतिमा अघि बढाउने दृढता व्यक्त गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त पेट्रोलियम परियोजनाबाट व्यावसायिक उत्पादन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेका छन् । सरकारले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन र पूर्वतयारी गर्न नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको मन्त्रिस्तरीय निर्णयबाट गठित समितिमा खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिष्ट धर्मराज खड्का, परियोजनाका मनिष कर्ण र निगमका सहायक प्रबन्धक दिप्ती पौडेल रहेका छन् । निगमकै पहलमा मन्त्रालयले उक्त समिति निर्माण गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट प्राकृतिक ग्यासको सदुपयोगको सम्भाव्यताबारे उक्त समितिले अध्ययन गर्ने बताउँछन् । ‘जलजले क्षेत्रमा देखिएको ग्यास कुन कुन प्रयोजनमा प्रयोग गर्न सकिन्छ, त्यसलाई सदुपयोग कसरी गर्ने भन्ने लगायत विषयमा समितिले अध्ययन गरिरहेको छ,’ उनले भने । निगम अध्ययन प्रतिवेदनका आधारमा सरकारले दिने निर्देशनको पर्खाइमा छ । समितिले पेट्रोलियम अन्वेषण क्षेत्रको स्थलगत अवलोकन सम्पन्न गरिसकेको छ । ‘मन्त्रालयले दिएको क्षेत्राधिकारभित्र रहेर समितिले अध्ययन थालेको छ, ‘साइट भिजिट’का सिलसिलामा समितिका सम्पूर्ण सदस्य दैलेख पुगेका हौँ,’ समिति संयोजक उपाध्यायले भने । समितिले दैलेखसँगै सुर्खेतमा रासायनिक मल कारखाना स्थापनाको सम्भावनाबारे पनि अध्ययन गरेको छ । ‘कतिपय विषय पूर्ण प्राविधिक भएका कारणले पनि धेरै कुरा पछि थाहा हुनेछ,’ उनले भने, ‘तर प्रारम्भिक रूपमा हामीलाई दिएको जिम्मेवारीको सिलसिलामा के-के गर्न सकिन्छ भनेर अध्ययन गर्दैछौँ ।’ समितिले प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनको सम्भाव्यताबारे पेट्रोलियम विज्ञ, अध्येता लगायतसँग पनि छलफल गर्ने तयारी गरेको छ । समितिलाई ग्यासको सदुपयोग, व्यावसायिक उत्पादन, आवश्यक पूर्वाधारको आवश्यकता र लागतलगायत बारेमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । नेपाल र चीनबीच सन् २०१९ मा भएको सरकार-सरकारबीचको सम्झौतापछि पेट्रोलियम अन्वेषणको काम सुरु भएको थियो । जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरिएको हो । यो नेपालमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो । स्थानीयका लागि जमिनबाट आफैं बल्ने ग्यास र तेलजस्तै पदार्थ चुहिने विषय नौलो भने होइन । दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ रहेको अनुमान पहिलेदेखि नै भए पनि वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो । विसं २०७२ मा भारतीय अघोषित नाकाबन्दीले मुलुक भर इन्धन सङ्कट भएपछि सरकारले स्वदेशकै ऊर्जा स्रोतको उत्खननको प्रक्रिया अघि बढाएको हो । विसं २०७५ माघमा नेपाल-चीनबीच पेट्रोलियम अन्वेषणका लागि सम्झौता भएको थियो । प्रारम्भिक अन्वेषणमा नेपाली तथा चिनियाँ प्राविधिकले दैलेखको शिर स्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । दैलेखका ६/७ ठाउँमा पेट्रोल तथा ग्यास खानी रहेको प्राविधिकहरूको अनुमान छ । धेरै पहिला गरिएको सर्भेबाट पनि यहाँ पेट्रोलियम पदार्थ वा ग्यास हुनसक्ने सम्भावना पाइएको थियो । अहिलेको परियोजना चीनको पूर्ण अनुदानमा सञ्चालित नमूना (पाइलट) परियोजना हो । यो चिनियाँ सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित छ । त्यसको प्रारम्भिक लागत अनुमानित २ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । कोभिड-१९ महामारीलगायत विविध कारणले कार्यान्वयनमा ढिलाइ हुँदा लागत पनि बढेको थियो । खानी तथा भूगर्भ विभागले ‘पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना’ स्थापना गरी जग्गा अधिग्रहण, सडक र विद्युत् पहुँच विस्तार तथा प्रशासनिक समन्वयको काम सहजीकरण गरेको थियो । पेट्रोलियम अन्वेषणको प्रक्रियामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक संयन्त्र र आमनागरिकको पूर्ण सहयोग र समर्थन रहेको थियो । परियोजनाले सफलता पाउँदै गएपछि दैलेखवासी मात्र नभई सिङ्गो मुलुक नै उत्साहित बनेको छ । उत्खनन, प्रशोधन, आपूर्ति शृङ्खला तथा प्राविधिक काममा संलग्न जनशक्तिका कारण स्थानीयस्तरमा रोजगारीको अवसर वृद्धि हुने र उद्योगमैत्री वातावरण बन्ने अपेक्षा गरिएको छ । रासस
नेपाल लाइफले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने, पारित गर्न असोज ८ गते डाक्यो भेला
काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १ः२ को अनुपात (हाल १ कित्ता सेयर बराबर २ कित्ता सेयर )मा हकप्रद सेयर जारी गर्ने भएको हो । साथै, संचालक समितिले विद्यमान अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरेर १० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । कम्पनीको पुँजी वृद्धि सम्बन्धी निर्णयलाई पारित गर्न भदौ ९ गते बसेको संचालक समितिको बैठकले असोज ८ गते बिहान साढे ९ बजे काठमाडौंमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले हकप्रद सेयर जारी पश्चात् हुने सेयर संरचना बमोजिम जारी पुँजी तथा चुक्ता पुँजीलाई वृद्धि गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्नेछ । यस्तै, संचालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक पिएल श्रेष्ठ एण्ड कम्पनीलाई पुनः नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले ५ अर्ब रुपैयाँ लगानीमा यो कम्पनी सञ्चालमा ल्याएको हो ।
सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा असोज ८ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
४४.५२ मेगावाटको सानीभेरीमा साढे ९ अर्ब जुट्यो, सिटिजन्ससहित ५ बैंकले लगानी गर्ने
काठमाडौं । एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । उक्त आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आयोजनामा सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड रुपैयाँ, सानिमा बैंक र सिद्धार्थ बैंकले समान १/१ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् । सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इभेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । कूल ९ अर्ब ६० करोड रुपैयाँ लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने प्रबन्ध निर्देशक नेपालले जानकारी दिए । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गरिनेछ । नदी प्रवाही प्रकृतिको सो आयोजनाबाट उत्पादित बिजुली बाफिकोट सवस्टेशनको जोडिनेछ । आयोजनाबाट वार्षिक रुपमा २८३.३७ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ मा विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ ।
जलविद्युत विकासको बाधक वन कार्यालय, रुख काट्न नदिँदा प्रसारण लाइनमा ढिलाई
काठमाडौं । डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । सन् २०२५ को नोभेम्बर १६ सम्म काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५.६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्नका लागि विसं २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । आयोजना निर्माणस्थलमा ३ हजार ९३६ वटा रुख छन् । ५०४ रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनका लागि पहिलो किस्ता बापतको रकमसमेत उपलब्ध गराइएको बताउँदै आयोजना प्रमुख रोशन अग्रवाल डिभिजन वन कार्यालयले रुख कटान आदेश दिन ढिलाइ गरेकाले समस्या भएको उल्लेख गर्छन् । ‘आयोजनाको तर्फबाट एक वर्ष अघि नै जग्गा खरिद गरेर वनलाई सोध भर्ना गरेका थियौँ । बिरुवा हुर्काउने पहिलो किस्ता बापतको बजेट पनि ५ महिनाअघि दिएका थियौँ,’ उनले भने, ‘वनले कटान आदेश दिन ढिलाइ गर्नु, भौगोलिक समस्या र राहुघाट सब स्टेसनमा थप काम गर्नुपर्ने भएकाले आयोजनाको म्याद थप गर्नुपर्ने अवस्था आएको हो ।’ प्रमुख अग्रवालका अनुसार आगामी २०२६ अप्रिलभित्र आयोजना सम्पन्न गर्ने नयाँ समय तालिका ठेकेदारले पेस गरेको छ । ‘मालिका गाउँपालिका-७ डाँडा खेतबाट रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटरमा १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा ३ अर्ब ५७ करोड रुपैयाँमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलो पटकको म्याद गत जुलाई १६ मा सकिएको हो,’ उनले भने । १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनअन्तर्गत हालसम्म ५९ टावरको जग राखिएकामा ४५ वटाको काम सकिएको प्रमुख अग्रवालले जानकारी दिए । रुख काट्नुपर्ने ४ वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रसारण लाइन र सब स्टेसनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ । आयोजना प्रमुख अग्रवालले ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाँडा खेत सब स्टेसनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान थालिएको जानकारी दिए । उनका अनुसार २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सब स्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउने काम थालिएको छ । अम्वाङमा सबस्टेसन बनाउन ६ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । राहुघाट, म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय लाइनमा जोड्ने उद्देश्यले डाँडा खेतमा सबस्टेसन निर्माण गर्न लागिएको उनको भनाइ छ । जिल्ला स्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले जनशक्तिको कमीका कारण स्थलगत अध्ययन, प्रतिवेदन तयार र कटान आदेशको निर्णय गर्न ढिलाइ भएको बताए । ‘असारसम्म कार्यालयको नियमित काममा व्यस्त हुनुपर्यो, ५ वटा सब-डिभिजनका ३ जना वन अधिकृतको नेतृत्वमा प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सब-डिभिजनबाट प्रतिवेदन पाउने बित्तिकै माथिल्लो निकायबाट स्वीकृति गराएर कटान आदेश दिने छौँ ।’ सङ्घीय सरकारको ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रसारण लाइनका लागि रुख कटान आदेश शीघ्र दिन डिभिजन वन कार्यालयलाई ताकेता गरिएको बताए । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले जलविद्युत् आयोजना, सबस्टेसन र प्रसारण लाइन निर्माणमा वन डिभिजनको ढिला सुस्तीसम्बन्धी जानकारी हुनुपर्ने विषय प्रदेशसभा बैठकमा उठाएका थिए । कुल ४ अर्ब ८७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि १ अर्ब ५ करोड रुपैयाँ विद्युत् प्राधिकरण र ३ अर्ब ८२ करोड रुपैयाँ एसियाली विकास बैंकको ऋण लगानी रहेको आयोजना प्रमुख अग्रवालले जानकारी दिए । रघुगङ्गा गाउँपालिका-३, बेनी नगरपालिका-९ र १०, मङ्गला गाउँपालिका-१, मालिका-६ र ७ मा प्रसारण लाइनको टावर निर्माण स्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई १ करोड ५० लाख रुपैयाँ मुआब्जा वितरण गर्नुका साथै वन क्षेत्र प्रयोग गरेवापत ४ करोड ५० लाख रुपैयाँमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराइएको आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमल्सिनाले जानकारी दिए । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मङ्गले र २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेका छन् । प्रमुख अग्रवालका अनुसार ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेका छन् । तुदी पावरले बनाएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर निर्माण भई २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनले विद्युत् आपूर्ति गराउन थालेका उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै, रात्रिभोजमा सहभागी हुने
काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ । भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।
एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारणसभा एवं १२ औं अधिवेशनमा चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा चयन भएका हुन् । उनी हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालकसमेत हुन् । संघको अध्यक्षबाहेकका पदमा भने सर्वसम्मत पदाधिकारी तथा कार्यसमिति सदस्यहरू चयन भएका छन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा निर्वाचित दिवान चन्दका निकटतम प्रतिस्पर्धी उग्रचण्डी ग्यासका सञ्चालक कृष्णभक्त श्रेष्ठले १७ मतमात्र प्राप्त गरेका थिए । संघमा कुल ५७ उद्योग सदस्य रहेकोमा मतदानमा भने ५० मतदाताले मात्र सहभागिता जनाएका थिए । संघको १४ सदस्यीय कार्य समितिको निवर्तमान अध्यक्षमा शिवप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा बाबा ग्यास प्रालिका सुरेन्द्रराज पौडेल, उपाध्यक्षमा गृहलक्ष्मी ग्यास प्रालि का धर्मराज बर्तौला, कावसनस इन्डट्रिजका आशीष अग्रवाल (जाजोदिया) निर्वाचित भएका छन् । त्यसैगरी, महासचिवमा चण्डेश्वरी ग्यास कम्पनी प्रालिका अमित अग्रवाल, कोषाध्यक्षमा श्रीराम ग्यास उद्योग प्रालिका आयुष नेपाल, सचिवमा प्रिमा ग्यास उद्योग प्रालिका सुदिप घिमिरे, सदस्यमा भेरी ग्यास उद्योग प्रालिका सुनिल सिन्हा, सहारा ग्यास उद्योग प्रालिका लोकहर्ष शाक्य, लुम्बिनी ग्यास उद्योग प्रालिका बिमल कालाखेती, सिताश्री ग्यास उद्योग प्रालिका राजेन्द्रप्रसाद दंगाल, नोवेल ग्यास उद्योग प्रालिका विमला सुवेदी ढुङ्गाना र पञ्चमहालक्ष्मी इण्डष्ट्रिजका मनिष कुमार जोशी निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण र पदस्थापना लगायतका कार्यक्रम काठमाडौंमा हुने संघका निवर्तमान अध्यक्ष घिमिरेले जानकारी दिए ।