विकासन्युज

अष्ट्रेलियाले आणविक पनडुब्बी पूर्वाधार विस्तारमा ८ अर्ब डलर लगानी गर्ने

काठमाडौं । अष्ट्रेलियाले आफ्नो भावी आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बीको निर्माण र मर्मत सम्भारका लागि पश्चिमी अष्ट्रेलियाको पर्थमा रहेको जलयान निर्माणस्थलमा प्रारम्भिक रूपमा १२ अर्ब अष्ट्रेलियन डलर (झण्डै ८ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ । यो लगानी आगामी दश वर्षभित्र गरिनेछ, जसअन्तर्गत पर्थस्थित ‘हेंडरसन सुरक्षा’ क्षेत्रलाई एक अत्याधुनिक जलयान निर्माण तथा मर्मत केन्द्रमा रूपान्तरण गरिने अष्ट्रेलियाका रक्षा मन्त्री रिचार्ड मार्लेसले जानकारी दिए । उक्त परियोजना सन् २०२१ मा बेलायत र संयुक्त राज्य अमेरिकासँग गरिएको त्रिपक्षीय सुरक्षा समझदारी ‘एयुक्यूएस’ अन्तर्गत अघि बढाइएको हो, जसको उद्देश्य अष्ट्रेलियाली नौसेनालाई आणविक पनडुब्बीबाट सुसज्जित गर्नु हो । रक्षा मन्त्री मार्लेसका अनुसार,'हेंडरसन एक महत्वपूर्ण एयुक्यूएस परियोजना हो । यहीँबाट हामीले भविष्यका पनडुब्बीहरूको मर्मत र सञ्चालनको काम गर्नेछौँ ।' उनले थप भने,'यो निर्णय अष्ट्रेलियाको वर्तमान सुरक्षा परिस्थिति तथा भविष्यमा आवश्यक पर्ने सुरक्षा संरचनाको मूल्याङ्कनका आधारमा गरिएको हो ।' आणविक पनडुब्बी मर्मतका लागि पूर्वाधार तयार हाल अष्ट्रेलियासँग आणविक पनडुब्बीको मर्मत सम्भार गर्न आवश्यक पूर्वाधार उपलब्ध छैन । त्यसैले सरकारले आगामी १५ वर्षभित्र तीनवटा भर्जिनिया–श्रेणीका पनडुब्बीहरू अमेरिका बाट ल्याउने लक्ष्य राखेको र भविष्यमा आफ्नै देशमा उत्पादन गर्ने योजना समेत बनाएको छ । संयुक्त राज्य अमेरिका आफैले पनि भविष्यमा आफ्ना आणविक पनडुब्बीहरूको मर्मत हेंडरसनमै गर्ने सम्भावना रहेको जनाइएको छ । कुल लागत अष्ट्रेलियाली डलर २५ अर्बसम्म पुग्न सक्ने अनुमान गरिएको छ । रक्षा क्षेत्रमा लगातार बढ्दो लगानी यो जलयान निर्माणस्थल विस्तार योजना अष्ट्रेलियाले हालै अघि सारेका विभिन्न रक्षा प्रविधि सुदृढीकरण कार्यक्रमहरूमध्ये एक हो । गत महिना, अष्ट्रेलियाले जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजबाट ११ वटा मोगामी–श्रेणीका युद्धपोत खरिद गर्ने घोषणा गरिसकेको छ । सो योजनाको लागत आगामी दस वर्षमा करिब १० अर्ब अष्ट्रेलियाली डलर रहनेछ । पहिलो तीन युद्धपोत जापानमै बनाइने भए तापनि बाँकी अष्ट्रेलियामै उत्पादन गर्ने योजना बनाइएको छ । त्यस्तै, अघिल्लो साता अष्ट्रेलियाले ‘गोष्ट शार्क’ नामक पानीमुनि सञ्चालन हुने आक्रमण यन्त्रको निर्माणमा १।७ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो, जसको पहिलो एकाइ सन् २०२६ को सुरूवातमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । आणविक सम्झौताको भविष्यमा आशावादी सरकार केही विश्लेषकहरूले अमेरिकी नौसेनाले अष्ट्रेलियाका लागि आवश्यक पनडुब्बीहरू समयमै आपूर्ति गर्न सक्दैन भन्ने शङ्का व्यक्त गरेका छन् । तर, अष्ट्रेलियाको सरकार यस सम्झौताप्रति आशावादी देखिएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुई हप्ताअघि रक्षा मन्त्री मार्लेसलाई व्यक्तिगत रूपमा सम्झौता अगाडि बढ्ने आश्वासन दिएको वासिङ्टन पोस्टले जनाएको छ । मन्त्री मार्लेसले भने यसबारे खुलस्त टिप्पणी गर्न चाहेनन् । तर उनले अष्ट्रेलियाको सार्वजनिक प्रसारण संस्थासँगको कुराकानीमा भने, 'ट्रम्प प्रशासनसँग भएका सबै छलफलमा ‘एयुक्यूएस’ सम्झौताले संयुक्त राज्य अमेरिकाको हितमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट सकारात्मक भावना पाइयो ।' अष्ट्रेलियाली सरकारले सन् २०२२ को मे महिनादेखि हालसम्म कूल ७० अर्ब अष्ट्रेलियाली डलर बराबरको थप रक्षा लगानी प्रतिबद्धता जनाइसकेको छ, जसमा यो जलयान निर्माणस्थल विस्तार योजना पनि समावेश छ । रासस  

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।  मन्त्रालयका सचिव डा विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, 'सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।' भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।  

छोटो समयका लागि विश्वकै धनी व्यक्ति बने एलिसन

काठमाडौं । एलन मस्कले विश्वकै धनी व्यक्तिको उपाधि केही समयका लागि ओरेकलका सह(संस्थापक तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी लारी एलिसनलाई गुमाए । ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार गत बुधबार बिहान एलिसनको कुल सम्पत्ति ३९३ अर्ब अमेरिकी डलर (२९० अर्ब यूरो) पुगेको थियो, जुन मस्कको ३८५ अर्ब डलर (२८४ अर्ब यूरो) भन्दा बढी हो । एलिसनको सम्पत्ति बढ्नुको कारण ओरेकल कम्पनीका सेयर मूल्यमा आएको ४० प्रतिशतभन्दा बढीको वृद्धि हो । यो वृद्धि ओरेकलको क्लाउड इन्फ्रास्ट्रक्चर व्यवसाय र कृत्रिम बौद्धिकता (एआई) सम्झौतामा आएको आश्चर्यजनक सकारात्मक पूर्वानुमानपछि आएको हो। तर दिनको अन्त्यतिर ओरेकलको सेयर मूल्य केही घटेपछि मस्क फेरि विश्वकै धनी व्यक्तिको स्थानमा फर्किए । मस्क यसअघि करिब एक वर्षदेखि लगातार यो उपाधिमा थिए । मस्कको विद्युतीय सवारी कम्पनी टेस्लाका सेयरहरू यस वर्ष घटेका छन् । लगानीकर्ताहरूले ट्रम्प प्रशासनले विद्युतीय सवारी प्रोत्साहन कार्यक्रमहरू खारेज गरेको र मस्कको राजनीतिक संलग्नताप्रतिको उपभोक्ता प्रतिकृयाका कारण चिन्ता व्यक्त गरेका छन् । यसैबीच, ओरेकलको व्यवसाय तीव्र गतिमा बढिरहेको छ । कम्पनीले हालै सार्वजनिक गरेको त्रैमासिक आय प्रतिवेदनमा आफ्नो क्लाउड व्यवसायबाटको आम्दानी यस वर्ष ७७ प्रतिशतले बढेर १८ अर्ब डलर पुग्ने अनुमान गरेको छ ।  एआई कम्पनीहरूबीच डेटा सेन्टरको माग बढेपछि ओरेकलको सेयर मूल्य अझै माथि गएको हो । कम्पनीले पछिल्लो त्रैमासिकमा बहुअर्ब डलरका चार ठूला सम्झौता गरेको र आगामी महिनामा अझ सम्झौता हुने अपेक्षा गरिएको छ । ट्रम्पसँगको सम्बन्ध र मिडिया महत्वाकांक्षा ८१ वर्षीय एलिसनले १९७७ मा ओरेकल स्थापना गरेका थिए र १९९० को दशकमा भव्य जीवनशैलीका कारण पनि चर्चामा थिए । उनी २०१४ सम्म ओरेकलका प्रमुख कार्यकारी अधिकारी रहे र अहिले अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकारी छन् । एलिसन राष्ट्रपति ट्रम्पका निकट सहयोगी मानिन्छन् । ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्किंदा उनले ओपनएआईका स्याम आल्टम्यान र सफ्टबैंकका मासायोसी सोनसँगै अमेरिकाभित्र एआई पूर्वाधार निर्माण गर्ने ‘स्टारगेट’ परियोजनाको घोषणा गरेका थिए। ओरेकल चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक खरिद गर्न इच्छुक सम्भावित कम्पनीका रूपमा पनि देखिएको छ । जनवरीमा जब मस्कले टिकटक खरिद गर्न सक्नेबारे प्रश्न सोध्दा ट्रम्पले भनेका थिए, ‘म लारीलाई पनि यो किनोस् भन्ने चाहन्छु ।’ एलिसनका मिडिया महत्त्वाकांक्षा टिकटकमा मात्र सीमित छैनन् । उनले आफ्ना छोराद्वारा नेतृत्व गरिएको ८ अर्ब डलरको प्यारा­माउन्ट (सीबीएस र एमटीभीको मालिक कम्पनी) खरिद प्रयासको मुख्य लगानी गरेका थिए । प्यारा­माउन्ट र उनका छोरा डेविडको नियन्त्रणमा रहेको स्काइडान्सबीचको यो सम्झौता गत महिनामा सम्पन्न भएको हो ।

सेयरधनीको लगानी सुरक्षित गर्न मौलाकाली केबलकार छिट्टै पुनः सञ्चालनमा आउने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण मौलाकाली केबलकारमा ठूलो क्षति पुगेको छ । सार्वजनिक कम्पनीका रूपमा सञ्चालन हुँदै आएको यो केबलकार गण्डकी प्रदेशको साझा गौरव, स्थानीय पहिचान र राष्ट्रिय सम्पत्तिको प्रतीक मानिँदै आएको थियो । कम्पनीले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौँ स्थानीय सेयरधनीहरूको संयुक्त लगानी र मेहनतको जगमा बनेको हो । यसले पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, स्थानीय रोजगारी र उत्पादनको बजार विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।' केबलकारमा भएको क्षतिले केवल साना लगानीकर्तामात्र होइन, गैँडाकोट र चितवनका स्थानीय बासिन्दा, कर्मचारी, परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई गहिरो पीडा दिएको कम्पनीले जनाएको छ । आगजनी नियन्त्रण र क्षति न्यूनिकरणका क्रममा सक्रिय सहयोग पुर्‍याउने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै कम्पनीले भनेको छ, 'यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन् । हामी छिट्टै सेवा सुचारु गर्दै अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिनेछौँ ।' कम्पनीले स्थानीय समुदायसँग निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काठमाडौं । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।  उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे । कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उनले सबैमा अनुरोध गरे ।   १३९ थुनुवा फर्किए, दुई हजार १०० फरार  सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन् ।  फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दीहरू यही भदौ २४ गते भागेका थिए ।  

जलेका नोटले बैंकलाई चुनौती, एउटै नोटमा फरक-फरक सिरियल नम्बर

काठमाडौं । ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १ हजार रुपैयाँ तुरुन्त पाइनेछ,’ एक हजार दरको नोटको मध्य मागमा उल्लेखित शब्द हुन् । नोटमा राष्ट्र बैंकका गभर्नरको पनि हस्ताक्षर छ । राष्ट्र बैंकले नोट जारी गर्दा प्रयोग हुने कागज पनि सही छ । नोटमा प्रयोग भएका विभिन्न किसिमका संकेतसहित पनि ठीक छन् । तर, नोट भने नक्कली हो । किनभने एउटै नोटमा फरक-फरक सिरियल नम्बर छन् । नोटको दायाँ भागमा सिरियल नम्बर ग ६१-३१६२६४ र बाँया भागमा ग ६२-४७२०६६ पनि उल्लेख छ । जेनजी आन्दोलनपछि एउटै नोटमा फरक-फरक सिरियल नम्बर रहेका नोटहरू बजारमा भेटिन थालेका छन् ।  भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेता र निजी क्षेत्रका संरचनामा क्षति पुर्‍याए । विभिन्न माध्यममा सार्वजनिक भएका भिडियो र फोटोहरूलाई आधार मान्दा त्यहाँ राष्ट्र बैंकले जारी गरेका विभिन्न दरका नोटहरूमा पनि क्षति पुग्यो । केही नोटहरू जलेका छन् भने केही नोटमा आंशिक क्षति पुगेको छ । तर, अहिले आंशिक क्षति भएका नोटहरूलाई संकलन गरेर जोडेर बजारमा कारोबार गरिरहेको भेटिएका छन् । आधी-आधी (केही भाग मात्रै) जलेका नोटहरूलाई एक आपसमा टाँसेर बजारमा चलनचल्तीमा ल्याइरहेकाले सजग रहन बैंकहरूले आग्रह गरेका छन् । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल आंशिक क्षति भएका नोटहरूलाई जोडेर बजारमा चलनचल्तीमा ल्याइरहेको बताउँछन् । बजारमा कारोबार भइरहेका त्यस्ता नोटहरू बैंकमा समेत आउने तर डिटेक्टर मेसिनले समेत पहिचान गर्न नमिल्ने भएकाले नगद कारोबार गर्दा सजग रहन उनले आग्रह गरे । | उनका अनुसार फरक-फरक सिरियल नम्बर भएका नोटलाई जोडेर पसलमा चलनचल्तीमा ल्याइरहेको र विस्तारै त्यस्ता नोटहरू बैंकमा समेत आइपुग्ने जाेखिम छ ।  ‘नोट आधी मात्रै छ । आधी मात्रै जलेको वा क्षति भएको नोटमा अर्काे आधी जलेको वा क्षति भएको नोट टाँसेको छ । यस्ता नोट ठूल्ठूला बन्डलमा हाल्दा एउटै जस्तै देखिन्छन्,’ उनले भने, ‘बैंकको नोट डिटेक्टरले गन्दा फेक नोट आईडिन्टीफाई (पहिचान) गर्छ । तर, बैंकको फेक नोट डिटेक्टरले समेत यस्ता नोट पहिचान गर्न सक्दैनन् । किनभने नोटको कागज ओरिजिनल छ ।’ यस्ता जोडिएका नोटहरू सक्कली नोट भनेर बजारमा कारोबार भइरहेकाले सिरियल नम्बर जाँच गरेर मात्रै कारोबार गर्न सीईओ खनालले आग्रह गरे । आन्दोलनमा परेर वा अन्य कुनै कारण जलेका वा च्यातिएका नोट संकलन गरेर जोडेर चलाउने काम भइरहेको उनले बताए । यस्ता नोट बैंकको डिटेक्टरले समेत पत्ता लगाउन नसक्ने गरी बनाइएका हुने उनको भनाइ छ ।  ‘यस्ता नोट बैंकमा आइसकेको छैनन् । तर, यस्ता नोट बैंकमा आउन सक्ने सम्भावना छ । साथै बजारमा भने पसल-पसलमा यस्ता नोट कारोबार भइरहेका देखिन्छन् । त्यसैले नगद कारोबार गर्दा नोट भेरिफाई गरेर मात्रै कारोबार गर्नुपर्ने हुन्छ,’ सीईओ खनालले भने ।  जेनजी आन्दोलनपछि यस्ता नक्कली नोटको बिगबिगी बढेकाले यस्ता नोटहरू जाँच गरेर मात्रै कारोबार गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बजारमा एउटै नोटमा फरक-फरक सिरियल नम्बर भए/नभएको जाँच गरेर मात्रै नगद कारोबार गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

फ्रेन्चाइज लिगदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित, खेलाडी त्रसित

काठमाडौं । जेनजीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्न सक्ने स्पष्ट छ । यो आन्दोलन र घटनाक्रमले समग्र अर्थतन्त्रमा नै दीर्घकालसम्म ठूलो असर पर्नेछ । यसबीच केही समय देश नै ठप्प रह्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ । यो चुनावी सरकार हो, त्यसैले अबको ६ महिनासम्म यसबाट धेरै आशा गर्ने अवस्था छैन । यस्तोमा धेरै क्षेत्रले क्षति व्यहोर्नेछन् । तीमध्ये खेलकुद र पर्यटन यो अस्थिरताले अलि बढी प्रताडित हुनेछन् । अब चर्चा गरौँ खेलकुदको । यो आन्दोलन अघि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजनाको तयारी अवस्थामा थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बीचमै बन्द गर्नुपर्यो । आन्दोलन हुनुअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नेपाली खेलकुदमा केही हलचल देखिएको थियो । यद्यपि यसबाहेक अन्य गतिविधि भने नियमित नै थिए । खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा व्यस्त देखिन्थे । केही खेल संघहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एशियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो । स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पुर्याउने आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो । अब कहिले हुन्छ भन्ने अन्योलपूर्ण नै छ । त्योभन्दा ठूलो क्षति विदेशी खेलाडी बसेका होटलमा आन्दोलनकारीले आगो नै लगाए । यो घटनामा ती खेलाडीका सरसामान पनि जल्न पुगे । ती खेलाडीले आग्रह गर्दागर्दै आन्दोलनकारीले उनीहरूका सरसामानमा क्षति पुर्याए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित स्थान नरहेको सन्देश जानेछ । ‘हामीले पटकपटक आग्रह गर्दा पनि खेलाडीको सामान निकाल्न दिइएन । त्यसबेला विदेशी खेलाडीहरू धेरै आतिनुभयो । 'यो देशमा कहिल्यै आउँदैनौँ' भने,’ आयोजक टिमका एक सदस्यले भने, ‘त्यो सुन्दा धेरै दुःख लाग्यो । साँच्चै अब उहाँहरू आउनुहुन्छ जस्तो लाग्दैन । अरुलाई पनि 'नेपाल सुरक्षित छैन' भने भने अर्को क्षति व्यहोर्नुपर्छ ।’ आयोजकका प्रमुख आमिर अख्तरले पनि बीचमै नै आयोजना प्रभावित हुँदा क्षति व्यहोर्नुपरेको र अहिले नै 'यति क्षति भयो' भन्ने अवस्थामा नरहेको उल्लेख गरे । ‘आँट गरेर यो आयोजना गर्यौँ । तर अनपेक्षित घटना भयो । यसले सबै फ्रेन्चाइज लिगलाई असर गर्नेछ,’ उनले भने, ‘यो घटनाले अर्थतन्त्रमा पनि असर पारेको छ । एउटा व्यवसायिक खुशी भएर नै खेलमा प्रायोजना गर्छन् । तर अब उहाँहरू खुशी हुनुहुन्न । त्यसैले नेपाली खेलकुदका लागि यो ठूलो घाटा हो । अबको एक वर्ष ठूलो क्षति बेहोर्नु पर्नेछ ।’ उनले यो घटनाका कारण विदेशी खेलाडी त्रसित भएपनि आफूहरूले सम्झाएको बताए । ‘११ राष्ट्रका १८ जना विदेशी महिला खेलाडी हुनुहुन्थ्यो । त्यो घटना हुँदा आतिनुभयो । महिलाहरू त्यसै पनि सेन्सिटिभ हुनुहुन्छ । होटलमा जसरी आक्रमण भयो, त्यो सहन नसक्ने अवस्था नै थियो । २/४ जना खेलाडीको डकुमेन्ट र सरसामान त्यहीँ जले । जसोतसो पासपोर्ट जोगायौँ,’ उनले भने, ‘हामीले ती खेलाडीहरूसँग बसेर एउटा सेसन राखेका थियौँ । नेपाल शान्त देश हो र यस्तो पहिलोपटक भयो । यस्तो हुन्छ भन्ने आँकलन पनि थिएन भन्यौँ । बाहिर नराम्रो सन्देश नलगिदिनुस् भन्यौँ । कोही खेलाडी अब आउन चाहन्नन्, केही आउन पनि सक्छन् । हिजो मात्र खेलाडी जानुभयो र अब यो आयोजना कहिले हुन्छ भन्न सक्दैनौँ ।’ उनले भारतका एमपी विक्रम साहनी र भारतीय दूतावासको सहयोगमा ब्रोडकास्टिङ टिमलाई आफ्नै देश पठाउन सफल भएको बताए । ‘कठिन समयमा एकताबद्ध भएर अगाडि बढ्न सक्छौँ भन्ने सन्देश दियौँ । आयोजक, फ्रेन्चाइज टोली, ब्रोडकास्टिङ क्रु र भेन्डर मिलेर खेलाडीमाथि कुनै घटना हुन दिएनौँ र एक भएर लड्यौँ । तर त्यो घटनालाई रोक्न सक्दैनथ्यौँ,’ उनले भने । व्यावसायिक खेल आयोजनाले नेपाली खेलकुदलाई माथि उकास्दैछ । विभिन्न देशका स्टार खेलाडीहरू नेपालमा आएर खेल्दा खेलाडीहरूको पनि मनोबल बढेको छ । नेपाल प्रिमियर लिग (एनपीएल), एभरेस्ट महिला भलिबल लिग, नेपाल सुपर लिग (एनएसएल) र नेपाल कबड्डी लिगजस्ता फ्रेन्चाइज लिग नेपाली खेलकुद विकासमा मद्दत पुग्ने ठूला आधार हुन् । तर देशको राजनीतिक अस्थिरताले यी आयोजनालाई दीर्घकालसम्म अगाडि बढ्न दिने छैन । आयोजकहरूले पनि यस्ता प्रतियोगिता गर्न धेरैपटक सोच्नेछन् । आगामी मंसिर १ देखि २७ गतेसम्म एनपीएलको दोस्रो संस्करण हुने तयारी छ । सम्भवतः त्यसलाई पनि असर पर्न सक्छ । यसबीच एनपीएलको ट्रफी टुर थियो । त्यो प्रभावित भएको छ । यो टुरबाट एनपीएलको ब्रान्डिङ गर्ने नेपाल क्रिकेट संघ (क्यान) को योजना पनि पूरा हुन सकेन । एनपीएलको तयारीमा केही असर भने पर्नेछ । फ्रेन्चाइज टोलीमा व्यावसायिक घराना रहेका र उनीहरूको व्यवसायमाथि पनि आक्रमणबाट ठूलो क्षति भएको छ । यस्तोमा उनीहरू छिट्टै एनपीएलको तयारीमा नलाग्न सक्छन् । क्यानका प्रवक्ता छुम्बी लामाले भने, समय बाँकी रहेकाले यो घटनाले तयारीमा असर नपर्ने बताए । ‘एनपीएलका लागि समय छ, त्यसैले असर पर्ने छैन । टी–२० विश्वकप छनोटका लागि वेस्ट इन्डिज टुरको तयारीमा छौँ र यसले राष्ट्रिय टोलीको प्रशिक्षण भने नियमित गर्न सकेका छैनौँ,’ लामाले भने । आन्दोलन चर्किँदा बंगलादेश र नेपालबीच मैत्रीपूर्ण फुटबल नै स्थगित हुन पुग्यो । पाहुना टोली घर फर्कन धेरै नै सकसपूर्ण रह्यो । ठूलो आयोजना काभा महिला भलिबल लिगसँगै घरेलु प्रतियोगिता नेपालगञ्ज नाइट रन, दोस्रो पर्वतीय दौड र अन्य थुप्रै घरेलु प्रतियोगिता स्थगित भइसकेका छन् । नेपालमा हुने भनिएको सेन्ट्रल एसियन भलिबल एसोसिएशन ९काभा० महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ । काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिबार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको नेपाल भलिबल संघले उल्लेख गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो । जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित भएको हो । केही व्यावसायिक प्रतियोगितासँगै आगामी २०औँ एशियाली खेलकुदका लागि नेपालका राष्ट्रिय टिमको नियमित तयारी थियो । जुन अहिले प्रभावित भइरहेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आबद्ध छन् । उनीहरू अहिले विभागको जिम्मेवारीमा छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टले अवस्था सामान्य हुँदै आएपछि खेलाडी प्रशिक्षणमा फर्कने बताए । ‘हामी प्रशिक्षण सुचारु गर्ने तयारीमा छौँ । तर अधिकांश विभागका खेलाडीहरू हुनुहुन्छ । उहाँहरू अहिले विभागको जिम्मेवारीमा हुनुहुन्छ । अवस्था सामान्य भएपछि खेलाडी फर्काइ दिने सूचना आएको छ,’ बिष्टले भने, ‘छिट्टै मिशन–२६ को तयारी सुरु गर्छौँ ।’ भदौ २९ गते पोखरामा २०६० सालदेखि सुरु भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड हुने तयारीमा थियो, जुन स्थगित भइसकेको छ । तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना स्थलमा आगो लगाइएपछि अवार्ड प्रभावित भयो र आयोजकले पनि केही क्षति बेहोर्नु परेको छ । नेपाली खेलकुदलाई नै प्रोत्साहन गर्ने अवार्ड होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, पछिल्लो घटनाले ठूलो क्षति पुर्याएको छ । यी आयोजनाहरू स्थगित भइरहँदा दीर्घकालसम्म नेपाली खेलकुदले क्षति व्यहोर्नु पर्नेछ ।

आन्दोलनको मनोवैज्ञानिक मूल्य : डर, चिन्ता र डिप्रेशनको बढ्दो खतरा

काठमाडौं । राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेनजी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ । यस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले राजनीतिक अनिश्चिततासँगै सामाजिक तथा मानसिक जटिलतासमेत थपेको छ । यस्ता घटनाक्रमले समाजमा निराशा, अनिश्चितता र असहायताजस्ता भावनात्मक समस्या गहिरिँदै जानसक्ने देखिन्छ । राजनीतिक अस्थिरता र सामाजिक तनावबीच नागरिकको मानसिक स्वास्थ्यमासमेत नकारात्मक असर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्न थालेका छन् । प्रस्तुत छ, पछिल्लो राजनीतिक परिवर्तनहरूले नेपाली समाजमा मानसिक स्वास्थ्यमा पर्ने प्रभावबारे नवीन पौडेलले मनोरोग विशेषज्ञ डा. अज्वनी रिमालसँग गरेको कुराकानीको सम्पादित अंश : नेपालमा अहिले जेनजीले गरेको प्रदर्शनलाई स्वास्थ्यकर्मीको दृष्टिकोणले तपाईंले कसरी हेर्नु भएको छ ? एक मानसिक स्वास्थ्यकर्मीका दृष्टिले हेर्दा अहिलेको आन्दोलनले जनमानसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने देखिन्छ। अहिलेको वातावरणले जनमानसमा ठूलो मानसिक अन्योलता ल्याएको छ । ‘अब के होला ?’ भन्ने डर र असुरक्षाको भावनाले स्वस्थ मानसिक अवस्था भएका व्यक्तिहरूसमेत त्रसित, चिन्तित र बेचैन भइरहेका छन् । पहिले नै मानसिक स्वास्थ्य समस्या भोगिरहेकामा त झन बढी प्रभावित हुने सम्भावना हुन्छ । उनीहरुमा निद्रामा समस्या, नकारात्मक सोच, आत्मविश्वास घट्नु, समाजसँग टाढिनु तथा दैनिक क्रियाकलापमासमेत कठिनाई आउने जस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा सामूहिक ट्रमा उत्पन्न गर्ने खतरा पनि रहन्छ । आन्दोलनमा प्रत्यक्ष संलग्न भएका युवा, त्यसलाई नजिकबाट नियाल्ने वा परिवारका सदस्य गुमाउनेहरूले दीर्घकालीन मनो–सामाजिक समस्या भोग्नसक्ने सम्भावना हुन्छ । सकारात्मक पक्षमा हेर्दा युवा पुस्ताले आफ्नो आवाज उठाउन पाएको अनुभवले सशक्तीकरण, सामूहिक एकता र उद्देश्य बोधमा परिवर्तन ल्याएको महसुस गर्न सक्छन् । यसले केही युवामा आत्मबल र आत्मविश्वास बढाउन पनि मद्दत गरेको देखिन्छ । राजनीतिक आन्दोलन र अस्थिरताले सामान्य नागरिकको मानसिक स्वास्थ्यमा के–कस्ता समस्या ल्याउँछ ? यस्तो आन्दोलन र अस्थिरताले नागरिकको मानसिक स्वास्थ्यमा तत्कालिकदेखि दीर्घकालीन असर पारेको हुन्छ । आन्दोलन, प्रदर्शन र हिंसात्मक घटनाको प्रत्यक्ष वा परोक्ष अनुभवले मानिसमा डर लाग्ने, असुरक्षा महसुस हुने, मन स्थिर नहुने, छटपटी र हतारहतार हुनेजस्ता प्रतिक्रियाहरू देखिन सक्छन् । व्यक्तिहरू के गरूँ, के नगरुँ भन्ने मानसिक द्वन्द्वमा फस्ने, अनावश्यक चिन्ता लिने, मनमा निरन्तर कुराहरू खेलिरहने, निद्रा नलाग्ने तथा बेचैनी र आत्तिनेजस्ता लक्षणहरू देखिने हुन्छ । दीर्घकालमा यसले व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पुर्याउछ । छोटो अवधिका लक्षणहरू लामो समयसम्म रहिरहेमा डिप्रेशनजस्ता मानसिक समस्या विकसित हुनसक्ने जोखिम उच्च हुन्छ । अझ आन्दोलनमा प्रत्यक्ष संलग्न हुने र हिंसात्मक दृश्यहरूको आँखै अगाडि देख्नेमा पोस्ट–ट्राउमाटिक स्ट्रेस डिसअर्डरजस्ता समस्या देखापर्न सक्छन् । विशेषगरी युवा र किशोरकिशोरीजस्ता संवेदनशील उमेर समूहमा दीर्घकालीन तनावले शैक्षिक प्रगति, दैनिक व्यवहार, सामाजिक सम्बन्ध र शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने हुन्छ । मनोरोग विशेषज्ञ डा. अज्वनी रिमाल यस्तो अवस्थाले आममानिस र युवापुस्तामा देखिने सामान्य मानसिक लक्षणहरू के–के हुन सक्छन् ? राजनीतिक प्रदर्शनीका समयमा मानिसहरूमा डर, बेचैनी, चिन्ता, आत्तिने भावना, निद्रामा समस्या देखिन सक्छ । छोटो समयभन्दा पनि यदि यस्तो समस्या लामो समय रहिरह्यो भने दीर्घकालीन चिन्ता, डिप्रेशनजस्ता गम्भीर मानसिक रोग विकसित हुने जोखिम हुन्छ । युवा पुस्तामा राजनीतिक अस्थिरता वा आन्दोलनजस्ता परिस्थितिले तनाव, निराशा र आक्रोश बढाउने सम्भावना उच्च हुन्छ । यस उमेर समूहमा सामान्यतया बिना धेरै सोचविचार र परिणामको मूल्याङ्कन नगरी हठात् निर्णय लिने व्यवहार देखिन्छ । त्यस्तै अस्थिरता र संवेदनशीलता बढी हुन्छ, जसले युवामा तनावको प्रभाव अझ तीव्र बनाउँछ । सामाजिक सञ्जालको प्रभाव के कस्तो हुन्छ यो समयमा ? सामाजिक सञ्जाल र अपुष्ट खबरको प्रभावले मानिसको मानसिक स्वास्थ्यमा गहिरो र दीर्घकालीन असर पार्न सक्छ । आधिकारिक समाचारमा अपडेट नहुनु र सामाजिक सञ्जालको सूचना–प्रवाहमा पूर्ण ध्यान केन्द्रित गर्नाले कार्यमा एकाग्रता घटाउने र सोच्ने क्षमतामासमेत प्रभाव पार्ने देखिन्छ । अनलाइन प्लेटफर्ममा लामो समय बिताउँदा वास्तविक जीवनका सामाजिक अन्तरक्रिया र सम्बन्धमा कमी आउने, परिवार तथा साथीभाइसँगको प्रत्यक्ष संवाद घट्ने र एकाङ्कीपन अनुभव बढ्ने गरेको पाइन्छ। यससँगै अपुष्ट समाचार र सामाजिक सञ्जालमा देखाइने नकारात्मक तथा तनावपूर्ण र भय पैदा गर्ने सामग्रीहरूले मानिसमा चिन्ता, डर, असुरक्षा र निराशा बढाउने गरेका छन् । विभिन्न अध्ययनलेसमेत छोटो समय सञ्जालमा बिताउँदा पनि चिन्ता र तनावका लक्षण उल्लेख्य रूपमा बढेको देखाएको छ । यसले डिप्रेशन, चिन्ता, एकाङ्कीपन र आत्महत्या गर्ने विचारजस्ता मानसिक स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न गर्न सक्छ । अझ यसस्तो सङ्क्रमणकालको समयमा सामाजिक सञ्जाल प्लेटफर्ममा आउने गलत सूचनाले मानसिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने देखिन्छ । यस्तो राजनितिक अनिश्चितताले डिप्रेसन र एनजाइटीजस्ता मानसिक रोगको समस्या पढ्ने खतरा हुन्छ । राजनीतिक अनिश्चितताले युवा पिँढीमा कस्तो समस्या निम्त्याउँछ र यसका लक्षण कस्ता हुन्छन् ? राजनीतिक अस्थिरता, सामाजिक तनाव र भविष्यप्रति अनिश्चितले युवाको मानसिक स्वास्थ्यमा गहिरो असर पार्छ । यसले उनीहरूलाई गलत बाटोतर्फ धकेल्ने जोखिमसमेत बढाउँछ । राजनीतिक अनिश्चियमा युवा पिँढीमा तत्कालका लागि एन्जाइटी, डर र चिन्ताको स्तर बढ्छ । अनिश्चिय र भविष्यप्रतिको निराशाले नकारात्मक भावना बढ्ने हुँदा दीर्घकालमा डिप्रेसन र क्रोनिक एन्जाइटिसमेतको जोखिम बढाउँछ । राजनीतिक हिंसा र अस्थिरतासँग जडित वातावरणमा तनाव, चिन्ता र डिप्रेशनको समस्या उल्लेखनीय रूपमा बढ्ने अध्ययनहरूले पनि देखाएका छन् । लामो समयसम्म तनाव, चिन्ता र निराशाको अवस्थासँग जुधिरहेका युवाहरू त्यसको समाधानको खोजीमा गलत मार्ग रोज्ने सम्भावना बढी हुन्छ । जसमा लागुऔषध दुव्र्यसन एक प्रमुख जोखिम हो । मानसिक पीडाबाट राहत पाउन वा साथीहरूको दबाबमा उनीहरू लागुपदार्थ प्रयोगतर्फ आकर्षित हुन सक्छन् । यस्तो प्रवृत्तिले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा थप जटिलता थप्छ । यसले पढाइ, सामाजिक सम्बन्ध र भविष्यको सम्भावनालाई पनि गम्भीर रूपमा प्रभावित पार्छ । त्यसैले यस्ता अवस्थामा युवालाई मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिमा संलग्न गराउन अत्यन्त जरुरी हुन्छ । आमनागरिकले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ्य राख्न दैनिक जीवनमा के–के गर्न सक्छन् ? मानसिक स्वास्थ्य जोगाउन सबैभन्दा पहिला आफ्नो दैनिकीमा सुधार ल्याउनुपर्छ । मुख्य कुरा आफ्नो परिवारसँग समय बिताउनु हो । परिवारमा आफ्ना कुरा राख्ने र सामाजिक सम्बन्ध मजबुत राख्नु अत्यन्त जरुरी हुन्छ । आफूभित्रको पीडा, डर वा चिन्ताबारे आफ्नो विश्वासिला व्यक्तिसँग खुलेर राख्दा मानसिक बोझ धेरै हदसम्म कम हुन्छ। त्यस्तै समाचार र सामाजिक सञ्जालप्रति पनि सचेत रहनुपर्छ । आजकल हामी निरन्तर नकारात्मक समाचार र अनावश्यक सूचनामा डुबिरहेका हुन्छौँ। त्यसले मानसिक शान्तिमा असर पार्छ । त्यसैले विश्वासिलो स्रोतबाट समाचार र सूचना थाहा पाउनेमा ढुक्क हुनुपर्छ । बारम्बार नभई आवश्यकतानुसार मात्र हेर्ने र सामाजिक सञ्जालको अनावश्यक प्रयोगबाट जोगिने बानी बसाल्नुपर्छ । नियमित व्यायाम, योग, गहिरो श्वास फेर्ने अभ्यास, पर्याप्त निद्रा र सन्तुलित आहारमा ध्यान दिनु मानसिक सन्तुलनका लागि आधारभूत कुरा हुन् । सबैभन्दा महत्वपूर्ण भनेको आफ्नो मानसिक अवस्थाप्रति सजग रहनु र आवश्यकता पर्दा मानसिक स्वास्थ्य विज्ञसँग परामर्श लिन नहिच्किचाउनु नै हो । यस्तो अवस्थामा अभिभावकको भूमिका कस्तो रहन्छ ? स्वस्थ जीवनशैलीको निर्माणमा परिवारको भुमिका संवेदनशील हुन्छ । अभिभावकहरू यस्तो परिस्थितिमा संवेदनशील र सहयोगी बन्नुपर्छ । बुबाआमाले आफ्ना नानीबाबुसँग साथीसरह व्यवहार गर्दै उनीहरूको कुरा ध्यानपूर्वक सुन्नु र बुझ्ने प्रयास गर्नुपर्छ । बच्चाहरूले राख्ने जिज्ञासालाई सहज ढङ्गले सम्बोधन गर्नु, उनीहरूलाई सही–गलत छुट्याउन सहयोग गर्नु र कुनै शङ्का वा समस्याबारे खुलेर कुरा गर्न प्रोत्साहित गर्नु अभिभावकको दायित्व हुन्छ । घरभित्र सकारात्मक र सुरक्षित वातावरण सिर्जना गर्नु, बच्चाको भावनालाई पर्याप्त स्थान दिनु, सामाजिक सम्बन्ध र सकारात्मक गतिविधिमा संलग्न गराउन सहयोग गर्नुपर्छ । सहयोगी, खुला र विश्वासिलो वातावरण निर्माण गर्नसकेमा बालबालिकाले तनावमासमेत सहज रूपमा पार गर्न सक्छन् र उनीहरूको आत्मबल तथा मानसिक सशक्तता मजबुत बन्छ । अहिलेको परिस्थितिमा देखिन सक्ने मानसिक स्वास्थ्य समस्या समाधान गर्न के–कस्ता प्रयासहरू आवश्यक देख्नुहुन्छ ? समाजमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू केबल व्यक्तिगतमा मात्रै सीमित हुँदैनन् । यसलाई सामाजिक र नीतिगत तहमै सम्बोधन गर्नुपर्ने हुन्छ । घर र छरछिमेकका साथै, विद्यालयदेखि कार्यस्थलसम्म मानसिक स्वास्थ्य शिक्षा र परामर्श सेवाको व्यवस्था गरिनुपर्छ। समुदायस्तरमा मनोसामाजिक सहयोग प्रणाली विस्तार गर्नु र युवाका लागि सुरक्षित अभिव्यक्ति र सहभागिताको वातावरण बनाउन सहयोग गर्नुपर्छ । त्यस्तै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा जिम्मेवार र तथ्यपरक सामग्री प्रवाहको सुनिश्चित हुनुपर्छ । मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा जतिकै महत्व दिँदै दीर्घकालीन रणनीति बनाइएन भने यस्ता राजनीतिक सङ्कटपछिका मानसिक असरहरू अझ गहिरिँदै जान सक्छन् । रासस