प्रधानमन्त्री कार्कीलाई पाकिस्तानले दियो बधाई
काठमाडौं । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन् ।
तोलामा ७ सयले घट्यो सुनको मोल
काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल दुई हजार ५७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला सुन दुई लाख १५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी दुई हजार ५६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री कार्कीलाई चीनले दियो बधाई, सहकार्यको प्रतिबद्धता
काठमाडौं । चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो । चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले सदा झै चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । 'हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ,' उनले भनेको दूतावासको कथन छ ।
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय, परिवारलाई १० लाख सहयोग
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्ने भएको छ । आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् । सरकारले प्रत्येक शहीदका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । प्रधानमन्त्री कार्कीले आइतबार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उनी शनिबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् । जेन–जी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा पदबाट राजीनामा दिएका थिए । जेन–जी प्रदर्शनमा भएको अत्याधिक बल प्रयोग र एकैदिनमा ठूलो संख्यामा युवाहरु मारिएपछि उनले राजीनामा दिएका थिए । कार्की नेपालको ४२ औँ तथा प्रथम महिला प्रधानमन्त्री बनेकी हुन् ।
हाथवे इन्भेष्टमेन्टको १७ औँ वार्षिक साधारण सभा सर्यो, अब भदौ ३१ गते बस्ने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको १७ औँ वार्षिक साधारण सभा भदौ ३१ गतेका लागि सरेको छ । यसअघि कम्पनीले भदौ २५ गते बोलाएको सभा जेनजी आन्दोलनका कारण जारी निषेधाज्ञा र कर्फ्युले प्रभावित भएपछि कम्पनीको साधारण सरेको हो । कम्पनीको साधारण सभा बिहान १० बजे आम्रपाली ब्याङ्केट काठमाडौंमा बस्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा शंसोधन गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने र स्वतन्त्र संचालकको रिक्त पदमा प्रतिनिधित्व गर्ने स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्न निर्णय गरेको छ । त्यसैले भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकोमा अमेरिकाले गर्यो स्वागत
काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकाेमा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आइतबार विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा उल्लेख छ ,'हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ ।' दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेकोे जनाएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।