विकासन्युज

महालक्ष्मी विकास बैंकका सबै शाखा सञ्चालनमा

काठमाडौं । हालसालै घटेका विभिन्न दुःखद घटनाहरुमा ज्यान र सम्पत्तिमा पुगेको क्षतिप्रति महालक्ष्मी विकास बैंकले शोक प्रकट गरेको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेको छ । बैंकले घटनाबाट सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । साथै, सुरु भइसकेको सरकार गठन प्रक्रिया चाँडै टुंगिएर मुलुकको असामान्य अवस्था सामान्यतर्फ जाने, शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ । विज्ञप्तिमा बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यहाँका ग्राहकले नजिकैका शाखामार्फत बैंकिङ सेवा लिन सकिने जानकारी दिइएको छ । बैंकले लेकसाइड पोखरा शाखा बाहेक अन्य १०२ शाखा कार्यालयमा सेवा नियमित रुपमा सञ्चालन भइरहेको र सम्पूर्ण डिजिटल सेवा पनि सुरक्षित रुपमा निरन्तर चलिरहेको जनाएको छ ।

प्रधानमन्त्री कार्कीको प्रश्न : सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छन् । सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।  उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताएन् । यहाँले यो देखेर आफूलाई लाज लागेको पनि बतान् । नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उनको प्रश्न छ । सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ? प्रश्न गरिन् । यसप्रकारको घटना पहिलो पटक भएको पनि बताइन् । पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको आशंका गरिन् । भौतिक क्षतिलाई बनाउन सकिएपनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने उल्लेख गरिन् । आगजानी गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने पनि जानकारी दिइन् ।  उनले भनिन्, ‘यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी छानी प्रहार भएको छ । प्रहरीहरु सुरक्षाको लागी अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती विटहरु, प्रहरीको चौकी थानाहरु जले । अदालतका फाईलहरु सम्पूर्ण नष्ट भएर गयो । बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु यो देशको, जसले चाहीँ शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, कागजहरुबाट त्यो हाम्रो नष्ट भयो । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला भत्काउला बेग्लै कुरा भयो तर यो घटना त मलाई लाग्छ देशमा नै पहिलो पटक भएको हो ।’  उनले प्रहरीका बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको बताइन् । जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिइन् ।   

आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बडादसैंलाई लक्षित गर्दै सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ । भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले सुकिला बैंक नोट सटही गर्न सक्ने बैंकले जनाएको छ । मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित राष्ट्र बैंकको मुख्य कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रदेशीय कार्यालय तथा 'कु', 'खु' र 'गु' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सटही सेवा उपलब्ध हुनेछ । राष्ट्र बैंकले संघसंस्था र सर्वसाधारणलाई तोकिएको अवधिभित्रै सुविधा लिन आग्रह गरेको छ ।

गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति

काठमाडौं । सिंगापुरका अर्बपति गोह चेंग लियाङ अहिले संसारमा छैनन् । उनले आफ्नो निधनअगाडि ठूलो निर्णय गरे । गोहले आफ्नो सम्पत्ति आफ्ना छोराछोरीलाई नभई आफ्ना ६ नाति–नातिनीलाई दिए । यसबाट उनका नाति–नातिनीहरू एकै रातमा अर्बपति बनेका छन्।  गोह चेंग लियाङ निप्पन पेन्टका संस्थापक थिए । उनले किन आफ्ना सन्तानलाई नदिई नातिरनातिनिलाई किन दिए भन्नेबारे  अहिले विश्वभर चासो र चर्चा पैदा गरेको छ । गोह चेंग लियाङ निप्पन पेन्टका दक्षिणपूर्व एसियाका संस्थापक थिए । गत अगस्टमा ९८ वर्षको उमेरमा उनको निधन भएको थियो । उनले आफ्ना १३.२ अर्ब डलर (१८६४३३.६ करोड रुपैयाँ) बराबरको सम्पत्ति आफ्ना ६ नाति–नातिनीलाई सिधै दिएका हुन् । आफ्ना छोराछोरीलाई भने यस सम्पत्तिबाट अलग राखेका छन् । यस निर्णयले उनका नाति–नातिनीहरू एकै रातमा अर्बपति बने ।  उनीहरूलाई निप्सी इन्टरनेशनलमा हिस्सेदारी दिइएको छ । यद्यपि दोस्रो पुस्ताका परिवारका सदस्यहरूले मतदान अधिकार भने आफ्नै हातमा राख्नेछन् । यसरी कम्पनीमा नियन्त्रण कायम रहनेछ र उत्तराधिकार योजना व्यवस्थित रूपमा अगाडि बढ्नेछ । गोह चेंग लियाङ सिंगापुरका ठूला व्यापारी थिए । उनले निप्पन पेन्टलाई एसियामा ठूलो कम्पनी बनाएका थिए । उनको निधनपछि सम्पत्ति कसरी बाँडिने भन्ने विषयमा धेरै अड्कलबाजी भएको थियो । तर उनले सम्पत्ति बाँड्ने तरिकाले धेरैलाई चकित पार्‍यो । सामान्यतया एसियाली व्यवसायमा सम्पत्ति दोस्रो पुस्तालाई दिइन्छ । तर गोह चेंग लियाङले त्यसो गरेनन्। उनले आफ्ना नाति–नातिनीलाई सिधै सम्पत्ति दिएका छन् । यसबाट उनका ६ नाति–नातिनी अर्बपति बनेका छन् । उनीहरूले निप्सी इन्टरनेशनलमा १ अर्ब डलरभन्दा बढीको हिस्सेदारी पाएका छन् । यो कम्पनी एशिया–प्यासिफिक क्षेत्रमा पेन्ट उत्पादन गर्ने सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो। गरिबीबाट अर्बपतिसम्मको यात्रा गोह चेंग लियाङको कथा गरिबीबाट अर्बपतिसम्म पुग्ने यात्राको कथा हो । उनले धेरै कम स्रोतसाधनबाट आफ्नो यात्रा सुरु गरेका थिए । उनले वुथेल्म होल्डिङ्स स्थापना गरेका थिए । यो कम्पनी निप्पन पेन्ट होल्डिङ अफ जापानको सबैभन्दा ठूलो सेयरधनी बन्यो । उनको नेतृत्वमा निप्सी एसियामा पेन्ट उद्योगको ठूलो शक्ति बन्यो ।  एक समयमा निप्पन पेन्ट होल्डिङ जापानको सबैभन्दा ठूलो पेन्ट कम्पनी थियो । यो एसियाकै सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक थियो । यद्यपि पछिल्ला वर्षहरूमा बजारमा उतार–चढावका कारण परिवारको सम्पत्ति केही घटेको थियो । तर गोह चेंग लियाङ आफ्नो मृत्यु हुँदासम्म सिंगापुरका दोस्रो सबैभन्दा धनी व्यक्ति बने रहे । वुथेल्म होल्डिङ्सले गत डिसेम्बरमा निप्पन पेन्ट होल्डिङ्समा रहेको ५५ प्रतिशत हिस्सेदारी गोहका ६ नाति–नातिनीलाई ट्रान्सफर गर्‍यो । यसले एकैपटक धेरै अर्बपति बनायो । अप्रिल गोहलाई सबैभन्दा ठूलो हिस्सा प्राप्त भयो । यसको मूल्य करिब ३.४ अर्ब डलर छ ।  अप्रिल कोलम्बिया विश्वविद्यालयको चाइना सेन्टर फर सोसल पोलिसीका फेलो हुन् । उनले वित्त (फाइनान्स) अध्ययन गरेकी छिन् । लैंगिक हिंसाविरुद्ध काम गरेकी छिन् । उनले आफ्ना दाजुभाइ–बहिनीको सम्पत्ति पनि व्यवस्थापन गर्छिन्। यसले परिवारको सम्पत्तिमा उनको भूमिका अझै महत्त्वपूर्ण बनाउँछ । शार्लोट, हेनरिटा र भिक्टोरिया– जो गोह हप जिनकी छोराछोरी हुन् – तिनीहरूले पनि करिब १.१ अर्ब डलर बराबरका सेयर पाएका छन् । शार्लोटले बालीमा एउटा फाउन्डेशन सह–स्थापना गरेकी छिन् । यो फाउन्डेशनले गरिब बालबालिकालाई छात्रवृत्ति, स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउँछ ।  गोहकी छोरी चियाट जिन लामो समयदेखि गोह फाउन्डेशनसँग संलग्न छिन् । यो फाउन्डेशन १९९५ मा शिक्षा र मेडिकल अनुसन्धानलाई सहयोग गर्नका लागि स्थापना गरिएको हो । उनका छोरा मार्टिन युएन–आन लाउ सस्टेनिर एग्रिकल्चरका सह–संस्थापक हुन् । यो एक भर्टिकल फार्मिङ स्टार्टअप हो जसलाई टेमासेकको समर्थन प्राप्त छ । छोराछोरीलाई प्रत्यक्ष रूपमा केही पनि दिएनन् यस सम्पत्ति ट्रान्सफरको सबैभन्दा विशेष पक्ष भनेको गोह चेंग लियाङका छोराछोरीलाई प्रत्यक्ष रूपमा हिस्सेदारी नदिइनु हो । यसको सट्टा उनीहरूले केही मतदान अधिकार र प्रभाव भने कायम राखेका छन् । गोह हप जिनसँग निप्सी इन्टरनेशनलमा ९१ प्रतिशत मतदान अधिकार छ । यसले सुनिश्चित गर्छ कि तेस्रो पुस्ताले सम्पत्ति पाएपछि पनि कम्पनीमा नियन्त्रण दोस्रो पुस्ताकै हातमा रहिरहनेछ । विशेषज्ञहरूका अनुसार यो उत्तराधिकारको राम्रो योजना हो । यसले कम्पनीमा नियन्त्रण कायम राख्छ र सम्पत्ति बाँडफाँट पनि सुनिश्चित हुन्छ । परिवारका सम्पत्ति विज्ञहरूका अनुसार एसियाली परिवारहरूमा प्रायः सम्पत्ति परिवारका प्रमुखसँगै बाँधिएको हुन्छ ।  नाति–नातिनीलाई प्रत्यक्ष रूपमा सम्पत्ति दिने चलन बिरलै देखिन्छ । यस्तो प्रायः त्यही परिवारमा हुन्छ जहाँ छोराछोरी पहिले नै आर्थिक रूपमा सुरक्षित हुन्छन् वा परिवारका प्रमुखले आफ्नो सम्पत्ति सिधै तेस्रो पुस्तामा हस्तान्तरण गर्न चाहन्छन् । गोह चेंग लियाङ एक साधारण जीवन बिताउने व्यक्ति थिए । उनी आफ्नो निजी जीवनलाई सार्वजनिक दृष्टिबाट टाढा राख्थे । उनी मिडियामा पनि कमै देखिन्थे । उनलाई बोटिङ र माछा मार्ने रुचि थियो । उनको लग्जरी याचको ठूलो कलेक्शन थियो । ८४ मिटरको ‘ह्वाइट र्याबिट गल्फ’ उनको सबैभन्दा विशेष याच थियो । उनको परिवारका अन्य सदस्य पनि प्रायः मिडिया इन्टरभ्यू र सार्वजनिक बयानहरूबाट टाढा रहन्छन् ।

सुमना श्रेष्ठले रास्वपा त्याग्दै लेखिन् -'मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छोडें'

काठमाडौं । केही महिना पहिले व्यापक असन्तुष्टि जनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्को झट्का दिएकी छन् ।  उनले पार्टीका केन्द्रीय सदस्यहरूको म्यासेन्जर ग्रुपमा केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दै पार्टीलाइ सरप्राइज दिएकी हुन् । उक्त सरप्रराइजपछि आफ्नो फेसबुकमा समेत स्टाटस लेख्दै सुमनाले पार्टीबाट राजीनामा दिएको उनले उल्लेख गरेकी छन् । श्रेष्ठले भनिन्, ‘कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ।’ ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्र्याल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडें,’ उनले थपिन् ।​​​​​​

आगजनी भएका व्यवसायमा सस्तो ब्याजमा ऋण दिएर सहयोग गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् । आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । उनले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् । उनले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताइन् । ‘व्यक्तिका घर, सम्पती, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पतीदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पति जलाउने काम भयो । उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं,' उनले भनिन्, 'कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापरीहरुले धेरै नोक्शानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’ उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन् । साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ । 

युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु : प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।  प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरु नै जेनजी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारिन् । उनले आन्दोलनका क्रममा भएका क्षतिहरुको मूल्यांकन गर्दै सरकार अघि बढ्ने कार्ययोजना तय गरिएको पनि बताइन् ।  प्रधानमन्त्री कार्कीले भनिन्, ‘आगामी दिनहरुमा युवा पुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ । मलाई एकदम विचित्र लागेको छ–यो मुलुकमा यो जुन मुभमेन्ट आयो, यो वल्डमा कहीँ पनि भएको छैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन । त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराका मागहरु गरेको हुनाले त्यो पूरा गर्नलाई हामीले अठोट गर्नुपर्ने अवस्था छ । र, यी क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजनाहरु तय गरिएको छ ।’ प्रधानमन्त्री कार्कीले आफूले सो आन्दोलनको क्रममा ज्यान गुमाएका परिवारहरुसँग पनि भेटेको उल्लेख गर्दै उनीहरुको पीडालाई सम्बोधन गर्ने पनि बताइन् ।  

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्रीको पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । उनले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।  उनले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन् भने शहीदका परिवारलाई १० लाख राहत दिने निर्णय गरेकी छन् ।  पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको धारणा राखेकी छन् ।  ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन,’ उनले भनिन् ।