विकासन्युज

हामी फेरि उठ्ने छौं, तपाईंहरूसँगै : एनसेल

काठमाडौं । गत हप्ताको तोडफोडका घटनामा एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको एनसेलले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा यी घटनाले भौतिक सम्पत्तिसँगै कर्मचारीहरूको सुरक्षा र सेवामा निरन्तरतामा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ । एनसेलका अनुसार चुनौतीपूर्ण परिस्थितिमा पनि सेवाको सहज पहुँच सुनिश्चित गर्न तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराइएको थियो । कम्पनीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउँदै आएको र ग्राहकप्रतिको प्रतिबद्धता अझै अटल रहेको स्पष्ट पारेको छ । नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । कम्पनीले युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यसले मुलुकमा एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रुपान्तरण, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा योगदान गर्दै आएको छ । आगामी दिनमा पनि देश र जनताको सेवामा अडिग रहन्छौं ।' एनसेलले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

अदानचुली । टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी)सेवा सञ्चालनमा आएको छ । यहाँका गाउँगाउँमा फोरजी सेवा सञ्चालन आएपछि धेरै सहयोग पुर्याएको स्थानीयवासीले बताएका छन् । मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत स्वथ्यकर्मी हर्क बुढाले फोरजी सेवा सञ्चालनमा आएपछि सहयोग पुर्याएको बताए । नेपाल टेलिकमले विसं २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको थियो । व्यवसायी दीपक थापाले फोरजी सेवा सञ्चालनमा आएपछि व्यवसाय गर्न सहयोग पु¥याएको बताए। हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ । चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले भने, 'हुम्ला जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमासमेत आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्न गाउपालिकाको अथक पहल र निरन्तर प्रयत्नले फेरजी टावर सञ्चालनमा आएको छ । स्थानीयवासीलाई शिक्षा, स्वास्थ्य, सञ्चार तथा रोजगारीका नयाँ अवसरहरूमा पहुँच सुनिश्चित गर्ने विश्वाससमेत लिएको छु ।' उनले फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन तथा सूचना आदानप्रदानको कामसमेत सहज हुने बताए । चङ्खेली–३ को लामाकाँधमा राखिएको टावरले चङ्खेली गाउँपालिकाका केही बस्ती सर्केगाड र मुगुको सोरु गाउँपालिकाका केही बस्तीमासमेत सेवा पुर्याउने जनाइएको छ । वडा नं ६ को मासीधारमा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीमा ‘फोरजी’ सेवा सञ्चालन हुने छ । महतारा चौरमा निर्माणधीन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचारु हुनेछ । जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थाले पनि आफूलाई कार्यालयमा काम गर्नसमेत सहज हुने भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीको भनाइ छ । उनका अनुसार यस अघि इन्टरनेट नहुँदा स्वास्थ्यसम्बन्धी डेटा भर्नासमेत मुस्किल भएको थियो । गाउँमा फोरजीसम्मको सेवा पुर्याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला चङ्खेली गाउँपालिकाका अध्यक्ष शाहीले बताए । फोरजी सेवा सुरु भएसँगै यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ । रासस

आगजनीपछि हिमालयनको बत्तीसपुतली शाखाको लकर हेड अफिस सारियो, ऋणीलाई हिटी दरबार

काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले तोडफोड तथा आगजनी गरेपछि हिमालयन बैंकको बत्तीसपुतली शाखा लकर केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको छ ।  भदौ २४ गतेको जेनजी आन्दोलनकर्ताहरुले हिमालयन बैंकको बत्तीसपुतली शाखा कार्यालयमा तोडफोड र आगजनी गरेको थियो । बैंकको शाखा कार्यालय क्षतिग्रस्त भएपछि सो शाखामा रहेका सम्पूर्ण लकरहरु केन्द्रीय कार्यालय कमलादीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बत्तीसपुतली शाखामा खाता खोली लकर सुविधा लिएका ग्राहकहरुलाई आ-आफ्नो लकरको उपभोग केन्द्रीय कार्यालय, कमलादीबाट गर्न बैंकले अनुरोध गरेको छ ।  साथै, अन्य बैंकिङ कारोबारको हकमा नजिकको कुनै पनि शाखा तथा उक्त शाखाको कर्जा सम्बन्धी सम्पूर्ण कारोबार दरबारमार्गस्थित हिटी दरबार शाखाबाट यथावत रुपमा गर्न सकिने बैंकले जनाएको छ । 

यूनिभर्सल पावरको ९.४७ प्रतिशत लाभांश र १ सय प्रतिशत हकप्रद सेयर घोषणा

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नदग गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २३ गते ललितपुरमा वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरणपश्चात १ प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने, २ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । 

निष्काशन बन्द गरिएको श्रीनगर एग्रीटेकको आईपीओ भर्न २ दिन समय थपियो

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने समय २ दिन थपेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई भदौ २५ गते निष्काशन बन्द गरेको थियो । तर, देशमा उत्पन्न विषम परिस्थितिले गर्दा दरखास्तमा बाधा पुगेको र उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको आग्रहलाई ध्यानमा राख्दै भदौ ३० गते र ३१ गते आवेदन दिने अवधि थप गरेको कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।  उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।

सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । सागर डिष्टिलरीले आज भदौ ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा असोज १३ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

आज देशभर वर्षा, अरब सागर र बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी  र बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।  साथै गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी  र बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  गण्डकी  र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सविता भण्डारी बनिन् नेपालको प्रथम महिला महान्यायाधिवक्ता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । भण्डारी नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन् । उनले यसभन्दा अगाडि राष्ट्रिय सूचना आयोगको आयुक्तको रुपमा काम गरेकी थिइन् ।   यसअघि केशव बडाल महान्यायाधिवक्ता रहेका थिए । उनको राजीनामा आजै स्वीकृत भएको हो ।  प्रधानमन्त्री कार्कीले आजै पाँचजना मन्त्री नियुक्त गर्दैछिन् । प्रधानमन्त्री कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुन् । उनी नेपालको पहिलो प्रधानन्यायाधीश पनि हुन् ।