राष्ट्रिय वाणिज्य बैंकले अनलाइन आस्बा सेवा संचालन गर्ने, कहिले देखि सुरु ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अनलाइन आस्बा सेवा २०७४ साउन २७ गते बाट सुरु गर्ने भएकाे छ । यस सेवा अन्तर्गत अब प्राथमिक शेयर निष्काशन हुँदा ग्राहकले घरमै बसेर शेयर भर्न पाउनेछन् । बैंकको ६८ जिल्लामा रहेका १७९ वटै शाखा कार्यालयहरुबाट यो सेवा निशुल्क रुपमा लिन सकिने छ । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सम्बन्धित निक्षेप सदस्यता मार्फत मेरो शेयरको यूजर प्राप्त गरेका ग्राहकले बैंकमा उपस्थित नभईकन पनि सहज रुपमा अनलाइन सी-आस्बा सेवा मार्फत आइपीओ, एफपीओ तथा म्युचल फण्डहरुमा आवेदन दिन सकिने बैंकले जनाएको छ । आस्बा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदा यस बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला लगानीकर्ताहरुबाट शेयर खरिद गर्न चाहेमा अनलाइन वा दरखास्त फारम संकलन गरी फारममा उल्लेख भए अनुसारको रकम सम्बन्धीत लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखिने छ । त्यसपछि धितोपत्र बाँडफाँड भए पश्चात लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धीत धितोपत्र निष्काशनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धीत खाताधनीले पुर्ववत रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गरिने बैंकले बताएको छ ।
अबदेखि मन्त्री, सांसद र सरकारी कर्मचारीले निजी क्षेत्रको बिमान चढ्न नपाउने
काठमाडौं । अबदेखि मन्त्री, सांसद र सरकारी कर्मचारीहरुले निजी कम्पनीका बिमान चढ्न नपाउने भएका छन् । बुधबार बसेको व्यवस्थापिका-संसद सार्वजनिक लेखा समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमकै जहाज चढ्न निर्देशन दिएको छ । समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र राज्यकोषबाट तलब सुविधा लिने कर्मचारीलाई राष्ट्रिय ध्वजाबाहक जहाज नै चढ्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। नेपाल वायु सेवा निगमको व्यवसायिक क्षमता अभिवृद्धि गराउन त्यस्तो व्यवस्था गर्न लागिएको समितिले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवको प्रस्तावमा समितिले यस्तो निर्णय गरेको हो । मन्त्री देवले भारतमा पनि सरकारी कर्मचारीलाई इण्डियन एयरलायन्स मात्रै प्रयोग गर्ने अनुमति रहेको बताउँदै नेपालमा पनि त्यस्तै व्यवस्थाका लागि समितिले निर्देशन दिनुपर्ने धारणा राखेका थिए । यो व्यवस्था कार्यान्वयनमा आएपछि मन्त्री सांसद र कर्मचारीले नेपाल वायु सेवा निगमको जहाज उड्ने गन्तव्यहरुमा नीजि कम्पनीका जहाज चढ्ने पाउने छैनन् ।
नेपाल इन्स्योरेन्सले पुँजी वृद्धि योजना बुझायो, मर्जर वा एक्विजिशनबाट ३७ करोड पुँजी जुटाउने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा पुँजी वृद्धि योजना पेश गरेको छ । कम्पनीले दुई पटक गरी १० प्रतिशत बोनस सेयर दिने, एक पटक १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र करिव ३७ करोड रुपैयाँ पुँजी मर्जर तथा एक्विजिशनबाट जुटाएर १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २८ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरी पुँजी करिब ३० करोड १९ लाख रुपैयाँ पुर्याउने छ । त्यसपछि कम्पनीले १०० प्रतिशत (१ बराबर १ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्काशन पनि कम्पनीको चुक्ता पुँजी ६० करोड ३९ लाख रुपैयाँ हुने छ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कम्पनीले फेरी ५ प्रतिशत बोनस सेयर दिने योजना पेश गरेको छ । उक्त बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६३ करोड ४१ लाख रुपैयाँ हुनेछ । बाँकी करिब ३७ करोड रपैयाँ पुँजी जुटाउने विषयमा भने भेगपूर्ण प्रस्ताव गरिएको छ । स्रोतका अनुसार कम्पनीले मर्जर तथा एक्विशिजन वा बोनर तथा हकप्रद सेयरबाट ३६ करोड ५९ लाख रुपैयाँ पुँजी वृद्धि गर्ने प्रस्ताव पेश गरेको छ । उक्त पुँजी वृद्धि योजना कम्पनीको तर्फबाट सार्वजनिक गरिएको छैन ।
सोर्स कोडले जित्यो दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड
काठमाडौं । नेपाली सूचना प्रविधि सम्बन्धी कम्पनी सोर्स कोड प्रालिले मोबाइल सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरे बापत आठौं एमबिलियन्थ अवार्ड जितेको छ । भारतको नयाँ दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोडप्रालिले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनलाई उत्कृष्ट घोषणा गर्दै यो अवार्ड (उपाधि) दिइएको हो । डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले मोबाइल प्रविधिसँग सम्बन्धित दक्षिण एसियाका कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । यस प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकहरुबाट कुल २९४ वटा सूचना प्रविधि सम्बन्धी (आइटी) कम्पनीहरुले अवार्डका लागि आवेदन दिएका थिए । त्यसमध्ये बाट६५ वटा कम्पनीअन्तिम छनोटमा परेका थिए । जसमा सोर्ड कोर्डले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनले सूचना तथा मनोरञ्जन विधातर्फ एमबिलियन्थ अवार्ड हात पारेको हो । विभिन्न १० वटा विधामार्फत सहभागी कम्पनीहरु अन्तिम छनोटमा परेका थिए । सोर्स कोडले ‘नेपाली पैसा’लाई सञ्चार तथामनोरञ्जन विधाअन्तर्गत आवेदन दिएको थियो । यस अवार्डले वित्तीय क्षेत्रसँग सम्बन्धित मोबाइल प्रविधिमा आधारित काम गर्न थप हौसला मिलेको सोर्स कोडका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले बताए । अवार्डले सोर्स कोड र नेपाली पैसाको ब्रान्डिङमा थप सहयोग पुग्नुका साथै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमाकामगर्ने सम्पूर्ण नेपालीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न समेत हौसाला प्रदान गरेको श्रेष्ठको भनाई छ । आधुनिक मोबाइल प्रविधिले सर्वसाधारणको दैनिक जीवनलाई सहज र सशक्त बनाउन मद्दत पुर्याइरहेको छ । मोबाइल फोनको प्रयोग दक्षिण एसियाली राष्ट्रहरुमा पनि बढ्दो क्रममा रहेको छ । यसलाई ध्यानमा राख्दै डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले २०१० देखि मोबाइल प्रविधिका क्षेत्रमा काम गर्ने उत्कृष्ट कम्पनीलाई पहिचान र हौसला दिन ‘एमबिलियन्थ अवार्ड साउथ एसिया’प्रदान गर्दै आएको छ ।
जिल्ला अदालतमा ७७ प्रतिशत मुद्दा फछ्र्यौट
तेह्रथुम। जिल्ला अदालत तेह्रथुमले आर्थिक वर्ष ०७३/७४ मा ७७ दशमलव ६२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यो लक्ष्य भन्दा दुई दशमलव ६२ प्रतिशत बढी हो । अदालतले गत वर्ष ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । दर्ता भएका २१० थान मुद्दामध्ये उक्त अवधिमा १६६ थान मुद्दा फछ्र्यौट गरेको जिल्ला अदलात तेह्रथुमका श्रेस्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार चालु आवका लागि ४७ थान मुद्दा सरिआएका छन् । अदालतले चालु आवमा २६२ थान मुद्दा दर्ता हुने लक्ष्य राखेको छ । अदालतकाअनुसार हालसम्म फैसला भएकामध्ये ३९६ वर्ष चार महिना २७ दिन कैद फैसला कार्यान्वयन हुन बाँकी रहेको छ । यस्तै रु ३७ लाख ६५ हजार १४८ जरिवाना समेत असुल गर्न बाँकी रहेको श्रेस्तेदार दाहालले बताए । यो वर्ष फैसला भएको १५७ वर्ष सात महिना एक दिन कैदमध्ये १०७ वर्ष एक महिना १६ दिन कार्यान्वयन भइरहेको छ । भने ५० वर्ष बढी कैद फैसला कार्यान्वयन हुन बाँकी छ । यस्तै रु पाँच लाख ८१ हजार जरिवाना तोकिएकोमा तीन लाख ८३ हजार ९७३ कार्यान्वयन हुनसकेको छैन । यो वर्ष ८४ वटा फौजदारी सम्बन्धी मुद्दा फैसला भएका छन् । अदातलका अनुसार दर्ता भएकामध्ये सबैभन्दा धेरै महिला हिंसा र सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका छन् । रासस
मेरो माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने, ३० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ दशमलब १०५ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैंठकले ३० प्रतिशत बोनस सेयर र करसहित १२.१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । प्रतावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरपछि वितरण गरिनेछ ।
सञ्चय कर्ताको मुनाफाबाट ६८८ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्दैछौंः आचार्य
कृष्ण प्रसाद आचार्य बेतान कर्णाली सञ्चयकर्ता हाइड्रो कम्पनीको कन्सेप्टलाई हामीले गत आर्थिक बर्षमा सुरुमै दर्ता गरेका हौं । अपर तामाकोशीको सेयर वितरण गर्ने समयमा यो आयोजनाको कन्सेप्ट आएको थियो । ऐन संसोधन नभएकाले काम अघि बढाउन सकिएको थिएन् । सञ्चय कर्ताहरुलाई हामीले बर्षेनी मुनाफा दिईरहेका हुन्छौं । तर त्यो रकम बढेर आएको भनेर सञ्चय कर्ताले खासै महशुस गरिरहेका हुँदैनन् । बर्षमा एक दुई हजार मात्रै खातामा थपिने गरेको छ । तामाकोशीको सेयर वितरणका बेलामा हामीले केहि छलफल गर्यौं । सञ्चय कर्ताहरुलाई मुनाफा दिने रकमका आधारमा तामाकोशीको सेयर बाढ्न पाए हुन्थ्यो भन्ने महशुस गरेका थियौं । प्रबन्ध पत्र नियमावली र धितोपत्र बोर्डको नियमका कारण त्यस्तो गर्न सकिएन् । अहिले भने प्रबन्ध पत्र संसोधन गरेर सञ्चय कर्ताले पाउने मुनाफालाई जलविद्युत आयोजनामा लगानी गर्ने योजनासहित वेतान कर्णाली सञ्चय कर्ता हाइड्रो कम्पनी दर्ता गरेका हौं । सञ्चय कर्ताको जति मुनाफा हो सोही अनुपातको सेयर दिने गरि यो कम्पनी खडा गरेका हौं । अघिल्लो आर्थिक बर्षको मुनाफा १ अर्ब २९ करोड रुपैंयाँलाई सेयर लगानी कोषमा रुपान्तरण गरिसकेका छौं । सञ्चय कर्ताको हितमा हुने गरि लगानी योग्य परियोजनामा लगानी गर्ने योजनासहित वेतान कर्णाली सञ्चय कर्ता हाइड्रो कम्पनी स्थापना भएको हो । उर्जा मन्त्रालयसँग समन्वय गरेर वर्तमान उर्जा सचिवले नै बेतान कर्णाली सञ्चय कर्ता हाइड्रो परियोजनाको पहिचान गर्नु भएको हो । हामीले प्राबिधिक सहित कर्णालीमै पुगेर कर्णाली चिसापानीको माथी यो प्रोजेक्ट तयार पारेका हौं । कम्पनी दर्ता गरेर ६८८ मेगावाटको लाइसेन्स पनि लिईसकेका छौं । विस्तृत अध्ययन अघि बढिसकेको छ । सुख्खा समयमा विद्युत उत्पादन धेरै हुने भएकाले आम्दानी पनि धेरै हुने रहेछ । यो पिआरओआर प्रोजेक्ट हो । जसबाट ६ घण्टासम्म पिकिङ गर्न सकिने देखिएको छ । अहिले भने विस्तृत सम्भाव्यता अध्ययनका लागि टिओआर तयार भैसकेको छ । विस्तृत सम्भाव्यता अध्ययन गरिसकेपछि डिपिआर बनाउन खासै समय नलाग्ने गरि काम अघि बढाएका छौं । कम्पनीको संरचना र सञ्चालक समिति कम्पनीमा २० अर्बको अधिकृत पुँजी, १० अर्बको जारी पुँजी र १५ करोडको चुक्ता पुँजी छ । आवश्यकता अनुसार पैसा थप्न सकिने व्यवस्था छ । कम्पनीको सेयरमा सञ्चय कर्ताको बाहुल्यता हुनुपर्छ भन्ने छ । २५ प्रतिशत सेयर सर्व साधारणका लागि छुट्याउनुपर्ने व्यवस्था छ । १० प्रतिशत आयोजना प्रभावित र १५ प्रतिशत आम सर्वसाधारणका लागि हुने नै भयो । त्यस बाहेक कुल सेयरको ४० प्रतिशत सञ्चय कर्ता, १५ प्रतिशत सञ्चय कोष, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत र विद्युत उत्पादन कम्पनीको १० प्रतिशत सेयर रहेको छ । सञ्चय कोष र सञ्चय कर्ताको सेयर ५५ प्रतिशत रहेको देखिन्छ । यसको बोर्ड सरंचनामा तीन वटा संस्थाका एक/एक जना, सञ्चय कर्ताको तर्फबाट ३ जना, सर्वसाधारणका तर्फबाट २ जना र १ जना विज्ञ गरि ९ जनाको सञ्चालक समिति बनाउने व्यवस्था छ । अहिले तीन जना मात्रै सञ्चालक रहेका छन् । सर्वसाधारणका तर्फबाट कसरी सञ्चालक समितिमा प्रतिनिधित्व गराउने भन्नेबारे छलफल भैरहेको छ । सर्वसाधारणलाई सेयर नदिँदासम्म सञ्चय कोष सञ्चालक समितिले मनोनयन गर्ने भन्नेबारे छलफल भैरहेको छ । सेना, प्रहरी, निजामति लगायतका क्लष्टरबाट सञ्चालक बनाउने भनेर कार्यबिधी बनाएका छौं । त्यसमा योग्यता पनि तोकेका छौं । मुनाफा लगानी गर्नै पर्ने बाध्यता छैन कुनै सञ्चय कर्ताले सेयरमा लगानी गर्न नचाहेको अवस्थामा उनीहरुले खातामा मुनाफा नै पाउछन् । हामीले तिन पटक सार्वजनिक सूचना निकाल्छौं । सेयरमा लगानी गर्न नचाहानेले त्यतिबेला भन्नु पर्छ । उनीहरुको खातामै नाफा राखिदिन्छौं । ठुलो संस्था भएकाले राजनीतिक हस्तक्षेप नहोस भनेर सञ्चय कोषको पुर्व निर्देशक र वर्तमान निर्देशक मात्रै सञ्चालक बन्न पाउने व्यवस्था पनि गरेका छौं । आयोजना निर्माणको कार्यतालिका हामीले २ बर्षभित्रै डिपिआर र फाइनान्सियल क्लोजर सक्ने र थप चार देखि पाँच बर्षको बिचमा प्रोजेक्ट सक्ने कार्य योजना बनाएका छौं । कर्णार्ली चिसापानी आयोजना निर्माण अघि बढ्यो भने बेतान कर्णालीलाई केहि माथी सारेर ३०० मेगा वाटको बनाउँछौं । चिसापानी बनाउन सुरु भएछ भने पनि १५ देखि २० बर्षमा मात्रै निर्माण सम्पन्न हुन्छ । हामीले त्यतिञ्जेलसम्ममा यसको निर्माण सम्पन्न भएर लगानी उठाएर नाफा पनि कमाई सक्ने अवस्था छ । १० बर्षको आम्दानीले अर्काे ६०० मेगावाटको प्रोजेक्ट बनाउन पनि सक्ने अवस्था छ । (कोषका प्रशासक आचार्यसँग गरिएको कुराकानीमा आधारित)
कृषि विकास बैंकको नाफा १२ प्रतिशतले बढ्यो, बैंकले कमायो २ अर्ब ७७ करोड
काठमाडौं । कृषि विकास बैंकले गत आवमा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ नाफा गरको छ । बैैंकको यो नाफा गत वर्ष १२ प्रतिशतले बढी हो । बैंकले अघिल्लो वर्ष २ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ खुँँद नाफा कमाएको थियो । यो नाफा अघिल्लो वर्षको तुलनामाा ३१ करोड २० लाख रुपैयाँले बढी हो । यो बैंकको गत असार मसान्तसम्ममा ९९ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८८ अर्ब २९ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले १५ करोड ८९ करोड लाख रुपैयाँ लगानी गरेको छ । यो बैंकको सीसीडी रेसियो ६२ दशमलव ३९ प्रतिशत छ । बैंकको खराब कर्जा २ दशमलव ९७ प्रतिशत छ । यसको चुक्ता पुँजी गत असार मसान्तसम्ममा १२ अर्ब ५२ करोड रुपैयाँ छ । यो बैंकको जगेडा कोषमा ९ अर्ब ८८ करोड रुपैयाँ रहे छ । यो बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ५८ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ २३४ रुपैयाँ ९१ पैसा रहेको छ ।