काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अनलाइन आस्बा सेवा २०७४ साउन २७ गते बाट सुरु गर्ने भएकाे छ । यस सेवा अन्तर्गत अब प्राथमिक शेयर निष्काशन हुँदा ग्राहकले घरमै बसेर शेयर भर्न पाउनेछन् ।
बैंकको ६८ जिल्लामा रहेका १७९ वटै शाखा कार्यालयहरुबाट यो सेवा निशुल्क रुपमा लिन सकिने छ । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सम्बन्धित निक्षेप सदस्यता मार्फत मेरो शेयरको यूजर प्राप्त गरेका ग्राहकले बैंकमा उपस्थित नभईकन पनि सहज रुपमा अनलाइन सी-आस्बा सेवा मार्फत आइपीओ, एफपीओ तथा म्युचल फण्डहरुमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।
आस्बा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदा यस बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला लगानीकर्ताहरुबाट शेयर खरिद गर्न चाहेमा अनलाइन वा दरखास्त फारम संकलन गरी फारममा उल्लेख भए अनुसारको रकम सम्बन्धीत लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखिने छ । त्यसपछि धितोपत्र बाँडफाँड भए पश्चात लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धीत धितोपत्र निष्काशनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धीत खाताधनीले पुर्ववत रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गरिने बैंकले बताएको छ ।