प्रभु बैंकद्धारा हज यात्रुहरुलाई डलर/साउदी रियाल सटही सुविधा
काठमाडौं । प्रभु बैंकले २०७४ सालको हजयात्राका लागि जाने १,२५० जना नेपाली हजयात्रीहरुलाई डलर/साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । बैंकले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त गरी प्रति हजयात्री १,७०० अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । बैंकले मुस्लीम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनामा जाने १,२५० जना नेपाली हजयात्रीहरुलाई सो सुविधा दिएको हो । उक्त सटही सुविधा साउन २५ गते देखि १० दिनसम्म काठमाडौको घण्टाघर स्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ । यस बैंकले उपलब्ध गराएको डलर÷साउदी रियल सटही सुविधा लगायत बैंकद्धारा उपलब्ध गराईएका अन्य सेवा समेत उपभोग गरी हज यात्राका लागि प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुले अधिकतम लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ ।
सिटिजन्स बैंकले सुरु गर्यो निः शुल्क अनलाइन आस्बा सेवा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने आइपीओ, एफपीओको अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरमै बसी बसी निः शुल्क दरखास्त दिने सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस बैंकमा खाता नभएका लगानीकर्ताहरुले समेत यस बैंकमा खाता खोली आस्बा सेवा निः शुल्क उपभोग गरेर लाभ लिन सक्ने छन् ।
भोलीदेखि पेट्रोलियम व्यवसायीले पेट्रोल नकिन्ने, माग पुरा नभए ३१ गतेदेखि बिक्री नगर्ने चेतावनी
काठमाडौं । भोलीदेखि पेट्रोलियम व्यवसायीले देशभरका डिपोबाट पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन् । सरकारले इन्धन ढुवानीका क्रममा प्राविधिक रुपमा हुने परिमाण नोक्सानीको क्षतिपूर्तिको माग पुरा नगरेको भन्दै नेपाल पेट्रोलियक डिलर्स राष्ट्रिय एशोसिएशनले माग पुरा नभए साउन ३१ गतेदेखि देशभरमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा पनि बन्द गर्ने चेतावनी दिएको छ । आयल निगम सँग पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले आन्दोलन शुरु गरेको एशोसिएशनले जनाएको छ । एशोसिएशनले प्राविधिक कारणबाट हराउने पेटोलियम पदार्थको पनि क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राखेको छ । यसअघि आन्दोलनको घोषणा गरेर फिर्ता लिएका व्यवसायीले पुन माग पुरा नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । साउन २६ गतेदेखि मुलुकभरका डिपोबाट पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन् । खरिद बन्द गर्नेसम्मका आन्दोलन २० साउनदेखि पम्पमा कालो झण्डा गाडेर आन्दोलन सुरु गरेका व्यवसायीले २६ साउनदेखि पेट्रोल खरिद नगर्ने, २९ गतेदेखि डिजल तथा मट्टितेल खरिद नगर्ने र ३१ गतेदेखि बिक्री वितरण पनि बन्द गर्ने चेतावनी दिएका छन् । व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ९९ लिटर र डिजेलमा ६० लिटरसम्मको लस हुने गरेको दाबी गरेका छन् ।
बाइक रियालिटी शो-पल्सर डेयर भेन्चर तेस्रो सिजनको घोषणा, विजेतालाई १० लाख रुपैयाँ
काठमाडौं । हंसराज हुलासचंद बजाज, नेपालमा बजाजको अधिकृत विक्रेता तथा सर्वाधिक बाइक विक्री गर्नेे कम्पनीले सामसङसँगको सहकार्यमा पल्सर डेयरभेन्चरको तेस्रो सिजनको घोषणा गरेको छ । यसको ट्यागलाइन ‘‘न्यू रुट, न्यू थ्रिल्स अ कल फर फियरलेस राइडर्स’’ राखिएको छ । पल्सर डेयरभेन्चर बजाजले आयोजना गरेको नेपालको पहिलो बाइक रियालिटि शो हो । डेयरभेन्चर रियालिटि सो सन् २०१४ मा सुरु भएको थियो भने पल्सर डेयरभेन्चर २ को दोस्रो शो सन् २०१६ मा प्रस्तुत गरिएको थियो । र यो पटक पल्सर डेयरभेन्चरको तेस्रो सिजनका साथमा नयाँ लेभलको साहसिकता र रोमान्चकता प्रस्तुत गर्ने बेला भएको छ । पल्सर डेयरभेन्चरको तेस्रो सिजनमा १० साहसी प्रतियोगिहरुले नयाँ पल्सर बाइकमा “अन-अफ रोड” हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन् । यस प्रतियोगितामा सामेल हुनका लागि प्रतियोगिहरुले शुरुवातमा नै विभिन्न तालिमहरु लिनुपर्ने हुन्छ । पहिलो पुरस्कार विजेताले १० लाख रुपैयाँ र पल्सर एनएस, दोस्रो पुरस्कार विजेताले ५ लाख रुपैयाँ र पल्सर एनएस र तेस्रो पुरस्कार विजेताले पल्सर एनएस पाउने हंसराज हुलासचंदले घोषणा गरेको छ । यसको अतिरिक्त, राइडकै क्रममा प्रतियोगिहरुले फरक फरक विधाहरुमा पनि आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् । यस प्रतियोगिताका पार्टनरहरु शिखर इन्स्योरेनस, सर्भो लुब्रिकेन्टस्, इसिएस मिडिया,बाइकर्स नेपाल, सर्भो, र ग्राण्डि इन्टरनेशनल हस्पिटल रहेका छन् । यसअघिका प्रतियोगिताहरुको तुलनामा, यो वर्ष प्रतियोगीहरुको दर्ता निशुल्क गरिएको छ भने कुनैपनि ब्राण्डका बाईक भएका प्रतियोगिहरुले पनि सहभागीता जनाउन सक्नेछन् । सहभागी हुन चाहनेहरुले नजिकैको बजाजको शोरुमहरुमा गएर, आधिकारिक सवारी चालक अनुमतिपत्र, नागरिकता, र दुई प्रति फोटोका साथमा दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा सहभागी हरेक बाइकर्सले पल्सर डेयरभेन्चर ३ को अन्तिम १० मा छनौट हुन अडिसन, फिजिकल फिटनेस टेस्ट, अब्स्ट्याकल टेस्ट, मेडिकल टेस्ट र एटिट्च्यूड टेस्ट पास गर्नुपर्नेछ भने अन्तिम १० प्रतिस्पर्धीहरुका लागि ग्रुमिङ सेशन पास गर्नु पर्नेछ । प्रतियोगीताका दौरान प्रतिस्पर्धिहरु काठमाडौँबाट शुरु भएर घाँसीकुवा, बेशिशहर, बाहुनडाँडा, हुँदै खाङ्गसार, मनाङ्ग पुग्नुपर्ने छ । नयाँ सिजनको बारेमा बोल्दै एच.एच. बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “पल्सर डेयरभेन्चर पहिलो र दोस्रो सिजनको सफल अनुभव हामीसँग रहेको छ । पल्सर डेयरभेन्चर तेस्रो संस्करणमा बाइक चालकहरुले कहिले नदेखेका र नभोगेका नेपालका बिभिन्न भौगोलिक रोमाञ्चकताको आनन्दपूर्ण अनुभव बटुल्न पाउने छन् । हामीले पल्सर राइडरहरु जहिले पनि उत्साह र साहसिक कार्यसँग जोडिएको महशुस गरेका छौं । यो नयाँ सिजनले युवाहरुलाई कल्पना भन्दा बाहिरको धेरै अनुभव प्रदान गर्नेछ । यो नयाँ इभेन्टकाे लागि तयार हुने समय हो र पल्सर डेयरभेन्चरको विजेता बन्नको लागी अझ धेरै साहसको आवश्यकता, चुनौतीहरुको सामना र कठिनाईलाई चिर्नका लागि एकै ठाउँमा उभिनुपर्ने छ ।’’
बुधबारदेखि राजधानीमा तीन दिने दोस्रो अष्ट्रेलियन एजुकेसन डे सुरु
काठमाडौं । बुधबारदेखि राजधानीको याक एण्ड यती होटलमा दोस्रोपटक अष्ट्रेलियन एजुकेसन डे सुरु भएको छ । अष्ट्रेलिया जाने नेपाली विद्यार्थीवर्गलाई लक्षित गरेर एईसीसी ग्लोबल कन्सल्ट्यान्सी नामक संस्थाले कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रम तीन दिनसम्म चल्ने संस्थाले जनाएको छ । शिक्षा मन्त्रीले कार्यक्रममा बोल्दै विद्यार्थीहरुलाई पढाईपछि आफ्नै देशमा फर्किएर श्रम र शिक्षाको उपयोग गर्न आग्रह गरेका हुन् । शिक्षा मन्त्री श्रेष्ठले विदेशमा पढ्न र काम गर्न गएका विद्यार्थीलाई स्वदेशमै शिक्षा र श्रमको सदुपयोग गर्न आग्रह गरेका छन् । ‘अन्य मुलुकमा नेपाली विद्यार्थीकै श्रम तथा सिपबाट विकासका गतिविधीहरु अघि बढेको छ,’ श्रेष्ठले भने, ‘त्यस्ता सिप नेपालको विभिन्न आर्थिक क्षेत्रमा सदुपयोग गर्नसके देश विकासमा सहयोग पुग्छ। उनका अनुसार नेपालमा वर्षेनी २० देखि २५ हजार विद्यार्थीहरु बैदेशिक शिक्षाको लागि अस्ट्रेलिया जाने गरेका छन् । राजधानीको याक एण्ड यती होटलमा आयोजना गरिएको अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित उक्त कार्यक्रममा तीन दिन चल्ने एईसीसी ग्लोबल प्रमुख शैलेस कुमार झाले बताए । उनका अनुसार विद्यार्थीलाई बिदेश जानु अघि विषय, विश्वविद्यालय, र अध्यनका लागि उपयुक्त ठाउँको छनोट गर्न पाउनेछन् । उनले भने , ‘अस्ट्रेलियन प्रतिनिधीसँग प्रत्यक्ष भेटी विद्यार्थी तथा अभिभावकमा भर्ना, छात्रवृत्ति र भिषा डक्युमेन्टेशन लगायतका बारेमा उचित परामर्श दिइनेछ ।’ अष्ट्रेलिया केन्द्रित एईसीसी ग्लोबलले न्यूजिल्याण्ड, क्यानेडा, यूएसए र यूके लगायत आठ देशका २३ वटा शहरबाट सेवा प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ । कार्यक्रममा २७ वटा अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । राजधानी बाहेक कार्यक्रम पोखरा र चितवनमा पनि चल्नेछ ।
निजगढ विमानस्थलको गाँठो फुक्यो, ३५ करोड क्षतिपुर्ति तिरेर डिपिआर निर्माण गरिने
काठमाडौं । बहुप्रतिक्षित निजगढ अन्तराष्ट्रिय बिमानस्थलको गाँठो फुकेको छ । नव नियुक्त पर्यटन मन्त्री जितेन्द्र नारायण देवले कोरियन कम्पनी ल्याण्ड मार्क एण्ड वल्र्डवाइड(एलएमडब्ल्यु)लाई ३५ लाख अमेरिकी डलर क्षतिपुर्ति तिरेर विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेसँगै निजगढ विमानस्थल निर्माणले गति लिन लागेको हो । तत्कालिन सरकारले २०६६ साल फागुन २३ गतेको निर्णयबाट एलएमडब्ल्युलाई बुट मोडलमा निजगढ विमानस्थल निर्माण गर्न दिने भन्दै विस्तृत सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको थियो । कम्पनीले २०६८ साल साउन ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । सो सम्झौताको बुँदा नम्बर १ दशमलब ३ मा विस्तृत सम्भाव्यता अध्ययनको अवधीभर सो आयोजना निर्माणको जिम्मेवारी तेश्रो पक्षलाई नदिने र अध्ययन प्रतिवेदन तयार भैसकेपछि एलएमडब्ल्यु कम्पनीले निर्माणको इच्छा देखाएमा बुट ऐनको दफा ९ बमोजिम सोही कम्पनीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको थियो । त्यस्तै, सोही सम्झौताको बुँदा नम्बर ५ दशमलब १ मा नेपाल सरकार र सो कम्पनीले कुनै पनि सूचना तथा कागजात तेश्रो पक्षलाई दिनुपुर्व दोश्रो पक्षको अनुमति लिनुपर्ने उल्लेख गरिएको थियो । एलएमडब्ल्युसँगको सम्झौताका कारण सरकारले उसको सहमति बिना निजगढ विमानस्थलको काम न सरकारले अघि बढाउन सकेको सकेको थिएन् । पुर्व सम्झौता अनुसार एलएमडब्ल्युलाई ३५ लाख अमेरिकी डलर दिएर मन्त्रालयले निर्माणको मोडालिटी बनाउन लागेको हो ।‘एलएमडब्ल्युसँगको सम्झौता तोड्ने निर्णय भएको छ, उसलाई ३५ लाख अमेरिकी डलर क्षतिपुर्ति दिएर डिपिआर निर्माणको काम अघि बढाउने निर्णय भएको हो’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री देवले भने । उनले तीन दिन अघि मात्रै मन्त्रालयले निजगढ विमानस्थल निर्माण सम्बन्धमा ६ बुँदे निर्णय भएको पनि जानकारी दिए ।‘हामीले निजगढ विमानस्थ निर्माण सम्बन्धी ६ बुँदे मन्त्रिस्तरिय निर्णय गरेका छौं, अब निजगढ विमानस्थलको निर्माणको काम अघि बढ्यो’, मन्त्री देवले व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा भने । उनले सेनालाई १८ वर्ग किलोमिटरको सडक, वन फडानी लगायतका कामको जिम्मेवारी दिइएको पनि बताए । उनले एक हप्ताभित्रै निजगढ विमानस्थल निर्माणको मोडालिटी तयार भैसक्ने पनि स्पष्ट पारे । विमानस्थल निर्माणका लागि उच्चस्तरिय सहजीकरण समिति मन्त्री देवले निजगढ विमानस्थल निर्माणका लागि उच्चस्तरिय समन्वय तथा सहजीकरण समिति गठन गर्ने निर्णय पनि भएको बताए ।‘बारा, पर्सा र रौतहटका सांसद र राजनीतिक नेतृत्वलाई समेटेर उच्चस्तरिय समन्वय तथा सहजीकरण समिति गठन हुन्छ, त्यसले निजगढ विमानस्थल निर्माणको वातावरण तयार पार्छ’, मन्त्री देवले भने । सरकारले चालु आर्थिक बर्षको बजेटमा निजगढ विमानस्थल निर्माणका लागि ठेक्का गरिसक्ने उल्लेख गरेको थियो ।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, ९१ करोडको सेयर किनबेच
काठमाडौं । बुधबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट भएको छ । बजारमा नेप्से ६ दशमलब २२ अंकले घटेर १६६१ अंकमा झरेको छ । सो दिन ९१ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार १५९ कम्पनीको २८ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजारमा सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक २५ अंकले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक र हाइड्रो समूहको परिसूचक बराबर १२ अंकले घटेका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः ८ र १.३५ अंकले उकालो लागेका छन् । बुधबार सबैभन्दा बढी लक्ष्मी भ्यालु फण्ड १ को सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, जेनरल फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ८.८४ र ८.८७ प्रतिशतले घटेका छन् । सोही दिन तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी नागरिक लगानी कोषको ३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ४७०० रुपैयाँ रहेको छ ।
टाटाको नयाँ कार ‘स्टायलब्याक’ टिगोर नेपाली बजारमा, मूल्य पौने २४ लाख रुपैयाँ
काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको नयाँ कार स्टायलब्याक टाटा टिगोर नेपाली बजारमा ल्याएको छ । प्यासेन्जर सेग्मेन्टमा नयाँ पोर्टफोलियोको रुपमा बिक्री सुरु गरिएको हो । कमर्सियल कारमा अगाडि रहेको टाटा मोटर्सले नयाँ पुस्तालाई लक्षित गरेर आक्रमकरुपमा बजार विस्तारका लागि नयाँ कार बजारमा ल्याएको छ । टाटा मोटर्स विश्वको चर्चित अटोमोबाइल कम्पनी हो । रिभोर्टन १.२ लिटरको पेट्रोल क्षमताको उक्त कारको मूल्य २३ लाख ४५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले कारमा चार वर्षसम्मको वारेन्टीको व्यवस्था गरेको छ । टिगोरका कारहरु एक्स इ, एक्स टी, एक्स जेड र एक्स जेड (0) गरी चारवटा भेरियन्टमा उपलब्ध छन् । कारहरु ६ वटा आकर्षक रङ्गमा उपलब्ध छन्; कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड । कारमा रहेको गोल्डेन इयर्स सहितको हर्मन प्रविधिको अत्यानिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम मनोरञ्जनको दुनियाँमा कनेक्ट हुन चाहने नयाँ पुस्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा बिक्री सुरु भएको टाटा टिगोर कम्पनीका पुराना उत्पादनभन्दा केहि फरक र अत्याधुनिक विशेषताहरु रहेको टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले बताए । उनले भने, ‘भावी पूस्ताको मागलाई ध्यानमा राखेर अत्याधुनिक विशेषताहरुसहित नयाँ वर्गको आकर्षक गाडी निर्माणमा विशेष जोड दिएका छौं ।’ टिगोरको भित्री सजावटमा इन्टेलिजेन्ट स्पेसको प्रयोग गरिएको र कनेक्टीभीटी विशेषताहरु रहेको कम्पनीका सि. इ. ओ. राजन बाबु श्रेष्ठले बताए । उनले भने, ‘यसले चालकलाई इनटच अनुभवका साथै भित्री र बाहिरी संसारको उत्कृष्ट अनुभूति प्रदान गर्छ ।’