विकासन्युज

साना किसान विकास बैंकको सीइअाेमा कोइराला

काठमाडौं । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । बैकको सञ्चालक समितिको बुधबारको बैठकले चार वर्षका लागि सिईओमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हाेे । व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका थिए । उनी वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन् ।

३५ दिनभित्र काम सुरु नगरे जीएमआरको लाइसेन्स खारेज गर्ने ऊर्जामन्त्रीको चेतावनी

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाले काम नगरे जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) खरोज गर्ने बताएका छन् । सरकारले आयोजनालाई जग्गा उपलब्ध भएको स्पष्ट पार्दे उनले भने “३५ दिनभित्र काम सुरु नगरे जीएमआरसंग भएको सम्झौता रद्ध हुने छ ।” सरकारले जीएमआरलाई दिएको समयसीमा आउदो दुई सातामा सकिने छ । उनले नेपालका खोला झोला बोकेर हिड्नेले विद्युतको नाममा धेरै कमाएको उल्लेख गर्दै ३५ दिनभित्र जिम्मा लिएका आयोजनाको यथाशिघ सुचारु नगरे सिधै सम्झौता रद्ध गर्ने चेतावनी दिए । रिपोटर्स क्लवले बुधबार आयोजना गरेको सात्क्षत्कारमा मन्त्री शाहीले भने, “जिम्मेवार कम्पनीलाई प्रत्येक महिनाको कार्यप्रगतिका बारेमा सरकारलाई जानकारी गराउन निर्देशन दिएको छु ।” मन्त्री शाहीले विद्युत प्राधिकरणका केही कर्मचारीले आफ्नो हैसियत चिन्न नसेको कारण जनतालाई सबै किसिमका सुविधा दिन नसकेको भन्दै समाजलाई सभ्यता सिकाउनको लागि सरकारी कर्मचारी सबै भन्दा पहिले कर्तव्यवान र अनुशासित हुनुपर्ने बताए । नयाँ विद्युत उत्पादनका काम देशैभर अघि बढेका र केही आयोजनाको काम सुरु भैसकेको बताउदै मन्त्री शाहीले यही ढंगबाट विद्युत उत्पादनको काम बढेर समयमै परियोजना सम्पन्न भएमा १ वर्षभित्र भारतबाट आयात गरिने विद्युत पूर्ण रुपमा कटौती हुने दावी गरे । २२ प्रतिशत चुहावटलाई शुन्यमा झार्न प्रभावकारी काम नभएसम्म भारतबाट आयात गरिने बिजुलीलाई प्रतिस्थापन गर्न नसकिने उनले स्पष्ट पारे । मन्त्री शाहीले नेपाल दक्षिण एसियामै सबैभन्दा बढी विद्युत चुहावट हुने मुलुकको सूचिमा रहेको र यसका लागि अहिलेसम्म भएका सरकारी प्रयास पूर्ण प्रभावकारी हुन नसकेकोले आफूले निजी क्षेत्रसँगको सहकार्यमा विद्युत चुहावट अन्त्य गर्ने योजनासहित काम गरिरहेको सुनाए । विद्युत प्राधिकरणको नाममा कमाउन पल्लेकेका माफियाहरुले सामग्री खरिदको नाममा अर्बौ रुपैयाँ राज्यको सम्पतिको दुरुपयोग गरेको आरोप लगाउँदै उनले विद्युत सामग्रीहरुको गुणस्तर र क्षमताको बारेमा आधिकारिक जानकारी दिनको लागि विज्ञ टोलि गठन गर्ने बताए । विद्युत प्राधिकरण निरन्तर घाटामा गएको भन्दै प्राधिकरणलाई नाफामा लैजान मन्त्रालयले हर कोसिस गरिरहेको बताए । मन्त्री शाहीले भने,“विद्युत प्राधिकरणलाई साच्चै जनताको बनाउँनको लागि हामी लागेका छौ,साना साना कामहरुले पनि सेवा अवरुद्ध बन्ने हुन्छन् ।”  

बुधबारको सेयर बजारमा १४ अंकको गिरावट

काठमाडौं । बुधबारको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सो दिन १४ दशमलब ५५ अंकले ओरालो लागेर १५९८ अंकमा झरेको छ । बजारमा परिसूचकमा ओरालो लागेता पनि सेयर कारोबारमा सुधार आएको छ । बुधबार ९७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा ७ करोड रुपैयाँ बढी हो । अघिल्लो कारोबारमा ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार बीमा समूहको परिसूचक सबैभन्दा बढी १०६ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ इक्विटी ओरिन्टेड स्किमका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नबिल ब्यालेन्स फण्ड १, हिमालयन पावर पार्टनर र हिमालयन डिष्टीलरीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

महशुल नतिर्ने राष्ट्रपति र प्रधानमन्त्रीको बिजुली लाइन काटिन्छ-ऊर्जामन्त्री

काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने कसैलाई पनि नछोड्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल बक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका क्वार्टर र सरकारी कार्यालयसहित कसैलाई पनि नछाड्ने घोषणा गरेका हुन्। उनले सो अवधी भित्र बक्यौता नबुझाए सबैको विद्युत लाईन काटिने स्पष्ट पारे । मन्त्री शाहीले भने,“मन्त्रालयले विद्युत वक्यौता नतिर्ने जो कोहीलाई कारवाही गर्ने निर्णय गरेको छ । जसले १० दिनभित्र वक्यौतासहितको महसुल तिर्दैन त्यस्ता मन्त्रालय र घर मालिकको लाइन काटिनेछ, यस कार्यमा कर्मचारीलाई निर्देशन दिएको छु ।” कर्मचारीले नसके आफै गएर लाइन काट्ने जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आफुबीच कुनै पनि मनमुटाव र मतभेद नभएको स्पष्ट पार्दै उनले भने, “मेरो र निर्देशकज्यू बीचमा कुनै प्रकारको मतभेद छैन, समाचारमा आएको कुरा झुठा छ, म यसैमार्फत सबै जनता र सब पक्षलाई स्पष्ट पार्न चाहन्छु ।” “हामी मुलुक र जनताको लागि खुट्टा बलिया बनाएर विद्युत उत्पादन वितरण र उज्यालो अभियानमा जुटिरहेका छौ।” उनले भने । गत वर्ष पनि जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि पहिलो काम बिजुलीको महशुल उठाउन जोड दिएका थिए । त्यसबेला प्राधिकरणले करोडौ रुपैयाँ बिजुलीको बक्यौता उठाएका थिए ।

गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त

काठमाडौं । गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त भएका छन् । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । सोही बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका दिलिपप्रताप खाँडको राजीनामा स्वीकृत गरेको छ । साथै, कम्पनीको सञ्चालक हरिकुमार श्रेष्ठको राजीनामालाई पनि सोही बैठकले स्वीकृत गरेको छ ।

चितवन जिल्लामा दूध उत्पादनमा वृद्धि

चितवन । जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयकाअनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । गत आवमा मात्र चार हजार ४१४ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिए । दूध उत्पादनका हिसाबले चितवन अब्बल बन्दै गएको छ । आव २०६९÷७० मा जिल्लामा ७९ हजार ५१५ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७३÷७४ मा दूध उत्पादन वृद्धि भएर ९० हजार २११ मेट्रिक टन पुगेको सेढाईंले बताए । आव २०७०÷७१ मा ८२ हजार ९३० मेट्रिक टन, आव २०७१/७२ मा ८४ हजार ७७ तथा आव २०७२/७३ मा ८५ हजार ७९७ मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । दैनिक करिब दुई लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूध अन्य जिल्लामा समेत बिक्रीका लागि पठाउने गरिएको छ । “चितवनमा उत्पादित अधिकांश दूध काठमाडाँैलगायत मुख्य शहरमा पठाउने गरिएको छ,” डा सेढार्इंले भने । उत्पादन वृद्धिदर वार्षिक ४ दशमलब ८९ प्रतिशत रहेको छ । तर दुग्ध उत्पादक किसान उक्त तथ्यांक सहि नभएको दाबी गर्छन् । उनीहरुकाअनुसार किसान दुग्ध पेशा छाड्ने क्रममा छन् । दुग्ध उत्पादक किसान आनन्द निउरे पछिल्लो समयमा किसान विभिन्न समस्यामा परेका कारण तथा राज्यले उचित संरक्षण नदिँदा पलायन हुने क्रम बढेको बताउँछन् । पशुसेवा कार्यालयले पुराना किसानले व्यवसाय छाड्दै गए पनि नयाँ किसान थपिँदै गएकाले दूध उत्पादनमा वृद्धि हुँदै गएको जनाएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी चितवनमा पछिल्लो समयमा दूध उत्पादनमा ह्रास आउन थालेको बताउँछन् । आत्मनिर्भर घोषणाका लागि प्रक्रिया शुरु चितवनलाई दूधमा आत्मनिर्भर घोषणाका लागि आवश्यक प्रक्रिया शुरु भएको छ । केन्द्रबाटै कार्यविधिसमेत आइसकेकाले त्यही कार्यविधिमा टेकेर आवश्यक प्रक्रिया शुरु भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा सेढार्इंले जानकारी दिए । जिल्लाका हरेक सेवा कार्यालयलाई ताजा तथ्यांक अध्यावधि गर्न निर्देशन दिइसकेको उनले बताए । सरकारले वार्षिक प्रतिव्यक्ति ९० लिटर दूध आवश्यक हुने जनाएको छ । जिल्लाको तथ्यांक हेर्दा प्रतिव्यक्ति १३७ लिटर दूध पुग्ने देखिन्छ । नब्बे लिटरभन्दा माथिको प्रतिव्यक्ति ४७ लिटर दूध बढी देखिएकाले जिल्लालाई आत्मनिर्भर घोषणाका लागि कार्यालयले काम थालेको उनको भनाइ छ । “सरकारी योजनाअनुसार मासु, अण्डा र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन लागि परेका छौँ,” उनले भने । रासस

यूनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित भएको छ । कम्पनीको आर्थिक वर्ष २०७२/०७३ को वित्तीय विवरण बीमा समितिबाट अस्वीकृत भएपछि कम्पनीको सो मात्राको बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगित भएको हो । कम्पनीको बोनस र हकप्रद सेयर वितरण तथा निश्कासनको प्रस्ताव अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । साथै, बीमा समितिले परिमार्जन सहित पुनः वित्तीय विवरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ ।

१ सय १३ विद्यालय पुनःनिर्माण

गोरखा । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका १ सय १३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिए । दुईकोठे एउटा भवन पुनः निर्माणलाई १० लाख ३८ हजार रुपैयाँ लगानी भएको छ । भवन पुनः निर्माणलाई ४५ मिलियन सहयोग आएको थियो । गोरखा नगरपालिकाभित्रका नवज्योति प्रावि, चन्द्रज्योति प्रावि, राजवृक्ष प्रावि, गोरखकाली प्रावि, भगवती प्रावि, बज्रभैरव प्रावि, बालविकास प्रावि, सूर्यज्योति निमाविलगायत विद्यालयमा भवन निर्माण गरिएको हो । विद्यालयमा दुईकोठे भवन निर्माण गर्नुका साथै मदरसा पनि पुनःनिर्माण गरेको फिन चर्च एडका जिल्ला संयोजक किसन श्रेष्ठले बताए । पक्की विद्यालय भवन निर्माण नभएसम्म अर्धपक्की भवनबाट पठनपाठन भइरहेका छन् । फिन चर्च एडले गोरखामा १ सय १३ विद्यालय, मकवानपुरमा १ सय ११ र सिन्धुलीमा ९८ वटा विद्यालय भवन निर्माण गरिदिएको छ । युरोपियन युनियन, युनिसेफ र फिन चर्च एडले संयुक्त रुपमा लगानी गरी विद्यालय भवन निर्माण गरेका हुन् । गोरखामा विश्व परिदृश्य वकालत मञ्चले दाताहरुको अर्थ सहयोगमा विद्यालय भवन निर्माण गरेको हो । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भूकम्पबाट क्षति पुगेका ४सय ४९ विद्यालयमध्ये अहिलेसम्म २ सय ५ वटा पुनःनिर्माण भइसकेको र १ सय ५० वटा प्रावि तहका विद्यालय पुनःनिर्माणमा स्रोत जुटाउन बाँकी रहेको बताए ।रासस