राष्ट्र बैंकले डेढ अर्ब बैंक तथा वित्तीय संस्थाको मुद्धतिमा लगानी गर्न माग्यो प्रस्ताव
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको रकम लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव मागेको छ । बैंकले विभिन्न कोषमा भएको १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ १ वर्षका लागि मुद्धति लगानी गर्ने भएको छ । आउदो असोज १ गतेदेखि २०७५ भदौं ३१ गते सम्म १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । कुल रकम मध्ये वाणिज्य बैंकले १ अर्ब २२ करोड १० लाख, विकास बैंकले २२ करोड ८९ लाख र वित्त कम्पनीले ७ करोड ६३ लाख रुपैयाा लगानी गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । प्रस्ताव पेश गर्ने मिति आउदो सोमबारलाई तोकिएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंक तथा वित्तीय संस्थाले मात्र प्रस्ताव गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । यस्तै सिघ्र सुधारत्मक कार्वाही फुकुवा भएको ६ महिना बितिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
३२०२ को सेयर १४२५ मा झरेपछि नेपाल बैंकले डिप्रोक्सको सेयर लिलामीमा राख्यो, २२ करोड आम्दानी गर्ने लक्ष्य
काठमाडौं । नेपाल बैंक लिमिटेडले डिप्रोक्स लघुवित्त विकास बैंकको १ लाख ८० हजार ३७८ कित्ता सेयर लिलामीमा राखेको छ । सर्वसाधारण समूहको उक्त सेयरको न्यूनतम मूल्य १ हजार २०० तोकेर बढाबढ मूल्यमा लिलामीमा राखिएको छ । एक वर्षअघि करिव ३ हजार २०० मा कारोबार भएको यो सेयरको मूल्य आधाभन्दा कम भएपछि नेपाल बैंकले लिलामीमा राखेको हो । एक वर्षअघि अर्थात २०७३ भदौ १९ गते यस लघुबित्तको सेयर प्रतिकित्ता ३ हजार २०२ रुपैयाँसम्ममा कारोबार भएको थियो । उक्त सेयर बुधबार प्रतिकित्ता १४२५ रुपैयाँमा कारोबार भएको छ । डिप्रोक्सको सेयर बेचेर नेपाल बैंकले कम्तिमा २२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । सेयर आवदेनको लागि असोज ४ गतेसम्ममा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा आवेदन गर्न सकिने नेपाल बैंकले जनाएको छ । उक्त सेयर न्यूनतम १०० र अधिकत सबै किन्नको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ ।
सानिमा क्यापिटलले २५ प्रतिशत नगद लाभाँश दिने
काठमाडौं ।सानिमा क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभाँश वितरण गर्ने भएको छ । सानिमा बैंक अन्तर्गतको कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभाँश वितरण गर्न लागेको हो । लाभाँश वितरणका लागि सानिमाले असोज ६ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चुत्तापुँजी पनि बढाउने भएको छ ।
समिट माइक्रोफाइनान्सको हकप्रद भदौ २९ गतेदेखि बिक्री खुला
काठमाडौं । पुँजी बढाउन समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निश्कासन गर्ने भएको छ । वित्तीय संस्थाले भदौ २९ गतेदेखि शत् प्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको हो । कात्तिक १ गते सेयर निश्कासन बन्द हुने छ । संस्थाले ७ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने छ । हकप्रद निश्कासनपछि संस्थाको चुक्तापुँजी साढे १४ करोड रुपैयाँ पुग्ने जानकारी दिएको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाकाे तेस्रो प्याकेजको काम सुरू
काठमाडौं । भारतीय लगानीमा निर्माण हुन लागेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाले हाइड्रोमेकानिकल उपकरणका लागि बोलपत्र आब्हान गरेको छ । प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले आयोजनाको तेस्रो प्याकेज अन्र्तगत हाइड्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आब्हन गरेको हो । भारतको एकल वा नेपाल र भारतीय कम्पनीको संयुक्त उपक्रम (जेभी) ले बोलपत्रमा भाग लिन पाउने एसजेवीएनले जनाएको छ । पहिलो प्याकेजअन्र्तगत आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जेपी कन्ट्रक्सन लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्याकेज २ अन्र्तगत विद्युत्गृह निर्माणका लागि पनि बोलपत्र आब्हान गरिएको छ । ठेक्का सम्झौताको अन्तिम चरणमा पुगेको छ । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुनेछ । आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ । आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब अनुमान गरिएको छ । आयोजनाले हालै वनको जग्गा प्राप्त गरेको छ । वन विभाग, राष्ट्रिय वन्यजन्तु तथा निकुन्ज विभाग र आयोजनाको प्रवद्र्धक एसजेवीएनबीच त्रिपक्षिय सम्झौता भएको छ । सम्झौताअनुसार अरुण तेस्रो आयोजनाले ९६ रोपनी वनको जग्गा उपयोग गर्न पाएको छ । वनको जग्गा पाउन ढिलाइ भएका कारण आयोजनाको काम अघि बढेको थिएन् । भारत निकासीका लागि ९ सय मेगावाटको अरुण तेस्रो आयोजना बन्न लागेको हो । नेपालले आयोजनाबाट १९८ मेगावाट बिजुली सित्तैमा पाउने छ । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुली, करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउनेछ । आयोजना प्रभावित स्थानीयले ६ प्रतिशत (८० लाख कित्ता) सेयर पाउँदैछन् । प्रभावित ६ गाविसमा एसजेभीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाबाट वार्षिक ४ अर्ब १ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने सतलजले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)ले देखाएको छ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ । आयोजनाले जग्गा अधिग्रहण गरिसकेको छ भने हालसालै वनको जग्गा पनि उपयोग गर्न सरकारले स्वीकृति दिएको छ ।
भदौ १८ गते सार्वजनिक बिदा दिने गृह मन्त्रालयकाे निर्णय
काठमाडाैं । गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो । रासस
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार क्रियाशिल रहेको बताएका छन् । देशको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान सरकार क्रियाशिल रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले पर्यटनसँगै कृषि, पर्यटन र ऊर्जा क्षेत्र देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको उल्लेख गरे । बुधबार राष्ट्रिय पत्रकार संगठन (नाटोज) को चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘पर्यटनका साथै कृषि र उर्जा तथा हाइड्रोपावर राज्यको आर्थिक उन्नतिको मेरुदण्ड हो । राज्यको प्रमुख मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार तयार छ ।’ विश्वमा नेपालबारे अफबाहसमेत फैलिएको उल्लेख गर्दै मन्त्री बस्नेतले सञ्चार मन्त्रालयले विश्वका विभिन्न स्थानमा पर्यटन दूतहरु नियुक्त गरेर सकारात्मक सन्देश प्रवाह गर्न लागि परेको बताए । जोखिमयुक्त पर्यटन क्षेत्रहरुमा सञ्चारको पहुँच नभएको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस क्षेत्रहरुमा सञ्चारको पहुँच पुर्याउन सरकार क्रियाशिल रहेको समेत उल्लेख गरे । ‘जोखिमयुक्त क्षेत्रमा सञ्चारको पहुँच नहुँदा पर्यटकहरुले सास्ती भोग्नु परेको छ । कतिपय अवस्थामा दुर्घटना हुँदा सञ्चारकै अभावले क्षति व्यहोर्नु परेको अवस्था छ । ‘यसतर्फ सरकार सचेत छ’, बस्नेतले थपे, ‘टेलिकम क्षेत्रमा रहेका समस्या समाधानका लागि केहि दिनमै बृहद् गोष्ठी हुँदैछ । क्षेत्रमा रहेका समस्याबारे जानकारी गराउनुस्, म समाधान गर्न तयार छु ।’ मुलुकको अर्थ व्यवस्था बलियो बनाउने हो भने पर्यटन क्षेत्रलाई नै राज्यले महत्व दिनुपर्ने मन्त्री बस्नेतको भनाई थियो । उनले सरकारी कार्यालयहरुमा काम कारबाही ढिलो हुने गरेको गुनासो प्राप्त हुने गरेको भन्दै त्यस्तो गर्ने कर्मचारीलाई कारबाही गरिने चेतावनी दिए । प्रक्रियाबाट आएका काम २४ घण्टा पनि नभए आफूलाई जानकारी गराउन आग्रह समेत मन्त्री बस्नेतले गरे । सो अवसरमा नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन र सूचनालाई सँगसँगै अघि बढाइनु पर्ने भन्दै अहिले पनि पर्यटन क्षेत्रमा विभिन्न खालका समस्या रहेको बताए । अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्या निराकरणको लागि सरकारको ध्यानाकर्षण समेत गराए । कार्यक्रममा अधिकारीले नाटोजको विराटनगर र चितवन च्याम्टरको घोषणा समेत गरेका थिए । सो अवसरमा वरिष्ठ पत्रकार कृष्ण ताम्राकार र रातोपाटीका पत्रकार राजकुमार सिग्देललाई नाटोज पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । १० हजार राशिको उक्त पुस्कार सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए । कार्यक्रममा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टानका अध्यक्ष चन्द्र रिजाल, एनएमएका अध्यक्ष सन्तबीर लामालगायतको उपस्थिति रहेको थियो ।
इस्फ्रास्ट्रक्चर बैंक खोल्न राष्ट्र बैंकमा निवेदन दर्ता, १२ अर्ब संस्थापक र ८ अर्ब सर्वसाधारणकाे सेयर लगानी रहने
काठमाडौं । इस्फ्रास्ट्रक्चर बैंक खोल्न नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता भएको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितिमा प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष डा.विमल कोइरालाले बुधबार निवेदन दर्ता गरेका हुन् । राष्ट्रको पूर्वाधार विकास गर्नका लागि नेपाल सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप यस आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरे अनुसार नै उक्त बैंक खोल्न लागिएको हो । प्रस्तावित बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ । बैंकमा सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समूहमा ४० प्रतिशत शेयर रहने प्रस्ताव गरिएको छ । यस बैंकका संस्थापक समूहको १२ अर्ब र सर्वसाधारण समूहको ८ अर्ब रुपैयाँ सेयर पुँजी हुने प्रस्ताव गरिएको छ । हाल संस्थापक समूहमा विभिन्न बैंक तथा बीमा कम्पनीहरु, आईएमई समूह, विशास ग्रुप, लगायत प्रतिष्ठित उद्योगी व्यापारीहरुको संलग्नता रहेको छ । आवेदन दर्ता गर्न आईएमई समूहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, विशाल समूहको अशोक अग्रवाल, इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेय लगायतकाे टाेली राष्ट्र बैंक पुगेका थिए । विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गरिएको डा विमलप्रसाद कोइरालाले बताए । प्रस्तावित बैंकको सञ्चालक समितिमा सरकार समेतको प्रतिनिधि रहने गरी ७ जना सञ्चालक रहने व्यवस्था गरिएको छ । प्रस्तावित नेपाल इस्फ्रास्टक्«चर बैंकले देशको पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्र्नेे, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ । कसको लगानी कति ? यस बैंकको संस्थापकमा ३९ जना व्यक्ति र २२ वटा कम्पनी रहेको इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत तथा यस बैंक स्थापन कार्यको संयोजन गर्दै डा विनोद आत्रेयले बताए । यस बैंकमा सरकारको २ अर्ब रुपैयाँ ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंकको १÷१ अर्ब, नेपाल पुर्नबीमा कम्पनीको १ अर्ब रुपैयाँ लगानी रहने छ । सिद्धार्थ बैंकले १० करोड लगानी गर्ने भएको छ । इन्फ्रास्ष्टक्चर बैंकमा चार वटा बैंकको लगानी रहेको उनले जानकारी दिए । बीमा कम्पनीहरुमा प्रुडेन्सियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, एशियान लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, एनबी इ्न्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लगानी रहेको छ । त्यसबाहेक इमर्जिङ नेपाल, हाथवे लगायत इन्भेष्टमेन्ट कम्पनी तथा प्राइभेट कम्पनीहरुले पनि लगानी गरेका छन् । व्यक्तिगत तर्फ चन्द्रप्रसाद ढकाल, हेमराज ढकाल, आकाश गोल्छा, हेमन्त गोल्छा, शशिकान्त अग्रवाल, बोधप्रसाद त्रिपाठी, प्रकाश मुन्दरा, सुशील गुप्ता लगायत ३९ जनाले संस्थापक सेयर लिने भएका छन् ।