आजदेखि निर्वाचन आचार संहिता लागू, प्रदेश तथा प्रतिनिधि सभा सदस्य चुनाव मंसिरमा
काठमाडौं । आजदेखि निर्वाचन आयोगले आचार संहिता लागू गरेको छ । यही मंसीरमा हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचार संहिता, २०७२ लागू गरेको हो। चुनावलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचार संहिता लागू गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले निर्वाचन आचार संहिता आजदेखि लागू गर्ने निर्णय गरेको हो । बैठकले यसको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय तथा संवैधानिक निकायहरुलाई जानकारी गराउने समेत निर्णय गरेको छ । निर्वाचन आचार संहिता, २०७२ निम्नानुसार व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ (क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री (ख) स्थानीय निकाय वा तह (ग) स्थानीय निकाय वा तहका कर्मचारी (घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी (ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी (च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत् निकायमा कार्यरत सुरक्षाकर्मी (छ) निर्वाचनको काममा संलग्न कर्मचारी (ज) सार्वजनिक पद धारण गरेको व्यक्ति । उम्मेदवारको हकमा भने यो आचार संहिता मनोनयन दर्ता भएको मिति देखि लागू हुने आयोगले जानकारी दिएको छ ।
सिजीले ल्यायो दशै तिहार योजना, फ्रीज र टिभी खरिदमा २० प्रतिशत नगद फिर्ता
काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सिजीले ‘सिजी परम्परा’ नामक योजना ल्याएको छ । सिजीले नेपालीहरुको महान चाड दशैं तथा तिहारको शुभअवसरमा आफ्ना ग्राहकहरु माझ यस योजना ल्याएको हो । यस योजना अन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजेरेटर(फ्रीज) र एलइडी टिभी (२०–३२ इन्च)कोे खरिदमा २० प्रतिशतसम्म महा क्यास ब्याक पाउनेछन् । साथै, ४ केस्मार्ट टिभी, स्मार्ट टिभी, टुरबो टिभी, वासिङ मेसिन, माइक्रोवेभ ओभनको खरिदमा पक्का उपहारहरु पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । कम्पनीको अनुसार यो योजना भदौ १५ गतेदेखि नेपालभर सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।
अबदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट
ललितपुर । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी साधनमा जडान गरिने नयाँ प्रविधिको उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेटले सवारी साधनको सुरक्षा मजबूत हुने बताए । नम्बर प्लेटसँगै सवारी साधनमा राखिने रेडियो फ्रिक्वेन्सी आइडेन्टीफाइ डिभाइस (आरएफआइडी) स्टिकरले गाडीको बारेमा सम्पूर्ण जानकारी पाउन सकिने उनकाे भनाइ छ । आरएफआइडी स्टिकरमा जडान गरिएको एन्टेनाले सवारी साधन कहाँ र कति दुरीमा पुगेको छ भन्ने जानकारी थाहा पाउन सकिने उहाँले बताए । उनका अनुसार आगामी पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने लक्ष्य रहेको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनाका प्रमुख वसन्त अधिकारीका अनुसार इम्बोस्ड नम्बर प्लेटका कारण सवारी साधनको चोरी न्युन हुनेछ । उहाँका अनुसार हाल सरकारी, संस्थान र निजी सवारी साधनमा यो व्यवस्था लागु गरिएको छ । रासस
सामसङ क्यू एलईडी टिभी नेपाली बजारमा सार्वजनिक, यस्ता छन् आर्कषक विशेषता
काठमाडौं । सामसङको नेपालमा आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसङ क्यू एलईडी टिभी (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ । भदौ ११ गते काठमाडौंको सोल्टी क्राउन प्लाजामा सम्पन्न कम्पनीकाे डिलर्स मिटले उक्त टिभी सार्वजनिक गरेको हो । ४०० भन्दा बढि डिलरहरु नेपालका विभिन्न क्षेत्रबाट डिलर्स मिटमा सक्रिय रुपमा सहभागी भएका थिए । नेपालका लागि सामसङका देशिय निर्देशक, वोन तथा हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिलरहरुलाई सम्बोधन गरेका थिए । क्यू एलईडीका विशेषताहरु: क्यु पिक्चरः सहि समिश्रणको कलरमा परिवर्तन गराउने एक्लुसिभ क्वान्टम डट्सका साथमा आउने हाम्रो क्यू एलईडी टिभी हो, जसले १०० प्रतिशत कलर भोलुम प्राप्त गर्ने पहिलो यस्तो प्रकारको टिभी हो । १०० प्रतिशत कलर भोल्यूम कम्पनीका अनुसार सामसङ क्यूएलईडी टिभीहरुमा १०० प्रतिशत कलर भोल्यूम तथा १० लाखभन्दा बढि रंगहरुको संयोजन संयोजन गरिएको छ । सामसङ क्वान्टम डट्स मार्फत अनुभव गर्नुहोस् उत्कृष्ट जीवन्त रंगहरु जुन अत्यन्तै उज्यालो दृश्यले अन्य टिभीमा भने फुस्रो पर्दछ । बोल्ड कन्ट्रास, दिन वा रात्री क्यू कन्ट्रास दिउँसोको समयमा उज्यालो कोठामा टिभी हेर्नु निकै चुनौतीपूर्ण हुने गरेको छ, तर सामसङको क्यूएलईडीले सूपेरियर पिक ब्राइटनेसको माध्यमबाट त्यसलाई कटाएर स्क्रीनको आवश्यक भागमा मात्र चहकिलो बनाउँछ । क्यूवेईङ एंगल हरेक एंगलबाट टिभी हेर्न सकिन्छ । क्यू एभ्री भ्यू, कलर हरेक कुनाबाट उत्तिकै स्पष्ट हुन्छ, त्यसैले प्रत्येक सिट उत्कृष्ट सिट हुन्छ ।
नाडा अटो शो: चार कम्पनीका प्रतिस्पर्धी कार, यस्ता छन् मूल्य र फिचर्स
काठमाडौं । नाडा अटो शोमा विभिन्न कम्पनीले विभिन्न नयाँ मोडल तथा विशेष फिचर्सका गाडीहरु प्रदर्शनीमा राखेका छन् । मूख्य रुपमा मेलामा चार पाङ्ग्रे गाडीहरु आकर्षणका केन्द्रमा छन् । मेलामा हुन्डाईको ग्राण्ड आइ १० म्याग्ना, सुजुकीको स्विफ्ट भिएक्सआइ र इग्निस डेल्टा, भोक्सवागेनको पोलो कम्फर्ट र निस्सानको माइक्रो एक्टिभ एक्स भी कारहरु विशेषरुपमा प्रतिस्प्रर्धीका रुपमा देखा परेका छन् । हुण्डाई ग्राण्ड आइ १० म्याग्ना हुण्डाईको ग्राण्ड आइ १० म्याग्नाको मूल्य २६ लाख ९६ हजार रुपैयाँ रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले यसलाई गत मार्चमा लन्च गरेको थियो । यसमा डिओएचसी ईञ्जिन प्रयोग गरिएको छ ।११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २२५ लिटरको छ । यसले चार हजार आरपिएममा ११६ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ६००० आरपिएममा ८३ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४२५ एमएम रहेको छ । यसमा पार्किङ सेन्सर जडान गरिएको छ । सुजुकी स्विफ्ट भिएक्सआइ र इग्निस डेल्टा सुजुकीको स्विफ्ट भिएक्सआइमा मल्टिप्रोजेक्सन इञ्जिन प्रयोग भएको छ । यसको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ । ११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २०५ लिटरको छ । यसले चार हजार आरपिएममा ११५ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ६००० आरपिएममा ८३ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४३० एमएम रहेको छ । यसमा स्मार्ट मिटर पनि जडान गरिएको छ । सुजुकी इग्निस डेल्टाको मूल्य २८ लाख ८९ हजार रुपैयाँ रहेको छ । यसको डिस्प्लेसमेन्ट ११९७ सिसि क्षमताको रहेको कम्पनीले जानकारी दिएको छ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइ दिएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिनले ४ हजार २ सय आरपीएम र ६ हजार आरपीएममा १ सय १३ एनएम टर्क र ८३ पिएसको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । यसको ह्विलबेस २४३५ एमएमको छ । भोक्सवागेन पोलो कम्फर्ट भोक्सवागेन पोलो कम्फर्टमा एमपिआइ इञ्जिन जडान गरिएको छ । यसको मूल्य मूल्य ३० लाख ९५ हजार रुपैयाँ रहेको छ । कारमा एमपिआइ ईञ्जिनले ३ हजार ७ सय ५० आरपीएम र ५ हजार चार सय आरपीएममा १ सय १० एनएम टर्क र ७५ पिएसको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । यसको ह्विलबेस २४६९ एमएम छ भने यसको बुट स्पेस क्षमता २८० लिटरको छ जसमा भारी लगेज पनि अटाउन सकिने कम्पनीले जानकारी दिएको छ । निस्सानको माइक्रा एक्टिभ एक्स भी निस्सानको माइक्रा एक्टिभ एक्स भीमा डिओएचसी इञ्जिन प्रयोग भएको छ । यसको मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ । ११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २५१ लिटरको छ । यसले चार हजार आरपिएममा १०४ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ५००० आरपिएममा ६८ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४५० एमएम रहेको छ । यसमा स्मार्ट मिटर पनि जडान गरिएको छ ।
अख्तियारद्धारा चावहिल मालपोतका १२ कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने मालपोत कार्यलयका १२ जना कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मालपोतका १२ जना कर्मचारीले १८ लाख ८२ हजार रुपैयाँ लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने कार्यमा सहयोगी भूमिका निर्बाह गरेको जिकिर गर्दे बुधबार अख्तियारले मालपोतका अधिकृतद्वय चेतनाथ ढकाल र तिर्खाराम अर्याल कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालिन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्याल, नायब सुब्बात्रय सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी विरुद्ध आरोपपत्र दायर भएको हो । यस्तै सहायक कम्प्युटर अपरेटर लक्ष्मणप्रसदा खतिवडा र खरिदार दिव्यराज घिमिरेको आपसी मिलेमतोमा अधिकार, हैसियत र अहोदाको दुरुपयोग गरेको ठहर अख्तियारको छ । कर्मचारी र अन्य व्यक्ति समेतको मिलेमतोमा काठमाडौ जिल्ला साविक गोठाटार, बालुवा, मुलपानी, विष्णु गा.वि.स लगायतका स्थानमा अवस्थित बिभिन्न जग्गाहरुको गैरकानूनी श्रेस्ता तयार गरी बिक्रिबितरण गरेको पाइएको अख्तियारले जनाएको छ । साविक गोठाटार, वालुवा, तथा मुलपानी लगायतका स्थानमा अवस्थित जग्गाको गैरकानूनी रुपमा श्रेस्ता खडा, कार्यालयमा रहेको दर्ता बाँकी श्रस्ता केरमेट, प्रमाणित, कार्यालयबाट बैधानिक रुपमा निर्णय नै नभएका जग्गाको विवरण ठिक छ भनि रुजु र स्वीकृत गरेको अख्तियारको दावी छ । यस्तै कानून बमोजिम हाल दर्ता नै नखुलेका र नभएका जग्गाहरुको अनलाईन सिस्टममा प्रबृष्टी समेत गरी बदनियतपूर्वक दर्ता नभएको फर्जी श्रेस्ता खडा गरी वैधानिकता प्रदान गर्ने गराउने र विक्रिरबितरण गर्ने कार्यमा संलग्न भई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेको पुष्टी हुन आएकाले विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले स्पष्टपारेको छ ।
मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यकः सञ्चारमन्त्री बस्नेत
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को चौथो वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले पर्यटन प्रवद्र्धनको मुख्य आधार सूचना क्षेत्र भएकाले पर्यटन भित्र्याउन सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए । उनले व्यापार प्रवद्र्धनका लागि विदेशमा नेपालको तर्फबाट वाणिज्यदूत नियुक्त गरेजस्तो विदेशमा सही सूचना सम्प्रेषण गर्नका लागि सूचनादूत नियुक्त गर्ने कार्यलाई मन्त्रालयले अगाडि बढाएको जानकारी दिए । उनले इमेल, इन्टरनेट लगायतका अत्यावश्यक सूचनाका सामग्री पर्यटन मार्गमा कसरी पुर्याउन सकिन्छ भन्नेबारेमा सञ्चार मन्त्रालय गम्भीर भएर लागेको बताए । मन्त्री बस्नेतले दूरसञ्चार क्षेत्रलाई सहज र सुलभ बनाउनका लागि आगामी हप्ता देशभरका टेलिकम क्षेत्रमा काम गर्ने कम्पनीको राष्ट्रिय गोष्ठी आयोजना गर्न लागिएको जानकारी दिए । अर्को फरक प्रसंगमा मन्त्री बस्नेतले नेपाली जनताको झण्डै सात दशक लामो प्रतिक्षापछि संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्नका लागि तोकिएकै समयमा सबै तहको निर्वाचन गर्न सरकार लागेको बताए। उनले भने, “अब चाँडै मुलुकको राजनीतिक समस्यालाई समाधान गरेर आर्थिक समृद्धिमा लाग्नुपर्छ ।” नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक पर्यटन तथा बाह्य पर्यटनको विकासका लागि सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताए । राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट) नेपालका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहाल लगायतले पर्यटन पत्रकारिताका क्षेत्रमा कलम चलाएको नाटोजको उच्च प्रशंसा गरे । देशभरका पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई एकीकृत गर्दै विसं २०७० मा स्थापना भएको नाटोजले देशका विभिन्न ठाउँमा जिल्ला शाखा स्थापना गरी काम गरिरहेको नाटोजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । दुई पत्रकारलाई पुरस्कार, व्यवसायीलाई सम्मान सो अवसरमा दुई पत्रकारलाई ‘नाटोज पर्यटन पत्रकारिता’ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चारमन्त्री बस्नेतले रेडियो नेपालका समाचारवाचिका एवम् वरिष्ठ पत्रकार कृष्णा ताम्राकार र रातोपाटी डटकम अनलाइनका पत्रकार राजकुमार सिग्देललाई १० हजार रुपैयाँ नगदसहित ताम्रपत्रद्धारा सम्मान गरे । पुरस्कार प्रदान गर्दै सञ्चारमन्त्री बस्नेतले आफूले सानो छदै ताम्राकारले वाचन गरेको समाचार सुन्दा आनन्द लाग्ने गरेको स्मरण सुनाउँदैै ताम्राकारलाई सम्मान गर्न पाउँदा आफू ज्यादै खुशी लागेको बताए । यस्तै व्यवसायी मोहन लम्साल, अनिल लामा, गीता गुरुङ, दीपेन्द्र अधिकारी, दावा छिरी शेर्पा, पुष्प बाँस्कोटा, मीनप्रसाद सापकोटा नाटोजका सल्लाहकार मनोजकुमार श्रेष्ठ, , रामशरण कार्की, पत्रकारद्वय विष्णु निष्ठुरी, शरदराज सुवेदी कानुनी सल्लाहकार रामशरण थपलियालाई सम्मान गरिएको थियो । रासस
सिविआईएल क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने, आइपीओ जारी गर्ने प्रकृयामा
काठमाडौं । सिविआईएल क्यापिटलले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको कम्पनीको एघारौं वार्षिक साधारण सभाले सो मात्रामा लाभांश दिने कम्पनीको निर्णयलाई पारित गरेको हो । साथै, सोही सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी १० करोड रुपैयाँलाई शतप्रतिशत वृद्धि गर्ने भएको छ । सो प्रयोजनको निमित्त २० प्रतिशत सेयरलाई सार्वजनिक निष्कासन(आइपीओ) गर्ने प्रकृया अघि बढाउने साभाले जानकारी गराएको छ । त्यस्तै, साभाले सो मात्राको सेयर निष्कासन गरे पश्चात कम्पनीको संस्थापक समूहको ८० प्रतिशत तथा सर्वसाधारण समूहमा २० प्रतिशत स्वामित्व कायम रहने गरी कम्पनीको शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । सिविआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि-म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरिसकेको छ ।